-->
सड्कमा कविता भन्दै कविहरु टिस्टामा

सड्कमा कविता भन्दै कविहरु टिस्टामा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 नोभेम्बर। ‘‘म फेरी हार्ट अपरेसन गरेर, स्वास्थ्य मुटु लिई दार्जीलिङ फर्कि आउँनेछु मैले दार्जीलिङलाई नयाँ बिहानीको गीत सुनाएकै छैन” स्व कवि बिकाश गोतामेका प्रगतिशिल कविताको अंशलाई अघि सार्दै टिस्टाका युवा कवि बिशाल राई ‘टिस्टे’ले सडकमा कविता वाचन गर्दै थिए।
कालेबुङबाट शुरु भएको हस्तक्षेप जमातको सडक अवतरण सडकमा कविता आज दोस्रो चोटी टिस्टा बजारमा सम्पन्न भयो। फूलबारी साहित्य समितिको सह आयोजनामा सम्पन्न उक्त सडक कवितामा राजनैतिक, सामाजिक तथा सांस्कृतिक अराजकता बिषयमा कविहरुले चोटिला कविताहरु वाचन गरे।
टिस्टा बजारको सोमबारे हाट भर्न आएका मानिसहरु सौदाहरु किन्दै थिए। आलु, प्याज, टमाटर, माछा मासु किन्नेहरु किन्दै थिए। सब्जिहरुको दाम बडेको सन्दर्भमा गन गन गर्नेहरु पनि त्यतै गन गन गर्दै हिडँदै थिए। त्यहीँ कोलाहल हाटबजारको मुखैमा कविहरु सडकमा कविता सुनाउँन लाग्दा मानिसहरु सबै एकाएक अवाक बनेर आलु, प्याजको दाम सोध्न छोडेर कविता सुन्न लागे।
हाटबजारको कोलाहलमय वातावरण अनि त्यही कोलाहलमय वातावरणमा बिभिन्न राजनैतिक पार्टीहरुले आफ्नो राजनैतिक शक्ति देखाउँदै अस्तित्व बँचाएर राख्न जता ततै गाडेका पार्टीका रगी बिरंगी झण्डाहरु फर्फराईरहेको थियो। टिस्टा नदीबाट सोझै आएका हावाहरुले पार्टीको झण्डा फर्फराईरहेको समयमा यता कवि बिशाल राई कविता भन्दै थिए – ‘बरु देशले खाएको अनुहारको मानचित्र सोध्नुहोस/ फोहोर आन्दोलनमा हराएको छोराको खबर सोधुहोस / बरु सोध्नुनै हुन्छ भने प्याजको भाऊ सोध्नुहोस/ झण्डा सोध्नुहुन्छ हजुर / मेरो कुनै झण्डा छैन”।
राजनैतिक अराजकता र झण्डाहरुले ल्याएको बिभाजन प्रति कटाक्ष गरि लेखिएको कविता वाचन गर्दा सबैले थप्पडी बजाएर सडक कविता सुनिरहेका थिए। यसैक्रममा अर्का युवा कवि एंव पत्रकार प्रदिप लोहागुणले आफ्ना सुन्दर गजल प्रस्तुत गरे।
“पात्राहरु नयाँ छन खेल त पुरानै हो / बन्दिहरु नयाँ छन जेल त पुरानै हो” प्रदिप लोहागुणले समसामायिक धारामा लेखेका गजल प्रस्तुत गर्दा सडक कवितहारु सुन्नेहरु अझै बडीसकेका थिए। यसरी एकपछि अर्को गर्दै एका एक कविहरुले कविता भनिरहेकै समयमा अहिलेघरीका उम्दा युवा गायक पुष्पन प्रधानले “पैसा होईन पासो छ पर्देशमा” भन्ने सुन्दर गीत गाएर सडक कविताको कार्यक्रमलाई संगीतमय बनाईदिए। डुवर्सका युवा गयक पुष्पन प्रधान अहिले नेपालमा चर्चित युवा गायक हुन। सडक कविताको कार्यक्रममा बिशेषरुपले उपस्थित बनेका प्रधानले पनि सम सामायिक बिषयमा रचेका सुन्दर् गीत प्रस्तुत गरेर कार्यक्रमको अझ सोभा बडाईदिएका थिए। 
गाडीहरु कुदीरहेका थिए, मानिसहरु हिडीरहेका थिए अनि त्यही चला चल सडकमा कविहरु कविता भनिरहेका थिए। नेपाली साहित्य एकाडमी द्वारा युवा पुरस्कारले सम्मानित युवा कवि मनोज बोगटीले पनि यसैक्रममा राजनैतिक आराजकता बिषयमा नै आफ्नो कविता प्रस्तुत गर्दै भने “भित्र बस्नु पनि खत्रा छ / बाहिर बस्नु पनि खत्रा छ”। यसरी टिस्टाको सडकमा कविता वाचन गर्दै कविहरुले सबैलाई सडकमा आकर्षित गरेपछि बिभिन्न पार्टीका नेताहरु पनि सडकमा कवित सुनीरहेका थिए। 
उक्त सडक कवितामा छेवाङ योञ्जन, शान्ति साहरा, लाठपञ्चरका मिलन लामा, गेबु लेप्चा, शरण छेत्री, शरण मोथे आदिले काविता वाचन गरे भने कृबु संयमी, कृष्ण बुढाथोकी आदिको नि बिशेष उपस्थिति रहेको थियो।

0 Response to "सड्कमा कविता भन्दै कविहरु टिस्टामा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.