
विमल गुरूङ सबैभन्दा डरपोक नेता हो- डा हर्क बहादुर छेत्री
प्रेवि, कालिमन्युज, कालेबुङ, 29 मार्च । ‘यसपल्टको चुनाउ कलेबुङको निम्त सबैभन्दा महत्वपूर्ण छ। किनभने यो विधायक बनाउने भोट होइन जिल्ला बनाउने हो। यसपल्टको भोट कालेबुङको आत्मसम्मान, स्वभिमान र कालेबुङबासीको भविष्य निर्धारण गर्ने भोट हो।’ उपरोक्त कुरा कालेबुङ विधानसभा समष्टिका जाप उम्मेद्वार डा. हर्कबहादुर छेत्रीले भनेका हुन्।
41 नम्बर गीतडाब्लिङ-निम्बोङ समष्टि अनि 42 नम्बर रेली समथार समष्टिका समर्थकहरूको व्यापक उपस्थितिमा सिञ्जी खेल मैदानमा आयोजित जन आन्दोलन पार्टीको चुनावी जनसभालाई सम्बोधन गर्दै डा. छेत्रीले यसपल्टको भोट विधायक बनाउनका निम्ति मात्र होइन तर कालेबुङ जिल्ला बनाउनका निम्ति सचेत मतदान गर्नुपर्ने आह्वान गरेका हुन्। छेत्रीले भने, मैले गोजमुमोको चापमा बसेर पनि कालेबुङमा पॉंचवटा कलेज ल्याउनसकेँ भने अब कुनै दलको दबावको बिना जितेर गएको खण्डमा अझ धेरै गर्नसक्छु भन्ने विश्वास छ। जनताले केही गर्नु पर्दैन। मेरो पछि समर्थनमा उभिदिए पुग्छ।
डा. छेत्रीको बुझाइमा गोजमुमो अनि विमल गुरूङ गोर्खाल्याण्डको कट्टर दुश्मन हो। किनभने विमल गरूङले गोर्खाल्याण्ड शब्दको दुरूपयोग गरेर जनभावनासित खेलवाड गर्ने काम गर्दैछन्। छेत्रीले भने, गोर्खाल्याण्ड पाउने ठॉंउ दिल्ली हो। जापले गोर्खाल्याण्ड बेचेको आरोप गोजमुमोले लगाउँदैछ। यदि गोर्खाल्याण्ड बिक्री हुन्छ भने दिल्लीमा हुन्छ अनि गोजमुमोले दिल्लीमा नै गोर्खाल्याण्ड बिक्री गर्दैछ। गोजमुमोको भाजपा सासंद छ, केन्द्रमा सरकार भाजपाको छ। यस्तो अवस्थामा संसदमा गोर्खाल्याण्डको बील ल्याउन लगाउनुको सट्टा तन्द्राबुङ र सिन्देबुङमा गोर्खाल्याण्डको नाममा पदयात्रा गर्दै जनतालाई भ्रममा पार्नु दुर्भाग्यजनक हो।
छेत्रीले अझ भने अनुसार देशको संविधान नबुझ्ने अनि राज्य र राष्ट्रको राजनीति नबुझ्ने नेतृत्वको पछि लाग्दा नै पहाडको अवस्था लथालिङ्ग भएको हो। यसैले नेताले रोल मोडलको रूपमा काम गर्नुपर्ने सुझाउ राख्दै छेत्रीले व्यक्तिगत् स्वार्थ सोच्ने नेता अघि लगाउँदा जनताको विकास नहुने बताए। उनी अनुसार गोजमुमोले गोर्खाहरूको चिन्हारीको कुरा गर्छ त्यही गोजमुमोले एसएस अहलुवालियालाई सांसद बनाएर पठाएको छ। यसैले गोर्खाहरूको चिन्हारी र इज्जत सरदारजीले राख्न नसक्ने डा. छेत्रीले आरोप लगाए।
आफ्नो सम्बोधनको क्रममा डा. छेत्रीले विमल गुरूङलाई सबैभन्दा डरपोक नेतृत्वका रूपमा व्याख्या गरे। उनले भने, विमल गुरूङ हरेक कुरादेखि डराउँछन्। कालेबुङ जिल्ला हुन्छ भनेर डराउँछ, विपक्ष दलको पोष्टरदेखि डराउँछ, झण्डादेखि डराउँछ। यहॉंसम्म कि पार्टी भत्किन्छ भनेर लेप्चा, तामाङ र शेर्पाहरूको विकास बोर्ड गठन हुँदा पनि विमल गुरूङको सातो जान्छ।
गुरूङको आलोचना गर्दै छेत्रीले मदन तामाङ हत्याकाण्डको नाममा 23 जना मोर्चा नेतृत्वहरूको नाममा वारन्ट निस्किँदा आफ्नो वरिवरि नारी मोर्चाका सदस्यहरू बस्न लगाएर प्रशासनदेखि विमल गुरूङ कत्तिसम्म डराउँछ भन्ने उदाहरण दिए।
उनले अझ भने, राजनीति गर्ने मान्छेको मनमा जनभावना हुनुपर्छ। विमल गुरूङले जनताको कॉंधमा जुवा हालेर जोत्दै आएका छन्। जुनदिन जनताले त्यो कुरा बुझ्छ त्यो दिन नेता भाग्नु भ्याउँदैन।
आजको सम्बोधनमा डा. छेत्रीले कालेबुङमा दुईजना सभासद्को प्रशंसा गर्दै ती सभासद्हरू पनि आफूसरह विमल गुरूङको हेपाइको शिकार भएको आरोप लगाए। क्षेत्रीय सभासद् आरबी भुजेललाई एकजना शिक्षित र सभासद् हुनलायकको व्यक्तिका रूपमा परिचय दिँदै छेत्रीले भने, डा. आरबी भुजेल एकजना योग्य सभासद् हुन्। उनलाई पहिले जीटीएको उच्च शक्षा विभाग दिइएको थियो। त्यस समय उनी योग्य पनि थिए। पछिबाट उनलाई हटाएर घरि पञ्चायत र घरि खाद्य सर्वराह विभागतिर खेदाउने काम गरियो। विमल गुरूङले कालेबुङबाट उचित नेतृत्व सहन गर्न नसक्ने भएका कारण भुजेल पनि गुरूङको हेपाइको शिकार भएको डा. छेत्रीले आरोप लगाए।
डा. छेत्रीको अनुभवको आधारमा सभासद् सामुएल गुरूङ पनि एकजना योग्य सभासद् हुन्। उनकै पहलमा कालचिनीबाट गोजमुमो उम्मेद्वारले विधानसभा चुनाउ जित्न सकेको थियो। त्यसबेला सामुएल गुरूङलाई सम्बर्द्दना जनाउनुपर्छ भनेर डा. छेत्रीले सुझाएका थिए। डा. छेत्रीको सुझाउलाई सोझै खारेज गरिएको कारण नै राम्रो कामको श्रेय विमल गुरूङले लिने अनि नराम्रो कामको दोष अरूलाई दिने गुरूङको नियत रहेको कुरा डा. छेत्रीले खुलासा गरे।
छेत्रीले भने, गोजमुमोले पहाडलाई रित्तो बनाइसकेको छ। मोर्चाभन्दा बरु मर्चा राम्रो हो। विमल गुरूङले जनतालाई आजसम्म धेरै दुःख दिएपनि आफूले दिएको एउटै वचन पूरा नगरेको छेत्रीले आरोप लगाए।
यसैले आफू मोर्चाबाट विद्रोह गरेर निस्किएपछि अब पहाडको सर्वाङ्गिन विकासका निम्ति काम गर्ने डा. छेत्रीले आश्वासन दिए। सभामा तिनले गोजमुमोको कार्याकालअवधि भएको भ्रष्टचार, भाइभतिजाबाद, रोजगार, पिउने पानी, सामुहिक विकास र स्वच्छ राजनैतिक परिवेशको कुरा उठान गरे। केही वर्षभित्रमा नै सिलगढी शहरको अनुहार परिवर्तन भइरहेको अवस्थामाझ अङ्ग्रेजहरूले इङ्गल्याण्डभन्दा धेर मनपराएको कालेबुङ-दार्जीलिङको स्थितिमा भने कुनै सुधार हुन नसकेको कुरामा डा. छेत्रीले चिन्ता व्यक्त गरे।
नेतृत्वहरूमा कुनै दुर्दर्शी नीति, लक्ष्य र योजना नहुँदा पनि पहाडबासी विकासबाट विमुख हुन परिरहेको डा. छेत्रीले थप बताए।
यसैले आफू विधायक बनेको खण्डमा कालेबुङ जिल्लासितै अन्य धेरै विकासमूलक् काम गर्नसकिने योग्यता आफूमा रहेको बताए अनि जापको नीति, सिद्धान्त र कार्यलाई हरेर जापलाई समर्थन जनाउन छेत्रीले आह्वान गरे ।
कार्यक्रमलाई जाप केन्द्रिय महासचिव नयन प्रधान, युवा संयोजक अमीर बस्नेत साथै स्थानीय नेतृत्वहरू मङ्गलसिंह लेप्चा, दिलिप छेत्री, होमनाथ शर्मा, दिलिप भुजेल, बुद्धिमाया तामाङ, अनिल खवास आदिले सम्बोधन गरेका थिए। जापका स्थानीय समर्थकहरू साथै युवा प्रकोष्ठ, चेली प्रकोष्ठ, विद्यार्थी प्रकोष्ठ आदिका प्रतिनिधि अनि सदस्यहरूको जनसभामा व्यापक उपस्थिति रहेको थियो।
0 Response to "विमल गुरूङ सबैभन्दा डरपोक नेता हो- डा हर्क बहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.