-->
गोर्खाल्याण्डको माग गर्दै युवा मोर्चा कार्यकर्ताले आत्मदाहको प्रयास गरे

गोर्खाल्याण्डको माग गर्दै युवा मोर्चा कार्यकर्ताले आत्मदाहको प्रयास गरे

डी के वाइबा, कालिमन्युज, कालेबुङ 30 जुलाई 2013।  छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको माग गर्दै गोजमुमो पार्टीले डाकेको 72 घण्टाव्यापी पहाड बन्दको दोस्रो दिन कालेबुङमा युवा मोर्चा कार्यकर्ता मङगलसिंग राजपुतले (44) आत्मदाह गर्ने प्रयास गरे। 
तिनले आज दिउँसो साँढे एक बजे यहाँको डम्बर चौकमा आफ्नै शरिरमा आगो लगाएर छुट्टै राज्य गोर्खाल्याण्डको मागमा आत्मादह गर्ने प्रयास गरे। 
गोर्खाल्याण्ड राज्य गठनको माग गर्दै बन्दलाई सफल पार्न डम्बर चौकमा मोर्चा कार्यकर्ताहरु बसिरहेको समयमा युवा मोर्चा कार्यकर्ता मङगलसिंग राजपुतले अचानक आफ्नै शरिरमा आगो लगाएर दौडिएको प्रत्यक्षदर्शीहरुले बताएका छन। 
गोर्खाल्याण्डको माग गर्दै आफ्नै शरिरमा आगो लगाएर आत्मादह गर्ने प्रयास गरेपछि सबैले प्रयास गरेर आगो निभाए। यस अवधी बन्दलाई सफल पार्न सडकमा निस्केका भीडले छुट्टै राज्य गोर्खाल्याण्डको जोडदार नाराबाजी लगायो। उक्त घटना पछि एकाएक कालेबुङ शहरमा तनाव सृजना भएको थियो भने मोर्चा समर्थकहरुले यस अवधी जोडदार नाराबाजी गर्दै पिडीत राजपुतलाई अस्पताल पुर्‍याउँने कार्य गरे। 
एकाएक उग्र बनेको भीडले गोर्खाल्याण्ड जिन्दावादको नारा लगाउँदै तिनलाई अस्पतालमा पुर्‍याएपछि चिकित्सकहरुले तिनलाई सिलगडी रेफर गरिदिएको छ। यस सम्बन्धमा कालेबुङ महकुमा अस्पतालका अधिक्षक डा सोनाम भोटियाले राजपुतको अवस्था चिन्ताजनक रहेको बताएका छन।
“पिडीत राजपुतको शरिर 65 प्रतिशत भन्दा धेर जलेको कारण तिनको प्राथमिक उपचार पछि सिलगडी रेफर गरिएको छ” – डा सोनामले भने। पिडीत मङगलसिंगको शरिरको तल्लो भाग, हात, अनि ढाँडमा जलेको डा भोटियाले अझ जानकारी दिएका छन। 
अर्कोतिर उक्त आत्मदाहको प्रयास पछि जीटीए डिपुटी चिफ कर्णल रमेश आलेले पत्रकारहरुलाई सम्बोधन गर्दै पहाडमा छुट्टै राज्य गोर्खाल्याण्डको आगो सल्किसकेको अनि सरकारले गोर्खाहरुलाई गोर्खाल्याण्ड दिनै पर्ने माग गरे। “युवाहरुले आत्मादाहको प्रयास गरेर गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनलाई शसक्त बनाएको छ। पहाडमा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको ईतिहासमा यो पहिलो घटना हो। युवाहरुले यस प्रकारको पाईला चालेर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई उर्जा प्रदान गरेको छ। हामी अब पछि फर्केर हेर्दैनौ। जीटीए छोडेर हामी गोर्खाल्याण्डको निम्ति मर्न पनि तयार छौ” कर्णल रमेश आलेले भने। 
यसैक्रममा एक पत्रकार सम्मेलन डाकेर युवा सभासद निमा तामाङले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आत्मदाहको प्रयास गर्ने मङगल सिंग राजपुत यहाँको डा ग्राह्मस होम्स सी ब्लक् निवासी रहेको जानकारी दिएका छन। तिनी होम्स शाखाका युवा मोर्चा अध्यक्ष रहेको जानकारी दिदै छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आत्मदाह गर्ने तिनको प्रयास गोर्खाल्याण्ड आन्दोलनको ऐतिहासिक घटना रहेको बताए। 
“आत्मदाहको घटनाले युवाहरु छुट्टै राज्यको निम्ति लडन तयार छन भन्ने सन्देश दिएको छ। सरकारले यसलाई गम्भिरतापूर्वक लिएर गोर्खाल्याण्ड गठन गर्नुपर्छ” निमा तामाङले भने। 
राजपुतको शरिर 75 प्रतिशत भन्दा धेर जलेको बताउँदै तिनको स्वास्थ्यलाभको कामना पनि गरे। तिनले अब रमिता हेर्ने समय नरहेको बताउँदै सम्पूर्ण जनता सडकमा ओर्लिएर गोर्खाल्याण्डको निम्ति अघि बडनुपर्ने आह्वान पनि गरेका छन। 
यसैक्रममा बिद्यार्थी मोर्चा उपाध्यक्ष दिप थापाले पनि आन्दोलनको निम्ति सम्पूर्ण राजनैतिक दलहरु एक हुनपर्ने आह्वान गरेका छन।

0 Response to "गोर्खाल्याण्डको माग गर्दै युवा मोर्चा कार्यकर्ताले आत्मदाहको प्रयास गरे"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.