लेप्चा प्यारा शिक्षकवर्गले न्यायको माग गर्दै निकाल्यो प्रतिवाद जुलुस कुर्सीमा बस्नेहरूले नै अधिकारको बिरोध गर्दैछ – भूपेन्द्र लेप्चा
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 27 अप्रेल। “दार्जीलिङ पहाडमा भीआइपी र भीभीआईपी बनेर रातो बत्तिमा हिँड्ने मानिसहरूले यहाँ समस्या सिर्जना गरिरहेका छन्। जसलाई जनताले कुर्सीमा राखे आज कुर्सीमा बस्नेहरू नै अधिकारको बिरोध गरिरहेका छन्। यस्ता कुर्सीमा बस्नेहरूलाई भविष्यमा जनताले नै कुर्सीबाट झार्नेछ भन्ने कुरा याद राख्नु आवश्यक छ” – उक्त कुरा दार्जीलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष भूपेन्द्र लेप्चाले भनेका हुन्।
लेप्चा भाषी 46 जना प्यारा शिक्षकवर्गलाई आजसम्म स्थीय प्रशासनले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अधिनस्थ रहेको कुनै पनि विद्यालयहरूमा तैनाथ हुन नदिए पछि आज उक्त प्यारा शिक्षकवर्गले एउटा मौन प्रतिवाद जुलुस निकालेको थियो। मौन प्रतिवाद जुलुसको समापन अघि सम्पन्न भएको जनसभालाई सम्बोधन गर्ने क्रममा दार्जीलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष भूपेन्द्र लेप्चाले स्थानीय प्रशासनको जोडदार आलोचना गरे।
पश्चिम बङ्गालको शिक्षा विभागले नियुक्ति पत्र दिएका लेप्चा भाषी प्यारा शिक्षकवर्गले आफ्नो कार्यमा तैनाथ बन्न नपाए पछि आखिरमा आज कालेबुङ शहरमा एउटा मौन प्रतिवाद जुलुस निकालेको हो। यहाँको टाउन हल परिसरबाट सुरू भएको उक्त मौन प्रतिवाद जुलुसलाई समर्थन गर्दै धेरै मानिसहरू सहभागी बनेका थिए। विभिन्न प्ला कार्डहरू बोकेर निकालिएको उक्त प्रतिवाद जुलुसले यहाँको थाना डाँडा, मेन रोड, 10 माइल फाटक, आर.सी मिन्त्री रोड, हुँदै थाना डाँडा त्रिकोण पार्कमा पुगेर एउटा जनसभामा परिणत भएको थियो। गत 18 अप्रेलको दिन देखि यहाँको स्कूल अधिक्षकको कार्यलय अघि नियुक्ति पत्र पाएर पनि आफ्नो कार्यमा जोइन गर्न नपाएका मोठ 46 जना लेप्चा प्यारा शिक्षकवर्गले दैनिक धर्ना प्रदर्शन गर्दै आइरहेका थिए भने उक्त धर्नालाई आजसम्म सरकारी पक्षबाटै कसैले आश्वासन समेत दिने कार्य भएको थिएन। सम्बन्धित पक्षबाट यतिका दिनसम्म नियुक्ति पत्र हातमा बोकेर पनि जोइन गर्न नपाएका उक्त लेप्चा भाषी प्यारा शिक्षकवर्गले आखिरमा आफ्नो अधिकारको माग गर्दै आज उक्त प्रतिवाद जुलुस निकालेको हो। प्रतिवाद जुलुस थाना डाँडा स्थित त्रिकोण पार्कमा पुगेर जनसभामा परिणत भएपछि उक्त प्यारा शिक्षकवर्गको आन्दोलनलाई साथ दिँदै तृणमूल युवा कङ्ग्रेस अध्यक्ष भूपेन्द्र लेप्चा, लेप्चा बिकास बोर्डका युसूफ सिमिक, तामाङ बिकास बोर्डका अध्यक्ष संजय मोक्तान, माकपा नेता तारा सुन्दास, गोर्खा राष्ट्रिय कङ्ग्रेसका संयोजक सुबोध पाख्रिन आदिले जनसभालाई सम्बोधन गरेका थिए।
जनसभालाई सम्बोधन गर्दै भूपेन्द्र लेप्चाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशानको नाउँ नलिइ जोडदार आलोचना गर्दै बेरोजगारहरूलाई आफ्नो अधिकारबाट बञ्चित बनाउने कार्य दुर्भाग्यपूर्ण हो भने। “पहाडमा बेरोजगारहरूको समस्या दिनोदिन बडीरहेको छ। यदि यस्तो बेरोजगारको समस्यालाई आगमी दिनहरूमा यथाशिघ्र समाधान नगरे आगमी दिनमा यो समस्या ज्वालामुखी बनेर बिस्फोट हुनेछ” भूपेन्द्र लेप्चाले भने।
रोजगारको अवसर भारतीय नागरिकलाई भारतको संविधानले दिएको बताउँदै यो कसैको दया माया र भिक्षामा पाएको होइन भने। ‘रोजगारको अवसर भारतको संविधानके दिएको हो। यसलाई कुनै पनि व्यक्ति, राजनैतिक दलले रोकेर राख्न सक्दैन” लेप्चाले अझ भने। तिनले आज लेप्चा भाषी 46 जना प्यारा शिक्षकको पदमा नियुक्ति पाउँदा पहाडकै बेरोजगारको समस्या केही हदसम्म समाधान हुने बताउँदै यसलाई राजनीतिकरण गरी रोजगारकै अवसरबाट बञ्चित राख्नु अझ अन्याय हो भनि बताएका छन्।
अर्कोतर्फ जनसभालाई स्थानीय माकपा नेता तारा सुन्दासले सम्बोधन गर्दै बेरोजगारहरूलाई रोजगारको अवसरबाट बञ्चित राख्नु अन्याय हो भने। “पहाडमा हुर्केका बेरोजगार भाइ बहिनीहरूले रोजगारको अवसर पाउँदा आज उनीहरूलाई रोजगारको अवसरबाट बञ्चित राख्ने कार्य माकपाले सहन गर्ने छैन। जहाँ अन्याय हुन्छ त्यहाँ माकपा पार्टी अन्यायको बिरोधमा सधैँ अघि आएको हुनेछ” माकपा नेता सुन्दासले भने। आफ्नो पार्टीले नियुक्ति पाएका 46 जना लेप्चा प्यारा शिक्षकहरूको आन्दोलनलाई सधैँ साथ दिने घोषणा गर्दै यस्ता अन्यायको बिरुद्धमा सबै बेरोजगारहरू एकबद्ध हुनुपर्ने आह्वान गरे।
जनसभामालाई समबोधन गर्ने क्रममा लेप्चा बिकास बोर्डका युसुफ सिमिकले पनि लेप्चा प्यारा शिक्षकवर्गको आन्दोलनलाई आफूहरूको पूर्ण सहयोग रहेको बताए। यसैक्रममा उनले स्थानीय प्रशासनले बेरोजगारहरूले रोजगार पाउँदा न्यायलयमा मुद्दा दर्ता गर्नु दुर्भाग्यपूर्ण हो भने। “पहाडका बेरोजगारहरूले रोजगारको अवसर पाउँदा न्यायलयमा मुद्दा गर्नु ठिक होइन। यदि आज 46 जना लेप्चा प्यारा शिक्षकहरूले काम पाउँदा न्यायलयमा मुद्दा दर्ता गर्छ भने भोलि यी प्यारा शिक्षकवर्गले पनि न्यायलयमा मुद्दा दर्ता गर्नेछ” युसुफ सिमिकले भने। यसैक्रममा तामाङ बिकास बोर्डका अध्यक्ष सञ्जय मोक्ताले पनि लेप्चा प्यारा शिक्षकवर्गलाई स्थानीय प्रशासनले न्याय दिनुपर्ने माग गर्दै उनीहरूको आन्दोलनलाई तामाङ बिकास बोर्डले सहयोग गर्ने बताए। यसैक्रममा गोर्खा राष्ट्रिय कङ्ग्रेसका कार्यकारी अध्यक्ष अशोक कुमार लेप्चाले पनि लेप्चा प्यारा शिक्षकवर्गको आन्दोलनलाई आफूहरूको पूर्ण सहयोग रहेको बताए।
0 Response to "लेप्चा प्यारा शिक्षकवर्गले न्यायको माग गर्दै निकाल्यो प्रतिवाद जुलुस कुर्सीमा बस्नेहरूले नै अधिकारको बिरोध गर्दैछ – भूपेन्द्र लेप्चा"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.