पञ्चायत चुनावलाई लिएर जापले डाक्यो सर्वदलिय बैठक ..... पञ्चायत चुनाव नहुँदा ग्रामीण क्षेत्रमा समस्या धेरै छ – नयन प्रधान
डी.के वाइबा, कालिमन्युज, कालेबुङ २३ अप्रेल। पहाडमा लगभग डेढ् दशकदेखि अचल रहेको पञ्चायत व्यवस्थालाई लागु गर्ने मागमा विभिन्न समयमा राजनैतिक दलहरूले माग गर्दै आए पनि आजसम्म पञ्चायत चुनाव हुन सकेको छैन। आजसम्म विभिन्न राजनैतिक दलहरूले एक्ला-एक्लै पञ्चायत व्यवस्थाको माग गर्दै आएपनि यसलाई सामुहिक रुपले आवाज उठाउने कार्य भने हुन सकेको छैन। सोहि कुरालाई मध्यनजर राखेर दार्जीलिङ पहाडमा डावाडोल बनेको पञ्चायत व्यवस्थालाई लागु गरिनुपर्छ भन्ने माग लिएर जन आन्दोलन पार्टीले प्रथमपल्ट सर्वदलिय बैठक डाकेको छ।
पहाडका सम्पूर्ण राजनैतिक दलहरूलाई लिएर पञ्चायत व्यवस्था सम्बन्धि प्रथमपल्ट जापले डाकेको सर्वदलिय बैठकमा मार्क्सवादी कम्युनिष्ट पार्टी, गोर्खा राष्ट्रिय कङ्ग्रेस, भारतिय राष्ट्रिय कङ्ग्रेस , तथा सर्वभारतिय तृणमूल कङ्ग्रेसका प्रतिनिधीवर्ग उपस्थित रहेका थिए। तर् सर्वदलिय बैठकमा गोजमुमो, क्रामाकपा, गोर्खालिग अनि गोरामुमो पार्टीका प्रतिनिधीवर्ग भने उपस्थित रहेका थिएनन्। यहाँको जाप पार्टी कार्यलयमा आयोजित सर्वदलिय बैठकमा माकपा नेता तारा सुन्दास अनि रवी प्रधान, गोर्खा राष्ट्रिय कङ्ग्रेसका अशोक कुमार लेप्चा, अमर लकसम, भारतिय राष्ट्रिय कङ्ग्रेसका दिलिप प्रधान, सर्वभारतिय तृणमूल कङ्ग्रेसका पिटर खवास उपस्थित रहेका थिए भने भने जाप पार्टीका महासचिव नयन प्रधान, युसुफ सिमिक लगायत अन्य प्रतिनिधीवर्ग उपस्थित रहेका थिए।
बैठकमा आजसम्म दार्जीलिङ पहाडमा पञ्चायत चुनाव हुन नसकेको कारण अनि यसलाई लागु गर्नका निम्ति पहाडका सम्पूर्ण राजनैतिक दलहरूले सामुहिक आवाज उठाउनु पर्ने चर्चा गरिएको थियो। विशेष गरेर पञ्चायत व्यवस्था लागु नभएको कारण दार्जीलिङ पहाडका ग्रामीण क्षेत्रवासी विभिन्न सरकारी सुविधाहरूबाट बञ्चित बन्न परेको अनि उनीहरूलाई सरकारी सहुलिय प्रदान गर्नका निम्ति पञ्चायत व्यवस्था लागु हुनपर्ने कुरामा सबै दलका प्रतिनिधीवर्गले जोड दिएका थिए। दार्जीलिङ गोर्खा पार्वत्य परिषद पछि गठन भएको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको सम्झौता पत्रमा त्रीस्तरीय पञ्चायत चुनाव हुने स्पष्ट लेखिए पनि आजसम्म जीटीए क्षेत्रमा पञ्चायत चुनाव किन हुन सकेन भन्ने पनि बैठकमा चर्चा परिचर्चा गरिएको थियो। यस विषयमा सबै दलका प्रतिनिधीवर्गले आ-आफ्नो अडान बैठकमा राखेका थिए।
बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै जन आन्दोलन पार्टीका महासचिव नयन प्रधानले पहाडमा आजसम्म लागु नभएको पञ्चायत व्यवस्थालाई लागु गर्नका निम्ति सबै राजनैतिक दलका प्रतिनिधीवर्गलाई डाकेर जापले सर्वदलिय बैठक डाकेको जानकारी गराए। उनले सबै राजनैतिक दलका प्रतिनिधीवर्गलाई बैठकमा बोलाए पनि कतिपय दलका प्रतिनिधीवर्ग नआएको बताउँदै आगामी 29 अप्रेलको दिन पुन: सोहि विषयमा दोस्रो सर्वदलिय बैठक आयोजना गर्ने जानकारी दिएका छन्।
‘पहाडमा पञ्चायत चुनाव नभएको कारण अहिलेघरी ग्रामीण क्षेत्रका मानिसहरू समस्यामा छन्। उनीहरूको समस्यालाई समाधान गर्नका निम्ति पञ्चायत व्यवस्था अत्यन्तै आवश्यक छ। यसैकारण जापले यस मुद्दालाई अघि बढाउन सर्वदलिय बैठक डाकेको हो’ जाप महासचिव नयन प्रधानले भने। उनले पहिलो सर्वदलिय बैठकमा सबै दलका प्रतिनिधीवर्ग उपस्थित नरहे पनि आगमी दिनमा पञ्चायत व्यवस्था लागु गर्नका निम्ति पुन: सबै दललाई सर्वदलिय बैठकमा बोलाउने बताएका छन्। उनले दोस्रो सर्वदलिय बैठक आगामी 29 अप्रेलको दिन बोलाउने अनि पुन: चर्चा परिचर्चा गरेर अघिल्लो कार्यक्रम तयार पार्ने बताएका छन्।
अर्कोतिर बैठकमा उपस्थित माकपा नेता तारा सुन्दासले जापले पञ्चायत चुनावलाई लिएर सर्वदलिय बैठक बोलाएकोलाई एउटा राम्रो पहल हो भनि बताए। ‘पञ्चायत व्यवस्था नहुँदा गाउँमा समस्या छ। आज यस मुद्दालाई जापले अघि लगाउँदा हामी गाउँका मानिसहरूको निम्ति अघि आएका छौँ। माकपाले सधैँ पञ्चायत चुनावको माग गर्दै आएको छ। यसकारण हामी जीटीएको सम्झौता अनुसार त्रीस्तरीय पञ्चायत व्यवस्था लागु भएर गरीब मानिसहरूको हातमा आफ्नो अधिकार पुगोस भन्छौँ’ तारा सुन्दासले भने। यसक्रममा दार्जीलिङ जिल्ला कङ्ग्रेसका सचिव दिलिप प्रधानले पनि त्रीस्तरीय पञ्चायत चुनाव हुनपर्ने माग गर्दै जापको पहललाई स्वागत जनाए। ‘हामी त्रीस्तरीय पञ्चायत चुनाउको माग गर्छौँ। यसलाई एउटा जन आन्दोलनको रूपमा अघि बडाउनु आजको आवश्यक्ता हो’ दिलिप प्रधानले भने। यता बैठकमा उपस्थित तृणमूल कङ्ग्रेस खण्ड एकका उपाध्यक्ष पिटर खवास अनि गोर्खा राष्ट्रिय कङ्ग्रेसका अशोक कुमार लेप्चाले पनि पञ्चायत चुनाव हुनपर्ने बताउँदै जापको पहललाई स्वागत जनाए।
0 Response to "पञ्चायत चुनावलाई लिएर जापले डाक्यो सर्वदलिय बैठक ..... पञ्चायत चुनाव नहुँदा ग्रामीण क्षेत्रमा समस्या धेरै छ – नयन प्रधान"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.