-->
पहाडवासीलाई सरकारले गर्दैछ भेदभाव ? ‘टेट’ परिक्षाको फारम दार्जीलिङ पहाडमा उपलब्ध भएन

पहाडवासीलाई सरकारले गर्दैछ भेदभाव ? ‘टेट’ परिक्षाको फारम दार्जीलिङ पहाडमा उपलब्ध भएन

डी.के.वाइबा, कालिमन्युज, कालेबङ 2 जुलाई। स्कूल सर्भिस कमिशनले टेट (टिचर्स एलिजिबिलिटी टेस्ट) परिक्षाको निम्ति फारम वितरण गर्दा दार्जीलिङ पहाडका परिक्षार्थीहरूलाई किनारा लगाएको घटना बित्न नपाइ पुन: एकचोटी दार्जीलिङ पहाडका परिक्षार्थीहरूलाई पश्चिम बङ्गाल सरकारले किनारा लगाएको छ। 
यसपल्ट प्राथमिक पाठशालाहरूमा शिक्षक नियुक्तिको निम्ति सम्पन्न हुने टेट परिक्षाको निम्ति किनारामा लगाएको हो। पश्चिम बङ्गाल सरकार अधिनस्थ प्राथमिक शिक्षा परिषदले गत 29 जूनको दिनदेखि प्राथमिक पाठशालाहरूमा शिक्षक नियुक्तिको निम्ति टेट परिक्षा सम्पन्न गराउँन फारम वितरण कार्य प्रारम्भ गरेको छ। राज्यभरीका प्राथमिक पाठशालाहरूमा शिक्षक नियुक्ति गर्न प्राथमिक शिक्षा परिषदले फारम वितरण कार्य गरे पनि दार्जीलिङ पहाडको तीनवटा महकुमा क्रमैले दार्जीलिङ, कालेबुङ अनि खरसाङबाट भने फारम वितरण गरेको छैन। 
दार्जीलिङ जिल्लाको निम्ति उक्त प्राथमिक स्तरको टेट परिक्षाको निम्ति परिषदले सिलगडीको प्रधान नगर स्थित युनाइटेड बैंक अफ इण्डियाको शाखाबाट मात्र फारम वितरण गरेको छ। जसको कारण दार्जीलिङ जिल्लाका तीनवटा महकुमा क्षेत्रमा वसोवास गर्ने मानिसहरूले परिक्षा बस्न चाहे सिलगडी पुगेर फारम झिक्नुपर्ने समस्यामा परेका छन्। दार्जीलिङ पहाडको तीनवटै महकुमा क्षेत्रमा यदि परिषदले सम्बन्धित युनाइटेड बैंक शाखाबाट फारम वितरण गरेको भए पहाडका मनिसहरू लाभान्वित बन्ने थिए तर यसो नहुँदा सबैले समस्याको समाना गर्नुपर्ने निश्चित भएको छ। 
पहाडवासी यस्ता समस्याहरूको सम्मुखिन बनिरहेको अवस्थामा पनि यता दार्जीलिङ पहाडका जनप्रतिनिधिहरू भने अझसम्म मौनता साँचेर बसिरहेका छन्। एकातिर लगातार परिरहेको अविरल वर्षाले विभिन्न स्थानहरूमा पैह्रो गरेर यातायात वाधित बनिरहेको छ भने अर्कोतर्फ परिक्षा बस्न चाहनेहरूले फारम भर्नका निम्ति समेत सिलगडी पुग्न पर्ने समस्या आइपरेको छ। सोही माथी उक्त फारम आगामी 4 जुलाईको दिनसम्म मात्र वितरण गर्ने प्राथमिक शिक्षा परिषदले अधिसूचनामा उल्लेख गरेको छ। यस्तो विकट अवस्थामा दार्जीलिङ पहाडमा मानिसहरू एकपल्ट पुन: प्राथमिक पाठशालामा शिक्षक नियुक्तिका निम्ति आयोजना हुने परिक्षा बस्नबाट धेरजस्तो वञ्चित बन्ने स्पष्ट बनेको छ। 
स्मरण रहोस यसभन्दा अघि पश्चिम बङ्गाल सरकार अधिनस्थ रहेको स्कूल सर्भिस कमिसनले उच्च प्राथमिक तहका शिक्षकवर्ग नियुक्तिका निम्ति टेट परिक्षाको फारम वितरण गरिसकेको छ। उक्त परिक्षाको निम्ति अनलाइन फारम भर्ने सुविधा उपलब्ध रहेको भए पनि दार्जीलिङ जिल्लाको नाउँ भने फारममा उल्लेख नहुँदा धेरै मानिसहरूले फारम भर्न पाएनन् भने कतिपयले सिलगडीको नाउँमा फारम भरेका छन्। जुन फारम स्वीकार हुने नहुने कुनै निश्चित रहेको छैन। यस्तो अवस्थामा पनि पहाडका बिधायक, सांसद तथा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका जनप्रतिनिधी मौनता साँचेर बसेपछि यसबारे सरकारले कुनै पहल नगरेको जनगुनासो रहेको छ। यसरी स्कूल सर्भिस कमिसनले टेट परिक्षाको फारम वितरण गरिसके पछि यता प्राथमिक तहका टेट परिक्षाको निम्ति वितरण भइरहेको फारम पनि दार्जीलिङ जिल्लाको तीनवटा महकुमा क्षेत्रमा भने फारम नै नपाउँदा पहाडका परिक्षार्थीहरू निराश बनेका छन्। 
बारम्बार रोजगारको अवसरहरूबाट बञ्चित बन्न परिरहेका दार्जीलिङ पहाडका शिक्षित बेरोजगारहरू यसभन्दा अघि पनि पश्चिम बङ्गाल राज्यभरी 56 हजार अनि पछिबाट पुन: 34 हजार प्राथमिक पाठशालाहरूमा शिक्षकहरू नियुक्ति गर्दा दार्जीलिङ पहाडका तीनवटा महकुमा क्षेत्रमा भने सरकारले शिक्षक नियुक्ति गरेको थिएन। यता यसपल्ट भने टेट परिक्षाको निम्ति पहाडका शिक्षित बेरोजगारहरूले फारम भर्ने सुविधा नै पाउन सकिरहेको छैन।

Related Posts

0 Response to "पहाडवासीलाई सरकारले गर्दैछ भेदभाव ? ‘टेट’ परिक्षाको फारम दार्जीलिङ पहाडमा उपलब्ध भएन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.