
गोजमुमो बिजयी बनेर गए जिल्लाको मुद्दालाई लम्बाएर लान सक्छ – डा. हर्कबहादुर छेत्री
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 25 मार्च। ‘गोर्खा जनमुक्ति मोर्चा आगामी चुनावमा विजयी बनेर गए कालेबुङ जिल्लाको मुद्दालाई सरकारले लम्बाएर लान सक्छ। राज्य सरकारसँग गोजमुमो पार्टीको जुन प्रकारको सम्बन्ध छ त्यसको कारण मोर्चाले जिते यो जिल्ला गठनको प्रक्रिया सरकारले ढिलो गर्न सक्छ। यसकारण पनि कालेबुङका जनताले जिल्ला गठनको मुद्दालाई हेरेर आगामी चुनावमा सही निर्णय लिनुपर्नेछ’ - उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनेका हुन्।
‘सरकारले चाह्यो भने नहुने कुरा पनि हुनसक्छ। यदि चाहेन भने हुने कुरा पनि नहुन सक्छ। क्याबिनेटले पारित गरिसकेको कालेबुङ जिल्लाको मुद्दालाई पारित गर्न मैले सरकारसित सम्पर्क स्थापित गरिसकेको छु। यदि मैले जिते त्यस सम्पर्कको आधारमा यसलाई झट्टै पारित गर्न सक्नेछु’ डा. छेत्रीले स्पष्ट भने।
उनले गोजमुमो पार्टीसित राज्य सरकारको तिक्तता भएको कारण मोर्चालाई सरकारले दिन पर्ने कुरो पनि नदिन सक्ने सम्भावना व्यक्त गरे। यसको साथै विधानसभा चुनावमा विजयी बनेर जाने प्रार्थीको योग्यता पनि आवश्यक रहेको बताउँदैँ मोर्चा प्रार्थीमा योग्यताको कमी रहेको अनि त्यहीँ योग्यताको कमीले जिल्लाको मुद्दालाई पार लगाउन नसक्ने प्रशस्त सम्भावना रहेको बताए।
‘क्याबिनेटले पारित गरिसकेको जिल्ला बनिनेनैछ। यसमा मोर्चाको कुनै हात छैन। मुख्यमन्त्री ममता ब्यानर्जी आफैले कालेबुङ जिल्ला डा. हर्कबहादुर छेत्रीले मागेका हुन् भनिसकेकी छन्। यता रोशन गिरीले त झन् डा. हर्कबहादुर छेत्रीलाई विधानसभामा कालेबुङ जिल्ला माग्न पठाएका होइनौँ भनि वयान दिइसकेका छन्। त्यसले पनि कालेबुङ जिल्ला गोजमुमोले मागेको मुद्दा होइन भन्ने स्पष्ट बनिसकेको छ’ डा. छेत्रीले भने।
उनले मोर्चाले बारम्बार तृणमूल कङ्ग्रेसको सरकार नै लडाउनेछौँ भन्ने वयानहरू दिएको कारण राज्यसरकारसित मोर्चाको सम्बन्ध विग्रेको अनि सम्बन्ध विग्रेपछि सम्बन्ध विगार्नेलाई सरकारले राम्रो कुरा नदिने स्पष्ट बुझ्न आवश्यक रहेको बताए।
यदि तपाईँ चुनावमा पराजित भए कालेबुङ जिल्ला हुनेछ? भनि प्रत्रकारहरूले सोधेको प्रश्नको जवाबमा उनले भने – ‘म पराजित भए जिल्ला हुन्छ हुँदैन भन्न सक्दिन। तर सरकारले जिल्ला गठनको प्रक्रियालाई लम्बाएर लानेछ भन्ने कुरा म स्पष्टरुपमा भन्न सक्छु।’
उनले कालेबुङ जिल्ला गठनको मुद्दा क्याबिनेटले पारित गरिसकेपछि अब विधानसभामा पारित हुनपर्ने अनि त्यसपछि क्षेत्र सिमाङ्कनको प्रक्रिया अघि बड्ने भएको कारण विधानसभामा यस मुद्दालाई पारित गर्ने क्षमता भएको व्यक्ति बिजयी बनेर पुग्नपर्ने बताए।
यसक्रममा मोर्चा भित्र विधानसभामा मुद्दालाई उठान गर्नसक्ने योग्यको प्रार्थी नभएको आरोप तिनले लगाए।
यता कालेबुङमा गोजमुमो प्रार्थी सरीता राईसित व्यक्तिगत प्रतिद्वन्द्विता नरहेको बताउँदै यो चुनावी लडाई गोजमुमोसित रहेको तिनले जनाएका छन्। मोर्चा प्रार्थी सरिता राई एकजना कुशल गृहणी र शिक्षिका रहेको बताउँदै राजनीति भनेको बेग्लै हो भनि टिप्पणी गरेका छन्।
अर्कोतर्फ केहिदिन अघि कोलकोता गएका डा. हर्कबहादुर छेत्रीलाई गोजमुमो महासचिव रोशन गिरीले मुख्यमन्त्री ममता ब्यानर्जीसंग भेट गर्न गएको भनि लगाएको आरोपको तिनले खण्डन गरेका छन्।
उनले आफू कोलकोता जानुको मूल कारण नामाङ्कन पत्र भर्न अघि विधानसभाबाट कतिपय आवश्यक कागजपत्र चाहिएको हुनाले त्यस कागजपत्र लिन गएको बताए।
यसैक्रममा आफू विधायक बनेपछि जनहितमा धेरै कार्य गरेको बताउँदै गत फरवरी महिनामा बिरामीहरूका उपचार्थ मुख्यमन्त्री राहत कोषको निम्ति गरेको आवेदन स्वीकृती भएर चारजना बिरामीहरूले राहत राशी प्राप्त गरेको बताए।
‘म कोलकोता जनताको काम गर्न जाने गर्छु। मलाई मुख्यमन्त्रीसँग़ साँठ-गाँठ राख्न गयो भन्ने मोर्चाका साथीहरूले यो बुझ्न आवश्यक छ। आज मैले कालेबुङ अनि दार्जीलिङका सिकिस्त बिरामीहरूको उपचार्थ मुख्यमन्त्री राहत कोषबाट राहत राशी ल्याउन सकेको छु’ डा. छेत्रीले भने।
यसक्रममा उनले गत फरवरी महिना बिरामीहरूका निम्ति मुख्यमन्त्री राहत कोषको निम्ति गरेको आवेदनको आधारमा कास्योङ बस्ती निवासी कमल भुजेललाई 59 हजार, मिसनहिल निवासी तेजबहादुर कार्कीलाई 52 हजार, दार्जीलिङ लोवर शिवग्राम निवासी कल्याण प्रधानलाई 87 हजार अनि दार्जीलिङ निवासी अञ्जु छेत्रीलाई 35 हजार रूपियाँ उपचार्थ राशी अनुमोदन भएको पत्र प्राप्त भएको जानकारी गराए।
आफूले विधायकको हैसियतमा यसरी बिरामीहरूलाई राहत राशी उपलब्ध गराउन सकेको बताउँदै यस्ता राहत राशीहरू अन्य धेरैलाई उपलब्ध गराइसकेको जनकारी गराए। यसक्रममा मोर्चाले भने यस्तो कार्य गर्न नसकेको उनले आरोप लगाएका छन्।
यता जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भोलि नामङ्कन पत्र दर्ता गर्ने भएका छन। उक्त जानकारी जाप महासचिव नयन प्रधानले दिएका छन्। भोलि नामङ्कन पत्र दर्ता गरेपछि जापले जनसभा समेत गर्ने भएको छ।
0 Response to "गोजमुमो बिजयी बनेर गए जिल्लाको मुद्दालाई लम्बाएर लान सक्छ – डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.