-->
पार्टीको नाउँ गरेर पत्रकारलाई गुण्डाहरुले मागे पाँच लाख

पार्टीको नाउँ गरेर पत्रकारलाई गुण्डाहरुले मागे पाँच लाख

डी के वाइबा,  क़ालिमन्युज,  कालेबुङ 28 अगष्ट। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा हजारौ जनता दैनिक सडकमा ओर्लिरहेको समयमा गोजमुमो पार्टीको नाउँमा पैसा वसुली गर्न खोजेको घटना प्रकाशमा आएको छ। उक्त घटना त्यतिबेला प्रकाशमा आयो जतिबेला पिडीत पक्षले कालेबुङ थाना प्राथमिकि दर्ता गरे। 
हिमालय दर्पण दैनिक समाचार पत्रिकाका कालेबुङ ब्युरो चिफ अजय अग्रवालले आफ्नो घरमा गोजमुमो पार्टीको नाउँ गरेर केही युवाहरुले पाँच लाख रुपीया पैसा मागेर धम्काउँदै आएको जानकारी गराएर आज कालेबुङ थानामा प्राथमिकि दर्ता गरेका छन। 
तिनले 26 अगष्टको दिनदेखि आफ्नो मोबाईल फोनमा एउटा नम्बरबाट आफुलाई दैनिक धम्कि दिदै पाँच लाख रुपीया मागेको अनि आज उक्त युवाहरु बिहान घरमा नै आएर धम्काएको तिनले आरोप लगाए। धम्काउनेहरुमा ज्ञाने सुब्बा अनि राजिव गजमेर लगायत अन्य चारजना युवाहरु रहेको प्राथमिकीमा उल्लेख गरिएको छ। उक्त युवाहरुले आफुलाई पाँच लाख रुपिया दिने माग गर्दै धम्काएको अनि मानसिक प्रताडना दिएको आरोप लगाउदै प्राथमिकी दर्ता गरेपछि पुलिसले यस बिषयमा जाँच शुरु गरेको छ। 
यता थाना सुत्रले उक्त घटना सम्बन्धि प्राथमिकी दर्ता भएको बताउँदै यस बिषयमा पुलिसले आरोपीहरुको खोजि अभियान शुरु गरेको थाह लागेको छ। 
यता उक्त बिषयमा पिडीत अजय अग्रवालसंग जानकारी लिन चाहँदा तिनले भने – “केहि दिन अघि देखिनै मेरो फोनमा एकजनाले धम्काउने फोन गर्दै थियो। यसभन्दा अघि नै उक्त युवाहरुले केही दिन अघि गोजमुमो नेता बिनय तामाङलाई पक्राउ गरेको घटना बिषयमा प्रकाशित समाचार बारे गुनासो पनि गरेका थिए। तर यसबारे पार्टीसंग कुराकानी भने भईसकेको थियो। तर केहि दिनदेखि फोनमा नै पैसा माग्न थाले पछि आज बिहान अचानक मेरो घरैमा आएर उनिहरुले पाँच लाख मागे। यदि पैसा नदिए ज्यान मालको नोक्सानी गर्ने धम्कि समेत दिएर गए” अजय अग्रवालले स्पष्ट भने। 
तिनीहरुले पार्टीलाई फण्ड आवश्यक रहेको बहानामा पाँच लाख रुपियाँको माग गरेको बताए। उक्त युवाहरुले आफुलाई धम्काएर पैसा मागे पछि आफुले यस बिषयमा पार्टीका केन्द्रिय नेताहरुसंग कुराकानी गर्दा पार्टीले यस्तो निर्देश कसैले कसैलाई नदिएको स्पष्टिकरण दिए पछि आफुले प्राथमिकी दर्ता गरेको अझ जानकारी गराए। 
अग्रवाल कालेबुङका पुराना पत्रकार हुन्। हिमालय दर्पणका चिफ व्युरोकोरुपमा कार्य गर्दै आइरहेका तिनलाई यस्तो धम्की आएपछि कुरा बुझ्न कालेबुङका पत्रकारहरू पनि तिनका घर पुगेका थिए। पत्रकारहरूले यसप्रकारको घटनालाई सम्वेदनशीलरुपमा लिएका छन्।
स्मरण रहोस यस भन्दा अघि पनि आन्दोलनकालमा पार्टीको नाउँ गरेर पैसा उठाएको घटना प्रकाशमा आएको थियो। कालेबुङको बिभिन्न क्षेत्र लगायत सिक्किममा समेत पैसा उठाएको घटना प्रकाशमा आएको थियो। यस सम्बन्धमा पुलिसले आरोपी समेत पक्राऊ गरेको थियो। 
उक्त घटना पछि राजनैतिक पार्टीको नाउँमा यसरी पैसा उठाएको घटना फेरि प्रकाशमा आएको थिएन भने छुट्टै राज्यको तेस्रो चरणको आन्दोलन चलेपछि यो नै पहिलो पैसा वसुली गर्न खोजेको घटना हो। 
उक्त बिषयमा पुलिसले कडा नजर राखेको छ भने आरोपीहरु समाचार लेखुञ्जेलसम्म पुलिसको हातमा परेका छैनन।

0 Response to "पार्टीको नाउँ गरेर पत्रकारलाई गुण्डाहरुले मागे पाँच लाख"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.