-->
युवा कवि मनोज बोगटीले गरे डा. इन्द्रबहादुर राईलाई प्रहार कलाको निम्ति कला भन्नेहरूले आफू उभेको भुइँ छोडेकोमा हाम्रो विमति हो – बोगटी

युवा कवि मनोज बोगटीले गरे डा. इन्द्रबहादुर राईलाई प्रहार कलाको निम्ति कला भन्नेहरूले आफू उभेको भुइँ छोडेकोमा हाम्रो विमति हो – बोगटी

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 12 मार्च। नेपाली साहित्यका महान व्यक्तित्व डा. इन्द्रबहादुर राई - लाई युवा कवि मनोज बोगटीले यसपल्ट पुन: प्रहार गरेका छन्। डा. इन्द्रबहादुर राईलाई यसभन्दा अघि युवा कवि मनोज बोगटी अनि अर्का युवा कवि राजा पुनियानीले नेपालबाट प्रकाशित हुने मासिक पत्रिका ‘पाण्डुलीपि’-मा निकै खोइरो खनेका थिए।
उमेरले 88 वर्ष पुगेका डा. इन्द्रबहादुर राईले नेपाली साहित्यको क्षेत्रमा गत 57 वर्षदेखि लगातार सेवा गर्दै आइरहेका छन् भने आजपर्यन्त उनी साहित्य सेवामा लागेका छन्। नेपाली साहित्यको भण्डारमा अहिलेसम्म उनको 16वटा साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् भने फरवरी महिनामा उनको ‘सम्पूरक’ समालोचना सङ्ग्रह 16औँ कृतिका रूपमा प्रकाशित भएको थियो।
नेपाली साहित्यलाई 57 वर्षदेखि सेवा गर्दै आइरहेका डा. इन्द्रबहादुर राईलाई युवा कवि मनोज बोगटीको यो दोस्रो साहित्यिक प्रहार हो। उनले यसपल्ट डा. राईलाई एउटा अन्तरवार्ता मार्फत प्रहार गरेका छन्। उक्त प्रहार युवा कवि मनोज बोगटी आफैले‘प्रतिवाद’ नामक ब्लगद्वारा सार्बजनिक गरेका छन्।
उक्त अन्तरवार्ता ‘पाहुर’ - का लागि लक्ष्मण श्रेष्ठले फेसबुकमार्फत गरेको ब्लगमा लेखिएको भए पनि उक्त अन्तरवार्ता भने कवि मनोज बोगटी आफैले ‘प्रतिवाद’ नामक ब्लगमा सार्वजनिक गरेका हुन्।
‘तेस्रो आयाम’ र ‘लिला लेख’ नामक दुईवटा साहित्यिक आन्दोलन गरेर नेपाली साहित्यमा हलचल मच्चाउने डा.इन्द्रबहादुर राईले नेपाली साहित्यको मार्फत नेपाली समाजलाई केही नदिएको ठोकुवा गर्छन् मनोज बोगटी।
“भाषा उन्नति गर्ने इन्द्रबहादुर राईमा हाम्रो असहमति होइन। तिनको लेखनले दर्शन र आन्दोलन यताको नेपाली समाजमाथि उभेर बोल्दैन। तिनी प्रयोगवादी लेखक हुन्। तिनलाई भारतीय नेपालीको मुद्दासित सरोकार छैन। प्रयोगको निम्ति प्रयोग बेकार कुरा लाग्छ। कलाको निम्ति कला भन्नेहरूले आफू उभेको भुइँ छोडेकोमा हाम्रो विमति हो” – युवा कवि मनोज बोगटीले आफ्नो अन्तरवार्तामा भनेका छन्।
नेपाली साहित्यमा ‘घाउका रङ्गहरू’ कृतिका निम्ति युवा साहित्य अकादमी पुरस्कारले सम्मानित बनिसकेका मनोज बोगटी अनि युवा कवि राजा पुनियानीले अहिलेघरी नेपाली साहित्यमा ‘हस्तक्षेपी लेखन’ अभियान सुरू गरेका छन्। यद्यपी उक्त हस्तक्षेपी लेखनको उनीहरूले आधिकारिक घोषणा पत्र नै प्रकाशित गरेर घोषणा भने गरेका छैनन्। उनीहरू आफैलाई हस्तक्षेपी बताउँछन् अनि यो उनीहरूको लेखकिय हस्तक्षेप भन्ने दाबी गर्न पनि चुक्दैनन्।
आफ्नो लेखनलाई भारतीय नेपाली समाजसित जोडिएको दाबी गर्ने युवा कवि मनोज बोगटीले डा. इन्द्रबहादुर राईको लेखन भारतीय नेपाली समाजसित नजोडिएको दाबी समेत गरेका छन्। “तिनीहरूको आन्दोलन भारतीय नेपाली समाजको पीडाबाट होइन पश्चिमी विचारको अनुशरणबाट भएको हो। उत्तराधुनिकतावादी तिनको लेखकीय प्रतिबद्धता लेखनको स्टाइलसित जोडिएको छ, समाजसित होइन। उनीहरू धेरै केही बोले झैँ गर्छन्, केही ठोस भन्दैनन्। ठोस भनिँदैन, भन्न सकिँदैनजस्तो विचारका दासीहरू हुन् उनीहरू। उनीहरू साहित्यलाई रैथाने समाजभन्दा मात्थिबाट व्याख्या गर्छन्। उनीहरूलाई लाग्छ, विश्वको साहित्यिक उक्लाईसितै अघि गइरहेछ नेपाली साहित्य। तर वास्तवमा सधैँ फेदमा नै हुन्छ” – मनोज बोगटीले दाबी गरेका छन्।
डा. राईले भाषाको उन्नती गरेको तर त्यहीँ भाषी समाजको उन्नती भने लेखकको नातामा नगरेको समेत दाबी गरेका छन्। “जुन समाजले तिनले लेख्ने भाषा बोल्छ, त्यो भाषाको उन्नति चाँही गर्ने तर समाजको उन्नतिको निम्ति गर्नुपर्ने लेखकीय प्रतिवद्धताप्रति चाँही आँखा चिम्लिने तिनको लेखनीसित हामीले चासो नराखेको हो । यसलाई इन्द्रबहादुर राईसित हाम्रो विमति देख्छन् भने हामीलाई आपत्ति पनि छैन” – युवा कवि मनोज बोगटीले स्पष्ट अन्तरवार्तामा भनेका छन्।
“जुन समाज भारतीय भाषिक विविधताविच खुम्चिन्छ, जुन समाजको पहिचान नै छैन, उसको भाषामा लेखिने साहित्य समाजसित नजोडिए, त्यो समाजको निम्ति त्यो साहित्यको के अर्थ ? यो प्रतिबद्धता इन्द्रबहादुर राईले बङ्गालको सीपीएम सरकारसित जोडेर हेरेजस्तो होइन” - युवा कवि मनोज बोगटीले डा. इन्द्रबहादुर राईप्रति साहित्यिक प्रहार गर्दै डा. राईले सामाजिक उत्तरदायित्व माथि आफ्नो लेखकिय प्रतिबद्धता नदेखाएको आरोप समेत लगाएका छन्। उनले डा. इन्द्रबहादुर राईलाई केन्द्रमा राखेर राईको लेखनलाई पच्छ्याउने अन्य लेखकहरूलाई पनि आफ्नो अन्तरवार्तामा परोक्ष आक्रमण गरेका छन्।
यसक्रममा डा. ‘इन्द्रबहादुर राई’ – हरूले भारतलाई नेपाली साहित्यबारे पढाउँने काम नगरेको गम्भिर आरोप लगाउँन समेत पछि चुकेका छैनन्। “उनीहरू खोस्टा, बोक्रा, रूप, फर्मतिर नै अल्झिए अनि विश्व साहित्यको हाराहारिमा केही गतिलो काम भयो भन्ने भ्रम (लीला) मा भुले । भारतलाई नेपाली साहित्य पढाउने काम भएन” – बोगटीले आरोप लगाएका छन्।

Related Posts

0 Response to "युवा कवि मनोज बोगटीले गरे डा. इन्द्रबहादुर राईलाई प्रहार कलाको निम्ति कला भन्नेहरूले आफू उभेको भुइँ छोडेकोमा हाम्रो विमति हो – बोगटी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.