-->
नौवटा विकास बोर्डहरूले पाए एकमुष्ठ 72 करोड 39 लाख रूपियाँको चेक  ........... जिटिएलाई 4 हजार करोड दिएर पनि विकास गर्न सकेन – ममता ब्यानर्जी

नौवटा विकास बोर्डहरूले पाए एकमुष्ठ 72 करोड 39 लाख रूपियाँको चेक ........... जिटिएलाई 4 हजार करोड दिएर पनि विकास गर्न सकेन – ममता ब्यानर्जी

Photo: Rajesh Sharma
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 22 सितम्बर। ‘मेरो यहाँ सांसद छैन, विधायक पनि छैन अनि नगरपालिका पनि मेरो छैन। तरै पनि म तपाईँहरूलाई माया गर्छु। यसैकारण यहाँ बारम्बार आएकी हुँ। आज म यहाँ तपाईँहरूलाई राजनैतिक कुरा गर्न होइन् तर कालेबुङ जिल्ला गठनको बधाई दिन आएकी हुँ’ – उक्त कुरा पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यहाँको मेला ग्राउण्डबाट भनेकी हुन्। 
लेप्चा विकास बोर्डको पाँचौ स्थापना दिवसको कार्यक्रममा सहभागी बन्न आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज यहाँको मेला ग्राउण्डबाट राजनैतिक कुरा गर्न पाहाड आएको होइन भने पनि गोर्खा जनमुक्ति मोर्चाको नाम नलिई राजनैतिक रूपले कटाक्ष गर्न पछि परिनन्। 
‘जिटिएलाई पहाडको विकास गर्न प्लान अनि नन् प्लान बजेट छुट्टाएर 4 हजार करोड दिइसकेको छु। यद्यपी उनीहरूले साँढे चारवर्ष वित्दा समेत यहाँको जनताका निम्ति विकास कार्य गर्न सकेको छैन। यहाँ मैले केहि गर्न सक्दिन किन भने जिटिए पनि मेरो हातमा छैन। तर जब जब म यहाँ कहीँबाट केहि गर्न सक्दिन भने विकास बोर्डको माध्यमबाट जनताको हितमा विकास कार्यहरू गर्नेछु। विकास बोर्डहरूले राम्रो कार्य गर्दै प्रयोग गरेको हिसाब बुझाउनुहोस अनि अझ पैसा दिँदै जानेछु। पैसाको निम्ति तपाईँहरूले चिन्ता गर्न पर्दैन’ ममता ब्यानर्जीले अझ भनिन्। 
Photo: Rajesh Sharma
उनले आफ्नो सम्बोधनमा पहाडमा आजसम्म पञ्चायत चुनाव हुन नसकेको कारण ग्रामीण जनताको विकास हुन नसकेको पनि बताइन्। सोहिक्रममा राज्य सरकार पहाडमा पञ्चायत चुनाव अनि नगरपालिका चुनाव गराउन तयार रहेको बताउँदै यसबारे राज्यको चुनाव आयोगलाई निर्देश दिने पनि ममता ब्यानर्जीले बताएकी छन्। 
‘तपाईँहरूले विधायक आफुलाई जे सही लाग्यो त्यहीँ अनुसार चुनेर पठाउनु भयो। यसमा मेरो कुनै आपत्ति छैन। तर मलाई एकदिन अवश्यै तपाईँहरूले माया गरेर साथ दिनुहुन्छ भन्ने विश्वास छ। त्यसैले यहाँको विकास कार्यहरू गरिरहनेछु’ ममता ब्यानर्जीले आगामी नगरपालिका चुनावमा तृणमूल कङ्ग्रेसलाई अप्रत्यक्ष साथ दिनुपर्ने प्रसङ्ग झिक्दै भनिन्। 
उनले आफ्नो सम्बोधनको क्रममा जिटिएमा कार्यरत अस्थायी शिक्षकहरूको समस्यालाई पनि सम्बोधन गर्न पछि परेनन्। ‘यहाँ अस्थायी शिक्षकहरूको भविष्य नै अस्थायी भइसकेको छ। उनीहरूलाई कहिले नियुक्ति गरे भन्छ त कहिले कामबाट निकालियो भन्ने गर्छ। मलाई नियुक्ति गरेको पनि थाह हुँदैन। अब उनीहरूको अस्थायी भविष्यलाई स्थायी गर्नका निम्ति राज्यको शिक्षा बोर्ड अधिनस्थ लिएर सरकारी प्रक्रिया अनुरूप आगामी छ महिनाभित्रमा समस्या समाधान गरिदिनेछु’ ममता ब्यानर्जीले अस्थायी शिक्षकहरूलाई सम्बोधन गर्दै भनिन्। 
उनले दार्जीलिङ पहाडको समस्यालाई अस्थायी समाधान होइन तर स्थायी समाधान गर्ने पनि दाबी गर्न पछि परिनन्। 
Photo: Rajesh Sharma
लेप्चा विकास बोर्डको पाँचौ स्थापना दिवसको कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले यहाँको मेला ग्राउण्डबाट 9 वटा विकास बोर्डहरूलाई मोठ 72 करोड 39 लाख रूपियाँको चेक वितरण गरिन्। यसक्रममा उनले कामी विकास बोर्डलाई 10 करोड, दमाई विकास बोर्डलाई 5 करोड, सार्कि विकास बोर्डलाई 5 करोड, लिम्बु विकास बोर्डलाई 5 करोड, शेर्पा विकास बोर्डलाई 8 करोड 40 लाख, भोटिया विकास बोर्डलाई 8 करोड 40 लाख, राई विकास वोर्डलाई 7 करोड 35 लाख, मगर विकास बोर्डलाई 10 करोड, लेप्चा विकास बोर्डलाई 10 करोड अनि लेप्चा रात्री विद्यालयको निम्ति थप 3 करोड 24 लाख रूपियाको चेक वितरण गरिन्। 
सोहि क्रममा उनले कालेबुङलाई नयाँ जिल्लाको रूपमा पूर्वाधार विकास गर्नका निम्ति 6 करोड रूपिया दार्जिलिङ जिल्ला पाल मार्फत अनुमोदन गरेको पनि जानकारी गराइन्। 
उनले आजको कार्यक्रमबाट नयाँ विकास बोर्ड गठनको घोषणा नगरे पनि भुजेल, नेवार विकास बोर्ड गठनको निम्ति राज्यको अल्पसंख्यक विभागको मतामत लिएर निर्णय गर्ने अनि खस विकास वोर्ड गठन गर्न असुविधा भएको कारण उनीहरूलाई उत्तर बङ्गाल विकास परिषद अन्तर्गत एउटा व्यवस्था गठन गर्ने प्रतिश्रुति दिएकी छन्। सोहिक्रममा मुख्यमन्त्री ब्यानर्जीले गुरुङ विकास बोर्ड गठनका निम्ति पनि राज्यको पछौटे कल्याण विभागसँग परामर्ष गरेर आगामी दशैँ तिहार पछि घोषणा गर्ने प्रतिश्रुती दिएकी छिन्। 
उनले आफ्नो सम्बोधनको क्रममा आधिकारिक प्रक्रिया पछि नवगठित कालेबुङ जिल्ला अनि मिरिक महकुमाको औपचारिक उद्घाटन गर्न पुन: कालेबुङ आउने घोषणा गरेकी छन्। यसक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले मोठ 10 वटा विभिन्न सरकारी योजनाहरूको उद्घाटन गरेकी छन् भने भने 2 वटा सरकारी योजनाहरूको शिल्यान्यास गरेकी छन्। अर्कोतर्फ सोहि कार्यक्रमबाट लेप्चा विकास बोर्डद्वारा निर्माण हुने थप चारवटा नयाँ योजनाहरूको पनि उनले रिमोट थिचेर हाइटेक प्रणालीद्वारा शिल्यान्यास गरिन्। 
Photo: Rajesh Sharma
सोहि कार्यक्रमबाट मुख्यमन्त्री ब्यानर्जीले लेप्चा रोङ्ली निर्माणकानिम्ति लाभार्थीवर्गलाई चेक वितरण गरिन् भने लोक प्रसार प्रकल्प अनि पशु सम्पदा विकास योजनाका लाभार्थी अनि कन्याश्री प्रकल्प योजनाका लाभार्थीहरूलाई पनि चेक वितरण गरिन्। 
यहाँको मेला ग्राउण्डमा आयोजित लेप्चा विकास बोर्डको 5 औँ स्थापना दिवस कार्यक्रममा सहभागी बन्न पर्यटन मन्त्री गौतम देव, पीडब्ल्युडी मन्त्री अरूप विश्वास, मुख्य सचिव, गृह सचिव, लगायत पुलिस विभागका उच्च अधिकारीवर्गको उपस्थिति रहेको थियो। 
कार्यक्रममा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री, प्रदिप प्रधान, भाइचुङ भोटिया, शान्ता छेत्री, सारदा राई सुब्बा आदिको पनि विशेष उपस्थिति रहेको थियो। यस अवसरमा लेप्चा विकास बोर्डद्वारा बिभिन्न सांस्कृतिक गीत, नृत्य प्रस्तुती गरिएको थियो भने लेप्चा विकास बोर्डका अध्यक्ष ल्याङसोङ तामसाङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै राज्य सरकार प्रति आभार प्रकट गरेका थिए। 
कार्यक्रममा लेप्चा विकास बोर्डद्वारा प्रकाशित लेप्चा अनि अग्रेजी भाषाका शब्दकोष पनि मुख्यमन्त्रीको बाहुलीबाट सार्बजनिक गरिएको थियो।

0 Response to "नौवटा विकास बोर्डहरूले पाए एकमुष्ठ 72 करोड 39 लाख रूपियाँको चेक ........... जिटिएलाई 4 हजार करोड दिएर पनि विकास गर्न सकेन – ममता ब्यानर्जी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.