-->
प्रो महेन्द्र पी लामाको निर्णय प्रति बिभिन्न दलहरुको मिश्रित प्रतिक्रिया

प्रो महेन्द्र पी लामाको निर्णय प्रति बिभिन्न दलहरुको मिश्रित प्रतिक्रिया

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 7 जुलाई 2013। सक्रिय राजनीति र राजनैतिक पार्टीहरुदेखि टाडा रहेर छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति आगामी लोकसभा चुनावमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव लड्ने प्रो महेन्द्र पी लामाले सञ्चार माध्यमबाट घोषणा गरेपछि दार्जीलिङको राजनीतिमा खलबली मच्चिएको छ। 
देशको निम्ति धेरै कार्य गरे पनि आफ्नो जाति, क्षेत्र अनि आफै जन्मेको समाजको निम्ति केही नगरेको आफैलाई खट्केको अनुभव गरेर तिनले गोर्खाल्याण्ड्को मुद्दा पार लगाउँने निर्णय गरेका छन। छुट्टै राज्य गोर्खाल्याण्डको चाहले आफूलाई सानो उमेरदेखि नै खिचेको बताउँदै अब यस मुद्दालाई पार लगाउँन मैदानमा उत्रिन आवश्यक रहेको तिनले महशुस गरेका छन। 
आफ्नो अनि आफु जन्मेर हुर्केको ठाउँका सम्पूर्ण मानिसहरुको चाहना गोर्खाल्याण्ड भए पनि आज सम्म उक्त मुद्दाले पार नपाए पछि सम्पूर्ण जनता, राजनैतिक पार्टी, संघ संस्था, धार्मिक तथा सम्पूर्ण जात गोष्ठिलाई रुझाएर एउटै लक्ष्यको निम्ति एकबद्ध भएर लडाई लड्न आवश्यक रहेको तिनले महशुस गर्दै लोकसभा चुनावलाई हतियारको रुपमा लिएका छन। 
तिनले मिडीया मार्फत छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई पार लगाउँन आखिरमा मैदानमा उत्रिने घोषणा गरेपछि आज दिनभरी नै शहरमा प्रो लामाकै बिषयमा चर्चा चलिरेहेको थियो। राजनैतिक पार्टी, गैर राजनैतिक संगठन, बिद्यार्थीवर्ग, शिक्षकवर्ग सबैले आज समाचार पत्रहरुमा प्रो लामाले छुट्टै राज्यको निम्ति लोकसभा चुनावमा निर्दलीय प्रार्थीका रुपमा खडा हुने घोषणा गरेको समाचार पडेर चर्चा परिचर्चा गरिरहेको सुनियो। पडेका अनि प्रो लामालाई चिनेका अधिकांश मानिसहरुले तिनको घोषणालाई स्वागत गरिरहेका थिए भने तिनलाई सहयोग गर्न मैदानमा उत्रिन समेत तयार रहेको मानिसहरुले ईच्छा जाहेर गरिरहेका थिए। 
प्रो लामाको चुनाव लड्ने घोषणा आज छापामा अए पछि बिभिन्न राजनैतिक पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन। प्रो लामाको निर्णयलाई दार्जीलिङ पहाडका क्षेत्रिय राजनैतिक पार्टीका नेतहरुले स्वागत जनाएका छन। 
प्रो लामाको निर्णय प्रति आज भागोप, क्रामाकपा अनि गोर्खालीगसँग साझा उम्मेद्वारको अवधारणाबारे प्रश्न गर्दा यस आशयका प्रतिक्रिया दिएका छन। प्रो लामाको निर्णय बारे भागोपका राष्ट्रीय अध्यक्ष डा एनोशदास प्रधानले आफूसँग डा महेन्द्र पी लामाले यसबारे अनौपचारिक रुपमा कुराकानी साझा गरेको बताएका छन। आफूसंग लामाले अनुपचारिक बातचितको क्रममा आफ्नो निर्णयबारे बताए पनि उक्त निर्णयबारे संगठनको अडान भने बैठकमा छलफल गरेर मात्र तय गरिन सकिने बताएका छन। 
“प्रो लामाको लोकसभा चुनावमा साझा उम्मेद्वारको रुपमा निर्दलीय प्रार्थी भएर चुनाव लड्ने निर्णय बिषयमा भागोपले गम्भिरतापूर्वक लिएको छ। यस बिषयमा आगामी 24 अगस्तमा देहरादूनमा हुने बैठकमा हामी चुडान्त निर्णय लिनेछौं” रेभरेण्ड् डा एनोशदास प्रधानले भने। भागोप राष्ट्रिय अध्यक्ष प्रधानले लामालाई सामुहिक नेतृत्वको आधारमा सहयोग र समर्थन दिन सकिने विचार व्यक्त गरेका छन। 
“एकल नेतृत्वको जमाना गयो। तिनी सांसद नै भए पनि एक्लै गोर्खाल्याण्ड् ल्याउन सक्दैनन। सामुहिक नेतृत्वको अवधारणामा काम गर्न हामी सदैव आग्रही छौं। तर यस दिशामा तिनलाई कि-फ्याक्टर भने अवश्यै मान्न सकिन्छ” एनोसदास प्रधानले भने। 
तिनले डा लामाको उम्मेद्वारिताबारे अझ विस्तृत रुपले परिचर्चा गर्न आगामी 13 जुलाईका दिन कालेबुङमा एउटा बैठकको आयोजना समेत गरिएको जानकारी पनि दिएका छन। 
अर्कोतिर क्रामाकपा उपाध्यक्ष जेबी राईले प्रो लामाको निर्णय महत्वपूर्ण रहेको बताएका छन। तिनको निर्णयबारे क्रामाकपा पार्टीले आफ्नो दलको बैठकमा गहन बिमर्श गरेर मात्र पार्टीको लाइन तय गरिने बताएका छन। “प्रो लामा योग्य र गुणी मान्छे हुन्। तर अलग राज्यको मुद्दा एउटा राजनैतिक लडाँई हो। यसमा जोड-घटाउको कुरा पनि आउँछ। यसबारे पार्टीभित्र छलफल गरेर मात्र ठोस प्रतिक्रिया दिन मिल्छ” जेबी राईले भने। 
सोहिक्रममा गोर्खालीग नेता प्रताप खातीले यसबारे दलको बैठक भएपछि मात्र स्पष्ट अडान खुलाउन मिल्ने बताएका छन। यद्यपी तिनले यस बिषयमा निकै उत्साह देखाएका छन। प्रो लामाजस्ता इमान्दार, शिक्षित र चिन्हारी भएका मानिसलाई उम्मेद्वारका रुपमा स्वीकार नगर्ने व्यक्ति र दल त गोर्खाल्याण्ड विरोधीकै रुपमा चिनिनेछन भन्ने प्रतिक्रियाले पनि खातीको उत्साह अनुमान गर्न सकिन्छ। यसबारे पार्टीबाट फलदायक परिणाम निस्कने विश्वास व्यक्त गर्दै खातीले भने, “स्वतञ्त्र अनि साझा उम्मेद्वारका रुपमा चुनाउ लड्ने तिनको विचारलाई हामी स्वागत गर्छौं। जातिहितको निम्ति इमान्दार र विद्वान व्यक्ति अघि आउनु पर्छ भन्ने गोर्खालीगले सधैँ भन्दै आएको छ। गोर्खाल्याण्ड चाहने सबैले तिनको उम्मेद्वारितालाई स्वीकार गर्नुपर्छ भन्ने मेरो विचार छ” तिनले भने। छुट्टै राज्य प्राप्तिको निम्ति एकार्काको सबै मत मतान्तरलाई भुलेर अघि आउनुपर्ने पनि खातीले अह्वान गरेका छन। 
अर्कोतिर, पिपल्स् फोरमले भने अन्य राजनैतिक पार्टीहरुको भन्दा ठीक विपरित विचार व्यक्त गरेको छ। फोरमका सचिव प्रविण गुरूङले सक्रिय राजनीतिमा पदार्पन नगरी जातीय हितका मुद्दाहरूको उठान गर्ने प्रो लामाको वक्तव्यले आफूलाई निराश पारेको प्रतिक्रिया जाहेर गरेका छन। तिनले सक्रिय राजनीतिमा नआउने तर चुनाउ लड्ने डा लामाको निर्णयले जनतालाई भ्रममा पारेको टिप्पणी समेत गरेका छन। 
“राजनैतिक धरातलबाट तिनले जातीय मुक्तिको आन्दोलनलाई नेतृत्व दिनेछन भन्ने हाम्रो ठूलो आस्था थियो। तर सक्रिय राजनीति नगर्ने तिनको निर्णयले ठूलो तप्कालाई निराश पारेको छ। अलग राज्यको माग आफैमा एउटा राजनैतिक मुद्दा हो। यसलाई राजनैतिक संगठन र कार्यक्रम मार्फत नै सम्बोधन गर्न सकिन्छ” प्रविण गुरुर्ङले भने। तिनले बिगतमा गैरराजनैतिक तरिकाले त भागोपले कोसिस गरेको बताउँदै सक्रिय राजनीतिमा आएर यस मुद्दालाई अघि बडाउँनु उचित हुने तिनले बताएका छन।

Related Posts

0 Response to "प्रो महेन्द्र पी लामाको निर्णय प्रति बिभिन्न दलहरुको मिश्रित प्रतिक्रिया"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.