
सिर्जना र सम्वर्तामा कवि सुधीर छेत्री
डी.के. वाइबा, कालिमन्युज, सिलगडी, 28 मार्च। ‘कवितालेखनमा कोहीभन्दा कोही विशिष्ट हुने होइन तर एकअर्कामा भिन्न हुन्छन्। अहिलेकाहरूलाई पहिलेकाहरू भन्दा विशिष्ट छु भन्ने लाग्न सक्छ तर, वास्तवमा उनीहरू विशिष्ट होइन भिन्न हुन्छन्। भिन्नताले नै मौलिकता बहन गरेको हुन्छ’ – उक्त कुरा भरतेली नेपाली साहित्यका चर्चित कवि सुधीर छेत्रीले भनेका हुन्। उत्तर वङ्ग विश्वविद्यालयको नेपाली विभागमा शोधार्थीवर्गले आयोजना गरेको ‘सिर्जना र सम्वार्ता’ कार्यक्रममा कवि सुधीर छेत्रीको नयाँ प्रकाशित ‘फेरि अर्को अनुष्टुप’ कविता सङ्ग्रहमाथी चर्चा परिचर्चा गरिएको थियो। यस अवसरमा उनी विशेषरूपले उपस्थित बनेका थिए।
सिर्जना र सम्वार्ता नाउँ गरिएको उक्त अन्तरक्रियात्मक कार्यक्रममा उत्तर वङ्ग विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी अनि शोधार्थी विद्यार्थीवर्गले समकालीन नेपाली कवितामाथी कवि सुधीर छेत्रीलाई सोझै प्रश्नहरू राखेका थिए भने उनका नयाँ प्रकाशित कविता सङ्ग्रह फेरी अर्को अनुष्टुप बारे पनि जिज्ञासाहरू राखेका थिए। यसक्रममा उनले विद्यार्थीवर्गको जिज्ञासालाई सहज प्रकारले जवाद दिएर सन्तुष्ट पारे। अन्तरक्रियात्मक कार्यक्रममा विद्यार्थीवर्गले खुबै उत्साहपूर्ण भाग लिँदै वर्तमान नेपाली साहित्यमा चलिरहेको विवाद, नयाँ आयाम आदि विषयहरूमा पनि प्रश्नहरू राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कवि सुधीर छेत्रीले ‘कवितामा वस्तु र रूप अलग अलग छुट्याएर हेर्न नमिल्ने तर, यसरी हेर्ने संस्कार पूर्वमा रहेको देहात्मवादी दर्शनका कारणले हो’ भने। कवि सुधीर छेत्रीले कविता पढ्नका निम्ति केही मात्रामा पठन संस्कार पनि आवश्यक रहेको बताउँदै त्यस्ता पाठकहरूका निम्ति नै आफूले कविता लेख्ने गरेका पनि स्पष्ट पारे। साहित्यमा अनेकौ विवादहरू परापूर्वकालदेखि चलिआएको बताउँदै यस्ता विवादहरू अझै चलिरहेको उनले बताए। ‘साहित्य समाजबाट सिर्जित हुने गर्छ। अर्थात समाजकै उपदेयता साहित्य हो यसकारण साहित्य कसका निम्ति भन्ने प्रश्न हो भने समाजबाट सिर्जित सबै समाजकै निम्ति हो भन्ने स्वत: बुझ्नुपर्ने हुन्छ। तर साहित्यले एकै रातमा ठूलो परिवर्तन हुन्छ भन्ने धारणा राख्नु भने गलत हुनेछ’ सुधीर छेत्रीले स्पष्ट भने।
कार्यक्रममा कवि सुधीर छेत्रीका कवितामाथि वासुदेव पुलामीले आफ्नो वक्तव्य राखेका थिए। ‘सुधीर छेत्रीका कविताहरूमा भाषिक अपरिचितिकरणलको कारणले नवीन वाक्यविन्यास निर्माण गर्दै त्यसले नयाँ सङ्कथनहरूको सन्दर्भ खोज्छ’ बागडोगरा कलेजका प्रा. वासुदेव पुलामीले भने। ‘उनका कविताहरू साधित भाषाले युक्त छन्। सुधीरेली कविताको बुनोट फेरि अर्को अनुष्टुपसम्म आइपुग्दा अझ सुक्ष्म, तिक्खर र मिहिन भएको छ। यिनका कविताहरूले स्थानिक वस्तुहरूबाटै पनि बिम्बहरू टिप्दै भन्छन्, त्यसमा पनि प्रचलित भाषाको वाग्धारालाई तोड्दै, पारम्परिक प्रतीकको पखेटामा टाँस्सिएका रङ्गहरू टकटकाउदै, गुम्फित अभिप्रायहरू भत्काउँदै एउटा नयाँ युक्तिसित भन्छन्’ – वासुदेव पुलामीले सुधीर छेत्रीका कविताहरूलाई केलाउँदै अझ भने।
कार्यक्रमममा पर्यवेक्षकका रूपमा उपस्थित रहेका डा मोहन पी दाहालले आफ्नो पर्यवेक्षकीय सम्बोधनमा ‘कवि सुधीर छेत्रीका कवितामा सोझो र सपाट भनाइ नहरने अनि उनका कविता सोझो भनाइभन्दा निकै पर उभिएको अनुभव हुन्छ’ भने। कवि सुधीर छेत्रीका कविताले कलात्मक तरिकाले समाजलाई सम्बोधन गरेको बताउँदै यसलाई बुझ्नका निम्ति पाठकवर्ग भने निक्कै घोत्लनुपर्ने आवश्यक्ता रहेको बताए। उनले सुधीर छेत्रीको फेरि अर्को अनुष्टुपभित्र रहेको ‘माइलालाई रमिता छ’ कवितामाथि बोल्दै माइला एउटा पात्र हो जो विभिन्न नाम फेर्दै विभिन्न कृतिहरूमा आइरहेको छ अनि माइला दार्जीलिङे समाजका प्रतिनिधी पात्र हुन् भने। कवि सुधीर छेत्रीका कविताहरू हेर्दा गद्य जस्तै लाग्ने अनि यो नै कविको काव्यिक कला रहेको उनले बताए।
यता कार्यक्रमलाई अध्यक्षता गरेका नेपाली विभागका विभागध्यक्ष डा. कृष्णराज घतानीले विभागाध्यक्षीय भाषण राख्दै शोधार्थीवर्गले समकालिन नेपाली कवितामाथी राखेको अन्तरक्रियात्मक कार्यक्रमको सराहना गर्दै यसले नेपाली साहित्यका जिज्ञासु विद्यार्थीवर्गलाई धेरै लाभ पुग्ने बताए। ‘साहित्य पठनले मानसिक तनाउबाट मुक्ति दिने हुन्छ। सुधीर छेत्रीका कविताहरू पढेपछि आफूलाई त्यस्तै अनुभव भएको छ’ डा. कृष्णराज घतानीले भने। आगमी दिनहरूमा पनि भारतेली नेपाली साहित्यका समसामायिक विषयहरूमा यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गर्नुपर्ने कुरामा उनले जोड दिँदै कवि सुधीर छेत्रीले भारतेली नेपाली साहित्यलाई माथिल्लो स्तरमा पुर्यानउँन सक्ने सम्भावना रहेको बताए।
कार्यक्रममा प्रा. नरेशचन्द्र खाती, प्रा. पुष्कर पराजुली, अनुवादक विर्ख खड्का डुवर्सेली, कालेबुङ महाविद्यालयका प्रा. सञ्जय विष्ट, आदिको विशेष उपस्थिति रहेको थियो भने उत्तर वङ्ग विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीवर्गको पनि उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा कवि सुधीर छेत्रीले कविता वाचन गरेका थिए भने एम फिलका विद्यार्थी बलाराम सापकोटाले पनि कवि छेत्रीको कविता वाचन गरे। यस अवसरमा नेपाली विभागकी शोधार्थी एवं मालबजार कलेजकी प्रध्यापिका कवि रेमिका थापाले स्वागत सम्बोधन र एम फिलकी विद्यार्थी शर्मीला शर्माले धन्यवाद ज्ञापन राखेकी थिइन्।
0 Response to "सिर्जना र सम्वर्तामा कवि सुधीर छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.