मार्क्सवादीहरु थेसिस, एन्टिथेसिस र सिन्थेसिस भने झैँ डा लामाको समर्थ र बिरोधमा बहस हुन आवश्यक छ – डा हर्कबहादुर छेत्री
डी के वाइबा, कालिमन्युज, कालेबुङ 16 जुलाई। “डा महेन्द्र पी लामा हाम्रो बिषयबस्तु होईन। तिनले विवादरहित राम्रा रामा काम गरेर जनताको मन जिते हाम्रो भन्नु केहि छैन। तर अहिलेको अवस्थामा तिनको जुन भनाई छ त्यसमा एक प्रतिशत पनि सत्यता छैन। मोर्चाले ठिक ठाउँमा गोर्खाल्याण्डको मुद्दा उठाएन भन्नु केवल बगमफुसे कुरा मात्र हो” – उक्त कुरा डा हर्कबहादुर छेत्रीले आज पत्रकारहरुसंग भएको भेटघाटमा कुराकानी गर्दै भनेका हुन।
यद्यपी तिनले उक्त बयान पार्टीको नभएर आफ्नो व्यक्तिगत रहेको पनि स्पष्ट पारेका छन। डा लामाले जनताले चाहे चुनाव लडने भनि घोषणा गरेपछि अहिले बिस्तारै तिनको समर्थन र बिरोधमा स्वरहरु उठन थालेको छ। कतै तिनको समर्थन हुन थालेको छ कतै बिरोध पनि चर्किने सम्भावना बडेको छ। तर समर्थन र बिरोधको यस खेलमा एउटा स्वच्छ बहस भने हुने देखिएको छैन। यस बिषयमा डा हर्कबहादुर छेत्रीले कुनै पनि राम्रो कुराको निम्ति बहस हुन आवश्यक रहेको मन्तव्य प्रकट गरेका छन।
डा महेन्द्र पी लामाले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सम्पूर्ण जनताले चाहे आगमी लोकसभा चुनाव लडछु भनि घोषणा गरेपछि अहिले दार्जीलिङ पहाडमा चुनावी हावा समय अघिनै तातिएको छ। चुनाव लडने डा लामाको घोषण पछि अहिले दार्जीलिङ पहाडमा राजनैतिक पार्टीदेखि लिएर साधारण जनता समेतले तिनको बिषयमा चर्चा गरिरहेका छन। यस्तो अवस्थामा आज डा हर्कबहादुर छेत्रीसंग पत्रकारहरुले भेटघाट गर्दै कुराकानी गर्दा तिनले समर्थन होईन उल्टै डा लामाप्रति कटाक्ष गर्दै चुनाव लड्ने तिनको महत्वकांक्षा हो भनेका छन।
राम्रो निष्कर्षको निम्ति बहस हुन पर्छ
डा महेन्द्र पी लामाले चुनाव लड्ने घोषणा गरेपछि तिनको घोषणा सम्बन्धि समर्थन अनि बिरोध हुनु स्वाभाविक रहेको बाताउँदै समर्थन र बिरोध गर्नेहरुमाझ बहस हुन आवश्यक रहेको पनि बताएका छन। “म डा लामाको बिरोध मेरो बुझाईमा गर्छु। तिनलाई कसैले समर्थन गर्छन त्यो समर्थन गर्नेको आफ्नो बुझाई हो। मार्क्सवादीहरु थेसिस, एन्टिथेसिस र सिन्थेसिसको कुरा गर्छन। यहाँ पनि बहस हुन आवश्यक छ। समर्थन गर्नेहरुले आफ्नो तर्क राख्नुपर्छ अनि बिरोध गर्नेहरुले आफ्नो तर्क राख्नेछन। दुवैतर्कहरुबाट एउटा राम्रो निष्कर्ष निस्कन्छ भने त्यो राम्रो हो। हाम्रो समाजमा यस्तो धारणाको बिकाश कहिले हुने?” – डा हर्कबहादुर छेत्रीले भने।
डा लामाले ठिक ठाउँ पाकिस्तान भनेका हुन ?
ठिक समयमा ठिक तरिकाले गोर्खाल्याण्डको मुद्दा उठाए छुट्टै राज्य हुनेछ भन्दै आईरहेको डा लामाको बयान प्रति कटाक्ष गर्दै “हामीले भारतका गृहमन्त्री अनि गृहसचिवसंग 11चोटी बैठक गर्यौ। भारतका यस्ता व्यक्तिहरु अघि हामीले गोर्खाल्याण्डको मुद्दा उठाएका हौ। के त्यो ठिक ठाउँ भएन ? डा लामाले भनेको ठिक ठाउँ पाकिस्तान हो ? यो भन्दा ठिक ठाउँ भनेर डा लामाले के भन्न खोजेका हुन ?” कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले प्रश्न गरे।
तिनले यसैक्रममा सही ठाउँमा कुरा उठाएन भन्ने लामाले आफुहरुले तयार पारेको दस्तावेज पडेर टिप्पणी गर्ने सुझाव पनि दिएका छन। डा लामाले मोर्चाको आन्दोलनलाई बिगत दिनहरुमा सही भएन भनि टिप्पणी गर्दै आईरहेको बताउँदै के सही भएन त्यो पनि स्पष्ट पार्न आवश्यक रहेको जनाउँदै सही भएन भन्नु मात्र पर्याप्त होईन भने। डा महेन्द्र पी लामाले गोर्खाल्याण्डको मुद्दालाई पार लगाउँन आगमी लोकससभा चुनाव लड्छु भन्नु केवल राजनैतिक उद्देश्य मात्र हुनसक्ने आशंका पनि व्यक्त गरेका छन।
“तिनी एकजना ईग्नुका उपकूलपति भएर यता गाउँघरमा गोर्खाल्याण्डको कुरा गर्दै राजनीतिका कुराहरु गर्दैछन। ईग्नुको उपकूलपति हुन हाम्रो जातिको निम्ति गौरवको कुरा हो तर त्यसतो उच्च पदमा बसेका व्यक्तिको निम्ति गौरवको कुरा त्यतिबेला हुनेछ जतिबेला त्यही पदमा बसेर जातिका निम्ति महत्वपूर्ण कार्य गरेका हुन्छन। डा लामाले यस्ता उदाहरणीय कार्य जातिको निम्ति कति गरेका छन ?” डा हर्कबहादुर छेत्रीले प्रश्नै गरे।
सांसद हुँदैमा गोर्खाल्याण्ड हुँदैन
डा महेन्द्र पी लामाले जनताले चाहे आगमी लोकसभा चुनावमा बिजयी भएर गोर्खाल्याण्डको मुद्द संसदमा पुर्याउँनेछु भनेको बयान प्रति पनि डा छेत्रीले टिप्पणी गर्दै “सांसद भएर गोर्खाल्याण्ड पाईन्छ भन्ने होईन। यदि सांसद हुँदमा राज्य पाउने भए तेलेङगनाको 19 जना सांसदहरु छन। एसाअरसीले दिएको तेलेङगना अझै भएकै छैन। अलग राज्य सांसदले ल्याउन सक्दैन” तिनले भने।
यसैसन्दर्भमा तिनले ज्ञान र बुद्धि पनि गोर्खाल्याण्डको मुद्दा उठाउँन जति आवश्यक थियो त्यो मोर्चासंग पर्याप्त थियो भन्दै सांसद जसवंत सिह धेरै बुद्धिमानी हुन भन्न चुकेनन। सांसद जसवन्त सिहले अलग राज्यको उठान समेत गरेको दाबी गर्दै तिनको ठाउँमा पुग्नु यताका बुद्धिजिवीहरुलाई कठिन पर्छ समेत भने।
एकशताब्दि पुरानो मागलाई यहाँसम्म ल्याईपुर्याउँनु प्रोफेसरहरुको बुता बाहिरको कुरा ह्प्
अर्कोतिर डा महेन्द्र पी लामाले अचानक चुनाव लड्छु भन्नु शंकास्पद रहेको बताउँदै ‘तिनलाई कतै अदृष्य शक्तिहरुले चलाईरहेको हुनसक्छ। दिल्लीको हात हुनसक्छ’ भने। भारतको शिर्षस्थ पदमा बसेका व्यक्तिले राजनीतिमा आएर जातिको सेवा गर्छु भन्नु राजनैतिक स्वार्थ रहेको हुनसक्ने बताउँदै त्यही उच्च पदमा बसेर नै जनताको राम्रो सेवा गर्न सक्छ तर अर्कोक्षेत्रमा आएर सेवा गर्छु भन्नु राजनैतिक स्वार्थ हो भने।
“प्रोफेसरहरुले राम्रा राम्रा लेक्चर दिनसक्छन। त्यो उनीहरुको पेशा हो। राजनीति अर्को क्षेत्र हो जुन क्षेत्रको तिनलाई ए, बी सी, डी थाहै छैन। जनताको एकशताब्दि पुरानो मागलाई अघि बडाएर यहासम्म ल्याईपुर्याउँनु प्रोसेसरहरुको बुता बाहिरको कुरा हो अनि यो म किटान गरेर भन्न सक्छु” डा हर्कबहादुर छेत्रीले भने। यसै बातचितको क्रममा तिनले डा लामा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति ईमान्दार नरहेको दाबी समेत गर्दै यदि ईमान्दार थिए भने मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति गरेको आन्दोलनमा तिनी आफै सरिक बनेर आन्दोलनलाई सघाउँने थिए भनि बताए।
0 Response to "मार्क्सवादीहरु थेसिस, एन्टिथेसिस र सिन्थेसिस भने झैँ डा लामाको समर्थ र बिरोधमा बहस हुन आवश्यक छ – डा हर्कबहादुर छेत्री"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.