
गोजमुमोको दिल्ली धर्ना जनतालाई भ्रममा राख्ने खेल भयो – दावा पाख्रिन
डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 अप्रेल 2015। गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले गोजमुमो पार्टीको दिल्ली धर्ना कार्यक्रम प्रति प्रहार गर्दै उक्त धर्ना जनतालाई भ्रममा पार्नका निम्ति गरिएको हो भनि टिप्पणी गरेको छ। गोरानिमो अध्यक्ष दावा पाख्रिनले आज एक पत्रकार सम्मेलन डाकेर मोर्चाको 9 दिनव्यापी दिल्ली धर्नाबारे टिप्पणी गरेका हुन्।
छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति मोर्चाको पहललाई उचित ठान्दै हेरिरहेको समयमा उनीहरूले भने जनतालाई भ्रममा पार्ने कार्य गरिरहेको दिल्ली धर्ना पछि उदाङ्गो बनेको उनले आरोप लगाए। ‘गोजमुमो पार्टीले साँच्चै गोर्खाल्याण्डको निम्ति राम्रो कार्य गरिरहेका छन् भन्ने हामीलाई विश्वास लागेको थियो। उनीहरूले दिल्ली धर्ना पछि प्रधानमन्त्री, गृहमन्त्री आदिलाई भेटेर गोर्खाल्याण्डबारे ज्ञापन पत्र चढाएको हेर्दा झिनो विश्वास लागेको थियो। तर यसै अवधी समाचार पत्रमा मोर्चाले जीटीएको निम्ति एकहजार करोड धनराशी मागेको खबर प्रकासमा आएपछि मोर्चाको धर्ना जनतालाई भ्रममा पार्ने मात्र थिएछ भन्ने पुष्टि भएको छ’ दावा पाख्रिनले भने।
उनले जनतालाई गोर्खाल्याण्डको नाममा भ्रममा पारेर जीटीएको निम्ति पैसा माग्नु सरासर धोका हो भन्दै मोर्चाले पूर्ण बहुमतको सरकार दिल्लीमा हुँदा अनि आफूहरूले पठाएको सांसद पनि केन्द्रमा सत्तासिन राजनैतिक पार्टीकै भएको समयमा छुट्टै राज्य ल्याउन नसके दुर्भाग्यपूर्ण हुने बताए। उनले छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति सबै एकबद्ध भएर कार्य गर्न सके समयमा लक्ष्य प्राप्त गर्न सक्ने पनि बताएका छन्।
यसैक्रममा उनले मोर्चाले गोर्खाल्याण्ड राज्यको बिल लोकसभामा पारित गर्न भारतीय जनता पार्टीलाई दबाव दिनुपर्ने बताउँदै लोकसभामा गोर्खाल्याण्डको बील पारित भए राज्यसभामा उक्त बीललाई पारित गर्न आफूहरू पूर्णरूपले मैदानमा ओर्लिएर काम गर्ने स्पष्ट बताए।&
‘केन्द्रमा भाजपाको बहुमतमा सरकार छ। यता मोर्चाले समर्थन गरेको भाजपा प्रार्थी पनि सांसद भएका छन्। यस्तो अवस्थामा मोर्चाले लोकसभामा गोर्खाल्याण्डको बील पारित गराउँने दबाव बनाउँनुपर्छ। यदि लोकसभामा बील पारित गरे राज्यसभामा उक्त बील पारित गर्न बिपक्षी राजनैतिक दलका सांसदहरूलाई मनाउँने कार्य हामी गर्नेछौँ’ दावा पाख्रिनले भने। आफूहरूले गोर्खाल्याण्ड राज्य गठनका निम्ति अघिबाटै बिपक्षी दलका नेताहरूलाई भेटघाट गरेर अवगत गराएको कारण उनीहरूले आफूहरूलाई सहयोग गर्ने आश्वासन दिएको बताउँदै यस्तो अवस्थामा उनीहरूलाई राज्यसभामा बील पारित गर्न लगाउँने आफूहरूको जिम्मेवारी हो भनि उनले अझ बताए।
अर्कोतिर अहिलेघरी गोजमुमोले गोर्खाल्याण्ड राज्य 2017 मा हुनसक्ने कुरा गरिरहेको अवस्थामा पाख्रिनले उक्त समयभरी कालेबुङलाई जिल्ला बनाउँने कार्य गर्नुपर्ने बताए। उनले कालेबुङलाई मात्र नभएर दार्जीलिङ पहाडका तीनवटै महकुमालाई जिल्ला बनाउँनुपर्ने माग गर्दै यदि कालेबुङलाई मात्रै जिल्ला बनाउँन सके पनि ठूलो उपलब्धि हुने बताए।
जिल्ला गठन भए यहाँ पढेकाहरूको निम्ति रोजगारको अवसर खोलिने, पञ्चायतको संख्या बृद्धि हुने बताउँदै यसले सम्पूर्ण जनतालाई लाभ पुग्ने पनि दाबी गरे।
यसैक्रममा यता कालेबुङमा बिधायक डा हर्कबहादुर छेत्रीले कालेबुङलाई जिल्ला बनाउँने कुरा गरिरहेकोमा तिनले यसको सराहना गरे। ‘डा हर्कबहादुर छेत्रीले कालेबुङलाई जिल्ला बनाउँने आवाज उठाएको थाह पाएका छौँ। यस कुरालाई हामी स्वागत गर्छौँ’ पाख्रिनले भने।
0 Response to "गोजमुमोको दिल्ली धर्ना जनतालाई भ्रममा राख्ने खेल भयो – दावा पाख्रिन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.