
कालेबुङ्को एउटै घरमा तीनजनाको जघन्य हत्या : हत्यारा फरार. ...3 murdered in Kalimpong
डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 जुलाई 2014। कालेबुङ महकुमा क्षेत्रको 42 नम्बर समष्टि अन्तर्गत समलबोङ ग्राम पञ्चायत अधिनस्थ चारखोलमा आज राती एउटै घरमा तीनजनाको बिभत्स हत्या भएको छ। उक्त घट्ना हिजो राती लगभग दशबजे भएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार कृष्ण बहादुर गुरुङ (52) अनि अञ्जना गुरुङको घरको कामधन्धा सघाउँने तेजबहादुर राई उर्फ पाण्डेले नै आखिरमा दुई दम्पतिको जघन्य हत्या गरेको आरोप रहेको छ। यसका साथै केही दिन अघि मात्र बेङलुरुबाट घरमा आएकी मनमाया गुरुङ (53)को पनि दुई दम्पति संगै जघन्य हत्या भएको छ। उक्त जघन्य हत्याले क्षेत्रमा तनावको वातावरण सृजना भएको छ भने हत्याको आरोपी तेजबहादुर राई लापत्ता भएका छन। गुरुङ परिवारको घरमा ह्त्याको आरोपी गाउँकै तेजबहादुर राई उर्फ पाण्डेले घरको काम सघाउँने कार्य गर्थे।
पुलिस निश्क्रियताको खोलियो पोल
एउटै घरमा तीनजनाको जघन्य हत्याले कालेबुङ पुलिसको निस्क्रियताको पोल खोलिएदिएको छ। किन भने उक्त हत्याकाण्ड हुन अघि आरोपी तेजबहादुर राईले पिडीत परिवार पक्षलाई मार्ने धम्कि दिईरहेको आरोप लगाउँदै गत 5 जुलाई 2014को दिन कालेबुङ थानामा लिखित प्राथमिकी दर्ता दिन आए पनि पुलिसले प्राथमिकी स्वीकार नगरेको पोल खोलिएको छ। उक्त प्राथमिकी पुलिसले स्वीकार नगरेको हप्ता दिन बित्न नपाई आखिरमा दम्पतिको जघन्य हत्या भएको घट्नाले कालेबुङ पुलिसको निस्क्रियताको पोल खोलिएको हो। बारम्बार मार्ने धम्कि दिने तेजबहादुर राई अनि पिडीत परिवार पक्षमाझ गाउँलेहरुले पञ्चायत बसेर विवादलाई साम्य पारे पछि आरोपी तेजबहादुर राई हप्ता दिनदेखि गाउँबाट अचानक हराएको थियो। गाउँबाट एकाएक कतै गएको तेजबहादुर राई हत्याकाण्डको दिन मात्र गाउँमा आएको प्रत्यक्षदर्शीहरुले बताएका छन। सोही दिन दम्पतिसंगै एक छिमेकीको एउटै घरमा जघन्य हत्याले सम्पूर्ण गाउँलेहरुलाई त्रस्त बनाएको छ। यता यदि पुलिस प्रशासनले हप्ता दिन अघि प्राथमिकी स्वीकार गरेर आरोपी बिरुद्ध कार्वाही गरेको भए यस्तो जघन्य हत्या नहुने पिडीत पक्षले दाबी गरेको छ।
भाग्यले बाँचे छोरी
तीनजनाको एउटै घरभित्र भएको जघन्य हत्याकाण्डमा छोरी ओसिन गुरुङ अनि छिमेकीको छोरी मालती भाग्यले बाँचेकी छन। उक्त हत्याकाण्डको समय घरमा कृष्णबहादुर गुरुङ(पति), अञ्जना गुरुङ(पत्नि), छिमेकी मनमाया गुरुङ, छोरी ओसिन गुरुङ अनि छिमेकीको छोरी मालती घरभित्र थिए। यसै समय लगभग साँढे नौबजे राती हप्तादिन अघि गाउँबाट फरार भएका तेजबहादुर राई उर्फ पाण्डे धारिलो हतियार बोकेर प्राणघातक हमला गरेको भाग्यले बाँचेकी छोरी ओसिन गुरुङले बताएकी तिनका काका यादव गुरुङले जानकारी दिएका छन। हत्याराले रातीको समय अचानक घरभित्र प्रवेश गरेर तीनजनाको जघन्य हत्या गरे पनि सोही घरमा रहेकी छोरी ओसिन गुरुङ अनि मालती तामाङलाई भने एउटा सानो चोट समेत पुर्याएको छैन। यस समय नानीहरुले बारम्बार आफूहरुलाई नमार्ने आग्रह गर्दा हत्याकाण्डको बारेमा हल्ला नगर्नु भन्दै घम्काएर उनीहरुलाई कोठाभित्रै राखेको पिडीत ओसिन गुरुङले बताएको पनि काका यादव गुरुङले जानकारी दिएका छन।
आरोपीलाई पक्राऊ गर्न पुलिस बल सक्रिय
तीनजनाको जघन्य हत्याको मूख्य आरोपीलाई पक्राऊ गर्न कालेबुङ पुलिस सक्रिय बनेको छ। यद्यपी समाचार लेखिञ्जेलसम्म भने हत्याराको सुईँको समेत लाग्न सकेको छैन। यता उक्त हत्याकाण्डबारे बिहान छिमेकी मालतीकी पिता घट्ना स्थलमा पुग्दा घरवरी परी अस्तव्यस्त देख्दा मात्र हत्याकाण्डबारे उजागर भएको हो। यसरी हत्याकाण्डबारे थाह पाएपछि घरभित्र जिउँदो अवस्थामा रहेकी छोरी ओसिन गुरुङ अनि मालती तामाङलाई पनि बाहिर सुरक्षित निकालिएको थाहा लागेको छ। उक्त घट्नाबारे गाउँलेहरुले थाहा पाए पछि कालेबुङ थानामा जानकारी गराए पछि कालेबुङ पुलिस थानाका प्रभारी अचिन्त गुप्ता दलबल सहित घट्ना स्थलमा पुगेका छन। यता घट्नाको रहस्य पत्तो लगाउँन अनि आरोपीलाई पक्राऊ गर्न पुलिसको डग स्क्वाड् टोली पनि घट्ना स्थलमा पुगेको छ।
पुलिस प्रशासन प्रति पिडीत पक्षको आपत्ति
यता हत्याकाण्डबारे पिडीतकी बहिनी रेजिना गुरुङले पुलिस प्रशासनको कार्यप्रणाली माथी प्रश्न तेर्साएकी छन। आरोपी तेजबहादुर राईले बारम्बार मार्ने धम्कि दिएको सम्बन्धमा कालेबुङ थानामा हप्तादिन अघि मात्र लिखित प्राथमिकी दर्ता गर्न आउँदा पुलिस पक्षले उक्त प्राथमिकी लिन नमानेको आरोप लगाएकी छन। उनले अझ बताए अनुसार पुलिसले उल्टै उनीहरुलाई नै आरोपीले धम्काएको प्रमाण लिएर आउँने अथवा आरोपीलाई नै थानामा लिएर आउँने निर्देश दिदै थानाबाट फर्काएको पनि आरोप लगाएकी छन।
यता मृतकका अर्की बहिनी सुजाता गुरुङले पनि पुलिसले समयमा कार्वाही गरेको भए यस्तो जघन्या हत्याको घट्ना नहुने दाबी गरेकी छन। उनले भने – गाउँको समाजले लिखित रुपमा आरोपी तेजबहादुर राई बिरुद्ध लेखेको पत्रको प्रतिलिपी पुलिसलाई देखाउँदा सम्म उल्टै पुलिसले यस्तो राम कहानी थानामा लिएर नआउँनु भनि धम्काएको आरोप लगाएकी छन। अर्कोतर्फ मृतकका भाई यादव गुरुङले पनि पुलिसको कार्य प्रणालीमाथी प्रश्न खडा गर्दै पुलिस प्रशासनको कार्वाही माथी आफुहरुलाई विश्वास नरहेको बताएका छन।
आरोपी पुलिस बिरुद्ध कार्वाही गरिने
तीनजनाको जघन्य हत्याले कालेबुङ पुलिसको कार्यप्रणाली माथी प्रश्न खडा भएको घट्नालाई पुलिस अधिकारीले गम्भिरतापूर्वक लिएको छ। पिडीत पक्षले हप्ता दिन अघि लिखित प्राथमिकी दर्ता गर्न आउँदा थानामा प्राथमिकी स्वीकार नगरी उल्टै फर्काएको आरोप प्रति जाँच गरिने अतिरिक्त पुलिस अधिक्षक अञ्जली सिंहले जानकारी दिएकी छन। तिनलाई उक्त बिषयमा प्रश्न गर्दा “पिडीत पक्षले थानामा प्राथमिकी दर्ता गर्न आएका थिए अथवा थिएन भन्ने जाँच गरिनेछ। यदि जाँचमा प्राथमिकी स्वीकार नगरेको कुरा प्रमाणित भए दोषी पुलिस अधिकारी बिरुद्ध कार्वाही गरिनेछ” कालेबुङका आतिरिक्त पुलिस अधिक्ष अञ्जली सिंहले स्पष्ट भनिन।
0 Response to "कालेबुङ्को एउटै घरमा तीनजनाको जघन्य हत्या : हत्यारा फरार. ...3 murdered in Kalimpong"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.