
भाईचुङ भोटीयाको उम्मेद्वारीता : हिल तृणमूलको माग किनारमा...... हिल तृणमूलमा योग्य उम्मेद्वार नरहेको प्रमाण – अभागोली....भाईचुङ भोटीयालाई युवा तृणमूलको समर्थन
डी के वाइबा, कालिमन्युज, कालेबुङ 6 मार्च 2014। तृणमूल कङग्रेस प्रमुख एंव राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी लोकसभा चुनावलाई केन्द्र गरेर हिल तृणमूल कङ्ग्रेसले दाबी गरिरहेको भूमीपुत्र उम्मेद्वारको मागलाई पूर्णरुपले किनारा लगाएकी छन। तिनले बुधबार कोलकोतामा राज्यको मोठ 42 वटा आसनहरुमा तृणमूल पार्टीका उम्मेद्वारहरुको घोषणा गर्दै दार्जीलिङ पहाडबाट पूर्व भारतीय फूटबल टोलीका कप्तान भाईचुङ भोटीयालाई खडा गर्ने घोषणा गरेपछि हिल तृणमूल कङ्ग्रेसको माग पूर्णरुपले बिराम लागेको छ।
यस अघि हिल तृणमूल कङ्ग्रेसले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पहाडबाट भूमीपुत्रलाई उम्मेद्वार बनाउँनु पर्ने माग गर्दै छजना भूमीपुत्र उम्मेद्वारहरुको नामावली पठाएको थियो। अघिबाटै कुनै पनि राजनैतिक पार्टीहरुसंग सम्झौता नगरी राज्यको 42 वटा आसनहरुमा चुनाव लडने घोषणा गरिसकेको तृणमूल कङ्ग्रेसले पहाडबाट भूमीपुत्रलाई नै उम्मेद्वार बनाउँन सक्ने सम्भावना समेत गरिएको थियो। यद्यपी आखिरमा उक्त सम्भावनाहरुलाई बिराम लगाउँदै ममता ब्यानर्जीले सिक्किमका भाईचुङ भोटीयालाई दार्जीलिङ पहाडबाट चुनावी मैदानमा उतारेका छन।
भोटीयाको नाउँ बुधबार कोलकोताबाट घोषणा भएपछि यता दार्जीलिङ पहाडमा तृणमूल कङ्ग्रेस पार्टीको बिस्तार गर्ने कार्यकर्ताहरुमा निराशा छाएको छ।
यसक्रममा भाईचुङ भोटीयाको उम्मेद्वारिता माथी टिप्पणीहरु समेत अघि आउन थालेको छ। अघिबाटै दार्जीलिङ पहाडबाट भूमीपुत्रलाई नै पार्टीले टिकट दिनेछ भनेर आशावादी बनेर बसेका हिल तृणमूल कङ्ग्रेसका नेताहरु अहिलेघरी भाईचुङ भोटीयाको उम्मेद्वारीता माथी सन्तुष्ट बनेका छैनन। यद्यपी हिल तृणमूल कङ्ग्रेसका नेताहरुले उक्त असन्तुष्टिलाई सञ्चार माध्यमहरुमा ल्याउँन चाहेनन।
तृणमूल नेत्री ममता ब्यानर्जीले दार्जीलिङ पहाडबाट भाईचुङ भोटीयालाई लोकसभा चुनावको उम्मेद्वार बनाएर पार्टीभित्रै असन्तुष्टि बडेको छ भने यता साधारण जनतामा पनि भाईचुङ भोटीया प्रतिको सत्कार न्युन बनेको छ। भारतका फूटबल टोलीमा हुँदा तिनले जुन प्रकारमा सम्मान प्राप्त गरेका थिए भने अहिले दार्जीलिङ पहाडबाट तिनी तृणमूल कङ्ग्रेस पार्टीको उम्मेद्वार बनेको कारण उक्त सम्माननीय नजर पनि साधारण जनताबाट हटेर गएको छ। किन भने तृणमूल कङ्ग्रेसले छुट्टै राज्य गोर्खाल्याण्डको बिरोध गर्ने गरेको कारण अनि त्यहीँ गोर्खाल्याण्ड बिरोधी पार्टीकै टिकटमा दार्जीलिङ पहाडबाटै चुनावी मैदानमा ओर्लिएको कारण पनि पहाडका जनताले तिनलाई सम्माननीय दृष्टिकोणले हेर्न चाहेका छैनन। यस्तो अवस्थामा तृणमूल कङ्ग्रेसले भाईचुङ भोटीयालाई अघि राखेर चालेको राजनैतिक गोटीले सफलता पाउँलान् के भन्ने प्रश्न पनि उत्तिकै टट्कारो बन्न पुगेको छ।
हिल तृणमूलमा योग्य उम्मेद्वार नरहेको प्रमाण – अभागोली
यता भाईचुङ भोटीयाको उम्मेद्वारीता बिषयलाई लिएर अखिल भारतीय गोर्खालिग (अभागोली) पार्टीले तिखो प्रतिक्रिया व्यक्त गरेको छ। अभागोली महासचिव प्रताप खातीले तृणमूल कङ्ग्रेसले भाईचुङ भोटीयालाई पार्टीको उम्मेद्वार बनाएको सन्दर्भमा कडा प्रतिक्रिया व्यक्त गर्दै यदि तिनी साँचै आफ्नो जातीको माय गर्ने व्यक्ति भए सिक्किममा नै बसेर त्यस क्षेत्रका मानिसहरुको हितमा राजनीति गर्ने थिए भनि जनाएका छन। यसका साथै हिल तृणमूल कङ्ग्रेसले भूमीपुत्रलाई उम्मेद्वार बनाउँनुपर्ने माग गरिरहेकै अवस्थामा सिक्किमका भाईचुङ भोटीयालाई प्रार्थी बनाउँनाले हिल तृणमूल काङ्ग्रेसमा योग्य भूमीपुत्र प्रार्थी नरहेको प्रमाणीत भएको बताएका छन। यस्तो अवस्थामा पहाडका जनताले योग्य उम्मेद्वारलाई चयन गर्नु पर्ने तिनले सुझाव राखेका छन। “हामीलाई पहिल्यै थाह थियो हिल तृणमूलले भूमीपुत्रको माग गरीरहे पनि यसलाई मान्नेछैन भनेर। यदि सिद्धान्तमा बाँच्ने साथीहरु हो भने पार्टी त्याग गरेर चुनौति दिनपर्छ” खातीले भने।
भाईचुङले दार्जीलिङको हितमा कार्य गर्न सक्दैन – क्रामाकपा
अर्कोतर्फ यता क्रामाकपा पार्टीले पनि भाईचुङ भोटीयाको उम्मेद्वारीता माथी प्रश्न उठाउँदै तिनले दार्जीलिङ पहाडका जनताको हितमा कुनै कार्य गर्न नसक्ने बताएको छ। क्रामाकपा पार्टीका महासचिव तारामणी राईले पत्रकारहरुसंग कुराकानी गर्दै दार्जीलिङ पहाडका जनताको दिर्घकालीन समस्याको समाधान एकमात्र गोर्खाल्याण्ड भएको कारण अनि यता भाईचुङ भोटीया गोर्खाल्याण्ड बिरोधी पार्टी तृणमूल पार्टीका उम्मेद्वार भएको कारण तिनले यसबारे केही गर्न नसक्ने बताएका छन।
“भाईचुङलाई तृणमूलले टिकट दिएको छ। यदि तिनले दार्जीलिङको हितमा कार्य गर्छु भन्ने सोंचेका छन भने पार्टीको बिरोधमा त्यो गर्नै सक्दैनन” तारामणी राईले भने। यसैक्रममा भूमीपुत्रको रुपमा निर्दलीय प्रार्थीका रुपमा चुनाव लड्ने घोषणा गरिसकेका डा महेन्द्र पी लामाबारे सोधेको प्रश्नमा यसबारे पार्टीले बसेर बृहत चर्चा गर्ने जानकारी दिएका छन। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई प्रतिबद्धता साथ अघि बडाउँने उम्मेद्वारलाई साझा उम्मेद्वारको रुपमा सबैले उठाउँनु पर्ने क्रामाकपाले अघि बाटै सोंचीरहेको भए पनि पहाडमा आ आफ्नो मुद्दामा दलहरु बिभाजन भए पछि अब बिचार मिल्नेहरु एक हुन आवश्यक रहेको पनि तिनले जनाएका छन।
भाईचुङ भोटीयालाई युवा तृणमूलको समर्थन
कालेबुङ 6 मार्च। तृणमूल नेत्री ममता ब्यानर्जीले दार्जीलिङ पहाडबाट आगामी लोकसभा चुनावमा भाईचुङ भोटीयाको नाउँ घोषणा गरे पछि हिल तृणमूल युवा एकाईले स्वागत जनाएको छ। दार्जीलिङ जिल्ला हिल तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष छेवाङ भोटीयाले आज यहाँको पार्टी कार्यलयमा पत्रकार सम्मेलन डाकेर उक्त निर्णयलाई स्वागत गरे। तिनले पार्टीको हाईकमाण्डको निर्णयलाई स्वागत गर्ने कर्तव्य रहेको बताउँदै भाईचुङ बलीको बाख्रा होईन भने। यस अघि भूमीपुत्रको माग गरिरहेकोबारे प्रश्न गर्दा तिनले तृणमूल पार्टी एउटा बृहत पार्टी भएको कारण भाईचुङ योग्य व्यक्ति रहेको दाबी गर्दै बिगतमा जसवन्त सिहले जस्तो धोका नदिने तिनले दाबी गरे।
0 Response to "भाईचुङ भोटीयाको उम्मेद्वारीता : हिल तृणमूलको माग किनारमा...... हिल तृणमूलमा योग्य उम्मेद्वार नरहेको प्रमाण – अभागोली....भाईचुङ भोटीयालाई युवा तृणमूलको समर्थन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.