
‘घरभित्र जनता’ कार्यक्रममा वाहनहरुको लामेताँत लगाएर ममता ब्यानर्जी कालेबुङ आईपुगिन
डी के वाइबा, कालिमन्युज, कालेबुङ 2 सितम्बर 2013। गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिले घोषणा गरेको ‘घरभित्र जनता’ कार्यक्रमलाई साथ दिदै कालेबुङका जनता घरभित्र बसिरहेको समयमा बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङ आईपुगिन। सुनसान सडक, वाहनहरुको आवगम ठप्प अनि सम्पूर्ण दोकान पाट बन्द रहेको समयमा मुख्य मन्त्री वाहनहरुको लामेताँत लगाएर लगभग पाँच बजेतिर कालेबुङ आईपुगिन। तिनीसंगै तृणमूल कङ्ग्रेसका महासिचव मुकूल रोय, मन्त्री गौतम देव लगायत अन्य नेताहरु पनि कालेबुङ आईपुगेका छन।
छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई अघि बडाउँदै गोर्खाल्याण्डॅ जोईन्ट् एक्सन कमिटिले घरभित्र जनता कार्यक्रमको घोषणा गरेपछि आज बिहानैदेखि शहरमा मानिसहरु निस्केका थिएन। केवल आवश्यक काम भएका एकाध मानिसहरु मात्र सडकमा देख्न पाईएको थियो। यस अवधी जनताहरु घरभित्र बसेका थिए भने मुख्यमन्त्रीको आगमनलाई केन्द्र गरेर शहरको बिभिन्न स्थानहरुमा सीआरपी, पुलीस, र्यापिड एक्सन फोर्स, कमाण्डो आदिहरु तैनाथ रहेका थिए।
कालेबुङे जनताहरु ममता ब्यानर्जीको आगमनलाई पत्तै नदिई घरभित्र बसेका कारणले शहर सुनसान थियो भने लेप्चा समुदायका मानिसहरु भने ममता ब्यानर्जीलाई सम्मान गर्ने कार्यक्रम सफल पार्न मेला ग्राउण्डमा दिनभरी नै व्यस्त देखिए।
यस अवसरमा दार्जीलिङ पहाडमा शान्ति बहालीको माग गर्दै धर्नामा बसेका लेप्चा समुदायका मानिसहरु आफ्नो धर्ना समाप्त गरेर मुख्यमन्त्रीको कार्यक्रममा सहभागी बन्न टाउनहलमा डेरा जमाएर बसेका छन। उनिहरु घरभित्र जनता कार्यक्रमलाई पत्तै नदिई मेला ग्राउण्ड अनि टाउन हल घरी घरी ओहोर दोहोर गरिरहेका देखिए।
ईण्डिजेनस लेप्चा ट्राईबल एसोसिएसन(ईल्टा)को पक्षबाट‘भाग्य बिधाता’को उपनाम थाप्न कालेबुङ आईपुगेकी मुख्यमन्त्रीलाई स्वागत गर्न लगभग एकहजार लेप्चा समुदायका मानिसहरु यहाँको थाना डाँडादेखि नगरपालिका कार्यालय अघिसम्म लामबद्ध बसेका थिए।
लेप्चाहरुको स्वागत अभिवादनलाई मुख्य मन्त्री ममता ब्यानर्जीले पनि हृदय खोलेर नै स्वीकार गरिन। वाहनहरुको लामेताँत लगाएर कालेबुङ भित्रिएकी मुख्यमन्त्रीलाई स्वागत गर्न लामबद्ध बसेका लेप्चा समुदायका मानिसहरुले यस अवसरमा‘आच्चुले’को नारा लगाउँदै खदा माला लगाएर स्वागत गरेको थियो। लेप्चाहरुको उक्त स्वागतलाई स्वीकार्न ममता ब्यानर्जी पनि वाहनबाट केहीबेरको निम्ति पैदल नै हिडिन। तिनले हात हल्लाएर लेप्चाहरुको अभिवादनलाई स्वीकार्दा लेप्चाहरु अझ प्रफुल्लित बन्दै “ममता ब्यानर्जी आच्चुले” भन्दै नारा लगाए।
यसरी कालेबुङ भित्रिने बित्तिकै जोडदार स्वागत पाए पछि तिनी सोझै यहाँको सर्किट हाउस पुगिन। यस अवधी तिनको सुरक्षा व्यवस्था अत्यन्तै कठोर बनाईएको थियो।
यता मुख्य मन्त्री ममता ब्यानर्जीको कालेबुङ आगमनलाई लिएर आज कालेबुङ शहर तृणमूल कङ्ग्रेसको झण्डाले सजिएको थियो। दार्जीलिङ जिल्ला हिल तृणमूलले तिनलाई स्वागत गर्न यहाँको मेन रोड अनि थाना डाँडा अनि डम्बर चौकमा तृणमूल कङ्ग्रेसको झण्डा लगाएको छ। सधै गोजमुमो पार्टीको झण्डाले सजिने कालेबुङको मेन रोडमा आज तृणमूल कङ्ग्रेसको झण्डा मात्र फरफराईरहेको छ भने डम्बर चौकमा पनि तृणमूल कङ्ग्रेसकै झण्डा समर्थकहरुले लगाएका छन। ममता ब्यानर्जीको कालेबुङ आगमनमा यसभन्दा अघि तृणमूल कङ्ग्रेसको झण्डा कहिल्यै लगाईको थिएन।
यता मेला ग्राउण्डमा सम्पन्न हुने कार्यक्रम करीब दुइघण्टाको हुनेछ जसमा ११.३० बजी मुख्यमन्त्रीले कार्यक्रमस्थलमा प्रवेश गर्नेछन। तिनले मेला ग्राउण्डमा प्रवेश गरेपछि ११.४० बजी मुख्यमन्त्री लगायत आमन्त्रित अतिथिहरूलाई खदा अर्पणको कार्यक्रम हुनेछ| त्यसपछि स्वागत प्रार्थना कार्यक्रम हुँदै १२ बजी आयोजक पक्षबाट स्वागत सम्भाषण एवं स्वागत नृत्यको आयोजना गरिनेछ| यसपछि इल्टाका अध्यक्ष ल्याङ्सोङ ताम्साङले कार्यक्रमलाई सम्बोधन गरेपछि १२.२० बजी मुख्यमन्त्रीलाई “भाग्य बिधाता”को उपनामले सम्मान जनाइनेछ| सम्मान कार्यक्रमपछि मुख्यमन्त्रीको वक्तव्यको निम्ति आधा घण्टा समय छुट्टयाइएको छ| यसबाहेक लेप्चा जातिको सांस्कृतिक नृत्य आदि कार्यक्रममा समावेश छ|
0 Response to "‘घरभित्र जनता’ कार्यक्रममा वाहनहरुको लामेताँत लगाएर ममता ब्यानर्जी कालेबुङ आईपुगिन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.