-->
गोरामुमोले पालन गर्‍यो दागोपाप सम्झौता दिवस

गोरामुमोले पालन गर्‍यो दागोपाप सम्झौता दिवस

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 22 अगस्त। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज यहाँको डम्बर चौकमा दार्जीलिङ गोर्खा पार्वत्य परिषद सम्झौता दिवस पाल गर्‍यो। गोरामुमो कालेबुङ ब्राञ्च कमिटिको आयोजनामा पालन गरिएको उक्त सम्झौता दिवस कार्यक्रमको अवसरमा अहिलेसम्म गोरामुमो पार्टीले गरेका उपलब्धिहरूबारे जनतालाई अवगत गराइएको थियो। यसक्रममा पार्टीले शहरमा पार्टीको उपलब्धिहरूबारे प्रकाशित गरेको पर्चा पनि वितरण गरेको थियो। 
कठोर सुरक्षा व्यवस्था बिच पालन गरिएको उक्त दागोपाप सम्झौता दिवसमा विभिन्न स्थानहरूबाट पार्टी समर्थकहरूको उपस्थिति रहेको थियो। यसैक्रममा उक्त पथसभालाई सम्बोधन गर्दै कालेबुङ ब्राञ्च कमिटिका संयोजक मौरिस कालिकोटे जनजातिको मुद्दालाई गोजमुमोले चोरेको आरोप लगाउँदै सुवास घिसिङले सम्पूर्ण गोर्खाहरूलाई भूमी सँगै जनजाति बनाउँनकै निम्ति छैटौँ अनुसूचीको उठान गरेको दाबी गरे। तिनले गोर्खा जनमुक्ति मोर्चा पार्टीको आलोचना गर्दै आफूहरूले गोर्खाल्याण्डको कहिल्यै बिरोध नगरेको बताए। “गोरामुमो पार्टीले गोर्खाल्याण्डको बिरोध कहिले गरेन। हामीले गोर्खाल्याण्ड ल्याउँछु भन्नेहरूलाई छ वर्ष बाटो छोडिदिएका हौँ, तर गोर्खाल्याण्डको नाउँमा यहाँ जनतालाई धोका दिने कार्य मात्र भयो। यसर्थ अब बाटो छोडिदिएको उचित हुनेछ” मौरिस कालिकोटेले गोजमुमो प्रति कटाक्ष गर्दै भने।
तिनले अस्सिको दशकमा चलेको गोर्खाल्याण्ड आन्दोलनलाई दबाउन सरकारले हतियार प्रयोग गरेको बताउँदै त्यसैको फलस्वरूप गोर्खाहरूले अत्याचारको बिरोधमा हतियार बाध्य भएर उठाएको स्पष्ट पारे। गोर्खाहरू अर्काको अन्याय र अत्याचार नसहने प्रवृत्ति भएको कारण अस्सिको आन्दोलनमा पनि सरकारले गरेको अत्याचारलाई सहन नगरेको दाबी गरे। उनले गोजमुमो पार्टीले गोर्खाल्याण्डको नाउँमा चलाएको आन्दोलन सरकार प्रायोजित रहेको आरोप लगाउँदै गोरामुमोले सरकारसँग आफ्नो जातिको निम्ति जोडदार लढेको दाबी गरे। 
सोहीक्रममा सरकारसँग गोरामुमोले बराबरको सम्झौता गरेको बताउँदै बराबरीकै सम्झौता अनुरूप गोरामुमो नेताहरूलाई सरकारले मुद्दा लगाउन नसकेको दाबी गरे। गोर्खा जनमुक्ति मोर्चाले चलाएको गोर्खाल्याण्ड आन्दोलनमा भूतपूर्व सैनिकहरूको टाउको फुटेको प्रसङ्ग झिक्दै मोर्चाले आजसम्म उनीहरूको झुकेको शिर खडा गर्न नसकेको आरोप लगाए। यसक्रममा उनले सुवास घिसिङको जयजयकार गर्न पनि भुलेनन्। भारतको राजनीतिमा सुवास घिसिङले छैटौँ अनुसूचीको मुद्दा उठाएर उथुलपुथुल ल्याएको दाबी गर्दै असममा मात्र लागु हुने छैटौँ अनुसूचीको सुवास घिसिङकै पहलमा देशका विभिन्न स्थानहरूमा लागु हुनसकेको दाबी समेत गरे। 
यसक्रममा कालिकोटेले भूमी बिनाको जनजातिको कुनै महत्व नहुने दाबी गर्दै गोरामुमोले भूमिसितै जनतालाई जनजाति बनाउने प्रयास गरेको बताए। उनले अब गोरामुमो पार्टीले दाजु भाइसित आन्दोलन नगर्ने बताउँदै आफूहरू सिलगडी गएर बस्नु राजनैतिक चाल रहेको दाबी गरे। यहाँक़ो डम्बर चौकमा सम्पन्न भएको पथसभालाई गोरामुमो पार्टीका दिमङ्कर लामा, लोब्साङ लामा आदिले सम्बोधन गरेका थिए।

0 Response to "गोरामुमोले पालन गर्‍यो दागोपाप सम्झौता दिवस"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.