-->
केन्द्रीय मन्त्री किरण रिज्जु सँगै बिमल गुरूङले पैह्रोग्रस्त क्षेत्रको भ्रमण गरे

केन्द्रीय मन्त्री किरण रिज्जु सँगै बिमल गुरूङले पैह्रोग्रस्त क्षेत्रको भ्रमण गरे

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 2 जुलाई। केन्द्रिय मन्त्री किरण रिज्जु, दार्जीलिङका सासंद एसएस आहलुवालिया अनि जीटीएका प्रमुख कार्यपाल विमल गुरूङले आज कालेबुङको पैह्रोजन्य क्षेत्रहरूको भ्रमण गरे।
कालेबुङ अनि मिरिकमा जनधनको धेरै नोक्सानी भएपछि देशका प्रधामन्त्री नरेन्द्र मोदीको निर्देशनमा मन्त्री रिज्जुले मिरिकपछि कालेबुङको पैह्रोजन्य क्षेत्रको भ्रमण गर्दै पहाडलाई केन्द्र सरकारबाट हरसम्भव सहयोग प्रदान गरिने बताएका छन्।
“हामीले मिरिक अनि कालेबुङको पैह्रोप्रभावित क्षेत्रहरूको भ्रमण गऱ्यौँ। मतृकहरूलाई हेऱ्यौँ, घाइतेहरूको अवस्था देख्यौँ। प्रधामन्त्री नरेन्द्र मोदीको निर्देशनमा म यहाँ आएको छु। पैह्रो पीडितहरूलाई राहत सामाग्रीसितै उनीहरूलाई पुनर्वासको व्यवस्था मिलाइनेछ। उनीहरूलाई केन्द्र सरकारबाट हरसम्भव सहयोग प्रदान गरिनेछ” केन्द्रिय गृह मन्त्रीले भने।
यसैक्रममा मन्त्री रिज्जुले राष्ट्रीय राजमार्गको समस्याबारे आफूहरूले बैठक गरेर निष्कर्ष निकाल्ने बताएका छन्। सबैभन्दा पहिले उनीहरूले आठ माइलको युनिभर्सल नजिक खल खलेमा गएको पैह्रो क्षेत्रको भ्रमण गरेका थिए। जुन पैह्रोले एकै परिवारको तीनजनाको ज्यान लिएको थियो। यस भ्रमण अवधी क्षेत्रवासीहरूले केन्द्रीय मन्त्री सामु व्यापक आक्रोस पोख्दै पीडब्ल्युडीको लापारवाहीको कारण नै उक्त पैह्रो गएको आरोप लगाएका छन्।
क्षेत्रवासीहरू अनुसार अहिलेसम्म आठ माइल क्षेत्रमा कुनै ठूलो पैह्रो गएको थिएन। तर पीडब्लुडी विभागले सात माइलदेखि नयाँ निर्माण गरिरहेको वैकल्पिक सडकको लापरवाहीपूर्ण कामको कारण नै पैह्रो गएको उनीहरूले आरोप लगाए। गुणस्तरहीन काम, अव्यवस्थित नाली अनि सुरक्षित देवलहरूको अभावले गर्दा नै क्षेत्रमा व्यापक पैह्रो गएको उनीहरूको भनाइ छ।
“पीडब्लुडी विभागले करोडौँ रूपीयाँ खर्च गरेर सडक निर्माण गरिरहेको छ। यत्रो करोडौँ रूपीयाँ खर्च गरेर सडक निर्माण गरे पनि उनीहरूले सठिक नाली व्यवस्थापन गरेको छैन। उनीहरूले गैरजिम्मेवारी पूर्वक काम गर्दै पानी बग्ने नालीमा जथाभावी गिटी बालुवाहरू थुपारेको कारण भल जथाभावी बगेको छ। यसैले यत्रो ठूलो पैह्रो गएर जनधनको क्षति भएको हो” क्षेत्रवासी संगीता राईले भनिन्।
क्षेत्रका भ्रमणमा आएका केन्द्रीय मन्त्रीलाई सम्बोधन गर्दै उनले यो प्राकृतिक प्रकोप नभएर मानव निर्मित आपदा हो भन्दै यसको जिम्मेवारी पीडब्ल्युडीका ठेकेदारहरू हुन् भनि उनले अझ आरोप लगाए। यसको प्रतिउत्तरमा जीटीएका प्रमुख कार्यपाल बिमल गुरूङले पीडब्लुडी विभाग जीटीएमा हस्तान्तरित विभाग भए पनि आजसम्म सरकारले हस्तान्तरण नगरेको बताउँदै यसबारे निरिक्षण गर्ने जानकारी दिए।
“पीडब्लुडी विभाग जीटीएमा हस्तान्तरण भएको विभाग हो। यद्यपी सरकारले यसलाई हस्तान्तरण गरेको छैन। यसबारे हामी पीडब्लुडी विभागका ठेकादारहरूलाई बोलाएर बैठक गर्नेछौँ” बिमल गुरूङले अझ भने। अर्कोतर्फ यसैक्रममा पैह्रोग्रस्त क्षेत्रका भ्रमणमा आएका सांसद आहलुवालीयाले पिडीतहरूको पुनर्वासको अस्थायी वयवस्था गर्ने कार्य प्रमुख रहेको बताए।
“पिढीतहरूलाई अस्थायी रूपमा पुनर्वास गरिने व्यवस्था भइरहेको छ। पैह्रोको चपेटमा परेर निखोज बनेकाहरूलाई खोज्न एनडीआरएफको दल अघिबाटै मिरिकमा आइपुगेको छ। जबसम्म पूर्णरूपले खोजी कार्य समाप्त हुँदैन तबसम्म उनीहरू यहीँ बस्नेछन्” आहलुवालीयाले भने।
पैह्रोको चपेटमा परेर ज्यान गुमाउनेहरूका निम्ति प्रधानमन्त्री कोषबाट दुई लाख रूपीयाँ प्रदान गरिने जानकारी गराउँदै पैह्रोग्रस्त क्षेत्रको पुन: व्यवस्थापनको निम्ति विचार बिमर्ष भइरहेको बताएका छन्। देशका प्रधानमन्त्री नरेन्द्र मोदीका निर्देशनमा मिरिक भ्रमण पछि कालेबुङ आएका केन्द्रीय मन्त्री किरण रिज्जु पैह्रोग्रस्त क्षेत्रको भ्रमण गरेपछि सोझै हवाइ मार्ग भएर दिल्ली फर्कने योजना रहेको थियो। जसको निम्ति उनी दिल्ली फर्कन सोझै यहाँको दुरबिन स्थित सेनाको हेलिप्याड पुगेका थिए। जहाँ तिनलाई लिएर जाने भारतीय सेनाको हेलिकप्टर पनि तयार रहेको थियो।
तर अचानक मौसमको खराबीले गर्दा उनी हवाइ मार्ग भएर दिल्ली सोझै प्रस्थान हुन नसक्दा पुन: सडकमार्ग भएर बागडोगरा हवाइअड्डा प्रस्थान गरे। यसैक्रममा सांसद आहलुवालीया पनि कालेबुङबाट मन्त्री सँगै कालेबुङबाट प्रस्थान गरेका छन्। अर्कोतर्फ जीटीए प्रमुख बिमल गुरूङ भने कालेबुङको पैह्रोग्रस्त क्षेत्रको जानकारी लिन यतै बसेका छन्। उनले आठ माइल स्थित पैह्रोग्रस्त क्षेत्रको परिभ्रमण पछि यहाँको 11 माइल सहिद पार्क नजिकको पैह्रो ग्रस्त क्षेत्रको पनि भ्रमण गरे। यसबाहेक एकै परिवारका चार सदस्य पैह्रोको चपेटमा परेर निखोज बनेको कोलाखाम क्षेत्रको पनि गुरूङले भ्रमण गर्ने जानकारी प्राप्त भएको छ। जसको निम्ति तिनी केही दिन कालेबुङ बस्ने थाह लागेको छ।

0 Response to "केन्द्रीय मन्त्री किरण रिज्जु सँगै बिमल गुरूङले पैह्रोग्रस्त क्षेत्रको भ्रमण गरे"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.