सिन्धुपाल्चोकमा मृतको संख्या १५०० नाघ्यो, ३००० भन्दा बढी मृत्युको अनुमान
हिमाल खबर, बुधबार , १६ वैशाख २०७२, सिन्धुपाल्चोक: सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या १५०० पुगिसकेको र यो सङ्ख्या तीन हजारभन्दा बढी पुग्नसक्ने अनुमान गरिएको छ । यहाँ १६०० भन्दा बढी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपकराज खरेलले मृतकको संख्या अहिलेभन्द तेब्बरले बढने बताएका हुन् ।
उनका अनुसार चीनको सिमाना जोडिएको तातोपानी र आसपासका क्षेत्र अझै सम्पर्कमा आउन सकेको छैन भने जिल्लाको उत्तरी हिमाली भेगका बरुवा, भोताङ, गुम्बा, गोल्चे लगायतका कैयौँ गाउँहरुको अवस्थाको जानकारी आउन सकेको छैन ।
भर्खरै मात्र नेपाली सेनाको हेलिकोप्टरबाट केही स्थानमा दालमोठ, चिउरा, औषधि, टेन्टलगायतका राहत सामग्री पुर्याकएको छ ।
राहत सामग्री वितरण गर्नका लागि सकभर गाविसमा जिम्मा लगाउने, सम्भव नभए जहाँ स्थानीयवासी बसेका छन् त्यहीँ लगिदिने काम भइरहेको खरेलले बताए ।
अब तत्काल केही प्रहरीलाई राहत सामग्री बाँड्न लगाइएको र केही प्रहरीलाई भने उद्धारमा खटाइएको छ ।
जिल्लाको बाह्रबिसे क्षेत्रमा पनि केही मात्रामा राहत सामग्री पुगेको र अव वितरण गरिने बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले बताए ।
0 Response to "सिन्धुपाल्चोकमा मृतको संख्या १५०० नाघ्यो, ३००० भन्दा बढी मृत्युको अनुमान"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.