गोर्खाल्याण्डको निम्ति निर्दलीय चुनाव लडने घोषणा परिस्कृत सोंचबाट निस्केको घोषणा हो – डा लामा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 13 जुलाई। “दार्जीलिङ पहाडका जनताले चाहे आगामी लोकसभा चुनाव लडन म तयार छु भनेर गरेको घोषणा आवेशमा गरिएको होईन। यो परिस्कृत सोंचबाट निस्केको घोषणा हो। छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति मैले एक्लै केही गर्न सक्ने होईन। यसमा सबैको आ आफ्नो जिम्मेवारी महत्वपूर्ण छ। सबैले साथ दिए मुद्दालाई निष्कर्षमा पुर्याउँन केही गर्छु भनेको मात्र हो” – उक्त कुरा डा महेन्द्र पी लामाले आज यहाँको दुख निवारक सम्मेलन भवनमा तिनका शुभचिन्तकहरुले डाकेको बैठकमा बोल्दै भनेका हुन।
छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई निष्कर्षमा पुर्याउँन डा महेन्द्र पी लामाले आगामी लोकसभा चुनाव सम्पूर्ण जनताले चाहे निर्दलीय प्रार्थीको रुपमा खडा हुने घोषणा गरेपछि अहिले दार्जीलिङ पहाडमा एकाएक चुनावी मौसम चुनाव आउन अघिनै तातिएकोछ। डा लामाले चुनाव लडने घोषणा गरे पछि एकातिर तिनको समर्थनमा मानिसहरुको धुइरो लागीरहेकोछ भने अर्कोतर्फ आजसम्म तिनले गोर्खाल्याण्डको निम्ति के गरे ? भन्ने प्रश्नहरु पनि मानिसहरुले उठाईरहेका छन।
यतिमात्र होईन यसभन्दा अघि नै दार्जीलिङ पहाडबाट सांसद बनेर गएका नेताहरुले गोर्खाल्याण्डको मुद्दालाई टुंगोमा नपुर्याएको कारण डा लामाले पनि गोर्खाल्याण्डको मुद्दालाई पार लगाउँने हुन के भन्ने प्रश्न पनि टट्कारो बनेको छ। यसैप्रश्नहरु बीच आज डा लामालाई आगामी लोकसभा चुनावमा सांसदको रुपमा सम्पूर्ण गोर्खाल्याण्ड प्रेमी जनताले साझा उम्मेद्वारका रुपमा उठाउँनुपर्छ भन्ने चाहना राख्ने शुभचिन्तकहरुको एक जमघट यहाँको दुख निवारक सम्मेलन भवनमा भएको थियो।
उक्त भेटघाट कार्यक्रममा स्वय डा महेन्द्र पी लामा बिशेष रुपले उपस्थित रहेका थिए। कालेबुङ बीटी कलेजका पूर्व प्राचार्य बी आर छेत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा भागोप राष्ट्रीय अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधान, भागोप महासचिव प्रभाकर देवान, आर मोक्तान, दार्जीलिङबाट भरतप्रकाश राई, सलिम तामाङ लगायत नागरिक अधिकार मञ्चका पदाधिकारीगण साथै बिभिन्न गैरराजनैतिक संगठनका प्रतिनिधीहरु उपस्थित रहेका थिए।
डा महेन्द्र पी लामाका शुभचिन्तकहरुको आयोजनामा सम्पन्न भएको उक्त बैठकमा सबैले आगामी लोकसभा चुनावमा डा लामा योग्य उम्मेद्वार रहेको अनि आफुहरुको समर्थन रहेको समेत बताए। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई पार लगाउँन डा लामालाई सम्पूर्ण राजनैतिक पार्टी संगै गैरराजनैतिक संगठनहरुले पनि साथ र सहयोग दिनुपर्ने मानिसहरुले बताए। यस अवसरमा डा लामा स्वयले पनि उचित रणकौशल तयार पारेर राजनैतिक पार्टीहरुको समर्थन बटुल्न पदक्षेप ग्रहण गर्नुपर्ने मानिसहरुले सुझाव दिए ।
यस अवसरमा डा महेन्द्र पी लामाले आफ्ना शुभचिन्तकहरुलाई सम्बोधन गर्दै आगामी लोकसभा चुनाव गोर्खाल्याण्डको मुद्दालाई पार लगाउँन जनताले चाहेको खण्डमा आफु लड्न तयार रहेको घोषणा परिस्कृत सोंचबाट निस्केको घोषणा बताउँदै सबैबाट सहयोगको अपिल गरे। ‘देशको सुरक्षा समितिको सल्लाहकार जस्तो उच्च पदमा आसिन भएका डा लामाले गोर्खाल्याण्डको निम्ति के गरे भनेर अहिले मानिसहरुले मलाई प्रश्न गरिरहेका छन। मैले बारम्बार गोर्खाल्याण्डको मुद्दा राष्ट्रिय सुरक्षाको मुद्दा हो भन्दै आईरहेको छु। यसबारे के गरे भन्ने बिषयमा भनेर सकिने कुरा होईन।
मैले यसलाई राष्ट्रिय सुरक्षाको मुद्दा त्यसै भनेको होईन। तर यसलाई कसैले राष्ट्रिय सुरक्षाको मुद्दा बनाएर अघि बडाउँन सकेन। हामी यहीँ मुद्दा बनाएर पनि छुट्टै राज्य प्राप्त गर्न सक्छौँ” डा लामाले स्पष्ट भने। बिगतमा दार्जीलिङ पहाडबाट थुप्रै नेताहरु सांसद बनेर गए पनि गोर्खाल्याण्ड मुद्दालाई पार लगाउन नसकेको सन्दर्भमा तिनले बाहिरबाट ल्याएर बिजय बनाई पठाएका नेताहरुलाई वास्तवमा दार्जीलिङ पहाडप्रति कुनै सरोकार नरहेको बताए। तिनले आफु दार्जीलिङ पहाडको छोरा भएको नातामा आफुलाई जन्माउँने ठाउँको अवस्था दिनोदिन बेहाल बनिरहेको देखेर दुख भएको बताउँदै “जरा”लाई सुरक्षित राख्न समाजका सबै मानिसहरु अघि आउँनुपर्ने पनि तिनले आह्वान गरे।
डा लामाले आफुलाई जन्माउँने समाजको जरालाई सरक्षण गरेर् राख्नुपर्ने अनि हाम्रो समाजबाट भविष्यमा प्रधानमन्त्रि र राष्ट्रपतिहरु समेत जन्माउँन सक्नुपर्ने बताए। अहिले घरी आफुले जनताले चाहेको खण्डमा चुनाव लडने घोषणा गरेपछि कतिपय मानिसहरुले आफुलाई नेता बन्ने चाहना भएको व्यक्ति भनि आरोप लगाउँन थालेको बताउँदै “मलाई नेता बन्ने चाहना छैन”। आफुले केवल जनताको आकांक्षालाई ठीक ठाउँमा पुर्याउँन जनतालाई प्रतिनिधीत्व दिने चाह राखेको तर नेता बन्न भने नचाहेको स्पष्ट पारे।
“मलाई नेता बन्ने चाहना भए राजनीति पार्टीनै गठन गर्ने थिए या थियौ। राजनीति पार्टी खोलेर नेता बन्ने ईच्छा नभएकै कारण मैले शुरुमानै निर्दलीय भनि स्पष्ट पारेको हूँ” तिनले अझ भने। आफु कसैलाई सत्ताबाट हटाउँनको निम्ति नआएको तर सम्पूर्ण मानिसहरुको निम्ति नयाँ केही गर्न अघि आएको पनि डा लामाले बताए। गोर्खाल्याण्ड गठ्नको निम्ति सबै राजनैतिक दल, गैरराजनैतिक पार्टी लगायत सबै संस्थाहरुले सहयोग गर्न आवश्यक रहेको बताउँदै एकचोटि एउटा मुद्दाको निम्ति एकबद्ध भएर अघि बडौ भनि तिनले अपिल गरे।
0 Response to "गोर्खाल्याण्डको निम्ति निर्दलीय चुनाव लडने घोषणा परिस्कृत सोंचबाट निस्केको घोषणा हो – डा लामा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.