
संसदमा पुगेर निदाउँने कार्य हुनेछैन – डा महेन्द्र पी लामा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 14 दिसम्बर 2013। “हामी संसदमा पुगेर निदाउँन चाहँदैनौँ। ट्वाँ परेर हेर्न पनि चाहँदैनौँ। जनताले चुनेर संसदमा पठाए त्यहाँ जनताको समस्यालाई गम्भिरतापूर्वक राख्नेछु। आजसम्म हाम्रो क्षेत्रबाट गएका सांसदहरुले छुट्टै राज्यको मुद्दा कतिचोटी उठाए? पाँच वा दशपल्ट उठाए होलान, त्यो पनि प्रसंगवस उठाएका होलान। यदि तपाईँहरुले मलाई पठाए हाम्रो छुट्टै राज्यको मागलाई निश्चितरुपले अघि बडाउँनेछु” – उक्त कुरा डा महेन्द्र पी लामाले भनेका हुन।
छुट्टै राज्य गठनको मुद्दालाई अघि बडाएर आगामी 14औँ लोकसभा चुनाव निर्दलीय प्रार्थीका रुपमा लड्ने घोषणा गरिसकेका डा महेन्द्र पी लामाले आज पहिलो चोटी कालेबुङको मेला ग्राउण्डमा जनसभालाई सम्बोधन गरे। तिनले आफ्नो लामो सम्बोधनमा छुट्टै राज्यको मुद्दा मात्रै चर्चा गरेनन तर छुट्टै राज्य प्राप्तिपछि क्षेत्रको बिकास कार्य अनि राज्य प्राप्ति अघि क्षेत्रको बिकास कार्य कसरी गर्नपर्छ भन्ने बिषयमा पनि बिस्तृत चर्चा गरे।
यसक्रममा तिनले शुरुदेखीनै भन्दै आएका शुन्य शत्रुको सिद्धान्तलाई आज पनि उठान गर्दै एउटै लक्ष्य प्राप्ति गर्न हिडॆकाहरुले आपस्तमा कुनौ रिस राग र दुश्मनको भावनालाई राख्नु नहुने बताए। यसक्रममा तिनले अब बिगतका दिनहरुमा के कस्ता कार्यहरु भए, कसले भूल गरे भन्ने कुराहरु हेर्न नलागेर आगामी दिनहरुमा कसरी लक्ष्यप्राप्ति गर्न सकिंछ अनि यसको निम्ति के गर्न आवश्यक छ भन्नेमा सबैले एकबद्ध भई ध्यान केन्द्रित गर्नपर्ने बताएका छन।
छुट्टै राज्यको मुद्दालाई अघि बडाउँन मुख्यरुपले पाँचवटा रणकौशल तयार पारेको तिनले बताउँदै एक नम्बरमा ठिक ठाउँमा ठिक समयमा ठिक तरिकाले छुट्टै राज्यको मुद्दा उठाईनेछ भने। यसपछि चारवटा रणकौशल पछिबाट थाह पाउँनुहुनेछ भन्दै युद्ध जित्नुको अघि सबै रणकौशल सार्बजनिक गरे त्यो हानिकारक हुनेछ भनि डा लामाले भने। एकमात्र लक्ष्यप्राप्तिको निम्ति सबैजना शुन्य शत्रुको सिद्धान्तलाई अघि बडाएर लाँदा यस एकतालाई तोड्न कतिपय शक्तिहरु सक्रिय बन्न सक्ने सम्भावनाहरु रहेको बताउँदै यस्तो शक्तिहरुसंग जोगिन आवश्यक रहेको तिनले बताए। तिनले आजसम्म लक्ष्य प्राप्तिको निम्ति गरेको कार्यक्रमहरु सफल नहुनुको पछि मुख्यरुपले कार्यक्रम अथवा आन्दोलन भावानात्मक भएको कारण यो नै बिफलताको कारण हो भने।
“हाम्रो कार्यक्रममा 90 प्रतिशत भावना हुने गरेको छ। अबको कार्यक्रममा 90 प्रतिशत बौधिक अनि 10 प्रतिशत मात्र भावना हुनपर्छ” डा लामाले भने। यसक्रमा तिनले दार्जीलिङ पहाडमा बिकासका कार्यहरुको सम्भावनाहरुबारे पनि प्रष्ट पार्दै कालेबुङबाट जेलेप्ला मार्ग खोल्न सके यहाँ अन्तराष्ट्रिय व्यापार हुने अनि यसले पहाडमा धेरै लाभ पुग्ने सम्भावनाबारे जानकारी दिए। पहाडमा बिकासको अर्थलाई संकिर्ण तरिकाले बुझेको बताउँदै अब झोडा नाला होईन सम्पूर्ण मानिसको सर्वाङ्गिन बिकास हुनपर्छ भने। तिनले बिकास देशका जनताको अधिकार हो भन्दै पहाडमा त्यही देशका नागरिकहरु बिकासको निम्ति भिख माग्न परेको बताए। यसक्रममा तिनले आफु सांसद बनिएको खण्डमा बिभिन्न संस्थानहरुको माध्यमबाट बिकासका कार्यहरु गर्ने जानकारी गराए।
“बिकास कुनै व्यक्तिले गर्ने कार्य होईन। यदि कसैले बिकास एक्लै गर्छु भन्छन भने त्यो तिनले झूटो बोलेको हो। यसैकारण बिकासको निम्ति सरकारले मंत्रालय, बिभाग, पञ्चायत निर्माण गरेको हो” तिनले भने। यसैक्रममा तिनले दार्जीलिङ पहाडलाई उत्तरपूर्विय राज्य परिषदमा अन्तर्भुक्त गर्नुपर्ने माग गर्दै यदि यस्तो भए राज्य निर्माण प्रक्रियामा एकपाईला छिटो हुने कुरा बताए। बिगतका दिनहरुमा दार्जीलिण्ग़ पहाड प्रत्य कुराहरुमा अघि रहेको बताउँदै आज सबैकुराहरुबाट पछि बनेको स्पष्ट पारे।
“एसियाको पहिलो हाईड्रो पावर दार्जीलिङमा बनियो। भारतमा ट्रेन दोस्रो चोटी दार्जीलिङमा कुद्यो। औलोज्वरोको औषधी सिन्कोना यहीँ उत्पादन भयो। विश्व प्रसिद्ध चिया यहीँ उम्रियो। के थिएन दार्जीलिङमा सबै थियो, तर आज सबै मराणसन्न अवस्थामा छ” डा लामाल भने।
यसक्रममा तिनले दार्जीलिङ पहाडमा अहिलेघरी बारम्बार चर्चामा आईरहेको त्रिस्तरीय पञ्चायत चुनावबारे बोल्दै भने – “जबसम्म भारतको संविधान संशोधन हुँदैन तबसम्म दार्जीलिङमा त्रिस्तरीय पञ्चायत चुनाव सम्भव छैन। आज त्रीस्तरीय पञ्चायत चुनावको कुरा उठ्छ तर हाम्रो सांसदले खोई संविधान संशोधनको कुरा उठाएको ? यसबारे कार्य गर्नु जरुरी छ।“
यसक्रममा तिनले यदि आफु सांसद चुनिए यसको निम्ति पहिलो कार्य गर्ने बताउँदै भने –“यदि तपाईँहरुले ससदमा पठाए यसबारे संसदमा पुगेको छ महिनादेखी बर्षदिन भित्रमा संविधान संशोधनको निम्ति पहल गर्नेछु”।
दार्जीलिङ डुवर्स युनाईटेड डेभलपमेन्ट फाउण्डेसन कालेबुङ शाखाको आयोजनामा सम्पन्न उक्त जनसभालाई भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानले गरेका थिए।
यस अवसरमा दार्जीलिङ, खरसाङ, सिलगडी आदि स्थानहरुबाट बिभिन्न राजनैतिक दल अनि गैरसरकारी संगठनका प्रतिनिधीवर्गको उपस्थिति रहेको थियो। आजको जनसभामा गोरानिमो पार्टीका अध्यक्ष दावा पाख्रिन, भागोप अध्यक्ष एनोसदास प्रधान, गोर्खाल्याण्ड टास्क फोर्सका सयोजक आर मोक्तान, गोर्खा भूतपूर्व सैनिक अर्द्धसैनिक मोर्चाका कर्णल डी आर गुरुङ, गोर्खालिगका कुमार छेत्री, खरसाङबाट भवानी शर्मा, सिलगडीबाट उषा किरण लामा, तुलसी देव बस्नेत, सुरेन प्रधान आदिले सम्बोधन गरेका थिए।
यस अवसरमा जनसभालाई सम्बोधन गर्दै वक्ताहरुले आगामी लोकसभा चुनावमा दार्जीलिङ संसदीय क्षेत्रबाट डा महेन्द्र पी लामालाई साझा उम्मेद्वार बनाएर छुट्टै राज्यको मुद्दालाई अघि बडाउँन जिताएर पठाउनपर्ने आह्वान गरे।
कालेबुङको मेला ग्राउण्डमा पहिलो पल्ट सम्पन्न उक्त जनसभामा बिभिन्न स्थानहरुबाट लकभग एकहजार मानिसहरुको सहभागीता रहेको थियो भने उनीहरुले डा महेन्द्र पी लामाको भाषणलाई खुबै चाख मानेर सुनिरहेका थिए। दार्जीलिङ लोकसभा समष्टिबाट अहिलेसम्म धेरै सांसदहरु चुनिएर गए पनि सबै सांसदहरुले छुट्टै राज्यको मुद्दालाई अहिलेसम्मा पार नलगाएको कारण एकमात्र दार्जीलिङ पहाडका योग्य उम्मेद्वार डा महेन्द्र पी लामालाई साझा उम्मेद्वार बनाएर पठाउँनुपर्ने आह्वान गर्दै यस कार्यको निम्ति सम्पूर्ण राजनैतिक अनि गैरराजनैतिक दलहरु एक हुनपर्ने वक्ताहरुले आह्वान गरे।
0 Response to "संसदमा पुगेर निदाउँने कार्य हुनेछैन – डा महेन्द्र पी लामा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.