-->
कालेबुङमा बन्दको आंशिक प्रभाव

कालेबुङमा बन्दको आंशिक प्रभाव

डी के वाइबा, कालिमन्युज, कालेबुङ 2 सितम्बर। अल इण्डिया ट्रेड यूनियन कङ्ग्रेस (एआईटियुसी) ले डाकेको देशव्यापी बन्दको असर आज कालेबुङ शहरमा आंशिक रूपले परेको देखियो। विशेष गरेर आज यहाँको सेन्ट्रल व्याङ्क अनि युनियन ब्याङ्क पूर्णरूपले बन्द रहेको थियो जसको कारण व्याङ्कमा आएका उपभोक्ताहरूले समस्या भोग्न परेको देखियो।
यसैक्रममा यहाँको मुख्य डाक घर विहान खोलिए पनि कर्मचारीवर्गले कुनै कार्य नगर्दा मानिसहरूले समस्या भोग्न परेको थियो भने पछिबाट गोर्खा जनमुक्ति मोर्चाका पिकेटर्सहरू डाकघरमा पुगेर सबै कर्मचारीवर्गलाई आफ्नो दैनिक कार्य गर्ने अनुरोध गरेपछि कर्मचारीवर्गले आफ्नो कार्य सुचारू गरेका थिए।
यसैक्रममा यहाँको सहकारी व्याङ्क, एचडीएफसी व्याङ्क अनि स्टेट व्याङ्क बिहान खुल्ला रहेपनि कर्मचारीवर्गले कुनै कार्य गरेको थिएन। जसको कारण व्याङ्कमा आएका उपभोक्ताहरूले समस्या भोग्न परेको थियो। उक्त व्याङ्कहरूमा कर्मचारीवर्गले कुनै कार्य नगरेको थाह पाएपछि पछिबाट उक्त व्याङ्कहरूमा पनि गोजमुमो पार्टीका कार्यकर्ताहरू पुगेर कर्मचारीवर्गलाई आफ्नो कार्य गर्ने अपिल गरे। जसको कारण पछिबाट कार्य सुचारू बनेको थियो। यद्यपी सदा झैँ व्याङ्कमा सम्पूर्ण कार्यहरू भने हुन नसक्दा टाडाबाट आएका उपभोक्ताहरूले धेरै समस्या भोग्न परेको थियो।
 अर्कोतर्फ देशव्यापी बन्दको समयमा पनि कालेबुङ शहरमा सम्पूर्ण दोकानपाट खुल्ला रहेको थियो भने वाहनहरूको चलाचल पनि स्वाभाविक रहेको देखियो। यद्यपी सिलगडी गामी वाहनहरूको चलाचल सदाको भन्दा धेरै मात्रमा कम रहेको थियो। कालेबुङबाट सिलगडी जाने वाहनहरूको संख्या सदाको भन्दा कम रहेपछि यात्रीहरूले समस्या भोग्न परेको देखियो भने यहाँको सेन्डिकेटबाट आज कुनै पनि यात्रीहरूलाई टिकट प्रदान गरिएको थिएन। बन्दको कारण सिलगडीमा कुनै समस्या भए त्यसको जिम्मेवारी सिन्डिकेटले लिन नसक्ने भएको कारण उनीहरूलाई टिकट प्रदान नगरिएको थाह लागेको छ। 
यसक्रममा सिलगडी जाने यात्रीहरू आफ्नै जिम्मेवारमा सिलगडी गएको देखियो। अल इण्डिया ट्रेड युनियन कङ्ग्रेसले डाकेको देशव्यापी बन्दको कारण सबैभन्दा धेर समस्या सिलगडी जाने यात्रीहरूले भोग्न परेको थियो। किन भने बन्दको समय सिलगडीमा झडप भए समस्या हुने भएको कारण कालेबुङबाट सिलगडी जाने वाहनहरू अधिकांश जान मानेको थिएन। यसक्रममा उत्तरबंग परिवहन निगमको बस भने सुचारू रूपले सिलगडी यात्रीहरू लिएर गएको देखियो।

0 Response to "कालेबुङमा बन्दको आंशिक प्रभाव"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.