-->
जिल्ला गठनको निम्ति हरियो संकेत पाइसकेको छु – डा. हर्कबहादुर छेत्री

जिल्ला गठनको निम्ति हरियो संकेत पाइसकेको छु – डा. हर्कबहादुर छेत्री

डी.के. वाइबा, कालिमन्युज,, कालेबुङ, 2 नोभेम्बर। छुट्टै कालेबुङ जिल्लाको मागलाई अघि बढाउन गठन भएको जिल्ला माग समितिले भावी कार्यक्रममको घोषणा गरेको छ। यहाँको रामकृष्ण रङ्गमञ्चमा जिल्ला माग समितिका विभिन्न शाखा-प्रशाखाका प्रतिनिधीवर्गलाई लिएर आयोजना गरिएको कार्यक्रममा भावी कार्यक्रमको घोषणा गरिएको हो। यस अवसरमा जिल्ला माग समितिका प्रमुख संयोजक एवं विधायक डा. हर्कबहादु छेत्रीले ‘कालेबुङ जिल्ला गठन हुने कुरामा म निश्चित छु’ भने। यसक्रममा उनले अझ भने –‘यसको निम्ति ग्रीन सिग्नल पाइसकेको छु।’ उक्त जिल्ला गठनको निम्ति सम्पूर्ण कालेबुङवासी एक भए यसलाई कसैले रोक्न नसक्ने दाबी पनि गरे। ‘कालेबुङवासी एक भए कसैले रोक्न सक्दैन। यसको निम्ति म विश्वस्त छु’- डा छेत्रीले अझ भने। जिल्ला माग समितिको आयोजनामा जिल्ला सम्बन्धी आयोजित कार्यक्रममा टाउन हल पूर्णरुपले भरिएको थियो।
जिल्ला माग समितिले जिल्लाको समर्थनमा अनौठो कार्यक्रमको घोषणा गरेको छ। जुन अनौठो कार्यक्रम अनुरुप आगामी 3 नोभेम्बरको दिन घर-घरमा हरियो उद्भिद राखेर जिल्ला गठनको मागलाई समर्थनको सन्देश दिनेछन्। सोहीक्रममा 8 नोभेम्बरको दिन क्याबल जनसभा हुनेछ। त्यसपछि आगामी 18,19 अनि 20 नोभेम्बरका दिन जिल्लाको मागलाई बल पुर्‍याउन प्रत्येक घरमा दीयो बाल्ने कार्यक्रम घोषणा गरिएको छ। उक्त कार्यक्रम पछि 26 नोभेम्बरको दिन 42 वटा ग्राम पञ्चायतमा टोकन धरना, 30 नोभेम्बरको दिन खण्ड विकास कार्यलयमा जिल्लाको माग गर्दै ज्ञापन बुझाइनेछ। यसक्रममा बोल्दै डा. हर्कबहादुर छेत्रीले हरेक माग नै राजनैतिक माग हुन्छ भन्दै जिल्ला गठनको माग पनि एउटा राजनैतिक माग नै हो भने। ‘जिल्ला गठनको माग पनि राजनैतिक माग हो, यसकारण जिल्ला माग समिति अराजनैतिक नै रहिरहन्छ भन्ने नसोँच्दा हुन्छ’ डा छेत्रीले भने। उनले सम्बोधनको क्रममा हिजो डा. महेन्द्र पी. लामासँग भेटघाट गरेर दार्जीलिङ पहाडको हितमा धेरै कुराकानी भएको पनि सबैलाई अवगत गराए। ‘हिजो डा. महेन्द्र पी. लामासँग़ भेटघाट भयो। हामीले दार्जीलिङलको बारे चर्चा गरेका छौं। हामीबीच धेरै चर्चा भएको छ। हामीले काम राम्रो कार्यशुरू गरिसकेका छौं’-डा. छेत्रीले भने। यसक्रममा उनले कसैलाई पनि सर्वमान्य हुन दिन नहुने पनि बताए। विगतमा सुवास घिसिङ सर्वमान्य अनि पछिल्लो चरणमा विमल गुरुङ सर्वमान्य भएको बताउँदै यसरी उ नै सबथोक हो भन्दा नै भूल कार्य भइरहेको बताए। आफ्नो सम्बोधनमा उनले गोजमुमो पार्टी प्रति कटाक्ष गर्दै ‘हामी मोर्चाले जस्तो भूल यो सँगठनमा गर्दैनौं’ भने।
छुट्टै कालेबुङ जिल्ला बन्ने सय प्रतिशत सम्भावनाबारे जनसंख्याकै हिसाबमा हेरिनु हो भने अरूणाचलमा जनसंख्या 7635 मात्र रहेको उदाहरण डा छेत्रीले पेश गरे। ‘देश चलाउने दार्जीलिङ अहिले नगरपालिका चलाउन नसक्ने भएको छ। नत्र भने कालेबुङ नगरपालिका नजिककै सडकहरूलाई हेरौं।’ उनले मोर्चालाई व्यङ्ग कसदै भने। ‘कालेबुङ कृषि जिल्ला बन्नेछ। जिल्ला बने ब्याङ्कको शाखाहरू गाउँ गाउँ पुग्छ। महकुमा अस्पताल जिल्ला अस्पताल बन्छ। नयाँ प्राथमिक स्वास्थ्य केन्द्रहरू खुल्छ’ जिल्ला गठन पछि जनतालाई पुग्ने लाभबारे अवगत गराउदै तिनले भने। ‘दार्जीलिङमा केवल भावनात्मक राजनीति हुँदैछ। अब यो बन्द हुनुपर्छ। नत्र कालेबुङ जिल्लालाई पनि बाहिरकाहरूले नारा मात्रै बनाइदिन्छ’ उनले भने। भावनात्मक कुरा कलाकारहरूले गर्छन्, कविहरूले गर्छन्, राजनीति गर्नेहरूले हार्ड एण्ड फ्याक्टमाथि काम गर्नुपर्छ भनि छेत्रीले स्पष्ट भने। उनले गोजमुमो पार्टी एवं नेताहरू प्रति प्रहार गर्दै स्कूल गएर नानीहरूलाई डाक्टर र इञ्जिनियर बन्नु भन्ने गरेको तर शिक्षाको विकास गर्न नचाहनेहरू हुन भने।
कार्यक्रमलाई समितिका संयोजक युसुफ सिमिकले सम्बोधन गर्दै ‘डा. छेत्रीले आफ्नो राजनैतिक भविष्य दाउमा राखेर अघि आएको बताए। यसको निम्ति जनता एकवद्ध भएर अघि आउनुपर्ने आह्वान गरे। संयोजक नयन प्रधानले सञ्चालन गरेको कार्यक्रममा नाट्य कलाकार ललित गोले, सामजिक कार्यकर्ता शोभा छेत्री आदिले पनि सम्बोधन गर्दै जिल्ला गठनको निम्ति सबै एक हुनपर्ने आह्वान गरे। यस अवसरमा इल्टा अध्यक्ष दोर्जी.टी लेप्चा, व्यवसायी मङतुरा अग्रवाल, तामङ बोर्डका सञ्जय मोक्तान, कर्णल डाडुल भोटिया, शेर्पा बोर्डका निडोम शेर्पा, अरूण ताम्कुले, मगर बोर्डबाट दिवस थापा आदिको पनि विशेष उपस्थिति रहेको थियो।

Related Posts

0 Response to "जिल्ला गठनको निम्ति हरियो संकेत पाइसकेको छु – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.