-->
सभासद आशा गुरुङले गरिन् कालेबुङ अस्पतालको भ्रमण

सभासद आशा गुरुङले गरिन् कालेबुङ अस्पतालको भ्रमण

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ ४ मई। जीटीए स्वास्थ्य विभागका भारप्राप्त सभासद आशा गुरुङले कालेबुङ जिल्ला अस्पतालको भ्रमण गरेर जानकारी लिएकी छन्। उनले कालेबुङ जिल्ला अस्पतालमा निर्माणाधिन सिटिस्क्यान, डिजिटल एक्सरे, एम.आर.आई आदिको पनि भ्रमण गरेर जानकारी लिएकी छन्। 
यस अवसरमा सभासद आशा गुरुङसँगै स्वास्थ्य विभाग सचिव पनि उपस्थित रहेका थिए। उनले निर्माणाधिन सिटिस्क्यान, डिजिटल एक्सरे, एम.आर.आई आदिको कार्य प्रगतिबारे खुशी प्रकट गर्दै जनताको सुविधाको निम्ति उक्त कार्य यथाशिघ्र समापन गरेर राज्य सरकारलाई अवगत गराउने जानकारी पनि दिएकी छन्। उनले स्वास्थ्य विषयमा कसैले पनि राजनीति गर्न नहुने आह्वान गर्दै दार्जीलिङ जिल्ला अस्पतालमा निर्माण गरिएको सिटिस्क्यान सम्बन्धिमा बङ्गाल सरकारले राजनीति गरेको आरोप लगाउँदै कालेबुङमा त्यस्तो राजनीति नगर्नु अपिल गरेकी छन्। 
‘जनताले सुविधा पाउनुपर्छ भन्ने चाहना हाम्रो हो। विशेष गरेर जनताले स्वास्थ्यको क्षेत्रमा झन् धेर सुविधा पाउनुपर्छ भन्ने हाम्रो चाहना छ। त्यसैको निम्ति जीटीएले कार्य गरिरहेको छ’ आशा गुरुङले भने। कालेबुङ जिल्ला गठन पछि पहिलो भ्रमणमा आइपुगेकी सभासद आशा गुरुङले हाल जीटीएद्वारा कालेबुङ जिल्ला अस्पतालमा निर्माणाधिन सिटिस्क्यान, डिजिटल एक्सरे अनि एम.आर.आईको कार्य पूर्ण भएपछि त्यसको रिपोर्ट बङ्गाल सरकारलाई पठाएपछि बङ्गाल सरकारले जीटीएलाई क्लियरेन्स दिनुपर्ने रहेको जानकारी दिएका छन्। 
यद्यपी बङ्गालले जीटीएलाई क्लियरेन्स भने दार्जीलिङ जिल्ला अस्पतालको कार्यमा नदिएर मुख्यमन्त्री ममता ब्यानर्जीले आफै श्रेय लिनका निम्ति उद्घाटन गरेकी आरोप लगाउँदै कालेबुङ जिल्ला अस्पतालमा पनि तृणमूल कङ्ग्रेसले त्यस्तै कार्य गर्नसक्ने सम्भावना व्यक्त गरेकी छन्। उनले जीटीएद्वारा स्वास्थ्यका निम्ति धेरै कार्य गरेको दाबी गर्दै बङ्गाल सरकारले भने जीटीएले केहि गरेन भन्ने आरोप लगाउने गरेको उल्टै आरोप लगाएकी छन्। 
उनले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा हाल कतिपय मानिसहरू तृणमूल कङ्ग्रेसमा सामेल हुने गरेको बताउँदै यदि उनीहरूले तृणमूल कङ्ग्रेसको झण्डा समाएर जनताले सुविधा पाउँछन् भने आफ्नो कुनै आपत्ति नरहेको पनि बताएकी छन्। उनले आफ्नो भ्रमण कुनै राजनैतिक भ्रमण नरहेको स्पष्टिकरण दिँदै अस्पतालमा रहेको समस्याहरू बुझ्नका निम्ति आएको बताएकी छन्। 
यता कालेबुङ महकुमा अस्पतालले जिल्ला अस्पतालको मान्यता पाएपछि अस्पतालमा पर्याप्त जिल्ला अस्पतालमा हुनपर्ने सुविधाहरू नरहेको महकुमा स्वास्थ्य अधिकारी अङ्कन सिमलानदीले जानकारी दिएका छन्। उनले हाल कालेबुङ अस्पतालमा मोठ 34 जना स्वास्थ्य अधिकारीहरू रहेको जानकारी दिँदै पर्याप्त चिकित्सक अनि स्वास्थ्य कर्मीहरूको अभाव रहेको स्पष्ट पारेका छन्। यसको निम्ति सम्बन्धित निकाय अनि सरकारले स्वास्थ्य अधिकारीवर्गको नियुक्ति गर्नुपर्ने आह्वान गरेका छन्।

0 Response to "सभासद आशा गुरुङले गरिन् कालेबुङ अस्पतालको भ्रमण"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.