हाइवेवासीलाई जापको आवहान
प्रेवि, कालिमन्युज, कालेबुङ, 23 मार्च । विभिन्न राजनैतिक दल र व्यवस्थाबाट विगतमा पटक पटक विश्वासघात पाएको राष्ट्रीय राजमार्ग 10 अन्तर्गतका हाइवे जनताहरु विगतमा गुमाएको आफ्नो आत्मसम्मान र राजनैतिक अधिकार प्राप्तिको निम्ति एकबद्ध हुनुपर्छ भनेर जन आन्दोलन पार्टीका युवा प्रवक्ता विशाल राईले आव्हान गरेका छन् ।
उनले भने: यो बेला विगतमा हाइवेवासीहरुले गुमाएको आफ्नो आत्मसम्मान र राजनैतिक अधिकार सुनिश्चित गर्ने अवसर हो । विगतमा छुट्टै प्रशासनिक एकाइ एवम हाइवे समष्टीको गठनको निम्ति हाइवे जनताले दिएको योगदान गलत राजनैतिक निर्णयको कारण तुहिएर गयो । पहाडमा राजनैतिक सत्ता र व्यवस्था परिवर्तनको दिशामा हाइवे र क्षेत्रका जनताले महत्वपुर्ण भूमिका पालन गरेको छ । राज्य राज्यलाई जोड्ने यो हाइवेले सामाजिक,आर्थिक,राजनैतिक आदि प्रभाव वहन गरेको छ । राजनैतिक विस्तार साथै आन्दोलनलाई विकास गर्ने र प्रचार प्रसार गर्ने दिशामा हाइवे शुरुदेखि नै अत्यन्त सम्वेदनशील माध्यम बन्ने गरेको छ । एकै समस्या र पृष्ठभूमि बोकेर बाँचेको हाइवे क्षेत्रमा आम मानिसहरु भने विगत धेरै दशकदेखि नै विविध प्रशासनिक असुबिधा सहेर बसेका छन् । विभिन्न राजनैतिक दल र नेतृत्ववर्गले हाइवेवासीको प्रशासनिक आम असुविधालाई हल गर्ने भनेर दल विस्तार गरे पनि कुनै दल हाइवेवासीको समस्याप्रति इमान्दार देखिएन । दिनदिनै बढ्दो आर्थिक,सामाजिक,प्रशासनिक विकासको मांगसंगै हाइवे जनताको विविध समस्याहरु वृद्धि बन्दै गइरहेको छ । बिजुली उर्जा,ढुंगा,बालुवा,जंगल,यातायत आदि आर्थिक संसाधनहरुमाथि चासो राँख्ने राजनैतिक दलहरुले हाइवेवासीको दशकौदेखिको वास्तविक समस्यालाई नजर अन्दाज गर्ने काम गरेको छ ।
गोर्खा जनमुक्ति मोर्चाप्रति आरोप थोप्दै उनले भने : विगतमा 2007 सालमा अस्तित्वमा आएको गोर्खा जनमुक्ति मोर्चाले हाइवे क्षेत्रमा जनताको प्रशासनिक सुविधा र विकासको निम्ति छुट्टै हाइवे समष्टी गठन गर्ने आश्वासन दिए पनि सो पछिबाट जीटीए गठन पछि पुरा गरिएन । दागोपाप कालको 28 वटा समष्टीलाई बढोत्तरी गरेर जीटीएमा 45 वटा बनाइए तापनि कतिपय समस्या देखाएर अलग हाइवे समष्टीको मांगलाई विश्वासघात गरियो । यसको विपरित एकै समस्या र पृष्ठभूमि भएको हाइवेलाई जीटीए अधीन 7 वटा विभिन्न समष्टीभित्र गाभियो । यसको प्रमुख कारण हाइवेमा चलिरहेको कतिपय परियोजना र आर्थिक विकासको साधनहरुलाई सोझै माथ्थिलो स्तरबाट संचालन गर्नु थियो । 28 वटा समष्टीलाई 45 वटा बनाएर वृद्धि गर्न सक्ने तर हाइवे समष्टीको गठनमा भने तक्निकी समस्या देखाउँने राजनैतिक षडयंत्र मात्र थियो । यो राजनैतिक विश्वासघात हाइवेवासीको आत्मसम्मान र राजनैतिक अधिकारमाथि गरिएको थियो । राजनैतिक दल विस्तार साथै आन्दोलन गर्दा हाइवे र क्षेत्रवासीको योगदान उपल्लो तहको थियो । अहिले पनि त्यसबेला आन्दोलन कालमा होमिन्दा धेरै हाइवेवासीहरुमाथि लागेको मुद्धा छिनोफानो भएको छैन । आज पनि उनीहरु आफ्नो गोजीको पैसा तिरो गरेर आर्थिक मार खप्दै मुद्धा मिति धाउँन परिरहेको अवस्था छ ।
गोर्खा जनमुक्ति मोर्चाले हाइवेवासीको छुट्टै प्रशासनिक एकाइको मांगलाई त विश्वासघात गरयो, गरयो साथै हालसम्म हाइवे क्षेत्रमा जीटीएको तर्फबाट आज 4 वर्ष बितिसक्दा पनि कुनै विकासको योजनाहरु कार्यन्वयन गरिएन । यसले स्पष्ट रुपमा हाइवे र क्षेत्रवासीहरुप्रति गोर्खा जनमुक्ति मोर्चाको अवहेलना झल्किन्छ । आज हाइवे क्षेत्रमा एनएचपीसीको बाँधद्वारा प्रभावित हाइवे क्षेत्रमा विविध समस्याहरु छन् । जस्तै कोइरी ,राफ्टिंग,घर क्षतिपुर्ति आदिको समस्यालाई लिएर मोर्चाले आज विधानसभा चुनावको मुखमा आएर भोटमुखी राजनीति गरिरहेको छ । यदि पिढितहरुको समस्याप्रति मोर्चा गम्भीर हुँदो हो त धेरै अघि नै मोर्चाले पिढितहरुको यो समस्या लिएर पाइला चाल्न सक्ने थियो । यो मोर्चाको चुनावमुखी दावपेच मात्र हो । कोइरी र राफ्टिंग कर्मीहरुलाई लाख लाख रुपियाँको सपना देखाएर मोर्चाले आगामी विधानसभामा भोट बटुल्ने काम मात्र गर्दैछ ।
परियोजना पिढितहरुको पक्षमा कामै गर्ने हो भने मोर्चाकै सभासदहरुको हूलले बनिएको रिह्याबिलिटेशन र रिस्याटलमेण्ट कमिटिले यस दिशामा वैधानिक हिसाबमा काम गर्न सक्नु पर्थ्यो । तर आज क्षतिपुर्ति जस्तो पिढितहरुको अधिकार र न्यायको मांगलाई राजनीतिकरण गरेर पिढितहरुलाई दिशाभ्रमित गर्ने काम मोर्चाले गरिरहेको छ । यति मात्र होइन आज हाइवे क्षेत्रमा जमीनको पर्जापट्टा विषय लिएर जनता वर्षौँदेखि समस्यारत छन् । बनबस्ती,सिन्कोना प्लानटेशन ,डी आई फण्ड आदि क्षेत्रहरुमा बसोबासो गर्ने हाइवेवासीको आज स्थायी पर्जापट्टा छैन । यस दिशामा मोर्चाको हालसम्म कुनै कार्यक्रम छैन ।
यसर्थ यसपालीको विधानसभा चुनाव भनेको विगतमा गुमाएको हाइवेवासीहरुको आत्मसम्मान र राजनैतिक हक र अधिकारलाई पुर्ण गर्ने चुनाव हो । हाइवेवासीको प्रशासनिक विकासको निम्ति छुट्टै प्रशासनिक एकाइको मांग छुट्टै टिस्ता हाइवे ब्लकले पुर्ण गर्नेछ ।
विगत दिनमा राज्यको क्याबिनेटद्वारा पारित गरिएको कालेबुंग जिल्ला अन्तर्गत हाइवेवासीहरुको प्रशासनिक सुविधाको र विकासको निम्ति छुट्टै टिस्टा हाइवे ब्लक अन्तर्भुक्त गरिएको छ । जस अन्तर्गत टिस्टासंगै रम्बी,कालीझोडा, रम्फूमा ग्रामीण विकासको निम्ति ग्राम पंचायतको गठन गरिने प्रस्ताव रहेको छ । उक्त क्षेत्रहरुमा ग्राम पंचायतको गठन भएको खण्डमा क्षेत्रका आममानिसहरुले प्रशासनिक सुविधासंगै आर्थिक,सामाजिक आदि विकास भएर जानेछ । शिक्षित युवावर्गको निम्ति सरकारी रोजगारको अवसर भएर जानेछ । क्षेत्रमा विभिन्न संसाधनहरुको विकास भएर जानेछ ।
हाइवेवासीहरुको मूलभूत समस्या भनेको पर्जापट्टाको समस्या रहेको छ । आज जन आन्दोलन पार्टीले नै सर्वप्रथम पर्जापट्टाको मांग विषय लिएर काम अघि बढाइ रहेको छ । पर्जापट्टाको विषय राज्य सरकारको अधिनस्थ रहेको विषय रहेकोले राज्यसंग झगडा गरेर जनताको आम समस्याको पुर्ति हुँदैन । पर्जापट्टा एक तक्निकी र कानूनी संघर्ष रहेकोले आज जन आन्दोलन पार्टीले यसलाई सही दिशा दिएर अघि लगिरहेको छ । जन आन्दोलन पार्टीले पर्जा पट्टाको मुद्धालाई आफ्नो घोषणा पत्रमा प्रमुख स्थान दिएको छ ।
आज हाइवे क्षेत्रमा ग्रेफबाट हस्तान्तरण गरेर पी. डब्ल्यू. डी.लाई सडक मरम्मती र निर्माणको जिम्मा दिइएको छ । सडक निर्माण र मरम्मतीको काममा आज राजनैतिक रुपमा बाहिरबाट अनावश्यक हस्तक्षेप चलिरहेको छ । हाइवे र यस क्षेत्रको जनताको आमसमस्या ,अधिकार बारे केही नसोच्ने,नबोल्ने तर आज ठिकाबिघा काम आउँदा झण्डा बोकेर हाइवे क्षेत्रका ठेकादारहरुको अधिकार हनन गर्न बाहिरकाहरुलाई हाइवेका कतिपय मोर्चा सदस्यहरुले बरो गरिरहेका छन् ।
ग्रेफको श्रमीकहरुको समस्या बारे आज सचेत बनेर काम गर्न खाँचो छ । तर हाइवेलाई आर्थिक मुनाफाको साधन मात्र सोचेको मोर्चाले यस दिशामा केही सोचेको छैन । भोलि रेलवे जस्ता ठूलो परियोजनाले कति हाइवेवासीलाई विस्थापित गर्ने पक्का पक्की छ । परियोजनाबाट हुने आर्थिक मुनाफा र कमिशन सोचेर राजनैतिक दलहरु मौन छन् । यी सब समस्याहरुसंग जुझ्न साथै हाइवेवासीको राजनैतिक अधिकार सुनिश्चित गर्न अहिलेसम्म गोर्खा जनमुक्ति मोर्चा पुर्ण रुपमा विफल देखिएको छ । जसको निम्ति हाइवेवासीसंग आज जन आन्दोलन पार्टी मात्र एक विकल्पको रुपमा उभिएको छ ।
आम जनताको समस्या सही ठाउँमा ,सही ढंगमा सरकारसंग राखेर समाधान गर्न सही राजनैतिक कार्यशैली ,क्षमताशील नेतृत्व र बौद्धिक्ता चाहिन्छ ,जो जन आन्दोलन पार्टीभित्र छ । यसैले यसपालीको विधानसभा चुनावमा कालेबुंग विधानसभा समष्टीबाट डा0 हर्क बहादुर छेत्रीलाई हाइवेवासीले विपुल भोटले जिताएर विगतमा गुमाएको आत्मसम्मान र राजनैतिक अधिकार सुनिश्चित गर्न सुनौलो सुअवसर अघि आएको केन्द्रीय युवा प्रवक्ता विशाल राईले अपील गरेका छन् ।
0 Response to "हाइवेवासीलाई जापको आवहान"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.