जीटीएको चौकीमा बस्नेहरूले खोई रोजगारको व्यवस्था गरेको – हिल तृणमूल
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 12 मई। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन प्रमुख बिमल गुरूङले लेप्चा पारा शिक्षकवर्गलाई कोलकोतामा गएर धर्ना दिएको असल भनि पछि यता हिल तृणमूल कङ्ग्रेसले उक्त बयानको भर्त्सना जनाएको छ। दार्जीलिङ जिल्ला हिल तृणमूल युवा कङ्ग्रेस अध्यक्ष भूपेन्द्र लेप्चा अनि छेवाङ भोटियाले आज एक पत्रकार सम्मेलन डाकेर गुरूङको बयान प्रति कडा आपत्ति जनाए। “लेप्चा पारा शिक्षकवर्गले जहाँ पनि धर्ना दिन सक्छन्। दार्जीलिङ, कालेबुङ बङ्गालको अधिनमा छ। बङ्गाल भित्र उनीहरूले जहाँ धर्ना दिए पनि हुन्छ। कोलकोतामा गएर धर्ना दिनुपर्छ भन्ने कुनै आवश्यक्ता छैन” हिम तृणमूल नेता छेवाङ भोटियाले भने। उनले लेप्चा पारा शिक्षकवर्गको मुद्दालाई आफूहरूको पूर्ण समर्थन रहेको बताउँदै यहाँ जीटीएले नै समस्या बृद्धि गर्ने कार्य गरिरहेको उनले आरोप लगाए। यसैक्रममा जीटीए प्रमुख बिमल गुरूङलाई लेप्चा पारा शिक्षकवर्गले रित्तो भाँडा देखाएर जुन प्रकारले सांकेतिक बिरोध गरे त्यसलाई हिल तृणमूलको समर्थन रहेको भोटियाले बताएका छन्। “पहाडमा बेकारी समस्या समाधानको माग गर्दै लेप्चा पारा शिक्षकवर्गले आज जसरी धर्ना गरिरहेका छन् यसलाई हेरेर अरूले पनि पाठ सिक्न आवश्यक छ” छेवाङ भोटियाले भने। उनले कोलकोतामा लेप्चा पारा शिक्षकवर्गले धर्ना दिनु कुनै आवश्यक्ता छैन भन्दै यदि जीटीए प्रमुखले यो बङ्गालको भू-भाग होइन भनेर भन्छ भने लेखेर दिउन् भनि चुनौति दिए। “जीटीए प्रमुख बिमल गुरूङले यस ठाउँ बङ्गलको होइन भन्छ भने बङगालले दिएको भीआईपी लाइट त्याग्नु पर्छ। क्याबिनेट स्तरको मन्त्रीको पद त्याग्नु सक्नुपर्छ” छेवाङ भोटियाले भने। तिनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा मोर्चा नेताहरू प्रति कटाक्ष गर्दै नेताहरूले गोर्खाल्याण्डको नाउँमा जनतालाई बारम्बार ढाँट्ने कार्य गरिरहेको पनि आरोप लगाए। यसैक्रममा उनले पहाडमा बिकासको निम्ति बङ्गाल सरकारले दिएको पैसाले बिकास नगरेर सभासदहरूले बेतनको नाउँमा जनताको पैसा लगिरहेको पनि आरोप लगाएका छन्। “बङगालले जीटीएको बिकासको निम्ति 4 सय करोड रूपिया दिइरहेको छ तर, उक्त पैसाले बिकास भएको छैन। यहाँ बिकासको निम्ति आएको पैसा सभासदहरूले वेतनको नाउँमा लगिरहेका छन्” भोटियाले आरोप लगाए। यति मात्र नभएर पहाडमा बिकासका निम्ति आएको पैसाबाट सभासद तथा नेताहरूले कमिसन खाएर बिकास कार्यमा बाधा पुराउने कार्य गरिरहेको पनि तिनले आरोप लगाए।
अर्कोतर्फ यता पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दार्जीलिङ जिल्ला हिल तृणमूल युवा कङ्ग्रेस अध्यक्ष भूपेन्द्र लेप्चाले पनि मोर्चा नेताहरूको खोइरो खने। उनले कुर्सीमा बस्ने नेताहरूले कतिपय मुद्दाहरूमा गैर जिम्मेवारीपूर्ण वक्तव्य दिने गरेको आरोप लगाउँदै कुर्सीमा बसेपछि जिम्मेवारीपूर्ण बयान दिनुपर्ने सुझाव दिएका छन्। उनले लेप्चा पारा शिक्षक नियुक्तिको निम्ति केवल लेप्चाहरूलाई मात्र प्राथमिकता नदिएको बताउँदै लेप्चा भाषा जान्ने अन्य जातिका मानिसहरूले पनि लेप्चा पारा शिक्षकको रूपम नियुक्ति पाएको पत्र देखाए। दार्जीलिङ पहाडमा जीटीएले अहिलेसम्म रोजगारको अवसर निकाल्न नसकेको आरोप लगाउँदै दैनिक बेरोजगारवर्गको समस्या बृद्धी भइरहेको अवस्थामा जनताले कुर्सीमा राखेका नेताहरूले रोजगारको बाटो निकाल्न सक्नुपर्ने बताए। “जीटीएको चौकिमा बस्नेहरूले पहाडका बेरोजगारहरूका निम्ति केही कार्य गर्न सकेको छैन। आज लेप्चा पारा शिक्षक नियुक्ति हुँदा बिरोध गर्नेहरूले अन्य विभागहरूमा नियुक्ति गर्न सकेको खोइ ? यदि चौकिमा बसेर काम गर्न सक्दैन भने हामीलाई बाटो छोडि देऊ हामी नियुक्ति गरेर देखाउनेछौँ” भूपेन्द्र लेप्चाले जीटीए प्रमुखलाई चुनौति दिँदै भने। उनले जीटीएको सत्तामा आफूहरू यदि बस्न पाए 7 दिनमा 7 सय अनि एक महिनामा 7 हजार जीएलपी कार्यकर्ताहरूलाई जीटीएकै विभागहरूमा नियुक्ति गरेर देखाउने चुनौति दिए। “हाम्रो काम गर्ने क्षमता छ। हामी काम गर्न सक्छौँ। आज लेप्चा पारा शिक्षक नियुक्ति हुँदा बिरोध गर्नेहरूले पश्चिम बङ्गाल सरकारले बङ्गालभरी 50 हजार भन्दा धेर शिक्षक नियुक्ति गर्दा जीटीए क्षेत्रमा कति नियुक्ति गर्न सक्यो ?” भूपेन्द्र लेप्चाले प्रश्न तेर्साए।
0 Response to "जीटीएको चौकीमा बस्नेहरूले खोई रोजगारको व्यवस्था गरेको – हिल तृणमूल"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.