-->
 डेङ्गुको आतंक पहाड्मा

डेङ्गुको आतंक पहाड्मा

कालिमन्युज, कालेबुङ, 11 अक़्टोबर 2013: समय समयमा ठाउ ठाउमा फैलने महामारी जस्ता रोगहरुले आत्ंक मात्रै फैलाएको छैन तर धेरै जनाको ज्यान पनि लिएको छ जसबाट हाम्रो भेक् पनि अछुत रहेको छैन। मौसम मौसममा फैलने रोगहरुभन्दा कहिले काही लाग्ने र प्रथम चोटी फैलेको रोगले मानिसहरु बेसी सताइएका छन भने अज्ञानताको कारण यो रोगको शिकार मात्रै होइन मृत्युको मुखमा पनि पर्न परिरहेकोछ।
अहिले घरि अन्य राज्य र स्थानहरुमा आतंक फैलाइसकेको डेङ्गु ज्वरो रोगले सिलगडीमा मात्रै 10 जना भन्दा ज्यादाको मृत्यु भएको आधिकारीक समाचार प्राप्त भएकोछ भने अनाधिकारीक र गैर सरकारी निजी नर्सिङ होम तथा घरैमा यो रोगको कारण मर्नेहरुको संख्या 30 जति पुगेकोछ। दार्जीलिङ जिल्लामा यो रोगको रोगीहरुको संख्या 300 भन्दा ज्यादा छ।
प्राय ३ सय वर्ष अगाडिदेखि डेङ्गुले विश्वको उष्ण प्रदेशीय देशहरुमा ताण्ड्व मच्चाउदै आइहेको छ। सन् १६३५ मा फ्रेन्च वेस्ट इन्डिजमा यो पहिलोपटक महामारीको रुपमा देखिएको थियो। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार डेङ्गु संक्रमण संख्या र संक्रमित देशको संख्या प्रति वर्ष वृद्धि हुँदै गइरहेकोले भयावह स्थिति देखा परेकोछ। भनिन्छ प्रत्येक वर्ष ५ लाख मानिसहरु यो रोगका शिकार बनिरहेका छन जसको ७५ प्रतिशत डेङ्गु संक्रमण दक्षिण पूर्वी एसियामा मात्र हुने गर्दछ। 
विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांक अनुसार कालेबुङमा मात्रै  रोगीहरुको रक्त जाचमा यस रोगको विषाणु भाइरस रहेको प्रमाणित भएकोछ। आधिकारीक रुपमा 16 रोगीहरु रहेको र 1 जनाको मृत्यु भएको तथ्य मह्कुमा र अन्य सरकारी अस्पतालमा रक्त जाच गराएका रोगीहरुको आकडाबाट प्राप्त भएको महकुमा स्वास्थ्य अधिकारी डा ढाक्पा सोनामले बताएका छन। तर गैरसरकारी अस्पतालमा उपचार गर्ने हरुको संख्या 100 भन्दा बेसी रहेको बताइन्छ।
यो रोग उत्पन्न गर्ने लामखुट्टे एडिज (Aedes) हो। एडिज फिभर उत्पन्न गर्ने विभिन्न प्रकारका एडिज लामखुट्टे प्रजातिहरुमध्ये एडिज एलवोपिक्टस Aedes albopictus र एडिज इजिप्टी Aedes aegypti मुख्य प्रकारका लामखुट्टे हुन्। यसमा पाइने भाइरस चार प्रकारका छन ति हुन- DEN-1, DEN-2, DEN-3 अनि DEN-4
दिउसो टोक्ने यो लामखुट्टे सफा पानी जम्ने स्थानहरु जस्तै रित्तो बट्टा,ढ्वांग या ट्याङ्की, खाली बट्टा या वर्तन, गाडीका काम नलाग्ने टायर, गमला, कुलर आदिमा जमेको पानीमा बस्ने र बाच्ने गर्छ ।
डेङ्गु रोग यस लामखुट्टेको टोकाइबाट भाइरस मार्फत लाग्ने संक्रमण हो। यसको शरीर र खुट्टामा सेता र काला धर्साहरु भएको कारणले यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ तथा अन्य लामखुट्टे भन्दा यो बेग्लै प्रकृतिको हुन्छ। 
केवल दिउसो मात्र टोक्ने यो पोथी डेङुगु लामखुट्टेले सफा र स्थिर पानीमा अण्डा पार्ने गर्दछ। अण्डाको पोषणको निम्तिनै यसले प्राणीको रगत चुस्ने गर्दछ। एकपल्टमा प्राय ३ सयवटा अण्डा पार्ने क्षमता यसमा हुन्छ। यसको आयु 10 देखि 15 दिन मात्रै हुन्छ।
बिशेष गरेर बिहान र मौषम परिवर्तनको समय वर्षातको पूर्व र लगत्तै पछि यो लामखुट्टेको आक्रमण ज्यादा हुने गर्छ। 
डेङ्गुको भाइरसले संक्रमण गरेपछि रगतमा एन एस1 (NS1), आइजीजि (IgG) र आइजीएम (IgM) एण्टीबडी परिमाणमा वृद्धि हुन्छ जसलाई यिनीहरुको पोजिटिभ हुनु भनिंन्छ। प्रचुर मात्रामा यी दुई प्रकारका इम्युनोग्लोबिन आइजीजि र आइजीएम एण्टीबडी हुनु खतराजनक बताइन्छ। 

डेङ्गु संक्रमण 
डेङ्गु रोगको भाइरस बोकेको एडिज जातको लामखुट्टेले टोके या यो रोग लागेको बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा डेङ्गु सर्दछ। 

कारण
डेङ्गु फैलने मूल कारणहरु फोहोर शहर र पानि जम्मा हुने स्थानहरुको वृद्धि हुन। अव्यवस्थित शहरीकरण र अव्यवस्थित औद्योगिकीकरण डेङ्गु संक्रमण बढाउदै लैजाने अर्को कारण हो। 
लामखुट्टेको कारणभन्दा पनि मानिसहरुको तीव्र बसाइ सराइ र भ्रमणले यो सार्न सहयोग पुगिरहेको छ।
यो लामखुट्टे प्राय 100 देखि 400 मिटर भित्र मात्रै उड्छ तर ३ किमि क्षेत्रसम्म यसले पार गर्न सक्दछ। यो लामखुट्टेले टोकेर डेंङ्गुको भाइरस संक्रमण गरेपछि शरीरको रगतमा प्लेटलेट्सको संख्या अध्याधिक कम हुने विकार उत्पन हुन्छ। 

डेंङ्गुका प्रकार्
विश्व स्वास्थ्य संगठन अनुसार डेङ्गु संक्रमण विभिन्न प्रकारका हुन्छन। सामान्य क्लासिकल डेंङ्गु अनि खतराजनक प्रकारका डेंङ्गुहरु डेंङ्गु हिमरेजिक फिभर र तेस्रो डेंङ्गु शक शिंन्ड्रोम हुन ।

रोगका लक्षण
डेङ्गु भाइरस संक्रमण पश्चात् कति व्यक्तिहरुमा रोगको कुनै लक्षण पनि देखिदैन या कसैलाई साधारण ज्वरो मात्र आउने गर्दछ । कसै कसैमा भने रगत नजम्ने जटिलता देखा पर्ने गर्छ अनि कसैको मृत्यु समेत हुने गर्दछ।
साधारणत डेङ्गुमा 10310४ डिग्री सेन्टिग्रेडसम्म ज्वरो आउने, टाउको दुख्ने, आखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नीहरु संगै ढाड र शरीर दुख्ने, थकान महशुस हुने, उल्टी आउने,गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नीहरु संगै ढाड र शरीर दुख्ने, उल्टी आउने,गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नीहरु संगै ढाड र शरीर दुख्ने, खानामा अरुचि हुनु
हात खुट्टा र छातीको छालामा रगत जमेका राता चिलाउने खटिराहरु देखिने गर्दछन्। यो साधारण डेंङ्गु उति खतराजनक होइन जो समयमा जाती भइहाल्दछ।  कसैकसैमा थप जटिल लक्षणहरु पनि देखा पर्न सक्दछन् ।
रगतमा रहेका प्लेटलेट्सको संख्या घट्दै जानु यो रोगको एउटा मुख्य लक्षण हो। प्लेटलेट्स रगत जमाउने महत्वपूर्ण कार्य गर्ने तत्व हो। यसको कमी हुनु रगत जम्नमा वाधा पुग्नु हो। प्लेट्लेट्सको संख्या अत्याधिक घट्नाको कारण शरीरका विभिन्न नरम भाग जस्तै नाक, गिजा आदिबाट आँफै रगत बग्न थाल्दछ । पिसाबमा पनि रगत देखिनु, पिसाबको मात्रा कम हुनु, रगत वान्ता हुनु, कालो दिशा हुनु, श्वास फेर्न गाह्रो हुनु, रिंगाटा चलेर बेहोश हुनु अन्य जटिल लक्षण हुन। 
डेङ्गु संक्रमण भएको 3-14 दिन भित्र थाहा पाइन्छ। रोग लागेको पहिलो तीन दिन अत्याधिक ज्वरो आउने गर्छ। त्यसपछि चौथो र पाचौ दिनमा संक्रमण गम्भिर रुपमा भएको भए क्रमश: रक्तचाप घट्ने, शरीरमा रगतको कमी हुने लक्षण साथ शरीरका महत्वपूर्ण अंगले काम गर्न छोडेर मानिसको मृत्यु हुन पनि सक्छ। अन्यमा भने छैटौदेखि दशौं दिन भित्रमा रोगको लक्षण रहिरहने अनि पुन: सामान्य हुने गर्छ।
यो भाइरसको जीवनचक्र १४ देखि २१ दिनको हुन्छ। यो रोग विशेष गरेर एक वर्षभन्दा मुनिका शिशुहरु अनि ६० वर्ष भन्दा उभोका वृद्धहरु, मोटा व्यक्तिहरु, गर्भवती महिला, रगत नजम्ने रोग भएका (थ्यालेसेमियाले आक्रान्त), जन्मजात मुटुका रोगीहरु, मधुमेह, उच्च रक्तचाप, कलेजोको सिरोसिस, मृगौलाले काम गर्न नसकेका दीर्घ रोगीहरु, स्टेरोइड, पेनकिलर आदि प्रयोग गरिरहेकाहरुपेप्टिक अल्सर भएकाहरुका निम्ति खतराजनक हो। नानीहरुको निम्ति पनि यो रोग खतराजनक हो किनभने नानीहरुको इम्युन सिस्ट्म कमजोर हुन्छ।

उपचार पद्धति 
डेङ्गु भाइरल संक्रमण रोग हो जसको औषधि भने छैन। यसैले लाक्षणिक तथा सहयोगी उपचार प्रक्रिया मात्रै अपनाउने गरिन्छ। चाँडोभन्दा चाँडो यो रोग खुट्ट्याउनु अत्यन्त आवश्यक छ। समयमै रोग पत्तो लगाएर उपचार पनि शुरु गरेर् चाडै रोगमुक्त हुन र मृत्युबाट बाच्न सकिन्छ। यसैले बताइएका लक्षण देखा परे रगत परीक्षण गर्दै चिकीत्सककहा गएर देखाउन जानुपर्छ। नानीहरुको निम्ति पेडिट्रेसियनकहा देखाउन उचित ठहर्छ।
बिरामीले प्रशस्त पानी तथा झोल पदार्थहरु सेवन गर्नुपर्दछ। स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्दछ। रोग लागेर प्लेटलेट्सको संख्या अत्याधिक घटेमा गरिने घरेलु उपचारहरुमा मेवाको पातका ससाना डाठ्हरु (शिराहरु) केलाइ फ्याकेर् केवल पातलाई मात्रै गरम पानिमा उमालेर किटाणुमुक्त बनाउनु पर्छ। सिलौटो, औषधी पिस्ने ओखली या मिक्सीमा पातलाई पिसेर त्यसको झोल दिनमा 100-150 मि ली लगातार खाए प्लेटलेट्सको संख्या बड्ने गर्छ। यसबाहेक बाख्राको दुध, मेवा, भिटामीन सी इ ए या यी भएका खाध्य पनि एंटीभाइरल खाध्य हुन जसले इम्युनिटी (रोग प्रतिरोध क्षमता) बडाउछ।

निषेध
यो रोगको औषधी नभएकोले ज्वरो कम गर्ने प्यारासिटोमल औषधी बाहेक अरु जस्तै एस्प्रिन, ब्रुफेन, आइबुप्रोफिन समुहका औषधि र कम्बिफ्लेमको प्रयोग गर्नु हुँदैन कारण यी औषधिहरुले प्लेटलेट्सको संख्या घटाउदछ। 
यो रोग लाग्दा चिसो पानी पिउनु, मैदाले बनेका अनि बासी खाध्य बस्तुहरु खानु हुन्न। रोग लागेको समय पात भएको सब्जी, फुलकोबी, पिडालु पनि खानु हुन्न।

डेङ्गुबाट बाच्ने उपायहरु 
डेङ्गु रोकथामको निम्ति डेङ्गुको लामखुट्टे बस्न सक्ने सम्भावना भएका अघि बताइएका स्थान र बस्तुहरुलाई नष्ट गर्नु, कुलर र वर्तनहरुमा जमेका पानीलाई ह्प्तैपछि सफा गर्नु मुख्य हुन।
पानि जम्मा गरेर राखिने ट्याङ्कीलाई लामखुट्टे छिर्न नसक्ने गरी ढाकेर राख्नु, पानी जम्ने खाल्टाखुल्टी पुर्नु, घरवरिपरि सफा राख्नु, बन्द भएका नालिहरु खोल्नु, दिउँसो पनि पूरा बाहुला भएका र शरीर पूरै ढाक्ने कपडाहरु प्रयोग गर्नु, लामखुट्टे भगाउने मलम दल्नु, मच्छ्ड्दानीको प्रयोग सब समय गर्नु, घरका झ्यालढोकामा जाली लगाउनु, ह्प्तामा एक चोटी लामखुट्टे नाशक औषधि प्रयोग गर्नु रोगबाट बाच्ने उपायहरु हुन। डेङ्गु लागेको शंका भए आवश्यक रगत परीक्षण र उपचार गर्न चिकीत्सालयमा जानु जरुरी ठहर्छ।
रोगीले खानामा हर्दी, अदुवा, जुवानो, हिंग अधिक मात्रामा खानु लाभदायक हुन्छ। सधै हल्का सजिलै संग पच्ने खाना, धेरै मात्रामा उमालेको पानी खानुपर्छ । राम्रोसंगले ननिदाउनु, मैला कुचेला जथाभावी फ्याक्नु स्वास्थ्यको निम्ति हानीकारक र रोग निम्त्याउनु हो।
डेंङ्गु भयावह रोग भएता पनि आवश्यक सतर्कता लिए अनि उपचार गरे यसबाट आत्ंकित हुन पर्दैन।
कालेबुङ्को तापमान डेङ्गुको लामखुट्टे बाच्न नसक्ने भएता पनि वर्तमानमा यहा यो लामखुट्टे बाच्न सक्ने वातावरण तैयार भएको र कतिपय स्थानहरुमा यो पाइएको एकाध रिपोर्ट आएको स्वास्थ्य अधिकारीहरुले खुलासा गरेका छन। अत्याधिक वाहनहरुको संख्यामा वृद्धि र जताभावी फोहोर फ्याकेकोले पर्यावरण प्रदुषणको कारण यहाको तापमान क्रमश् बडेकोले यो लामखुट्टे यहा बाच्न सकेको बताइन्छ। वाहनहरुको माध्यमद्वारा मधेसबाट पहाडमा यो एडिस लामखुट्टे भित्रीएको र मानिसहरुलाई डेङ्गुको शिकार बनाएको र पर्यावरण दुषण यस्तै रहे या झन बडे यो महामारी अझ फैलिने आशंका गरिएको छ जसको मुल्य सबैले चुकाउन परेकोछ।

0 Response to " डेङ्गुको आतंक पहाड्मा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.