-->
फेसबुककी केटी

फेसबुककी केटी

facebookनबराज बजगाई, समकालीन साहित्य: मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । किनकी फेसबुकमा जोडिएका भाई साथी इष्ट मित्र र चिनजानी नै थिए । फेरी म कसरी व्यस्त भएँ । ताकि दैनिक ४–६ घण्टा नेटमा रुमल्लिनु मेरो आदत नै थियो । भलै मेरा साथी धेरै थिए, सबैसँग कुरा गर्न सम्भव थिएन पनि ।
मेबी २ घण्टाको अन्तराल हुनु पर्छ । मैले १ कप चिया थप्न भ्याएँ । पुन ः हेलो उही नाम, उही अक्षर, उही कुरा अनि मेरो जवाफ उही हजुर, आराम होइसिन्छ प्रश्न, आराम छु उत्तर । घरपरिवारमा के छ ? अब म झल्यास्स भएँ र नाम तिर ध्यान दिए । मेरो मानस्पटलको परिधिमा सीमित छैन त्यो नाम, यदि नचिनेको भए मेरोमा फ्रेण्ड कसरी ? होइन....होइन....मैले कन्फम गर्ने निधो गरे त्यही नाम, कपी, सर्चमा पेस्ट र इन्टरले देखायो स्टडी इन ब्याचलर थर्ड इयर टी यु बस् यति थियो । उसको प्रोफाइलमा । एबाउट गरे –त्यही नाम जुल्दो मिल्दो इमेल आइडी मात्र बरु केही लाइक पेजहरु मेरोमा मिच्युअल थिए । प्रोफाइल पिक्चर कहीँ फूल, कहीँ काडा, कहीँ सायरी त कहीँ कार्टुन बस् यही हो उसको परिचय । यति हेर्न भ्याउँदै थिए, बोल्न पनि पैसा लाग्ने जस्तो अर्को प्रहार च्याट बक्समा आयो । अब मैले कुरा गर्नै पर्छ । कसैले साथी बनाउँदाको नाम परिवर्तन गरेको पनि त हुन सक्छ, हैन भने पनि ठिकै छ । फेरी बुझ्न पनि त सकिन्छ । म्यासेज बक्समा खान्दानी भाषा छ, अनि त्यहाँ देखाएको शिक्षा सही हो भने शिक्षित पनि अब मैले विस्तारै औँला चलाए र सोधे माफ गर्नुहोला । मैले तपाईलाई भुलेछु, । तपाईको परिचय ? उत्तर तुरुन्तै आयो मेरो नाम त्यही हो । म अझै धर्मराएर भनेँ, मैले तपाईलाई चिन्न सकिन ।
छिनभरमै च्याट लाइनमा रातो सिम्बोल आयो । हेरेँ, अब ठूलो मान्छे..........हामीलाई के चिन्नु.........ओके बाई....। म यसै पनि कौतुलित थिए अब झनै मन साँघुरिएर आयो आखिर मैले चिनिन त मेरो के दोष । हुन त केटी मान्छेले चित्त नबुझेपछि ठूलो मान्छे, हामीलाई विस्र्या.......भन्ने गर्छन् यो उनीहरुको आदत नै हो भनेर एउटा साथीले भनेको अझैँ भुलेको छैन मैले । त्यही सोचेँ रत्तिभर विचलित भईन, कम्प्युटर सटडाउन गरे– ओके बाई ।
आज त म पनि बाठैँ बनेँ, फेसबुक खोल्नुसँगै च्याटलाईन अफ गरे, पेज खुलेसँगै फे्रण्ड, म्यासेज र नोटिफिकेसन्स सिम्बोलमा राताम्बे देखेँ र हेरेँ मेरा सबै फोटा र स्टाटसमा एक एक लाइक बढेको थियो, त्यो सबै त्यही नामको थियो, जुन हिजो च्याटमा कट्टी भएको थियो । म्यासेज बक्समा पनि तपाई त कस्तो मान्छे त्यतिमा पनि रिसाउने हिजोदेखि च्याटमै हुनु हुन्न उही नामको सन्देश थियो । मैले बाल मतलब गरिँन बरु अफलाइन लाई अन गरेँ । केही बेरमा फेरी अर्को सन्देश आयो । आइ एम सो सरी मैले बाध्य भएर भनेँ इट्स ओके । हैँन, यी केटी मान्छे कति नखरा, कसरी केटा मान्छेलाई आफ्नो बनाउने, प्रभावित पार्ने कति जान्या...। छिनमै रुने, छिनमै हाँस्ने क्या गजबको कला । हुन त म पनि कम हैन, अरु भए १÷२ हप्ता नै बोल्दैनथेँ होला तर केटी भएर २४ घण्टा नपुग्दै कट्टी फिर्ता गरेँ । तर यो मेरो मात्रै हैन, सबै लोग्ने मान्छेको विशेषता हो । यो सँगै म उनीसँग च्याटमा गफिन थाले, सायद उनी भएरै होला, च्याटमा बस्नुको मज्जा बेग्लै हुन थाल्यो, मिनेट, घण्टा हुँदै हामी घण्टौँ च्याटमा हराउन थाल्यौँ अनि नचिनेकैँ भए पनि अन्तरंग कुरा हुन्थे, फुर्सदमा सम्झदा लाग्थ्यो भेटेरै सामीप्यता बाड्न ए............। म कति पटक उनको असली परिचय र सम्पर्क नम्बर चाहन्थे । तर अहँ त्यो कदापी सम्भव भएन । म हजुरलाई आफैँ कल गर्छु अनि भेटौँला हैँ.......छुट्नु अघिको भनाई याद गर्दा पनि मन प्रफुल्लित हुने कस्तो संयोग । मोबाइलमा सेभ नभएको नम्बरबाट कल आए पनि हतार–हतार उठाउन थालेँ, कतैँ उसैको ...........। होइन उसको स्वर कतै आएन, म बेग्र प्रतिक्षामा तड्पिरहे, तड्पिरहे.....। अब त च्याटमा पनि अफिस टाइम आकल झुकल मात्र भेटिन्छ उसलाई । साँझ विहान च्याटमा आइदिए पनि घरको कफर््यु तोडेर हल्का कुरा त गरिन्थ्यो नि ! मेरो आमुकता पूरा हुन सकेन । लामो समयपछि बल्ल ऊ आई मैले नि श्री गणेश गरे । कता हराको ? खैँ त सम्पर्क ? उसले उम्कदैँ भनी म अलि व्यस्त भए त्यही भएर । हजुरले अबदेखि मलाई तपाई हैन, तिमी भन्नु न हैँ उसको रिक्वेष्ट थियो । मैले नस्वीकार्ने कुरै भएन किनकी म पनि अरुको धेरै इज्जत गर्नेमा कहाँ पर्छु र ? शहरीया रहन सहनमा सानैदेखि हुर्केको मलाई तिमी हैन तँ नै भन्नु परे पनि केको आपत्ति समस्यै छैन, हुन्छ भनिदिएँ । यति हुँदा सम्म मलाई कता–कता काउकुतीको आभाष हुन थालेको छ । म एकान्तप्रेमी कतै एकान्तमा परे कि उनकै कल्पनामा हराउन थालेछु । च्याटका मीठा मीठा शब्दहरु मेरा नयनस्पटलमा घुमिरहन्छन् सोच्छु उनीसँगको मेरोे सम्बन्ध जीवन्त हुनुपर्छ, उनी र मसँगको पहिलो भेट अहँ म...............कल्पना गर्ने सकिँन । म भित्रभित्रै यति प्रफुल्लित भएँ, मानौँ आजकलका नव जवानहरुले भन्ने भाषामा भन्ने हो भने मेरो लभ प¥यो । उनी विनाको जीवन अब म सोच्नै नसक्ने भएँ । मेरो एकाङ्की आमुक्तमा केको राज छ त्यो त म पनि जान्दिन तर मलाई यति थाहा छ उनी विनाको म अधुरो रहन्छु ।
आज म अलि खुशी पनि छु । त्यसैले गायक.बिनोद राठोरको खुशी छु म आज तिमीभन्दा धेरै....बोलको गीत अधरबाट अनायसै फुत्किरहेको छ । पिंजडाबाट उम्किएको पंक्षि जस्तै स्वतन्त्र छु म आज । तीजको रमझमले मलाई पनि घरको कफर््यु हटेको छ । निर्जीव पलङमा लमतन्न मलाई निन्दादेवीले धोका दिएको आभाष म सहजै अनुमान गर्न सक्छु । लोडसेडिङको अन्धकारमा संगीतको ताल दिँदै गरेका भ्यागुताको ट्वारट्वारसँगै मेरो मानसपटलले एउटा गजबको उपाय फेला पा¥यो । साथीले उपहार दिएको आइफोन अब मेरो लागि निन्द्रा आगमनको उपाय हुन सक्छ । मोबाइल डाटा कनेक्ट गरे, च्याटमा जाऊँ उसलाई भेटिने हैन, बेकारमा के पैसा खर्च गर्नु ? एकातिर मन भनिरहेछ अर्कोतर्फ सरसरती हेरेर अपडेट त हुनै पर्छ नभन्दै आज मेरो जीवनमा दोस्रो आश्चर्य अंकित भएको छ । ताकि उसलाई यति अबेर पनि च्याटमा देखेँ, हत्त न पत्त टाइप गर्दै थिएँ, ऊ फस्ट भई ह्याप्पी तीज..........। मैले सेम टु यु भन्दै सोधेँ, यतिबेला सम्म च्याटमा ? उसले जवाफ दिँदै भनी व्रत बसेँको सबै जना रमाईलो गर्दै छौँ । मैले सोधिहाले कसको लागि व्रत ? एउटा स्टिकरसँगै जवाफ आयो, मेरो व्रत हजुरको लागि.... म एक्कासी छाँगाबाट खसेझैँ भए । मनभरी उकुसमुकुस छटपटिहरु मडारिन थाले, साँझको लालीमा प्रभातका किरणहरु देख्छु, अन्धकारमा पनि रश्मिका छट्टाहरु देखिन थाल्छन् कतै मन तुल्बुलिन्छ, सम्हाल्छु आफूलाई भारी मनले मन मनै भन्छु यो कसरी सम्भव छ ! हैन मेरा लागि व्रत बस्ने कति हुन सक्छन् ? २ दिनको रमझममा ऊ मेरा लागि व्रतसम्म बस्न सक्छे, अहँ यो हुन सक्दैन फेरी अर्को मनले भन्छ किन किन ऊ बिनाको म.....नाई म सोच्नै सक्दिनँ । मनभरी तर्क नै तर्कना बोक्दै थिएँ खैँ कतिबेला निन्द्रा देवीले अंगालो मारिन् थाहै भएन ।
सायद चौथो दिन हुनुपर्छ मेरै एरियाको लेनलाइन फोन नम्बरबाट फोन आयो । रिसिभ गरेँ, हेलो आदत जी हो, मैले हो भनेँ, कोइली आवाजैँ त नभए पनि कतै सुनेको जस्तो सुमधुर आवाज थियो त्यो मैले यकिन गर्न त सकिँन र पनि त्यो आवाजसँग म नजिकै हुनुपर्छ म अन्दाज गर्न सक्छु । हत्तारिँदै सोधेँ को बोल्नुभो ? चिन्नुभएन अन्दाज गर्नुस् न म को होला ? म लख काट्दै थिए उसले थपिहाली म फेसबुकको साथी नाम हजुर नै राख्नुस न हैँ......? म पुलंकित भएँ हर्षले कता कता हराए जस्तो आभाष भयो, म जसको प्रतिक्षामा आत्तुर थिए आज ऊ मसँगै छ मैले हत्त न पत्त नाम राखे फेसबुककी केटी ।
धेरै बेरको अन्तरंग कुराकानीले म यति प्रफुल्लित भएँ सायद जीवनमा नयाँ आयाम थपिएको छ मनन् गर्छु कति भाग्यमानी म । ऊसँगको कुराकानीले मलाई किनकिन काउकुतीको आभाष भईरहेछ मेरो धेरै रिक्वेष्ट उसलाई भेट्ने तर उसले मान्दै मानिँन ..........अन्तत ः ऊ पग्लि भोलि भेटौँ न हैँ ? उसको कुरा नसकिँदै हुन्छ भन्न मलाई कुनै अप्ठ्यरो परेन । छोरीको भोली स्कुल विदा छ उसलाई नि लिएर आउँछु नि हैँ ? उसको यो भनाईले म एक्कासी छाँगाबाट खसेजस्तै भएँ ! फेरी एकपटक मेरो जीवनमा ठूलै रेक्टर स्केलको भुइँचालो आयो । हामी दुईको सम्बन्धमा यो छोरी कहाँबाट आई, यति लामो कुराकानीमा मलाई पत्तै भएन ऊ विवाहित थिई अझैँ छोरीकी आमा । नाई यो मलाई स्वीकार्य छैन..........। तर विवश पनि छु । हुन त म पनि विवाहित नै हुँ नि मेरी पनि उसको जस्तै एउटी छोरी छ । आखिर के भो त संयोग पनि उस्तै दुवै विवाहित दुवैका एक एक छोरी म मन बुझाउने प्रयास गर्छु । दुवैको चिन्ने सिम्बोल साटासाटसँगै उसले भेट्ने स्थान छान्न मलाई जिम्मा दिइ । मैले मणिमुकुन्द सेन पार्क रोजेँ उसले ओके गरी हामी दुवै भोलिको प्रतिक्षामा छुट्यौँ ।
अब मन चयनमा छैन कतिबेला भोलि होला र उसलाई भेटेर...........। म उसलाई भेट्न यति आत्तुर थिए मानौँ भोलि म संसार जित्दैछु । मेरो जीवनमा खुशीको वर्षा हुँदै छ, किन मान्छेको मन यति विघ्न उत्साही हुन्छ मैले केही सोचेको छैन । साँझ घरमा खाना खान मनै लागेन केवल भोलिको प्रतिक्षामा तुल्बुलिन पुग्छु । निन्द्रा फिटिक्कै लाग्दैन जहानले थाहा पाउँली भनेर निदाएको अभिनय गर्छु । कुखुरी बाँस्दा नबाँस्दै बुढीले चिया थमाउँदै आज छोरीको विदा छ लिएर कतै घुम्न जाऊँ न हैँ भन्दा झनक्क रिसाएँ म । किन किन आजकल बुढीको बोली रुखो लाग्न थालेको छ । अघि पछि उसको अनुहार हेरेर रमाउने मलाई आज उसको अनुहार मलिन लाग्छ । मनमनै भन्छु ‘कस्तो अलच्छिना आइमाई ’ बिहान बिहानै मुडै खराब बनाइ दिई मेरो मनको साँघुरो दायराले यहि भन्न थालेको छ । अझै सम्हालिएर भने आज अफिसमा धेरै काम छ । साँझ मिटिङ भन्याछन् म भ्याउँदिन घर आउन पनि अबेरै हुन्छ होला । तिमी आफै कतै घुमाइदेउन है – मेरा कुरा नसकिदै बुढीले मन्द मुस्कानमा ‘हुन्छ ’ भनि र साँझ चाँडै आइस्यो न है भन्दा म नाजवाफ थिएँ ।
अब मेरो प्रतिक्षाको घडी सकिँदै थियो । तोकिएको समयभन्दा धेरै अघि हरिवंश आचार्यको चिना हराएको मान्छे बोकेर म मणिमुकुन्द सेन पार्कको माथिल्लो भागमा बसिरहे, ऊ आउने बाटो हेर्दै,मलाई पार्कको त्यो सुन्दरता त्यहाँ बनेको छट्टाहरु, त्यहाँको ऐतिहासिकता अनि त्यहाँ आवतजावत गर्दै गरेका कोही पनि मन पर्न छोडेको छ । मन पर्छ त केवल ऊ.....। उसको अनुहार देख्दा नै स्वर्ग पुग्ने आभाष म मा भईरहेछ । पार्क अगाडिको त्यो पुल छि ः धिक्र्काछु र निर्जीव पुललाई पनि किनकिन गाली गरिरहेछु । हो मलाई अब सबै चिज मन पर्न छोडेको छ, मन पर्छ त केवल उसको कुरा, उसको स्वर अनि देख्तै नदेखेको अदृश्य उसको अनुहार । घण्टा वितिसक्यो हेर्दा हेर्दा नयनहरु टिठ्याइसकेँ, टाढालाई धुमिल देख्न थालिसकेँ तर पनि ऊ आइन...आउँदै आइनँ ।
फेरी नजरलाई पुलसम्म पु¥याए, अघि नराम्रो लाग्ने पुल राम्रो लाग्छ, त्यही पुलमा निलो छाता ओढेर हातमा सानी छोरी डो¥याउँदै ऊ आई । टाढैबाट अनुहार यकिन गर्न त म सम्भव भइन तर पनि म विश्वस्त छु त्यो उही हो । लामो कपाललाई गुजमुल्टो बनाएर पछाडि बाँधिछ मोरीले । टाढाबाट देख्दा फक्रेको फूलस्तो लाग्ने, नीलो टिसर्टमा टिमिक्कको पाइन्ट, वैजनी रंगको जुत्ता कति सुहाएको मोरीलाई । सिलिक्क परेको ज्यान लचकदार हिँडाई कल्पनामै मदहोस् हुन्छु म । लाग्छ ऊ विवाहित महिला हैन, १६–१८ की झ्वाक तन्नेरी हो । सानी छोरी ठ्याक्कै मेरी छोरीजस्तै एक हात आमालाई समाउँदै अर्को हातमा आइसक्रिम खाँदै हिड्दा म बालस्वभावमा केन्द्रित बन्छु । कस्तो चञ्चल, पवित्र अनि अबोध उत्सुकता मेरी छोरीले तोतेबोलीमा बाबा भनेको स्मरण गर्छु । हैन म कस्तो हुस्सु छोरी आउने भनेपछि एक पिस चोखोपन पनि नलिई आउने, आमासँग चाहिँ बदाम खाँदै घण्टौँ गफ गरिन्छ होला । होइन–होइन कहाँ बदाम उसलाई चटपट चाहिन्छ होला म कल्पित बन्छु । नाई म कहाँ चटपट खान्छु र ! खुर्सानी र श्रीमती सम्झिएसि सातो जाने म ...............। फेरि घोत्लिन्छु र सोच्छु यति सानी छोरी भएकी मान्छे किन यसरी हिड्या होला । उसको श्रीमान.......जे सुकै होस् मलाई बाल मतलब । ऊ नै यही चाहन्छे भने मेरो के दोष । हुन त म पनि कहाँ कम छु र घरमा घण्टा समय नदिने उसको लागि पूरै दिन त्याग्न तयार छु । उसकी छोरीलाई मेरी छोरीको भन्दा बढी माया त गर्दिन तर उसलाई जत्तिकै माया गर्छु बाल स्नेहले मेरो मनमा जरा गाड्दै थियो । विस्तार–विस्तार ऊ नजिकैँ आइसकी अब म केही बेर कलाकार बनेँ । उसले पनि मलाई खोजेर हैरान होस् म चाहन्थे । पार्कको माथिल्लो छेउमा बसेर पहिले कुरा गर्दा खोकेको यादमा पढन्ते देखाउन चिना हराएको मान्छे पल्टाएर नदेखेझैँ म घोत्लिरहन्छु, उसको प्रतिक्षामा केवल उसको प्रतिक्षामा.................।
मेरो अन्तिम सोचाई उसको अनुहार कस्तो होला ? नराम्रो छि ः यो हुनै सक्तैन । यस्तो राम्रो कुरा गर्ने मान्छे अनि कोइली कण्ठको स्वर भएको मान्छे कसरी नराम्रो हुन सक्छ । म आफू ऐना त हेर्दिन राम्रै कहाँ हुँला र ? तर पनि म आफूलाई राम्रो सम्झन्छु, स्मार्ट ठान्छु सायद म जस्ता सबैले यस्तै ठान्छन् होला – चियोचर्चो त गर्दिन र पनि सबैको विशेषता यही हुनुपर्छ । एक्कासी बाबा भन्दै छोरीले पछाडिबाट गर्लम्म अंगालो मार्छे म छोरीलाई सम्हाल्दै उठ्छु र उ पट्टी फर्कन्छु । मेरी बुढी भन्दै थिई मैँ हुँ हजुरको फेसबुककी केटी..........। - शनिवार, 4 आश्वीन, 2071 

साभार र कृतज्ञता: http://www.samakalinsahitya.com/index.php?show=detail&art_id=4930

0 Response to "फेसबुककी केटी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.