
नेताहरूको अकर्मण्यताले जीटीए नचलेको डा.छेत्रीको दावी .... जिल्ला दिन्छु भन्यो भने तृणमूलमा जानेछु - डा. हर्कबहादुर छेत्री
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 24 सितम्बर। “आज विधायकहरूलाई राजीनामा दिन लगाउनुको पर्दा पछिको तथ्य गोर्खाल्याण्डको आन्दोलन सँग कहिँ जोडिएको छैन। पर्दा पछिको तथ्यत उनीहरूको ठिका-बिगाको कुरासँग जोडिएको छ। जुन मुद्दादेखि नितान्त बाहिरको कुरा हो” – उक्त कुरा गोजमुमो पार्टीबाट राजीनामा दिएर बिद्रोह गर्ने विधायक डा.हर्कबहादुर छेत्रीले भनेका हुन्।
यसैक्रममा उनले अझ कुराकानी गर्दै “आज कतिजनाले गोर्खाल्याण्डको मागलाई धमिलाउँन जिल्लाको माग गरिरहेको अनि जाति टुक्राउने काम गर्दैछ भन्ने आरोप आइरहेको छ। एउटा महकुमा जिल्ला हुँदा कसरी जाति टुक्रिन्छ? कसरी मुद्दा कमजोर हुन्छ? यो कुरा म जान्दिन अनि जसले भन्दैछन् त्यो उनीहरूले जान्दछन्” डा.छेत्रीले अझ भने।
गोजमुमो पार्टीबाट राजीनामा दिएर विद्रोह गर्ने कालेबुङका विधायक कोलकोताबाट आज साँझ कालेबुङ आइपुगेका हुन्। पुलिसको साइरन बजाएर प्रथमपल्ट कालेबुङ भित्रिएका विधायक डा. हर्कबहादुर छेत्रीलाई यहाँको थाना डाँडामा फूल बर्साएर पटेका पट्काउँदै भव्य स्वागत गरिएको थियो।
उनले कालेबुङ आइपुग्न साथै यहाँको एक होटलमा पत्रकार सम्मेलन आयोजना गरेर भने – “धेरैपल्ट कोलकोता गइयो तर, आज कोलकोताबाटको फर्काइ बेग्लै प्रकारको आफैलाई लागेको छ। आजको फर्काइमा म आफैलाई एउटा स्वतन्त्र व्यक्ति, एउटा स्वंय नेतृत्व दिन सक्ने व्यक्ति कालेबुङ फर्केर आएको जस्तो लागिरहेको छ।”
यसक्रममा उनले अब आफूमाथि पार्टीको निर्देशन नहुने अनि स्वतन्त्ररूपमा जनताको काम गर्न सक्ने अनुभव गरिरहेको बताउँदै भने “आज मेरो पछाडी डोरी बाँध्ने व्यक्ति छैन। मेरो खुट्टामा चेन लगाउने व्यक्ति छैन। एउटा विधायकको ओहोदा भन्दामाथि चढेर काम गर्न सक्ने पोजिसनमा म कालेबुङ फर्केको छु” ।
कालेबुङका जनताले डा. हर्कबहादुर छेत्रीलाई पटेका पट्काएर स्वागत गरेको होइन भन्दै त्यो स्वागत कालेबुङका जनता आफैलाई गरेको हो भने। त्यसको अर्थ अब जनताले कालेबुङलाई केहि ठोस उपलब्धि दिनसक्ने व्यक्ति फर्किएका छन् भनेर पटेका पट्काएर उत्साह देखाएको जनाए।
पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा उनले जीटीए व्यवस्था आज जुन प्रकारले फेल भयो भन्ने दाबी गरिरहेकोछ भन्ने प्रसंगमा तिनले भने कि वास्तवमा त्यो फेल हुनको पछी मोर्चा नै हो । मोर्चाले जीटीए सभामा अहिलेसम्मा कुनै प्रस्ताव पारित गरेर बङ्गाल सरकारलाई नपठाएको दाबी गर्दै यदि उक्त पारित प्रस्तावहरू बङ्गाल सरकारले स्वीकार नगरे मात्र उनीहरूले जीटीए फेल भयो भन्न सक्नेथियो भनि जनाए। तर दुर्भाग्यवस यस्तो कार्य जीटीए सभाले कहिलै नगरेको तिनले दाबी गरे।
“जीटीए सभाले कामै गर्दैन। कुनै प्रस्तावहरू नै पारित गर्दैन। काम नै नगरी कसरी फेल भयो भनेर भन्नु। यदि आज जीटीए फेल भयो भन्छ भने जीटीए चलाउनेहरूको अकर्मण्यताले फेल भएको हो” डा.छेत्रीले दाबी गरे।
यसक्रममा जीटीएको चौकिमा बसेर गोर्खाल्याण्डको आन्दोलन हुन्छ भनि प्रश्न गर्द उनले भने – “जीटीए छोडेर आन्दोलन गर्छ भन्ने मलाई विश्वास लाग्दैन। यो जनतालाई एकट्ठा बनाएर राख्नका निम्ति बनाएको बहना मात्र हो। उनीहरूले जीटीए अघिबाट छोड्न खोज्दा पछिबाट आफ्नो स्वाभिमान नै त्यागेर पुन: जीटीएको चौकिमा फर्केका हुन्। यस्तो अवस्थामा आन्दोलन नै गर्छ भन्ने मलाई पटक्क विश्वास लाग्दैन।”
“आज तीन-चारवटा जातको बोर्ड बनिन्दा गोजमुमो पार्टीलाई चिन्ता गर्ने के काम थियो ? यसले त खासमा हाम्रो बोझ घटेको छ। कुनै तामाङ अथवा लेप्चा जातका मानिसहरू घर बनाइदेऊ भन्दै जीटीएमा आए उनीहरूलाई यो तिमीहरूको बोर्डले बनाइदिनेछ अनि हामी बोर्ड नपाएकाहरूको बनाउँनेछौँ भन्न सजिलो हुनेथ्यो। तर साथीहरूले कमिसन पाउँदैन भनेर बोर्ड गठनलाई लिएर हाम्रो राज्य सरकारसँग झगडा भएको हो। आज जीटीए कमिशनमा चल्दैछ”- विधायक डा. हर्कबहादुर छेत्रीले गोजमुमो पार्टीको कडा आलोचना गर्दै भने।
यसक्रममा आज जीटीएलाई खोक्रो बनाउने कार्य सबै भ्रष्टचारले ग्रस्त पारेको दाबी पनि डा.छेत्रीले गर्न चुकेनन्।
अर्कोतिर अहिलेघरी दार्जीलिङ पहाडका जनताले विद्रोही विधायक डा. हर्कबहादुर छेत्रीले दार्जीलिङ पहाडमा विमल गुरूङको वैकल्पिक नेतृत्व दिने हुन् कि भन्ने जिज्ञासा बढीरहेको छ। यसबारे डा. छेत्रीलाई प्रश्न गर्दा उनले – “हर्कबहादुर ढोड हो भने जलेर खरानी हुनेछ अनि सुन हो भने गहना भएर निस्कने छ” भने।
यसैक्रममा उनलाई तृणमूल कङ्ग्रेसमा जाने सन्दर्भमा प्रश्न गर्दा अहिलेघरी स्वतन्त्ररूपले बस्ने बताए। यद्यपी उनले कुरालाई घुमारो पार्दै – “भोलि गोर्खाल्याण्ड दिन्छु भन्यो भने जानेछु। कालेबुङ जिल्ला बनाउँछु अनि हर्कबहादुर मेरोमा आउनुपर्छ भन्यो भने कालेबुङका जनताको सामुहिक स्वार्थको निम्ति पक्कै तृणमूलमा जनेछु” भने।
उनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा गोर्खा जनमुक्ति मोर्चाले जीटीए थाप्दा जीटीएको प्रावाधान अनुसार खण्ड अनि महकुमा पुन: संशोधन गर्ने स्पष्ट उल्लेख रहेको बताए। यसबारे स्पष्टरुपमा मोर्चाले नबोले पनि एउटा जिल्ला भन्दा सानो एउटा राज्य बनिन सक्दैन भनेरनै उनीहरूले जिल्ला धेरै बनाउनपर्छ भनेर तर्क दिएको दाबी गरे। यद्यपी मोर्चाभित्र एउटा विरोधाभाष रहेको बताउँदै जिल्लाको कुरा गर्ने मोर्चाले जिल्ला बनाउने राज्य सरकारसित नै झगडा गरे जिल्ला बनिन नसक्ने उनले स्पष्ट पारे।
“मोर्चा भनेको धेरैवटा विरोधाभाषहरूले घेरेको दल हो। जुन विरोधाभाषहरूलाई साम्य पार्न व्याख्या गर्दा-गर्दा हैरान भएको व्यक्ति हुँ म। अब यो विरोधाभाषहरू व्याख्या गरिरहने आवश्यक छैन। अब आफूले भने यस्तो बिरोधाभाषहरू नभएको काम गर्न आफूलाई धेरै हल्का भइरहेको छ” डा. छेत्रीले भने।
उनले 2012 मा रोटान्डामा अलिपुद्वार जिल्ला निर्माणको निम्ति सम्पन्न भएको बैठकमा रोशन गिरीले अलिपुरद्वार जिल्लाको बिरोध गरेको जानकारी गराउँदै जिल्लाको माग नगरेको दाबी गरे। यसक्रममा आफूले भने कालेबुङलाई छुट्टै जिल्ला बनाउन सक्ने भौगोलिक अवस्थान रहेको स्पष्ट कुरा राखेको डा. छेत्रीले पत्रकारहरूलाई जानकारी गराए। उक्त बैठकमा श्यामल सेन कमिटिले रिपोर्ट तयार नपारेको कारण अलिपुरद्वार जिल्ला बनिन्दा तराई डुवर्सको मौजा जीटीएमा पस्न नसक्ने छाँट देखेर अलिपुरद्वार जिल्लाको रोशन गिरीले बिरोध गरेको अझ जनाए।
उनले कालेबुङ जिल्लाको मागलाई अहिलेसम्म राज्यको विधानसभामा 2012 देखि 2015 सम्म मोठ पाँचपल्ट उठाएको दाबी गरे। यसैक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले सन् 2012 मा खण्ड अनि महकुमा बडोत्तरीको निम्ति कार्य गर्नु भनि निर्देश दिएको पनि तिनले जानकारी गराए।
“मैले राजनीतिमा के भनेर बुँझे भने दिने व्यक्तिसँग तर्क कडा गर्नुपर्छ अनि तर्कको पछि तथ्य हुनपर्छ” डा हर्कबहादुरले मोर्चा प्रति कटाक्ष गर्दै मोर्चाले कहिल्यै तथ्यपरक कुरा नगरेको संकेत दिए। यसक्रममा विधानसभामा गोरामुमोका पूर्व विधायक गौलन लेप्चा अनि प्रणय राईले गोर्खाल्याण्डको नारा लगाएको स्मरण गराउँदै ‘यदि मोर्चालाई सदबुद्धि आयो भने वी वान्ट गोर्खाल्याण्ड लेखेको टिसर्ट सांसद आहलुवालीयालाई किनिदिनुपर्छ अनि त्यो टि-सर्ट लगाएर संसदमा गोर्खाल्याण्डको नारा लगाउन लाउनुपर्छ। त्यसो गर्यो भने मात्र मोर्चा साँच्चै गोर्खाल्याण्ड प्रति इमान्दार छ भन्ने बुझिन्छ” विधायक डा. हर्कबहादुर छेत्रीले गोजमुमो पार्टीलाई चुनौति दिँदै भने।
अहिलेघरी बिधायकहरूले जुनै पनि परिस्थितिमा राजीनामा दिनुपर्छ भन्ने बोन्ड साइन गरेको छ भन्ने चर्चा आइरहेको कुरामा उनले उक्त बोन्ड साइन गरेको बताउँदै मोर्चाले मनपरी गर्दा पनि राजीनामा दिनुपर्छ भन्ने कुरा त्यहाँ नलेखिएको स्पष्ट पारे। आफूलाई कालेबुङका जनताले पाँचवर्षको निम्ति छानेर पठाएको बताउँदै कालेबुङकै जनताको निम्ति अब राम्रो कार्य गर्नको निम्ति पार्टी त्यागेर स्वतन्त्र विधायकको रुपमा बस्ने निर्णय लिएको बताए।
0 Response to "नेताहरूको अकर्मण्यताले जीटीए नचलेको डा.छेत्रीको दावी .... जिल्ला दिन्छु भन्यो भने तृणमूलमा जानेछु - डा. हर्कबहादुर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.