-->
भाजपा गोर्खाल्याण्ड प्रति इमान्दार छैन,गोजमुमो पार्टीलाई सरोकार छैन  - डा. हर्कबहादुर छेत्री

भाजपा गोर्खाल्याण्ड प्रति इमान्दार छैन,गोजमुमो पार्टीलाई सरोकार छैन - डा. हर्कबहादुर छेत्री

(कालेबुङका विधायक डा. हर्कवहादुर छेत्रीसँग गरेको विशेष कुराकानी) डी के वाइबा, कालिमन्युज, कालेबुङ, 2 अक्टोबर 2015: 

पार्टीले चाहेको खण्डमा जुनै पनि समय राजीनामा दिनेछु भनेर भन्नुभएको पुरानो भिडोयो क्लिपहरू जनसभामा हजारौँ जनतालाई देखाएर तपाईंले पार्टी अनि जनतालाई धोका दिएको मोर्चाले प्रमाणित गर्‍यो। के भन्नुहुन्छ तपाईं ?

Ø  मैले पार्टीले चाहेको खण्डमा कुनै पनि समय राजीनामा दिनेछु भनेको थिएँ। तर त्यसको सन्दर्भ गोर्खाल्याण्ड थियो। आज गोजमुमो अध्यक्ष विमल गुरुङले 10 मार्च 2010 मा गोर्खाल्याण्ड ल्याउन सकिन भने गोलि ठोक्छु भनेका थिए। त्यो भिडियो क्लिप त देखाएन त ! यसले के प्रमाणित गरेको छ भने उहाँको आफ्नो बोलिमा स्थिरता छैन। तब यस्तो अवस्थामा जनताले कसरी विश्वास गर्नु ? मैले जनतालाई धोका दिएँ कि विमल गुरुङले दिए ? जनता आफैले बुझ्नेछन्।

मेला ग्राउण्डको जनसभामा के कुरा हुनपर्थ्यो ?

Ø  त्यस जनसभामा विधायकहरूले राजीनामा नदिँदा गोर्खाल्याण्डको मुद्दालाई कति ठूलो नोक्सान भयो भन्ने चर्चा हुनपर्थ्यो। जनतालाई यो बुझाउन सक्नुपर्थ्यो। यसो गरेन उनीहरूले। गोर्खाल्याण्डको चर्चा विधानसभामा हुनै सक्दैन किन भने गोर्खाल्याण्ड दिने त केन्द्र हो अनि चर्चा गर्ने ठाउँ लोकसभा हो। यसकारण विधायकहरूले राजीनामा नदिँदा गोर्खाल्याण्डको मुद्दालाई केही फरक पर्दैन।

राजीनामा विधायकले दिनुपर्थ्यो कि सांसदले ?

Ø  गोर्खाल्याण्डको निम्ति हो भने सांसदलाई राजीनामा दिन लाउनुपर्ने हो। एकातिर विधायकहरूलाई गोर्खाल्याण्डको निम्ति राजीनामा दिनुपर्छ भन्यो अनि अर्कोतर्फ जीटीएमा राज्य सरकारले हस्तक्षेप गर्‍यो भन्छन्। मैले भन्दैछु जीटीएमा हस्तक्षेप भएको विरोधमा विधायकहरूले विधानसभाबाट राजीनामा दिने आवश्यक्ता नै थिएन। जनतालाई भन्छ गोर्खाल्याण्ड अनि यता जीटीएमा हस्तक्षेपको कुरा गर्छ। यो कुरै मिलेन। म भन्दैछु विधानसभाले गोर्खाल्याण्ड दिनै सक्तैन। गोर्खाल्याण्ड दिने त लोकसभा हो। त्यसो हो भने राजीनामा त सांसदलाई दिन लाउनुपर्ने हो। त्यस्तो कार्य त पार्टीले गरेन त 

विधायकहरुलाई विधानसभामा गोर्खाल्याण्डको आवाज उठाउनु पठाएको हो भन्ने भिडियो पनि देखाइयो नि !

Ø  हामीलाई विधानसभामा पार्टीको सिपाही बनाएर पठाएको हो। गोर्खाल्याण्डको निम्ति विधानसभामा पठाएको भन्छन् भने राज्यसभाको चुनावमा हामी तीनजना विधायकहरूलाई किन त्रिणमूल कङ्ग्रेसमा भोट हाल्न भनियो त ? आज उनीहरूले त्रिणमूलसँग हात मिलाएका कुराहरू चैँ किन जनतालाई देखाउँदैन ? यो पनि जनतालाई भन्नु पर्ने हो त !

छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति भनिएको जनसभामा अधिकतर वक्ताहरूले तपाईंलाई नै गाली गरे नि !

Ø  जबसम्म हामी थियौँ तबसम्म हाम्रो अनुहार देखाएर पार्टीमा यस्ता व्यक्तिहरू पनि छन् भनेर देखाउने कार्य गर्थे। आज जस्तो पार्टी छोड्यौँ त्यस्तै पार्टीको असली अनुहार जनसभाबाट देखाइहाले नि ! वास्तवमा त्यस जनसभाबाट मोर्चा अध्यक्ष विमल गुरुङ आफैले मलाई गाली गर्न मन लागेको हुँदो हो तर, यस्तो गर्दा अलिक असभ्य देखिने भएको कारण उनले नै अन्य नेताहरूलाई कडा भन्दा कडा शब्दमा गाली गर्नु भनि निर्देश दिएको हो। उनीहरूसँग मुद्दा थिएन। यसकारण ती गाली गर्नेहरूलाई म केही टिप्पणी गर्न चाहन्न किन भने त्यो सबै कार्य निर्देशमा गरिएको हो।

जीटीएमा हस्तक्षेप भएकै कारण गोजमुमो पार्टीले गोर्खाल्याण्डको आन्दोलन गर्नु परेको हो ?

Ø  हामीले अघिबाटै गोर्खाल्याण्डको निम्ति आन्दोलन गरिसकेका छौँ। आमरण अनशन, पदयात्रा पनि गरेकै हो। सरकारलाई सबै थाह छ। केन्द्र सरकारसित एघारपल्ट वार्ता भइसकेको छ। अब गरिरहने आवश्यक्ता छैन। जीटीएमा हस्तक्षेप भयो भन्ने कुरा छ त्यो पनि मानिलिऊँ, विभागहरू हस्तान्तरण भएन भन्ने कुरा पनि मानिलिऊँ। त्यसो हो भने छ-छ महिनामा केन्द्र, राज्य अनि जीटीएमाझ हुने समिक्षा सभामा भएको चर्चामा के भयो भन्ने कुरा जुन फोरममा लगिन्छ त्यहाँ के चर्चा भयो भन्ने हामीलाई थाह हुँदैन ? वास्तवमा गोजमुमोलाई गोर्खाल्याण्ड मुद्दासँग कुनै सरोकार छैन। गोर्खाल्याण्ड उनीहरूको निम्ति नारा भयो अनि यस नारालाई काममा लगाएर उनीहरूलाई आफ्नो सपना पुरा गर्नुछ। गोर्खाल्याण्ड भन्ने शब्दको औचित्य उनीहरूको निम्ति अब केही छैन।

विमल गुरुङले त कमा, चन्द्रविन्दु कहाँ लाग्छ म जान्दिन त्यो सबै बुद्धिजीविले सिकाउनुपर्छ भनेका थिए’रे नि !

Ø  मोर्चा स्थापनाको पहिलो दिनदेखि सम्पूर्ण कार्यक्रम बनाउँने व्यक्ति विमल गुरूङ हुन्। यो कुरा पार्टीमा भएका अनि निस्केकाहरू सबैलाई थाह छ। ए-देखि जेड् सम्म कार्यक्रम विमल गुरुङले बनाउँछन्। अरू कसैको कुनै रोल हुँदैन। महासचिवलाई समेत थाह हुँदैन के कार्यक्रम बनिन्छ भन्ने कुरा। जब कुरा बिग्रिन्छ त्यतिबेला वुद्धिजीविवर्गलाई देखाउने कार्य हुन्छ। केन्द्रिय समितिको सभामा सबै बोलेपछि अन्तमा विमल गुरुङ बोल्छन् अनि उनले बोलेको कुरा नै अन्तिम निर्णय हुन्छ।
मैले दार्जीलिङमा मदन तामाङको हत्या भएपछि पार्टीबाट तत्काल राजीनामा दिएको थिएँ। त्यसबेला नारीमोर्चा, युवा मोर्चा मेरो घरमा आएर दबाव दिएपछि पुन: पार्टीमा आउन पर्‍यो। जब काम बिग्रिन्छ त्यतिबेला त्यसको जिम्मेवार, त्यसको उत्तर दिने अनि त्यसको सजाय भोग्ने व्यक्ति चैँ हर्कवहादुर हो ? भविष्यमा यस्तो गल्ति गर्दै भन्न सकिन्दैन। यसकारण यस्तो जोखिममा बस्नु ज्वालामुखिमा घर बनाउनु जस्तो हो। मलाई आज चौकिको लोभि भन्छ तर मैले चौकि 2010 मा नै छोडेको हो।

जीटीएले के गर्नुपर्छ त्यसो भए?

Ø  जीटीएले गोर्खाल्याण्डको निम्ति पहिला पूर्वाधारहरू तयार गर्नुपर्छ। उनीहरूले जीटीएलाई राम्रोसँग सञ्चालन गरेर गोर्खाल्याण्डको पूर्वाधार तयार पार्ने काम गर्नुपर्छ भन्ने अघिबाटै भनिसकेको छु। गोर्खाल्याण्ड एकैचोटि हुनसक्दैन अनि यसको निम्ति पूर्वाधार आवश्यक छ। त्यसवेला वयानलाई अपव्याख्या गरियो। ‘इन्द्रेको बाऊ चन्द्रे आए पनि गोर्खाल्याण्ड हुँदैन’ भन्ने बयानको टुक्रा झिकेर दुस्प्रचार गरियो। वास्तवमा त्यसमा मैले ‘एकैखेपमा गोर्खाल्याण्ड हुँदैन” भनेको थिए अनि त्यहाँ भनिएको “एकैखेप’ भन्ने शब्दलाई भने काटिएर अपव्याख्या गरिएको हो। गोर्खाल्याण्ड मेरो मिशन हो उनीहरूको निम्ति केवल एम्बिसन मात्र हो। म जसरी पनि गोर्खाल्याण्डको निम्ति काम गर्छु। लेखेर भए पनि गोर्खाल्याण्डको निम्ति म काम गर्नेछु।

गोर्खाल्याण्डको निम्ति जनता तयार छन् भन्ने लाग्छ तपाईंलाई ?

Ø  गोर्खाल्याण्डको निम्ति जनता तयार छैनन्। विनय तामाङले जलपाईगडी जेलमा भोक हडताल गर्दा पछि हडताल फिर्ता लिनका निम्ति उनलाई पानी पिलाउने व्यक्ति थिएन। मन्त्रीहरूलाई पानी पिलाएर हडताल फिर्ताको अनुरोध गर्दा उनीहरू पानी पिलाउन समेत आउन मानेनन्। मैले कोलकोताबाट आएर पानी पिलाएर हडताल फिर्ता गरेको हो। त्यसबेला पनि गोर्खाल्याण्डको निम्ति जनता तयार छैन भनेर विमल गुरूङलाई भनेको हो। त्यसबेला आज उत्साहित हुँदै गोर्खाल्याण्ड भन्ने भाइहरू पुलिस र सीआरपीले छापा मार्दा सिक्किम पसेर मलाई नै फोन गर्दै सोध्ने गर्थे। यस्ता आवेशमा आएर आन्दोलन गर्छु भन्ने अनि आन्दोलनको घोषणा हुनसाथ पुलिसले छापा मार्दा सिक्किम पस्ने युवाहरूसँग हामी आफै सचेत बस्नुपर्छ।

भारतीय जनता पार्टी गोर्खाल्याण्ड प्रति इमान्दर छन् त ?

Ø  भाजपा गोर्खाल्याण्ड प्रति पटक्क इमान्दार छैन। यदि इमान्दार हुने हो भने आजसम्म लोकसभामा गोर्खाल्याण्डको बील ल्याउने थियो त ! उनीहरूले बील प्रस्तुत गरेर लोकसभाबाट पारित गरेर राज्यसभामा पठाएको भए अनि राज्यसभामा अन्य राजनैतिक दलहरूले विरोध गरेको भए पनि भाजपालाई नै फाइदा हुने थियो। उनीहरूले अन्य दलहरूको कारण बिल राज्यसभामा पारित हुनसकेन भन्न सक्ने थिए। खोइ त यसो गरेको। उनीहरूले केवल बङ्गालको सत्ता हेरेको छ। यसको निम्ति बङ्गालमा उनीहरू आफ्नो आधार बलियो बनाउन चाहन्छन् अनि गोर्खाल्याण्डको मुद्दालाई वास्ता गर्दैनन्। यसले नै उनीहरू गोर्खाल्याण्ड प्रति इमान्दार नभएको प्रमाणित गर्दछ।

 गोजमुमोले भ्रष्टचार प्रमाणित गर्न अडिट् गर्ने चुनौति दिएका छन्। तपाईंको प्रतिक्रिया ?

Ø  अडिट गर्नुपर्ने कुरा अत्यन्तै राम्रो हो तर अडिट कागजमा मात्र हुनु हुँदैन। सारदा, व्यापारमा सबैमा कागजपत्र ठिक थियो तर पनि त्यहाँ के भयो भन्ने सबैलाई थाह छ। जीटीएको अडिट हुँदा अनि भ्रष्टचार भयो भएन भन्ने जान्न चाहिँ अडिट कुन ठाउँको, कुन कामको हुँदैछ त्यहीँ ठाउँमा कागजपत्र बोकेर स्थलगत निरिक्षण पनि गर्नुपर्छ। त्यसले मात्र सत्यता स्पष्ट निस्कन्छ। कागजको अडिट त सबै राम्रै देखाइन्छ नि !

गोर्खाल्याण्डको आन्दोलनलाई गोजमुमोले सफल पार्न सक्छ ?


Ø  जुन प्रकारको आजको कार्यक्रम देखिन्दैछ यसले त सफल हुने देखिन्दैन। जीटीए राम्रो सञ्चालन गर्न नसक्नेले गोर्खाल्याण्ड कसरी ल्याउन सक्छ? स्कूल सञ्चालन गर्न नसक्नेले विश्वविद्यालय सञ्चालन गर्छ भन्ने कसरी विश्वास गर्नु। 

Related Posts

0 Response to "भाजपा गोर्खाल्याण्ड प्रति इमान्दार छैन,गोजमुमो पार्टीलाई सरोकार छैन - डा. हर्कबहादुर छेत्री "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.