-->
‘खम्बुहरूलाई जनजातिको मान्यता दिनुपर्छ’ – भन्ने नाराले गुञ्जियो कालेबुङ

‘खम्बुहरूलाई जनजातिको मान्यता दिनुपर्छ’ – भन्ने नाराले गुञ्जियो कालेबुङ

डा सामुएल राई   समारोहमा सम्बोधन गर्दै
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 24 जनवरी। “किराँती खम्बुहरूलाई सरकारले झट्ट जनजातिको मान्यता दिनुपर्छ” – भन्ने नाराले आज पुन: एकचोटी कालेबुङ शहर गुञ्जियो। हात-हातमा जनजातिको दर्जा दिनुपर्ने मागमा लेखिएको प्ला कार्डहरू बोकेर किराँती खम्बुहरू सडकमा नाराबाजी गर्दै ओर्लिएका थिए। अवसर थियो किराँती खम्बुहरूको येलेदोङ पर्व 5075। 
किराँती खम्बु राई सांस्कृतिक संस्थान कालेबुङको आयोजनामा र खम्बु राइट्स मुभमेंट्को सहयोगितामा सम्पन्न भएको येलेदोङ पर्व 5075को अवसरमा बिभिन्न स्थानहरूबाट किराँती खम्बुहरू भेला भएका थिए। यहाँको मेला ग्राउण्डमा सम्पन्न भएको उक्त कार्यक्रम पूर्व उनीहरूले जनजातिको मागमा नाराबाजी गर्दै शहरमा जुलुस निकालेका थिए। 
आफ्नो जनजाति भेष भूषामा सजिएका किराँती माङपा अनि माङमाहरूले र्‍यालिलाई प्रतिनिधीत्व गरेका थिए भने पछिबाट उनीहरूलाई जातिय पोषाकमा सजिएका किराँतीहरूले साथ दिएका थिए। मेला ग्राउण्डबाट निकालिएको उक्त र्‍याली यहाँको थाना डाँडा, मेन रोड, डम्बर चौक, दशमाइल फाटक, आर.सी मिन्त्रि रोड हुँदै पुन: डम्बर चौकमा आइपुगेर टुँगिएको थियो। 
यस अवसरमा मुख्य अतिथिका रूपमा सिन्कोना अनि अन्य औषधिय पौधाका निर्देशक डा सामुएल राई उपस्थित रहेका थिए। किराँती माङ्पाहरूले बिधिवत पूजा अर्चना गरेपछि सुरू भएको कार्यक्रममा किराँती खम्बु राई सांस्कृतिक संस्थानका कालेबुङ महकुमा समितिका सचिव अरूण प्रकाश राईले स्वागत सम्बोधन गर्दै किराँती खम्बुहरूलाई जनजातिको मान्यता सरकारले झट्ट दिनुपर्ने माग गरे। 
रेमन्ती  राई
‘किराँती खम्बुहरू जनजाति हुन्। सरकारले जनजातिको मान्यता दिएर न्याय दिनुपर्छ’ अरूण प्रकाश राईले भने। कार्यक्रममा किराँती खम्बुहरूको सांस्कृतिक सर समान, फोटो, जातिय खाद्य आदिको प्रदर्शन पनि राखिएको थियो। उक्त स्टलहरूको मुख्य अतिथि डा सामुएल राईले विधिवत उद्घाटन गरे। यसै अवसरमा सिक्किम नर्थ इष्ट सुपर स्टार रेमन्ती राईलाई किराँती खम्बु राई कालेबुङ महकुमा समितिको पक्षबाट सम्वर्द्धना जनाइयो। मुख्य अतिथि डा सामुएल राईको बाहुलीबाट अङ्ग वस्त्र ओढाई अनि सम्वर्द्धना पत्र प्रदान गरेर उनलाई सम्मानित गरिएको थियो। 
कार्यक्रममा मुख्य अतिथि अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट खम्बु राइट्स मुभमेंट्ले प्रकाशित गरेको क्यालेण्डरको पनि बिमोचन गरियो भने गायिका रेमन्ती राईको बाहुलीबाट प्रणेश राईको गीति एल्बम ‘सेन्तेरेम’को बिमोचन गरिएको थियो। 
यस अवसरमा किराँती भेष भुषाको फेशन सो र प्रतियोगिता पनि आयोजन पनि गरिएको थियो। उक्त फेशन सो पूर्ण रूपले किराँती खम्बुहरूको सांस्कृतिक धुन अनि परिहनमा सम्पन्न भएको थियो। यस अवसरमा बिभिन्न स्थानहरूबाट आएका अतिथि कलाकारहरूले सांगीतिक प्रस्तुती गरेका थिए। किराँती समुदाय भित्र धेरै कलाकारहरू हुँदा हुँदै पनि उनीहरूलाई किराँतीहरूले नै चिन्न नसकिरहेको अवस्थामा उक्त कलाकारहरूलाई आफ्नै जातिको माया र जातिभित्रै परिचय बाँट्न अतिथि कलाकारहरूलाई चिनाउँने प्रयास गरिएको आयोजक समितिले जानकारी गराएको थियो। 
कार्यक्रममा किराँती खम्बुहरूलाई जनजातिको मान्यता दिनुपर्छ भन्दै दिल्लीको जन्तर मन्तरमा धर्ना प्रदर्शन गर्ने खम्बु राइट्स मुभमेन्टका कार्यकर्ता र सदस्यहरुलाई पनि सम्मानित गरियो। 
यसै अवसरमा किराँती खम्बु राई सांस्कृतिक संस्थानका महासचिव बिनिता खम्बुले किराँतीहरूलाई जनजातिको मान्यता दिनुपर्ने मागमा सम्पूर्ण मन्त्रालयहरूमा पत्रचार गरिसकेको बताउँदै यसपल्ट राज्यपाललाई समेत जनजातिको मागमा ज्ञापन पत्र बुझाइसकेको जानकारी गराइन। उनले किराँतीहरू जनजाति हुँदा हुँदै सरकारले मान्यता नदिनु दुर्भाग्यपूर्ण रहेको थप बताइन।

0 Response to "‘खम्बुहरूलाई जनजातिको मान्यता दिनुपर्छ’ – भन्ने नाराले गुञ्जियो कालेबुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.