-->
कालेबुङ महकुमा अस्पतालमा उचित मूल्य औषधी पसलको उद्घाटन

कालेबुङ महकुमा अस्पतालमा उचित मूल्य औषधी पसलको उद्घाटन

Photo: Mukesh Sharma
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 12 अगस्त 2015। कालेबुङ महकुमा अस्पतालमा आज उचित मूल्य औषधी पसलको उद्घाटन गरिएको छ। यसको साथै म्याटरिनिटी वार्ड, पेड्याट्रिक्स वार्ड अनि पे क्याबिनको पनि उद्घाटन गरियो। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका स्वास्थ्य विभागीय सभासद श्रीमती आशा गुरूङको बाहुलीबाट आज उक्त सबै उद्घाटन गरिएको हो।
यस अवसरमा कार्यक्रममा स्वास्थ्य विभागीय कार्यकारी निर्देशक डब्ल्यु जिम्बा, दार्जीलिङका सीएमओएच ए.के विश्वास, क्षेत्रिय सभासद निमा तामाङ, काजिम क्षिरिङ भोटिया, कल्पना तामाङ लगायत अन्य विभागीय अधिकारीवर्गको विशेष उपस्थिति रहेको थियो।
कालेबुङ महकुमा अस्पतालको सभागृहमा सम्पन्न भएको कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेकी सभासद आशा गुरूङले रिबन काटेर फेयर प्राइस सप, म्याटरिनिटी वार्ड, पेड्याट्रिक्स वार्ड अनि पे क्याबिनको एकसाथ उद्घाटन गरेकी हुन्। बिरामीहरूका निम्ति 60 प्रतिशत छुट रहने दवाईहरू अब उसो कालेबुङ महकुमा अस्पतालको फेयर प्राइस सपमा सरकारी रूपमा प्राप्त रहने भएको छ। आजसम्म बिरामीहरूले आवश्यकीय दवाईहरू बजारका दवाई दोकानहरूबाट किन्न परिरहेका थिए भने अब उसो सबै दवाईहरू सस्तो मूल्यमा उचित मूल्य औषधी पसलबाट पाउने भएका छन्।
24 घण्टा पूर्णरूपले खुल्ला रहने फेयर प्राइस सपमा अहिलेघरी 160 भन्दा अधिक प्रकारका दवाईहरू उपलब्ध रहेको महकुमा अस्पतालका अधिक्षक डा. सोनाम भोटियाले जानकारी दिएका छन्।
यसैक्रममा महकुमा अस्पतालका अधिक्षक डा. सोनाम भोटियाले पत्रकारहरूसित कुराकानी गर्दै महकुमा अस्पतालमा निर्माण गरिएको उचित मूल्य औषधी पसलले बिरामीहरूलाई धेरै लाभ पुग्ने बताएका छन्। सोहीक्रममा कालेबुङ महकुमा अस्पतालमा अतिरिक्त रूपले निर्माण गरिएको 20 बेडयुक्त म्याट्रिनिटी वार्ड, 20 बेडयुक्त पेड्याट्रिक्स वार्ड अनि 18 वटा पे क्याबिनको पनि उद्घाटन गरियो। यसभन्दा अघि म्याटरिनिटी वार्डमा केवल 30 जना बिरामीहरूलाई मात्र भर्ना गर्न सक्ने सुविधा रहेको थियो भने 20 जना नानीहरूलाई भर्ना गर्ने पेड्याट्रिक्स वार्ड रहेको थियो।
आज अतिरिक्तरूपले निमार्ण गरिएको उक्त दुवै वार्डको उद्घटन पछि अब उसो दुवै वार्डमा 50 जना बिरामीहरूलाई सुविधासँग भर्ना गर्न सकिनेछ।
यसैक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेकी कार्यकारी सभासद आशा गुरूङले आगामी दिनमा कालेबुङ महकुमा अस्पतालमा बिरामीहरूको उचित जाँचको निम्ति थप छ बेड भएको उच्च निर्भरीय ईकाइ निर्माण गर्ने घोषणा गरेकी छन्। उनले कार्यक्रमलाई सम्बोधन गर्दै आज अस्पतालमा निर्माण गरिएको उचित मूल्य औषधी पसल अनि अन्य वार्डहरू ठूलो उपलब्धि रहेको बताउँदै यसलाई कालेबुङका जनताले जोगाएर राख्नुपर्ने आह्वान गरिन्।

0 Response to "कालेबुङ महकुमा अस्पतालमा उचित मूल्य औषधी पसलको उद्घाटन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.