
संवैधानिक अधिकार माग्दा ‘होबेना र देबोना’ अब चल्दैन – आहलुवाली
डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 मार्च 2014। “छुट्टै राज्य गोर्खाल्याण्डको माग संवैधानिक माग हो। यस संवैधानिक मागलाई नबुझी ‘गोर्खाल्याण्ड होबेना र देबोना’ भन्ने अब चल्दैन” उक्त कुरा गोजमुमो समर्थित भाजपा प्रार्थी एस एस आहलुवालीयाले भनेका हुन।
तिनी आज पहिलोपल्ट कालेबुङ आईपुगेका थिए। यस अवसरमा तिनले यहाँको मानेलाखाङ गुम्बामा माईनोरेटी समुदायका मानिसहरुसंग बैठक गरे भने मोर्चाका नेताहरुसंग पनि छुट्टै बैठक गरे। पहिलोपल्ट कालेबुङ आएका एस एस आहलुवालीयालाई यहाँको आठमाईल पेट्रोल पम्पमा गोजमुमो सभासद अनि समर्थकहरुले खदा लगाएर जोडदार स्वागत जनाएको थियो।
तिनलाई स्वागत गर्ने क्रममा मोर्चा समर्थकहरुले छुट्टै राज्य गोर्खाल्याण्ड जिन्दावाद, आहलुवालीया जिन्दावाद, हरहर मोदी घरघर मोदी जस्ता नाराहरु लगाए। यसैक्रममा भाजपा प्रार्थी एस एस आहलुवालीयाले यहाँको थाना डाँडादेखी पैदल यात्रा गर्दै जनतालाई हात हल्लाएर अभिवादन जनाए। पहिलोपल्ट कालेबुङ आईपुगेका भाजपा प्रार्थीका साथमा गोजमुमो सभासद बिनय तामाङ, कर्णल रमेश आले, लोबसाङ लामा, डा आर बी भूजेल लगायत अन्य सभासादहरुको उपस्थिति रहेको थियो।
मानेलाखाङमा सम्पन्न भएको उक्त सभालाई सभासद बिनय तामाङले सम्बोधन गर्दै गोजमुमो पार्टीले आत्मा स्वाभिमानलाई कहिल्यै बिक्री नगरेकै कारण गोर्खाल्याण्डको पक्षमा भाजपालाई समर्थन गरेको स्पष्ट जनाए। यसअवसरमा एस एस आहलुवालीयाले सम्बोधन गर्दै छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनमा शहिद बनेकाहरुलाई श्रद्धाञ्जली अपर्ण गरे। तिनले आफू 24 वर्षसम्म सांसद बनेको बताउँदै यस अघि नेपाली भाषा मान्यता अनि छैटौँ अनुसूचीको बिरोध हुँदा धेरै कार्य गरेको जानकारी गराए।
आफ्नो सम्बोधनको क्रममा तिनले तृणमूल कङ्ग्रेससंगै केन्द्र सरकारको पनि कडा आलोचना गरे। बिगतका दिनहरुमा जीटीएलाई सञ्चालन गर्न गोजमुमो अनि ममता ब्यानर्जीको समबन्ध सुमधुर हुँदा कहिले पनि मोर्चाका नेताहरु बिरुद्ध कुनै कार्य नगरेको अनि गोजमुमोले भाजपालाई समर्थनको घोषणा गरेपछि यता पहाडमा सन्त्रास सृष्टि गर्दै मोर्चाका नेताहरु बिरुद्ध वारण्ट जारी गरेको आरोप तिनले लगाए।
“तृणमूल कङ्ग्रेस र गोजमुमोको सम्बन्ध राम्रो हुँदा कोलकोताको ब्रिगेड ग्राउण्डमा मोर्चा अध्यक्ष बिमल गुरुङ अनि महासचिव रोशन गिरीसंगै थिए। यस समय उनीहरुलाई किन पक्राऊ गरिएन ? भाजपालाई समर्थन गरेपछि मोर्चा नेताहरु बिरुद्ध वारण्ट किन जारी गर्दैछ ? यो सन्त्रास फैलाउँने कार्य हो। यस्तो अन्यायको बिरुद्ध जनताले ईभीएमको माध्यमबाट सरकारलाई जवाब दिनपर्छ” आहलुवालीयाले राज्य सरकारको आलोचना गर्दै भने।
गोर्खाहरुले आफ्नो संवैधानिक माग गरिरहेको अवस्थामा यसलाई राज्य सरकारले बुझ्न आवश्यक रहेको बताए। कुनै पनि मागको बिरोध गर्नु संवैधानिक अधिकार हो भन्दै कुनै पनि मागको बिरोध गर्न अघि आफ्नो अधिकारमा भएकै जस्तो होबेना र देबोना भन्नु असवैधानिक रहेको तिनले आरोप लगाए। भारतीय जनता पार्टी स सानो राज्यहरुको पक्षमा रहेको बताउँदै केन्द्रमा नरेन्द्र मोदीको नेतृत्वमा सरकार गठन भए गोर्खाल्याण्ड बारे निर्णायक निर्णय लिने पनि स्पष्ट पारे।
तिनले आफू संसदमा चुनिएर गए गोर्खाहरुको दिर्घकालीन समस्यालाई समाधानको निम्ति जोडदार आवाज उठाउँने बताएका छन। “जनताले मलाई चुनेर पठाएका जनताको आवाजलाई ईमान्दारसंग उठाउँनेछु” आहलुवालीयाले भने। यसअवसरमा तिनले केन्द्र सरकारको पनि आलोचना गर्न पछि परेनन। तिनले केन्द्र सरकारको आलोचना गर्दै छिमेकी राष्ट्रहरुले भारतमा आतङ्क सृष्टि गर्दा समेत कुनै निर्णय लिन नसक्ने सरकारलाई अब जनताले फ्याँक्न पर्ने पनि बताए। यस्तो अवस्थामा एकमात्र नरेन्द्र मोदी मात्र देशको निम्ति सही नेतृत्व हुन भनी दाबी गरे।
दार्जीलिङ पहाडका सम्पूर्ण मानिसहरु अब आफ्नो परिवारको सदस्य बनेको बताउँदै आफ्ना सदस्यहरुसंग बस्न तिनले दार्जीलिङमा नै एउटा घर भाडामा लिएको बताएका छन। बिगत दिनमा पहाडवासीले जसवन्त सिहलाई बिजय बनाएर पठाए पनि केन्द्रमा सरकार गठन नहुनु दुर्भाग्य रहेको बताउँदै यसवर्ष पहाडवासीलाई धोका नहुने पनि तिनले दाबी गरेका छन।
0 Response to "संवैधानिक अधिकार माग्दा ‘होबेना र देबोना’ अब चल्दैन – आहलुवाली"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.