-->
जिल्ला गठनको श्रेय सबैले दिए डा. हर्कबहादुर छेत्रीलाई

जिल्ला गठनको श्रेय सबैले दिए डा. हर्कबहादुर छेत्रीलाई

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 19 दिसम्बर । छुट्टै कालेबुङ जिल्ला गठनको प्रस्तावलाई बङ्गालको क्याबिनेटले पारित गरेपछि विभिन्न राजनैतिक दलहरूले स्वागत जनाएको छ। यसक्रममा कालेबुङ जिल्ला गठनको प्रस्ताव पारित भएपछि दार्जीलिङ डुवर्स युनाइटेड डेभलभमेन्ट फाउण्डेसन (डीडीयुडीएफ) ले पनि स्वागत जगाउँदै सम्पूर्ण कालेबुङवासीलाई बधाई दिएको छ। 
डीडीयुडीफका संस्थापक अध्यक्ष डा. महेन्द्र पी. लामाले “कालेबुङ जिल्ला भएको कारण हामी सम्पूर्ण हर्षित छौँ। जिल्ला गठनको कुनै पनि कार्य इमान्दार सँग गरेको खण्डमा त्यो पूर्ण हुनेछ भन्ने स्पष्ट बनेको छ। यहाँ सबैजना मिलेर माग प्रति इमान्दार र निष्ठावान बनेर कार्य गरे अनि त्यस माग यसरी पूर्ण भयो। यस खुशीको निम्ति हामी सम्पूर्ण कालेबुङका जनता अनि जिल्लाको मागलाई अघि बडाउने डा. हर्कबहादुर छेत्रीलाई बधाई दिन चाहन्छौँ’- डा. महेन्द्र पी. लामाले भने। 
यसक्रममा उनले कालेबुङ जिल्लालाई बङ्गालको सबैभन्दा राम्रो अनि उत्कृष्ट जिल्ला बनाउन सकिने सम्भावनाहरू धेरै रहेको पनि बताएका छन्। उनले आगामी दिनहरूमा जनताको आकाङ्क्षा पूर्ण गर्नका निम्ति कालेबुङले नेतृत्व गर्न आवश्यक रहेको बताउँदै दार्जीलिङका नेतृत्वहरूले जनताको आकाङ्क्षा बारम्बार पूर्ण गर्न नसकेको पनि बताएका छन्। ‘दार्जीलिङ हरेक नेतृत्वमा फेल भयो। भविष्यमा कालेबुङले नै नेतृत्व गरेको खण्डमा छुट्टै राज्यको सपना पनि पुरा हुनसक्ने सम्भावना देखिएको छ। यसकारण अब यस दिशामा कार्य गर्न उचित छ भन्ने हाम्रो मनाशय हो”- डा. लामाले अझ भने।
यता अखिल भारतीय गोर्खालिग (अभागोली) पार्टीका महासचिव प्रताप खातीले ‘यो खुशीको कुरा हो। सम्पूर्ण कालेबुङवासीका निम्ति छुट्टै जिल्ला बनिनु सौभाग्यपूर्ण हो” भने। उनले कालेबुङलाई जिल्ला गठन गर्नमा विधायक डा. हर्कबहादुर छेत्रीको योगदानको प्रशंसा गर्दै यसको सम्पूर्ण श्रेय डा. छेत्रीलाई जाने बताए। ‘कालेबुङ जिल्ला बनाउन डा. हर्कबहादुर छेत्रीले गरेको योगदान प्रशंसनीय छ। यसकारण यसको सम्पूर्ण श्रेय उनैलाई जानेछ अनि हामी जिल्ला गठनका निम्ति मुख्यमन्त्री ममता ब्यानर्जी बधाई दिनेछौँ’- प्रताप खातीले भने। छुट्टै जिल्ला गठनले धेरै प्रशासनिक सुविधा हुने बताउँदै यसले रोजगारको अवसरहरू पनि सिर्जना गर्ने प्रशस्त ठाउँहरूले बनिने खातीले बताएका छन्। ‘छुट्टै जिल्ला गठनले लकभक 4 सय रिक्तपदहरू सृजना हुनेछ अनि उक्त रिक्त पदहरूमा नियुक्ति पाएपछि लगभग 4 हजार परिवारहरूको घर संसार उज्यालो हुनेछ’ खातीले अझ भने। यसक्रममा उनले गोजमुमो पार्टी प्रति कटाक्ष गर्दै गोजमुमोले जिल्ला गठनको श्रेय लिनलाई पटेका पट्काएको आरोप लगाउँदै यसको श्रेय मोर्चाले कुनै पनि अवस्थामा नपाउने अझ बताए।
अर्कोतर्फ छुट्टै कालेबुङ जिल्ला गठनलाई क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले पनि स्वागत जनाएको छ। क्रामाकपा उपाध्यक्ष जे.बी राईले पत्रकारहरूसँग कुराकानी गर्दै कालेबुङलाई जिल्ला अनि मिरिकलाई महकुमाको मान्यता दिनु अत्यन्तै स्वागतयोग्य रहेको बताए। कालेबुङलाई जिल्लाको मान्यता दिए पनि सम्पूर्ण प्रशासनिक प्रक्रिया गर्नमा केहि समय लाग्ने सरकार आफैले बताएपछि अब यसको सम्पूर्ण प्रशासनिक कार्य समापन भएर पूर्ण जिल्लाको कार्य सञ्चालनका निम्ति जनताले प्रतिक्षा गर्न पर्ने भएको उनले बताए। यसक्रममा उनले जसरी अलिपुरद्वार जिल्ला गठन भएर पनि त्यहाँ यतिका दिनसम्म प्रशासनिक कार्य हुन सकेको छैन त्यस्तो जिल्ला कालेबुङ हुन नहुने पनि बताएका छन्। “जसरी अलिपुरद्वार जिल्ला गठन भएर पनि प्रशासनिक कार्यहरू जलपाईगडीको नाउँमा भइरहेको छ त्यस्तो कार्य कालेबुङ जिल्लामा नहोस। जतिसक्दो सम्पूर्ण प्रशासनिक कार्यहरू समापन भएर कालेबुङ जिल्लाले स्वतन्त्ररुपमा कार्य गर्न सक्नुपर्छ भन्ने हाम्रो माग छ”- जे.बी. राईले भने। उनले यदि पूर्णाङ्ग जिल्लाको मर्यादा पाएर कार्य हुनमा ढिलाई भए जनता मूल मुद्दादेखि टाडा हुने भएको कारण पनि यसलाई शिघ्र पूर्णाङ्ग जिल्लाको प्रक्रिया पुरा गर्न पर्ने उनले अझ बताएका छन्।
सोही क्रममा यता कालेबुङ जिल्ला गठनको कार्यलाई दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले पनि स्वागत जनाएको छ। तृणमूल कङ्ग्रेसका युवा नेताद्वय छेवाङ भोटिया अनि भूपेन्द्र लेप्चाले पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला गठनको प्रक्रियालाई स्वागत गर्दै मुख्यमन्त्री ममता ब्यानर्जी अनि डा. हर्कबहादुर छेत्रीलाई बधाई दिएका छन्। “कालेबुङका जनतालाई माया गरेर यसरी जिल्ला गठनको घोषणा गरेको कारण हामी मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिन्छौँ” छेवाङ भोटियाले भने। यसक्रममा उनले कालेबुङ जिल्लालाई भ्रष्टचारमुक्त बनाउनको निम्ति आफूहरूले कार्य गर्ने अझ बताएका छन्। यसैक्रममा दार्जीलिङ हिल तृणमूल युवा कङ्ग्रेस अध्यक्ष भूपेन्द्र लेप्चाले पनि दार्जीलिङ पहाडका सत्तासिन राजनैतिक दलले जनताको भलाईमा कार्य नगरेको आरोप लगाउँदै उनीहरूले आफ्नो गोजि भर्नका निम्ति राजनीति गर्नु भन्ने बुझेको आरोप लगाएका छन्।
कालेबुङ जिल्ला गठनको निम्ति यता नागारिक अधिकार मञ्चले पनि स्वागत गर्दै कालेबुङवासीलाई बधाई दिएका छन्। संगठनका सचिव पी.के प्रधानले एक प्रेस बिज्ञप्ति जारी गरेर उनले जिल्ला गठनका निम्ति विधायक डा. हर्कबहादुरलाई श्रेय दिएका छन्। डा. छेत्रीकै कूशल नेतृत्वमा यसरी कम समयमा जिल्ला बनिन सक्षम भएको दाबी गर्दै यसको श्रेय अन्यले लाने प्रयास गरिरहेको भएपनि वास्तविक श्रेयको हकदार डा. छेत्री नै हुन भनि नागरिक अधिकार मञ्चले दाबी गरेको छ। कालेबुङ जिल्ला गठन पछि अब यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न आवश्यक रहेको बताउँदै यस जिल्लालाई भ्रष्टचारमुक्त बनाउँन आवश्यक रहेको मञ्चले आह्वान गरेको छ। सोहिक्रममा सम्पूर्ण दार्जीलिङ पहाडमा जनताको हितमा आगामी दिनहरूमा कालेबुङका बिधायक डा. हर्कबहादुर छेत्री अनि डा. महेन्द्र पी लामा एउटै मञ्चमा आएर कार्य गर्नु पर्ने आह्वना गर्दै यसले सम्पूर्ण जनताको हित हुने बताएका छन्। 

0 Response to "जिल्ला गठनको श्रेय सबैले दिए डा. हर्कबहादुर छेत्रीलाई"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.