-->
‘परिधिभित्र’ पुराना लेखक डा हर्कबहादुर छेत्री को पुस्तकको लोकार्पण

‘परिधिभित्र’ पुराना लेखक डा हर्कबहादुर छेत्री को पुस्तकको लोकार्पण

डी के वाइबा, कालिमन्युज, कालेबुङ 10 मई 2014। “म जे थिएँ असाध्यै खुशी थिएँ, अहिले जे छु रत्तिभर खुशी छुईँन” – उक्त कुरा डा हर्कबहादुर छेत्रीले भनेका हुन। तिनी यहाँको हिमालय होटलमा मासिक साहित्यिक भेटघाट कार्यक्रम बसिबिँयालोमा आफ्ना पुराना लेखहरुको संकलन ‘परिधिभित्र’को लोकार्पण पछि बोल्दै थिए।
दार्जीलिङ पहाडमा गोरामुमो पार्टीको एकक्षत्र शाषण हुँदा आफ्नो प्रखर लेखहरु लेखेर चर्चित बनेका डा छेत्री गोजमुमो पार्टीको स्थापना पछि राजनीतिमा लागेर लेखकबाट नेता अनि बिधायक भएका छन। आफ्ना लेखहरुमा राजनैतिक अवस्थाको प्रखर आलोचना गर्ने डा छेत्रीले अहिलेघरी लेखहरु लेख्न प्राय छोडीसकेका छन। यस्तो अवस्थामा बिभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित तिनका पुराना लेखहरुको संकलन ‘कृतिका प्रकाशन’ले प्रकाशित गरेको छ। उक्त पुस्तकको आज मासिक साहित्यिक भेटघाट कार्यक्रम बसिबिँयालोको 129 औँ प्रकरणको अवसरमा वयोबृद्ध कवियत्री श्रीमती सानुमती राई, डा आरपी ढकाल, मधुसुधन लामा, शमसेर अली, ज्ञान सुतार अनि स्वय डा हर्कबहादुर छेत्रीको बाहुलीबाट विधिवत लोकार्पण गरियो।
बिभिन्न समयमा लेखेका पुराना लेखहरुको संकलन ‘परिधिभित्र’को प्रकाशन भएको अवसरमा डा छेत्री खुशी मुद्रामा देखिन्थे। एकातिर तिनको अनुहारमा पुस्तक प्रकाशनको खुशी स्पष्ट देखिन्थ्यो भने अहिलेको अवस्थामा लेख्न नसक्नुको पिँढा पनि उत्तिकै स्पष्ट देखिन्थ्यो। अहिलेको अवस्थामा लेख्न नसक्नुको स्वीकृति पनि डा हर्कबहादुर छेत्रीले गर्दै यस्तो हुनमा पूर्णतया आफ्नै दोष हो भन्न पनि तिनी चुकेनन। ‘स्वतन्त्ररुपले बाहिर बसेर म जति निर्भिक थिएँ आज राजनीतिभित्र पसेर हुनै सकिन। यो मेरो कमजोडी हो। अहिले यसलाई सुधार्ने प्रयास गरिरहेको छु। अब मेरा पाठकहरुले डा हर्कबहादुर छेत्रीलाई चाँडै पुरानै लेखकको रुपमा पाउँनुहुनेछ। यस पुस्तकले मलाई लेख्ने नयाँ उर्जा दिएको छ” डा छेत्रीले भने।
यसक्रममा तिनले बिगतका दिनहरुमा लेखहरु लेख्दाको अवस्थाबारे पनि सबैलाई अवगत गराए। “मैले लेखहरु लेख्दा पागल जस्तै भईसकेको थिएँ। एक दिन लेख लेख्न सकिन भने आफैलाई धेरै पछि परेको महशुस गर्थे। तर जति पनि लेखे निर्भिक र निस्वार्थ भएर लेखे। यसैकारण मलाई धम्किहरु आयो। घरमा भेट्न आउँनेहरु खिड्कीको पर्दा बन्द गरेर बात गर्थे। ‘सर अलिक बाँचेर लेख्नुहोस है’ भन्थे” तिनले बिगतका दिनहरुमा राजनैतिक लेखहरु लेख्दाको अनुभव साझा गर्दै भने। ‘यदि व्यक्तिगत स्वार्थ छैन भने लेख्नु आँट आउँदा रहेछ। अहिले सबै समय राजनीतिमा नै व्यस्त बनेर सकिरहेको छु। एउटा कुनै पुस्तक पढ्न बसे थुप्रै समस्याहरु बोकेर दर्खास्त चडाउँन जनताहरु आउँछन। वास्तवमा मैले यहीँ समाज राम्रो बनोस भनेर लेखेको थिए, यसकारण जनताको काम गर्न पनि लेख्नुकै अर्को व्यवहारिक कार्य मान्छु” तिनले अहिलेघरी लेखहरु लेख्न नसक्नुको कारणहरु पनि साझा गरिरहेका थिए।
“दार्जीलिङमा रुद्र प्रधानको हत्या भयो। मलाई आधारातमा फोन गरेर दुईवटै लेख्ने हात काटिदिनेछु भनेर धम्कि दियो। मेरा साथी अन्मोल प्रसादले ‘हर्कबहादुर द क्याट’ भन्ने कविता नै लेखे। कालेबुङबाट पेदोङ स्कूल पढाउँन गएका डा हर्कबहादुर साँझ घर फर्किन्छ कि फर्कन्दैन भन्ने चिन्ता हुन्थ्यो’ तिनले त्यस समयको राजनैतिक परिस्थिति बारे प्रकाश पार्दै भने। आफूले लेखेका लेखहरु बिभिन्न समाचार पत्रहरुमा प्रकाशित भए पनि त्यस लेखहरुलाई पुस्तकको रुपमा प्रकाशित गर्ने कार्य सबै आफ्ना श्रीमतीले गरेको कारण यसको सम्पूर्ण श्रेय पनि श्रीमतीलाई नै तिनले दिए। यस कार्यले आफूलाई पुन लेखककै रुपमा फर्किआउँने अनि पहिला आफू के थिएँ र अहिले के भएँ भन्ने स्मरण गरेको जानकारी गराए।
“राजनीतिमा भ्याकम क्रिएट हुँदैन। त्यहाँ राम्रो गए राम्रो आउँछ, नराम्रो गए नराम्रो आउँछ। यता लेखनमा राम्रो लेख्नेहरु नभए एउटा ठूलो ग्याप हुन्छ। अहिलेघरी मैले नै यो ग्याप भएको अनुभव गरिरहेको छु। जिम्मेवारी भएर लेख्नै पर्छ। एउटा व्यक्तिले लेखेर हुँदैन धेरैले लेख्नुपर्छ। कुनै पनि राम्रो कार्यको थालनी जोसुकैले गरोस त्यसलाई टिपेर अघि लान पर्छ। तर नराम्रो कार्यको थालनी जोसुकैले गरोस त्यसलाई त्यहीँ अन्त्येष्टि गर्नपर्छ” डा छेत्रीले जिम्मेवारी अनि निडर भएर लेख्ने आह्वान गर्दै भने।
अर्कोतिर कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कालेबुङ महाविद्यालयका प्रध्यापक डा आर पी ढकालले कुनै पनि व्यवस्थाले सृजनात्मक कार्य मार्न खोजे त्यसको बिरोध गर्न सक्नुपर्छ भन्दै डा छेत्रीले बिगतका दिनमा आफ्नो सृजनात्नक कार्यलाई व्यवस्थाको बिरोधले मार्न नदिएको बताए।
“जब सत्तादेखी डराउँछौँ तब सृजना मर्छ अनि स्वतन्त्रताको उपभोग गर्न सक्दैनौँ। डा छेत्री डराएनन अनि स्वतंत्रताको उपभोग गरे” डा ढकालले भने। अर्कोतिर कृतिका प्रकाशनका प्रकाशिका एंव डा हर्कबहादुर छेत्रीका श्रीमती राधिका छेत्रीले आफूलाई पुस्तक प्रकाशनको धेरै पुरानो ईच्छा आज पुरा भएको बताईन। “हामी भय र सन्त्रासमा बाँच्न पर्थ्यो। नोम्यान्सल्याण्डबारे लेख लेख्दा घरमा ढुंगा हानियो, पत्रिका बन्द भयो” राधिका छेत्रीले बिगतका घटनाहरु स्मरण गर्दै बताईन।
यस अवसरमा युवा कवि मनोज बोगटी, प्रदिप लोहागुण, डी के वाइबा, मदना ओझा, शान्ति साहरा, बि के सिलाल आदिले कविता पाठ गरेका थिए।

0 Response to "‘परिधिभित्र’ पुराना लेखक डा हर्कबहादुर छेत्री को पुस्तकको लोकार्पण"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.