-->
गोजमुमोलाई शहीद दिवस मनाउने अधिकार छैन – डा. हर्कबहादुर छेत्री

गोजमुमोलाई शहीद दिवस मनाउने अधिकार छैन – डा. हर्कबहादुर छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ 27 जुलाई 2016। अस्सिको दशकमा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समय शहीद बनेकाहरूलाई जन आन्दोलन पार्टीले पनि आज श्रद्धाञ्जली चढाएको छ। शहीदहरूलाई स्मरण गर्ने क्रममा जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले ‘गोजमुमोलाई शहीद दिवस मनाउने अधिकार छैन’ भनि बताएका छन्। उनले यहाँको थाना डाँडामा आयोजित शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा भनेका हुन्। 
यसक्रममा शहीदका परिवारवर्गलाई जापले खदा अर्पण गरेर सम्मान जनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. छेत्रीले गोजमुमो प्रति बर्सिन्दै गोर्खाल्याण्ड आन्दोलनको समयमा 12 सय शहीद बनाउने माकपा सित मोर्चाले हात मिलाएको आरोप लगाउँदै ‘गोर्खाहरूको निर्मम हत्या गर्ने माकपासित हात मिलाउने मोर्चालाई शहीद दिवस पालन गर्ने अधिकार छैन’ भने। 
उनले आफ्नो सम्बोधनको क्रममा सन् 1986 अनि सन् 2010 मा सिप्सुमा भएको गोलिकाण्डलाई लिएर सरकारले जाँच कमिटि गठन गर्नुपर्ने माग गरे। उनले उक्त दुईवटा घट्नाहरूमा नेतृत्वको अज्ञानता अनि अयोग्यताको कारण शहीद बन्न परेको आरोप लगाउँदै ठिकसँग बुद्धि पुर्‍याएको भए शहीद बन्नपर्ने आवश्यक्ता नरहेको बताए। 
उनले 27 जुलाई अनि 2010 मा गोर्खाल्याण्डको माग गर्ने प्रदर्शनकारीहरूलाई निर्मतापूर्वक हत्या गरेको आरोप लगाउँदै उक्त दुईवटै घट्नाका पिडीतहरूले न्याय पाउनका निम्ति न्यायिक जाँच हुनपर्ने माग गरे। 
आफ्नो सम्बोधनको क्रममा उनले गोर्खा जनमुक्ति मोर्चाको कडा आलोचना गर्दै कालेबुङ नगरपालिकामा भएको भ्रष्टचारको पनि भण्डाफोर गरेका छन्। कालेबुङ नगरपालिकामा ठोस मैला व्यवस्थापन (सलिड वेस्ट म्यानेजमेन्ट)को निम्ति सरकारबाट आएको 10 करोड रूपियाँ नगरपार्षदहरूले बाँड्ने काम गरेर भ्रष्टचार गरेको आरोप लगाए। 
ठोस मैला व्यवस्थापनको निम्ति सरकारबाट आएको 10 करोड रूपियाँ गोजमुमो अध्यक्ष विमल गुरुङ अनि नगरपार्षदहरूले डाइभर्ट गरेर सडक बनाउने तय गरेको उनले दाबी गरे। जुन कार्य गैरकानुनी रहेको कारण नगरपालिका अध्यक्ष गंगामाया गुरुङले विरोध गर्दा उनलाई बिरामी छुट्टी (मेडिकल लिभ) दिएर उक्त पैसा भ्रष्टचार गरेको गम्भीर आरोप जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले लगाएका छन्। यसका साथै उनले कालेबुङ मेला ग्राउण्डलाई 50 करोड अनुमोदन गरेर स्टेडियम बनाउने घोषणा केवल जनतालाई प्रलोभन देखाउने काम मात्रै रहेको आरोप लगाउँदै वास्तवमा मेला ग्राउण्डको तल्लो भागमा बस्ने मानिसहरूलाई उच्छेद गरेर त्यस ठाउँहरू गोजमुमोले बिक्री गर्ने योजना रहेको आरोप लगाएका छन्। 
उनले गोजमुमो पार्टी छुट्टै राज्य गोर्खाल्याण्ड प्रति इमान्दार नरहेको पुन: आरोप लगाउँदै जापले गोर्खाल्याण्डको बील तयार पारिसके पनि त्यस बीललाई मोर्चाले संसदमा पेश गर्नका निम्ति सांसदलाई निर्देश दिन नसकेको दाबी गरे। यसक्रममा उनले छुट्टै राज्य गोर्खाल्याण्डका शहीदहरूको इतिहास लेखिनुपर्ने बताउँदै त्यस ईतिहासलाई पाठ्य पुस्तकमा समावेश गर्नुपर्ने पनि माग गरे। 
यता शहीद दिवसको अवासरमा जाप टाउन कमिटीका सदस्यवर्गले शहीदका परिवारहरूसित भेट गरेपछि शहरभरित्र रहेका शहीदवेदीहरूमा माल्य अर्पण गर्दै श्रद्धाञ्जली पनि अर्पण गरेको थियो। यस क्रमममा अबका आन्दोलनहरू ठिकसित नेतृत्व गरेर सरकारसमक्ष ठिकसित कुरा उठान गर्न सकिए शहीद बन्न नपर्ने सन्देश दिए। 
जापद्वारा आजै रक्तदान शिविरको पनि आयोजना गरिएको थियो।

0 Response to "गोजमुमोलाई शहीद दिवस मनाउने अधिकार छैन – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.