१६२ जना सहित एयर एसियाको विमान सम्पर्कविहीन
हराइरहेको बिमानमा सवार यात्रुका आफन्तहरु इन्डोनेसियाको सुरावायास्थित विमानस्थलमा । तस्विर : एएफपी |
ईकान्तिपुर, इन्डोनेसिया (बीबीसी), पुस १३ (28 दिसम्बर 2014): इन्डोनेसियाबाट सिंगापुरको लागि उडेको एयर एसियाको बिमान ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन बनेको छ । बिमानमा चालक दलका सदस्यसहित १६२ जना छन् ।
फ्लाइट क्यूजेड८५०१ स्थानीय समय अनुसार विहान ७ बजेर २४ मिनेटपछि सम्पर्कविहीन भएको एयर एसियाले पुष्टि गरेको छ ।
एयर एसियाको बिमान आज ८ बजेर ३० मिनेटमा सिंगापुर आइपुग्नुपर्ने थियो ।
बिमानको खोजी र उद्दार कार्य सुरु गरिएको छ ।
एयर एसियाको बिमान सम्पर्कविहीन भएको यो पहिलो पटक हो ।
खराब मौसमका कारण बिमानले सम्पर्क विहीन हुनु अघि विकल्प रुटको लागि आग्रह गरेको एयर एसियाले जनाएको छ ।
बिमानमा तीन दक्षिण कोरिया, एक-एक फ्रान्स, मलेसिया र सिंगापुरका बाहेक अन्य सबै इन्डोनेसियाली नागरिक छन् ।
यातायात मन्त्रालयका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई जनाए अनुसार बिमान कालिमान्टान र जाभा टापुबीचको जाभा समुद्रमाथि सम्पर्क विहीन बनेको हो ।
मौसमको खराबीको कारण बिमानले सम्पर्कविहीन हुनुअघि विकल्प रुटको लागि आग्रह गरेको बताइएको छ ।
बिमान हराएको जानकारी पाउनासाथ इन्डोनेसियाको सुरावायास्थित विमानस्थल र सिंगापुर बिमानस्थलमा बिमानमा सवार आफन्तजनहरुको घुइँचो लागेको छ ।
एयर एसियाका प्रमुख कार्यकारी टोनी फर्नान्डेजले घटनाको पुष्टि गर्दै ट्वीट गरेका छन्,'तपाईंहरुको सुझाव र प्रार्थनाका लागि धन्यवाद । यो समयमा हामीले धैर्य गर्नै पर्छ ।'
यो बर्ष मात्रै मलेसियाको राष्ट्रिय ध्वजाबाहक बिमानले ठूला दुई दुर्घटना व्यहोर्नुपरेको थियो ।
मलेसियन एयरलाइन्सको फ्लाइट एमएच३७० क्वालालम्पुरबाट बेइजिङ जाने क्रममा अज्ञात समूहले गोली हानेको झारेको थियो । मार्च महिनामा भएको उक्त घटनामा दुईसय ३९ यात्रु र चालक दलका सदस्यसहित गरी दुईसय ९२ जनाको मृत्यु भएको थियो ।
0 Response to "१६२ जना सहित एयर एसियाको विमान सम्पर्कविहीन"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.