
जनआन्दोलन पार्टीबाट हर्कबहादुर छेत्री चुनाउ लड्ने घोषणा ........ तृणमूल प्रार्थीको रूपमा नाम आउनु तालमेलको कमि – अनमोल प्रसाद
डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 4 मार्च। जनआन्दोलन पार्टीले कालेबुङबाट डा. हर्कबहादुर छेत्रीलाई आगामी विधानसभा चुनाउमा उम्मेदवारको रूपमा घोषणा गरेको छ। जाप सर्वोच्च नीति निर्धारण समितिका सदस्य अनमोल प्रसादले उक्त घोषणा गरेका हुन्।
चुनाउ आयोगले आगामी विधानसभाको मीति घोषणा गर्नसाथ मुख्यमन्त्री ममता ब्यानर्जीले कालेबुङबाट डा. छेत्रीलाई तृणमूल प्रार्थीका रूपमा घोषणा गरेकी थिइन्। तृणमूल पार्टीको उम्मेदवारका रूपमा डा. छेत्रीको नाम आएपछि आज एकाएक जापभित्र नै खुल्दुली मच्चिएको थियो। पछिबाट अनमोल प्रसाद अनि डा. छेत्रीले पत्रकार सम्मेलन डाकेर उक्त विवादलाई साम्य पारेका छन्।
'जापले कालेबुङबाट डा. हर्कबहादुर छेत्रीलाई आगामी विधानसभा चुनाउको प्रार्थी घोषणा गर्दछ'-अनमोल प्रसादले भने। आगामी विधानसभा चुनाउ अनि कालेबुङका घोषित प्रार्थी डा. हर्कबहादुर छेत्री लाई लिएर कुनै अन्योलता भएको खण्डमा जापले उक्त अन्योलतालाई स्पष्ट पार्दै पार्टीको पक्षबाट प्रार्थीको रूपमा स्पष्ट रूपले नाम सार्वजनिक गरेको प्रसादले अझ बताएका छन्।
उक्त अन्योलताबारे स्वयं मुख्यमन्त्री ममता ब्यानर्जीले राष्ट्रिय मिडियामा स्पष्टिकरण दिइसकेको पनि प्रसादले बताए। यस क्रममा कालेबुङबाट डा. हर्कबहादुर छेत्रीलाई तृणमूले समर्थन गर्ने मुख्यमन्त्रीले मिडियामा सार्वजनिक गरेको प्रसादले दावी गरेका छन्। सोही अन्योलताहरूलाई स्पष्ट पार्दै आखिरमा पत्रकार सम्मेलनबाटै डा. हर्कबहादुर छेत्रीको नाम आगामी विधानसभा चुनाउमा कालेबुङबाट प्रार्थीको रूपमा जापले घोषणा गरेको अनमोल प्रसादले बताए।
अर्कोतिर पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डा. हर्कबहादुर छेत्रीले पनि उनी कालेबुङबाट जाप उम्मेदवारका रूपमा चुनाउ लड्ने बताएका छन्। 'तृणमूल प्रार्थीको रूपमा आफ्नो नाम आउनु वास्तवमा सही तालमेलको कमि थियो। मुख्यमन्त्रीले कालेबुङबाट डा. छेत्रीको नामलाई अघि सार्दै पार्टीले समर्थन जनाउने घोषणा गर्न खोजेकी थिइन्। तर दुर्भाग्यवश मेरो नाम तृणमूल प्रार्थीको रूपमा घोषणा भयो। यसबारे जनता अन्योल बन्नु पर्दैन। किनकी म जनआन्दोलन पार्टीबाट आगामी चुनाउ लड्दैछु'-डा. छेत्रीले स्पष्ट भने।
उनले आफ्नो सम्बोधनको क्रममा तृणमूलले कालेबुङबाट आफूलाई समर्थन गर्ने दावी गर्दै तृणमूलको समर्थनको स्वागत गरेका छन्। यता जिल्लाको मुद्दालाई पार लगाउन समविचार भएका अन्य राजनैतिक पार्टीहरूसित पनि सम्बन्ध स्थापित गरेर समर्थन प्राप्त गर्ने छेत्रीले आशा व्यक्त गरेका छन्।
'हामी समविचार भएका दलहरूबाट सहयोगको अपिल गर्छौ। यदि हामीलाई कसैबाट समर्थन नभएको खण्डमा हामी एकलै चुनाव लड्नेछौं - डा. हर्क बहादुर छेत्रीले भने। जिल्लाको मुद्दालाई पार लगाउन सरकारमा भएको दलबाट समर्थन प्रापत गर्न खुसीको कुरा रहेको बताउँदै जनताले आफुलाई समर्थन गर्ने आशा पनि व्यक्त गरेका छन्। 'गोजमुमोले गोर्खाल्याणड माग्दा गोली ठोक्ने दल संग हात मिलाउने कुरा गर्दैछन्। यो पहाडबासीको निम्ति पटक्क राम्रे होइन। जनताले यस्तो कुरालाई बुझ्नुपर्छ'-छेत्रीले भने।
अर्कोतर्फ उनलाई तृणमूल कङ्ग्रेसको मान्छे भनेर लाग्ने आरोप आज मुख्यमन्त्रीले प्रार्थीका रूपमा नाम घोषणा भएपछि स्पष्ट भयो भनि प्रश्न गर्दा यसलाई सोझै नकारेका छन्। आफू तृणमूलको मान्छे नरहेको दावी गर्दै पहाडबासीलाई हित चिताउने दलको समर्थन पाउनु राम्रो हो भनि बताएका छन्।
अर्कोतर्फ विधानसभा चुनाउ लड्नका निम्ति जाप पञिकरण भएको छ भनि प्रश्न गर्दा पञ्जिकरणको प्रक्रिया चलिरहेको अनमोल प्रसादले बताएका छन्। उनले केही दिनभित्र नै जाप चुनाउ आयोगबाट पञ्जिकृत हने आशा व्यक्त गर्दै यदि पञ्जिकरण नभएको खण्डमा जापले स्वतन्त्र रूपले चुनाउ लड्ने स्पष्टिकरण दिएका छन्।
0 Response to "जनआन्दोलन पार्टीबाट हर्कबहादुर छेत्री चुनाउ लड्ने घोषणा ........ तृणमूल प्रार्थीको रूपमा नाम आउनु तालमेलको कमि – अनमोल प्रसाद"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.