
सरकारले सिन्कोना उद्योग बन्द गर्ने षडयन्त्र गर्दैछ – युनाइटेड फोरम
डी.के वाइबा, कालिमन्युज, कालेबुङ 22 नोभेम्बर। ‘सरकारले सिन्कोना उद्योगलाई बन्द गर्ने सुनियोजित षडयन्त्र रचिरहेको छ। उक्त सिन्कोना उद्योगलाई बन्द गर्नको निम्ति राज्य सरकारले वर्तमान सिन्कोना निर्देशकलाई नियुक्ति दिएर पठाएको हो’ उक्त आरोप युनाइटेड फोरमका महासचिव प्रविण गुरूङले लगाएका हुन्। सिन्कोना निर्देशक डा सामुएल राईले सिन्कोना बगानको जमीनमा कुनै बिल्डिङ निर्माण गर्न नपाउने, बगानका कर्मचारीबाहेक अन्यले सिन्कोनाको जमिनमा घर, गाइगोठ, कटेरो, बाथरूम आदि बनाउँन नपाउँने सरकारी आदेश जारी गरेको सन्दर्भमा युनाइटेड फोरमका महासचिव प्रविण गुरूङले उक्त आदेश वास्तवमा सिन्कोना बगानलाई सधैँको निम्ति बन्द गर्ने सुनियोजित षडयन्त्र हो भनेका हुन्।
‘सरकारले रूग्न अवस्थामा रहेका उद्योगहरूलाई बन्द गर्ने अथवा निजीकरण गर्ने योजनाहरू बनाइरहेको छ। केही दिन अघि पाँचवटा चिया बगानलाई निलामी गर्ने घोषणा यसको परिणाम हो। यता पहाडमा रहेको सिन्कोना उद्योगले नाफा नदिएको कारण सरकारले यसलाई बन्द गर्ने योजना बनाएको छ। उक्त योजनालाई सफल पार्न सरकारले सुनियोजित ढंगमा डा सामुएल राईलाई सिन्कोना निर्देशकको नियुक्ति दिएर पठाएका हुन’ प्रविण गुरूङले तृणमूल सरकारको कटाक्ष गर्दै भने। ‘सरकारले नेपाली निर्देशकलाई नियुक्ति दिएर पठाउनुको पछि ठूलो योजना छ। यदि सरकारले सिन्कोनालाई बँचाउन चाहेको भए योग्य व्यक्तिलाई निर्देशकको पदमा नियुक्ति दिने थिए, तर यस्तो गरेन’ गुरूङले अझ भने। सिन्कोना बगानमा लगभक 35 वर्षसम्म कार्य गरेका डा पी.के साहलाई निर्देशकको पदमा नियुक्तिको निम्ति शैक्षिक योग्यता नपुगेको बताएर अन्तरवार्ताको निम्ति नबोलाएको दाबी गर्दै अहिलेका निर्देशक डा सामुएल राईलाई सुनियोजित ढङ्गमा नियुक्ति गरिएको तिनले आरोप लगाए। ‘डा सामुएल राईको नियुक्तिबारे शंका छ। उनको शैक्षिक योग्यता बी.एस्सी(एजी), एम.एस्सी (एजी) अनि पीएचडी बोटानी हो। तर डा पी.के साहको शिक्षा बी.एस्सी (बोटानी), एम.एस्सी (बोटानी) अनि पीएचडी (बोटानी) हो। यतिमात्र होइन निर्देशकको निम्ति निम्नतम पाँचवर्ष अनुभव चाहिएको बिज्ञापनमा लेखिएको थियो भने डा राई मजदुर व्यवस्थापन कार्यमा अनुभवी थिएनन् जब कि डा साह 30 वर्ष भन्दा अधिक मजदुर व्यवस्थापनको अनुभवी थिए। यसले शंका गर्ने ठाउँ स्पष्ट पारेको छ’ सिन्कोना निर्देशकको नियुक्ति प्रक्रियाबारे सरकारको नीतिमा असन्तुष्ट व्यक्त गर्दै प्रविण गुरूङले प्रश्न गरे। वास्तवमा एकजना बङ्गाली व्यक्तिलाई निर्देशक नियुक्ति गरेर उनकै कार्यकालमा सिन्कोना उद्योग बन्द गरे बङ्गाली समुदायमा नकारात्मक प्रभाव पर्छ भन्ने सोंचले सरकारले नेपाली व्यक्तिलाई निर्देशक नियुक्ति गरेर उनकै कार्यकालमा सिन्कोना उद्योग बन्द गर्ने चाल चलेको तिनले आरोप लगाए।
“बगानको जमीनमा घर, बिल्डिङ बनाउँनु पाउँदैन भन्ने निर्देश वास्तवमा सरकारकै निर्देशनमा हुँदैछ। सरकारले दार्जीलिङ पहाडमा मानिसहरूलाई शरणार्थी बनाउँ खोज्दैछन्। यसको निम्ति यो आदेश जारी गरेर प्राथमिक कार्य सुरू भएको हो। यसको बिरोधमा सिन्कोना बगानका मजदुरवर्ग आन्दोलनमा ओर्लन आवश्यक छ’ प्रविण गुरूङले अझ भने। अहिलेका सिन्कोना निर्देशकले सरकारको मिशनलाई सक्षम पार्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेको आरोप लगाउँदै तिनले सिन्कोना बगानको 160 वर्षको सम्पूर्ण रिपोर्ट राज्यसरकारलाई नवन्ना भवनमा पुर्याएको पनि दाबी गरे। ‘राज्य सरकारले बितेको पाँच वर्षमा भएका नियुक्ति रिपोर्ट मागेको छ। जसको जाँच पनि चल्दैछ। यस अघि 160 वर्षको कन्भेन्सन रिपोर्ट निर्देशक डा राईले कोलकोतामा बुझाएका छन्। उनले सरकारको मिशन पुरा गर्ने कार्य गरिरहेको छ। यो सिन्कोना बगानको उन्नतिको निम्ति पटक्क होइन” प्रविण गुरूङले दाबी गर्दै भने।
‘सिन्कोना निर्देशकले सिन्कोनाको बिकासको निम्ति आजसम्म के कार्य गरे ? अदुवा रोप्नु सिन्कोनाको उन्नतिको निम्ति होइन। यदि सरकार र सिन्कोना निर्देशक सिन्कोना उद्योगलाई बचाउँन चाहन्छन् भने सम्पूण मजदुर संगठनलाई बोलाएर एकसाथ सभा डाक्नुपर्छ’ गुरूङले माग गरे। तिनले सिन्कोना बगानलाई व्यवस्थित तरिकाले उन्नतिको बाटोमा अग्रसर गराउँनको निम्ति राज्य अनि केन्द्र सरकारबाट योजनाहरू बनाएर आर्थिक कोष निकाल्न सक्नुपर्ने सुझाव दिएका छन्।
0 Response to "सरकारले सिन्कोना उद्योग बन्द गर्ने षडयन्त्र गर्दैछ – युनाइटेड फोरम"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.