
जन आन्दोलन पार्टी ढेड महिना मात्र बाँच्नेछ – विमल गुरूङ

कालेबुङको मेला ग्राउण्डमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा विमल गुरूङले उक्त भविष्यवाणी गरेका हुन्। ‘नयाँ राजनैतिक पार्टीलाई शुभकामना छ। फलोस, फुलोस, पाकोस अनि कुहेर झरोस। यो पार्टी केवल ढेड महिना बाँच्नेछ। ढेड महिनाको निम्ति मेरोबाट नयाँ दललाई शुभकामना छ’- विमल गुरूङले भने।
उनले आफ्नो सम्बोधनको क्रममा कालेबुङ छुट्टै जिल्ला हुन नसक्ने पनि दाबी गरेका छन्। ‘कालेबुङको भू-भाग लिजहोल्ड ल्याण्ड हो। पहिला यो लिज रद्द गर, त्यसपछि मात्र काम हुनेछ। नत्र कालेबुङ जिल्ला हुनै सक्दैन’ विमल गुरूङले अझ भने।
लगभग 40 मिनट लामो सम्बोधनमा उनले मोर्चाबाट विद्रोह गरेर निस्केका डा. हर्कबहादुर छेत्रीलाई टिप्पणी गर्न कुनै बाँकी राखेन भने मुख्यमन्त्री ममता ब्यानर्जी प्रति पनि उत्तिकै आलोचना गरे। ‘दार्जीलिङ पहाड बङ्गालको होइन। बङ्गाललाई यस भू-भागको चौकिदार मात्र राखेको हो। यसकारण चौकिदार बस्ने ममता ब्यानर्जीले चौकिदारी मात्रै गर्नुपर्छ’ मुख्यमन्त्री ममता ब्यानर्जीप्रति कटाक्ष गर्दै गुरूङले भने। ‘यो नोमान्स ल्याण्ड अनि लिजहोल्ड ल्याण्ड हो। यस भू-भागलाई भारत सरकारले पहिला भारतको संविधान भित्र हाल्ने काम गरेर संवैधानिक मान्यता दिनुपर्छ। होइन भने हामी यसवारे अन्तराष्ट्रिय स्तरमा कुराकानी गर्न वाध्य हुनेछौँ’ विमल गुरूङले सरकारलाई सतर्कता गराउँदै भने।
![]() |
Photo: Facebook |
आजसम्म दार्जीलिङ पहाडको भू-भागलाई संवैधानिक मान्यता नदिएको कारण नै यस क्षेत्रको टुङ्गो लाग्न नसकेको आशय पोख्दै उनले सरकारले यसबारे पहल गर्नुपर्ने सुझाव राखेका छन्। उनले गोजमुमो पार्टीको शक्ति देखाउन आगामी केहि दिनमा नै सिलगडीमा वृहत जनसभा आयोजना गर्ने पनि बताएका छन्। ‘सिलगडीमा सबै समुदायका मानिसहरूलाई लिएर एउटा बृहत जनसभा आयोजना गर्नेछौँ। त्यस जनसभाबाट ममता ब्यानर्जीले विमल गुरूङको तागत देख्नेछन्’ गुरूङले भने।
उनले आफ्नो दिल्ली यात्रा सफल रहेको दाबी गर्दै प्रधानमन्त्रीसँग भएको भेटघाटले ममता ब्यानर्जी आत्तिएको कारण नै आज मोर्चालाई फुटाउने षडयन्त्र रच्ने कार्य भइरहेको पनि गुरूङले आरोप लगाएका छन्। ‘गोलि गोलपोस्टमा पुगिसकेको छ। अब छुन साथै गोल हुनेछ। त्यसलाई गोल हुन नदिनका निम्ति नै यहाँका बुद्धिजीविवर्गलाई बरो गरेर खेल जित्न खोजिरहेका छन्’ विमल गुरुउङले ममता ब्यानर्जी अनि डा. छेत्रीको आलोचना गर्दै भने।
आफ्नो सम्बोधनको क्रममा उनले हाल दार्जीलिङ पहाडमा गठन भइरहेको विभिन्न विकास बोर्डका मानिसहरूलाई दार्जीलिङको चिडियाखानामा राखेको जानवर जस्तै जञ्जिरमा राखेको पनि आरोप लगाए। ‘बोर्ड बनाउनेहरूलाई दार्जीलिङको चिडीयाघरमा राखेको जस्तै गरेको छ। यसरी जञ्जिरमा फसेर बस्नु हुँदैन’ विमल गुरूङले भने।
आफुहरू दिल्लीमा छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्त गर्नका निम्ति प्रधानमन्त्रीसँग कुराकानी गर्न गएको अनि बीजेपीलाई साथ दिएको बताउँदै डा. हर्कबहादुर छेत्री ममता ब्यानर्जीबाट के पाउँछु भनेर गएको ? भनि प्रश्न तेर्साए। गुरूङले पहाडका जनतालाई कहिल्यै धोका दिने कार्य नगरेको दाबी गर्दै यदि आफूले चाहेको भए ममता ब्यानर्जीसँग मिलेर बस्न सक्ने बताउँदै तर, जनतालाई धोका नदिनको निम्ति नै ममता ब्यानर्जीसँग मिलेर नबसेको दाबी गरे। उनले जनहितलाई मध्यनजर राखेर आफ्नो ईमान कहिल्यै नबेचेको दाबी गर्दै आफू बाँचेसम्म जनतालाई धोका नदिने प्रतिबद्धता पनि जाहेर गरे।
‘म मेरो जनतालाई कहिल्यै धोका दिने छुइन। मेरो अन्तिम श्वास रहेसम्म जातिको हितमा काम गर्नेछु’ विमल गुरूङले भने।
आफ्नो सम्बोधनको क्रममा उनले नयाँ गठन भएको जन आन्दोलन पार्टीले तराई डुवर्सलाई छोडेर राजनीति गरेको आरोप लगाउँदै गोजमुमोले डुवर्सका जनतालाई धोका नदिने अझ बताए। आफ्नो सम्बोधनको क्रममा उनले विद्वानहरूले गरेको राजनैतिक पार्टीले जनताको हितमा काम नगर्ने दाबी गर्दै उक्त दल बङ्गालकै निर्देशनमा गठन भएको दाबी गरे।
अर्कोतर्फ जनसभालाई सम्बोधन गर्ने क्रममा गोजमुमो अध्यक्ष विमल गुरूङले कालेबुङमा कल्चरल रिसोर्स सेन्टर गठन गर्ने घोषणा गरेका छन्। यसका साथै उनले पहाडको तीनवटा महकुमा क्षेत्रमा हिमूल गठन गर्ने घोषणा गरे। उनले उक्त कार्य आगामी विधानसभा चुनाव अघि नै गर्ने पनि बताए।
यसैक्रममा उनले हाल कालेबुङमा पिउने पानीको समस्या रहेको बताउँदै पीएचई विभागले जनतालाई पिउने पानी सर्वराह पुरा गर्नुपर्ने आदेश दिएका छन्। यसक्रममा जीटीएले पानीको समस्या समाधान गर्न जती खर्च लागे पनि दिने बताए।
यहाँको मेला ग्राउण्डमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा गोजमुमो महासचिव रोशन गिरीले डा. हर्कबहादुर छेत्रीलाई मानहानीको मुद्दा आगामी 30 जनवरीको दिन दर्ता गर्ने बताए। टेक्नोलोजि कलेजको निर्माणको निम्ति रोशन गिरीले ठेका पाएका कम्पनीबाट 15 प्रतिशत घुष मागेको केहि महिना अघि समाचारमा डा. छेत्रीले दाबी गरेको बताउँदै यो आफू अनि आफ्नो पार्टीलाई बदनाम गर्ने कार्य हो भन्दै उनलाई मानहानीको मुद्दा लगाएर न्यायलयमा तान्ने चुनौति दिएका छन्। उनले पनि अधिकतर समय डा. हर्कबहादुर छेत्रीलाई टिप्पणी गरेर नै विताएका थिए।
जनसभालाई भागोप त्यागेर गोजमुमो पार्टीमा सामेल भएका आर मोक्तान, बारूद थापा लगायत विभिन्न क्षेत्रबाट आएका प्रतिनिधीवर्गले सम्बोधन गरेका थिए भने सबैको सम्बोधनको केन्द्र बिन्दु भने डा. छेत्री अनि उनको नयाँ राजनैतिक दलमा नै केन्द्रित बनेको थियो।
0 Response to "जन आन्दोलन पार्टी ढेड महिना मात्र बाँच्नेछ – विमल गुरूङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.