छुट्टै राज्य माग्नेहरु एकार्कामा कहिल्यै दुशमन होईनन – डा महेन्द्र पी लामा
1 Nov 2013
Comment
डी के वाइबा, कालिमन्युज, कालेबुङ 1 नोभेम्बर 2013। “हिजको दिनमा छुट्टै राज्य किन हुन सकेन भन्ने बहस छोडौ अनि हाम्रो एकमात्र छुट्टै राज्यको सपना कसरी पूरा गर्न सक्छ भन्ने बिषयमा बहस गरौँ” उक्त कुरा डा महेन्द्र पी लामाले आज पहिलोपल्ट मन्सोङवासीलाई सम्बोधन गर्दै भनेका हुन।
आगामी लोकसभा चुनावमा स्वतंत्र उम्मेद्वारको रुपमा चुनाव लड्ने घोषणा गरिसकेका लामा आज मन्सोङवासीलाई भेटघाट गर्न पहिलोपल्ट सरकारी सिन्कोना बगानको भवनमा आएका थिए। यस अवधी क्षेत्रका मानिसहरुको उत्साहजनक भिड रहेको थियो।
“छुट्टै राज्य सबैलाई चाहिन्छ। यहाँक़ा गोर्खा, भोटे, लाप्चे, बङगाली, मारवाडी, बिहारी मुसलमानलाई छुट्टै राज्य चाहिन्छ। गोर्खाहरुलाई राष्ट्रिय अस्तित्व र अस्मिताको निम्ति गोर्खाल्याण्ड चाहिन्छ। मारवाडीलाई फराकिलो व्यापार गर्नको निम्ति, आदिवासीलाई आफ्नो सांस्कृतिक जगेराको निम्ति छुट्टै राज्यको आवश्यकता छ। सोहीक्रममा यस क्षेत्रमा बसोबासो गर्ने सबैलाई बिभिन्न प्रकारले छुट्टै राज्य चाहिन्छ” डा लामाले छुट्टै राज्य किन अनि क कसको निम्ति आवश्यक छ भन्ने बिषयमा स्पष्ट पार्दै भने।
पहाडमा बसोवास गर्ने सबै गोर्खा हुन अनि सबैलाई गोर्खाल्याण्ड चाहिन्छ भन्ने तर्क सही होईन भन्दै छुट्टै राज्य सबैलाई चाहिए पनि आवश्यकताका कारणहरु भने बेग्ला बेग्लै रहेको तिनले सबैलाई स्पष्ट पारे।
“हामी पोजीटिभ राजनीति गरौँ अनि जिरो एनिमीको सिद्धान्त ग्रहण गरौँ” डा लामाले छुट्टै राज्य माग्नेहरु कहिल्यै एकार्कामा बिरोधीहरु होईनन अनि बिरोधी हो भन्ने भावना राख्नु नहुने तिनले आह्वान गरे।
“छुट्टै राज्य माग्नेहरु एकार्कामा दुश्मन सम्झेर लडे पहिलो स्तरमा नै हामी पछि पर्नेछौँ। यसर्थ छुट्टै राज्य माग्नेहरु शत्रु होईनन मित्र हुन भन्ने हाम्रो सोंच हुनपर्छ” तिनले अझ भने।
“ देश स्वाधिन भएको 67 वर्ष पछि मुख्यमन्त्री आएर बिकाश गर्छु भन्छन। यसको अर्थ 67 वर्ष सम्म यहाँक़ो बिकाश भएको थिएन भन्ने स्पष्ट हो।
बिकाश भनेको सडक, झोडा बनिनु मात्र होईन। बिकाश हाम्रो अधिकार हो। यो राष्ट्र अनि राज्यको बिकाश गर्ने दायित्व हो। बिकास सबैको हुनपर्छ। बितेको 30 बर्षमा सरकारले दार्जीलिङमा कति रोजगारको अवसर खोल्यो भन्ने खोज्नुहोस यहाँ रोजगारको अवसर सबै भत्काईदिएको छ” डा महेन्द्र पी लामाले सबैलाई सम्बोधन गर्दै भने।
तिनले आफुलाई जनप्रतिनिधि बनाउँन चाहेको अनि जनप्रतिनिधि भएर क्षेत्रका मानिसहरुका निम्ति धेरै कार्य गर्ने योजना तयार पारेको अझ बताए।
जनप्रतिनिधीले वास्तवमा धेरै कार्य गर्न सक्ने बताउँदै अहिलेसम्म संसदमा एकाध सान्सद बाहेक अन्यले सही कार्य नगरेको बताए। तिनले नेपाली भाषा मान्यताको पक्षमा आर बी राईले सही कार्य गरेको उदाहरण दिदै यस्ता सही कार्यहरु एकाध सांसदहरु बाहेक अन्यले आजसम्म नगरेको तिनले दाबी नै गरे।
तिनले गत 18 सितम्बर 2011 मा आएको बिनाशकारी भूईँचालो दार्जीलिङ अनि सिक्किम राज्यमा बराबर आएको अनि यसले दुवै क्षेत्रमा व्यापक क्षति पारे पनि सिक्किम राज्यमा देशका प्रधानमन्त्री आउँनु अनि एकहजार करोड दिनु तर यता त्यही देशका नागरिक दार्जीलिङवासीलाई भने राज्य सरकारले समेत कुनै खासै पर्वाह नगर्नु दुर्भाग्यजनक बताउँदै यसको निम्ति जनप्रतिनिधीको भूमिका मह्त्वपूर्ण हो भने।
उनी अनुसार संसद् मात्र यस्तो ठाउँ हो जहाँ वैदेशिक नीतिदेखि लिएर राष्ट्रिय योजना अनि आम नागरिकको भविष्य तय हुन्छ। यस्तो ठाउँमा अहिलेसम्म गोर्खाल्याण्ड्को आवाज सही ढङ्गमा उठाइएन अनि एउटै रेकर्डसमेत दर्ता छैन जब कि अलग राज्य गोर्खाल्याण्ड्का निम्ति सयौँ सहिद बने, धेरैको घर उजाडिए तर भिड मात्रै जुटाइयो।
भर्खरैको 42 दिने लामो बन्दको समयमा 125 जना सांसद् आफूहरूसित भएको दार्जिलिङका सांसद् जसवन्त सिंहले दुई मिनट पनि आफ्नो तर्क राख्न सकेनन् जब कि दार्जीलिङसित सरोकार राख्ने स्थानीय दक्ष सांसद् भइदिएको भए दुई घण्टा तर्क राख्न सकिनेथ्यो।
अलग राज्य भएको खण्डमा बितेको तीस वर्षमा बङ्गालले नदिएको रोजगारका अवसरहरू जम्मै उपलब्ध गराइएर् अस्सी हजारदेखि तेह्र लाख युवा युवतीहरुले शुरुकै दिनमा नोकरी पाउने डा. लामाले आँकडा पेस गरे। चिया लिलामी केन्द्रसमेत कोलकोताबाट पहाडमै सारिनुपर्ने भन्दै बङ्गलादेशसित मिलेर अर्कै बन्दरगाहसमेत चलाउनसक्ने उनले सुझाउ राखे।
नकारात्मक राजनीति गरे अझ तल झर्ने भन्दै ठुलो सोच राखेर सकारात्मक राजनीति गर्नुपर्ने उनले बताए। आफ्नो सम्बोधनको क्रममा तिनले तराई डुवर्समा अलग राज्यको मुद्दालाई सही ढङ्गमा नबुझाएको दाबी गर्दै तराई डुवर्सबिना अलग राज्यको औचित्य नरहेको बताए।
आगामी लोकसभा चुनाउको निम्ति दार्जीलिङ तराई-डुवर्स युनाइटेड डेभलोपमेन्ट फाउण्डेशनले चाड़ैनै औपचारिक रुपमा पहाड़का विभिन्न दलहरुलाई सहयोगको अपिल गर्ने बताउँदै तिनले आगामी 9 नोभेम्बरको दिन सुकनामा सम्पन्न हुने संस्थाको पहिलो जनसभामा सबैलाई उपस्थित भइदिने अनुरोध गरेका छन्।
डा. महेन्द्र लामा फ्यान्स् क्लब मन्सोङको आयोजनामा स्थानीय जालसा बङ्ग्लोमा आयोजित उक्त अन्तरक्रियात्मक कार्यक्रमलाई स्थानीय बी. आर. राईले अध्यक्षता गरेका थिए। कार्यक्रममा सेवास्टिन प्रधान, डा. लाछिरिङ भोटिया, भरतप्रकाश राई, प्रकाश बम्जन, सुरेन प्रधान, एस. टी. तामाङ, एन. बी. जिम्बा, एस. डी. ब्लोन आदि प्रमुख रूपले उपस्थित थिए।
भेग वाइबाद्वारा स्वागत भाषण राखिएको कार्यक्रममा पासाङ बल अनि सुरेन प्रधानले पनि सम्बोधन गरेका थिए।
0 Response to "छुट्टै राज्य माग्नेहरु एकार्कामा कहिल्यै दुशमन होईनन – डा महेन्द्र पी लामा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.