-->
स्मिता सोताङ् राईका कथाहरु

स्मिता सोताङ् राईका कथाहरु

मनबहादुर 
मनबहादुर-बहादुर होइन! सारा गाउँलाई थाहा छ। गाउँका बुढापाका, तन्नेरी, केटाकेटि समेत मनबहादुरलाई हेप्पेरै 'मने' भनेर बोलाउँछन्। आफ्नो नाम कसलाई प्यारो लाग्दैन र हगि?? दुनियाँ नामकै लागि जिन्दगीका अनाम युद्ध लडिरहेको समय, आफ्नो जम्मै नाम काटेर इत्रु नै मने भन्दा समेत आपत्ती छैन मनबहादुरलाई। आपत्ती होस् पनि कसरी??
त्यसको जम्मै परिवार छैन। जम्मै त मनबहादुरको कपाल धरि छैन। वर्षौ भरि नाम्लो बसेको टाउको डोपमा, कहिल्यै उम्रिनै पाउँदैन जम्मै कपालले। यसमा, त्यति मनदुख पनि छैन।
मन दुखाउँनुलाई, गुनासो पोख्नलाई त्यो सँग भयानक कारण छैन पनि। चीमले बारेको डेरा छ, त्यहाँ गर्ववति स्वास्नी छे। यी दुईलाई नै, आफूलाई जत्ति नै माया गर्छ मनबहादुर।।
भक्कू रक्सी धोकेर, बाटो छेउ तिरै निदाई हिड्ने मनबहादुर- समसाँझै घर पस्न थालेदेखि नै हो,गाउँलाई प्रमाण भएको कि, मनबहादुर असाध्यै प्रेम गर्छ सरितालाई। त्यसै त आजकल, सिलेण्डर बोक्ने काममा जाँदा रङ्गि- बिरङ्गि धागोले सिलाई गरेको सफा कमेज लगाँएर हिड्छ त्यो।
रक्सी नखाई चड्छ रुख। ठूल-ठूलो रुख त चड्दैन पनि। फिट्टो हुँदा, अग्लो अग्लो रुख चडेर बहादुरी देखाउँने मनबहादुरलाई रुख सँगै डर लाग्छ आजकल। रक्सी सँग पनि डराउँछ त्यो। र त एकैचोटि छोड्नु नसकेर, कम्ती, कम्ती पिउँछ रक्सी। होँचो-होँचो रुख मात्र चढ्छ। खासमा, मनबहादुरलाई मर्नु डरलाग्छ अहिले।
बिहानै देखि, मुसलधारे पानी परेकोले, मनबहादुरको डेरा थुप्रै ठाउँ चुहुने भयो। पानी चुहिइएर अोछ्यान पनि टाकटुकै भिज्यो। हावा चलेकोले बाछिटा पनि उत्तिकै पस्दैछ भित्र। ओछ्यान नेर निथ्रुक्कै भिझिसकेकी स्वास्नीलाई- डोह्राएर चुह्ला छेउमा सार्यो। चुह्लाको सिधा माथि डबल प्लास्टिक छापेकोले अलि ओभानो छ। खुट्टेपिरामा बसेर ढाड् सेकिरहेकी स्वास्नीको ठिक उत्तापट्टि बसेको मनबहादुरले घरको मौनता तोड्दै बोल्यो। खै.... हिउँद लागिहालेको नि हुनेथ्यो।
.....हिउँद लागेपछि त, जाँडो पनि त लाग्छ।
स्वास्नीको कुराले मौन बनायो मनबहादुरलाई।
अलि उत्तापट्टि कुनामा, खोलबिनाको एकदुईवटा पुरानो सिरक थन्किरहेको छ। धुवाले कालो भईसकेछ। यो पानीले भेट्यो भने फाँट्छ पनि। मनमनै सोँच्यो त्यसले। सोँच्नु बाहेक अरु केहि विकल्प नै छैन त्यो सँग।
कस्सो... बचाँएको छु चुह्ला र सरितालाई। अलि शान्तीको श्वास फेर्यो।
मनबहादुले दैलो बाहिर चिहायो। पानी अलि कम्ती भएछ तर परिरहेकै छ। दैलो कुनाको छाता उघार्यो। उघ्रिएन। जम्मै करङ भाँचिएकोरहेछ।
केहिक्षण, दैलोमै उभिएर के,के सोँचेपछि चुपचाप अोह्रालो लाग्यो त्यो। आज मनबहादुरले सरिता सँग बिदा मागेन। नत्र, पानी झरिमा काममा जान दिँदैन सरिताले थाहा थियो। सरिताले रोकेपछि, रोकिनु पर्थ्यो मनबहादुरले। त्यो रोकिनु भनेको काम रोकिनु हो। काम रोकिनु भनेको एउटा मजदुरलाई हात-पाउ भाँच्चिनु जत्तिकै हो। थाहा छ मनबहादुरलाई।
काममा निस्किन्दा, बाटोतिर भेटेजत्ति मन्दिर, गुम्बा, गिर्जा तिर हात जोडेर नमस्कार गरिराख्न कहिल्यै हतार हुँदैन मनबहादुरलाई। त्यसलाई भगवानहरु थुप्रै छन् कहिल्यै लाग्दैन। भगवानको अनुहार छुट्टयाउन सक्तैन त्यो। तर, त्यसलाई शक्तीशाली लाग्छ भगवान्। जीतमान सर भन्दा पनि शक्तीशाली। र त जिन्दगीभरि जीतमान सरकै घरमा काम गर्दै आइरहेको मनबहादुरले, जीतमान सरलाई नै भन्नु नसकेको कुरा भनिराख्छ।
....
हे! ईश्वर, नानी पाउने व्यथा लाग्दा केइ पनि नहोस् सरितालाई।
अरुथोक के,के भनिरहनु पनि आउँदैन त्यसलाई। यत्ति भनेपछि ढुक्क चाँहि लाग्छ मनबहादुरलाई।
हरेक दिन जस्तो, जीतमान सरको गाई ग्वाली आइपुगेको छ मनबहादुर। सडक छेउमा गाडिले थुपारिदिएको ढुङ्गाको थाक हेर्यो त्यसले। आफ्नो जीउ भन्दा घतिलो छेउको डोको हेरेर टाउँको छाम्यो त्यसले। जम्मै ढुङ्गा ओसारेर मिलाउनु पर्ने जिम्मेवारी त्यसको।
पानी पूरै थाम्मिहालेको छैन।
पोहोरको थाक परालको मचान छोपिराखेको कालो प्लास्टिकमा पर्यो त्यसको आँखा। र सम्झ्यो- अघि आफू आउँदा चुहिरहेको डेरा, डेरा भित्र भिजेकी स्वास्नी।
.....
काममा नआउनुइ पर्थेछ आजु। भा त डल्लै छाना पो उडायो कि?
छटपटि भयो त्यसलाई।
त्यसको डेरा जत्रै छाता ओडेर आफूतिरै आउँदै गरेको जीतमान सर देखेपछि, हत्तार करेशोमा निस्क्यो त्यो।
"मने!
यो पानी हत्तपत्त रोकिएला जस्तो छैन। तेतिन्जेल सम्म थला सफा गर-गर।। पानी थामिएपछि बोक ढुङ्गा। तर, बेलुकि सम्म त बोकिसक है! भोलीदेखि मिस्त्री बोलाको छु।
मनबहादुर केहि बोलेन- सोच्यो बरु त्यसले। जीतमान सर मनकारी हुनुहुन्छ। मलाई ज्वरो आउँछ भनेर होलानि, पानीमा नभिज भनेको।
पानी थामिएर, अहिले कता-कता निस्कन्दैछ घाम। हतार थला सफा गरिसकेर मनबहादुर ढुङ्गाको थाकनेर पुग्यो। ढुङ्गा मुसारे पछि, आफ्नो तालु मुसार्यो। डोकोमा थाक भरेपछि, नाम्लो मिलाएर यता उता भारि हल्लाएर उचाल्यो। भारीले त्यसको मुन्टो थिच्यो। ढाड्ले ठेलेर भारीलाई पहिलेकै ठाउँमा राख्यो त्यसले।
खुईइइ.... अब त बुढो भईएछ!
फेरि त्यसले आफ्नो डल्लै संसारै बोकेर बाँचिरहेकी स्वास्नी सम्झ्यो। शरिरमा भएको जम्मै बल निकालेर उचाल्न थाल्यो ढुङ्गाको भारि। घुडाले भुई टेकेर बल्ल बल्ल उभियो त्यो। लडेन धन्न!
साँझ भयो घर जा' भनेर जीतमान सरले जिन्दगीमा खेदाएन मलाई। अरुलाई भन्दा अलि बेसि माया गर्नु हुन्छ मलाई। यस्तै के,के सोँच्दै ढुङ्गा बोकि सकेर फर्कियो त्यो।
अघिदेखि त्यसैलाई पर्खिबसेको जीतमान सर आँगनमै रहेछ।
....
यो बडरको घाँस चाँहि झारेर जा' है मने! नभा त भोकै हुन्छ मेरो गाई।
मनबहादुर केहि बोलेन। जीतमानको हातबाट खुकुरी थापेर त्यो हतार चढ्यो रुखमा।
साँझ सम्मको ढुङ्गा बोकाई, हत्तु शरिर। बिचबाट उकालो चढ्न सकेन त्यो। थररर कापिरहेको खुट्टालाई सोझ्याउदै-ओह्रालो हेर्यो त्यसले। उकालो फर्केर, त्यसैलाई हेरिरहेको जीतमानलाई देखेपछि छेउ,छेउको डालालाई भएभरको बलले हिर्काएर झार्यो।
सर! भुत्ते रैछ खुकुरी।
अर्को दिन टुप्पै सम्म झारिदिउला।
लामो सास तानेर जवाफको प्रतिक्षा नै नगरि नाम्लो काधमा हालेर हिड्यो त्यो।
सुन त मने!
भोली बिहान सिलेण्डर ले है! ओमनाथ भैय्यालाई भनिदिएको छु।.....
मनबहादुरको हत्तु शरिरमा हुन्छ भन्ने हुत्तिकार सम्म छैन। काम भनेपछि मरिहत्ते गर्ने मनबहादुरलाई भोलीको काम सम्झनै मन परेन।
हिजको थकानलाई सरिता सँगै ओछ्यानमै छाडि राखेर, ओमनाथको दोकानमा पुग्यो मनबहादुर। दोकानको सिडि उक्लिन्दै गर्दा सोकेसको सिसा भित्र लाइनै उभिएको रङ्गिबिरङ्गि कानको झुम्काले तान्यो त्यसको आँखालाई।
ओछ्यान टकटकाउदै गरेकी सरिताको कानमा हल्लीरहेको झुम्का। कानको झुम्का हल्लाउँदै-आज, काममा नजाऊ ल? जिद्दि गरिरहेकी सरिता मनबहादुरको आँखा अघि आयो।
चाँदि रङ्गको झुम्कामा सबभन्दा पहिला आँखा परेको हो त्यसको। ओमनाथको स्वास्नीले ठूलो स्वरमा- एकसय दाम सुनाएपछि पहेलो,पहेलो रङ्गको झुम्कामा झर्यो त्यसको आँखा।
सत्तर रुपिया!
दाम सुनेपछि। त्यो भन्दा अलि सानो गुलाफी रङ्गको झुम्का छान्यो त्यसले।
चालीस रुपिया!
दाम थाहा पाएपछि गदगद भयो मनबहादुर।
घाँस झारेको पचास रुपे पाउँछु।
दश रुपे त उभ्रिने पनि रैछ....।
.....भरै बेलुका लान्छु भाभी। पोको पार्दिनु त। कस्सैलाई नबेच्नु है। म भरै पैसा लिएर आए पछि पक्का लान्छु। पोको छुट्टै राख्दिनु है!
भरै घर फर्किन्दा, त्यो झुम्का लगेर, सरिताको कानमा लगाईदिन्छु। कत्ति खुशी हुन्छे त्यो। सरिताको अनुहार सम्झेरै खुशी भयो त्यो।
आज सिलेण्डर त्यति गह्रौ पनि लागेन मनबहादुरलाई।
सिलेण्डर बरण्डामै राखेर, जीतमान सरको भान्साकोठा भित्र पस्यो मनबहादुर।
चौकी तानेर, खुट्टा अलि माथि उचालेर बस्यो । आफ्नो अनुहार समेत देख्ने गरि टल्कीरहेको भुईमा, धुले खुट्टाको छाप बस्छ कि? डराउँछ त्यो।
ए! आइपुगिस् मने? एकछिन बस् है। म भात खाइसकि हाल्छु।
रायो सागले लपक्कै छोपेको सुङ्गुरको मासु मुखमा लाउँदै बोल्यो जीतमान।
मुखमा जम्मेको राल, रोक्दा रोक्दै घुटुक्क निलिपठायो मनबहादुरले। पानी पिउन मन नपरेको होइन त्यसलाई। तर, बोल्दा जिप्टेर थुक बाहिर निस्कियो भने? त्यसले पानी माग्ने आँटै गरेन। बरु, आफ्नै अगाडि डल्ले खोर्सानी सरिको मासुको झोल पिउँदै गरेकी जीतमानकी स्वास्नी, घरि जीतमानको मासुसरिको गाँस हेर्दै, सिलिङ तिर हेर्दै नदेख्ने गरि थुक निल्दै टोल्याई रह्यो मनबहादुर।
अगेना छेउ बसेर, सुङ्गुरको मासुमा डल्ले खोर्सानी मिचेर गाँस लाउँदै गरेको आफू र सरिता समझ्यो। निक्कै गतिलो थुकको घुटको निल्यो।
ला मने! हिज घाँस झारेको, आजु सिलेण्डर ल्याको....
जीतमानले सयले नोट निकाल्यो।
खासमा त सिलेण्डर बोकेको सत्तर रुपिया थियो अरुबेला। तर, आज त्यसले बिस रुपियामा बहस गरेन।
सिधै घर नगएर त्यो शनिबारे हाटतिर हानियो। अरु केहि सम्झेन त्यसले। भाकै एकसय रुपियाले आधा किलो सुङ्गुरको मासु टिप्यो। खिइसकेको चप्पल प्याट,प्याट बजाउँदै उकालो लाग्यो मनबहादुर।
बेलुकीको गुन्द्रुक भातले छोडिसकेको छ। जीतमान सरले निलेको मासु आँखामै छ। सम्झिन्दा पनि राल आउँदैछ मुखमा।
शनिबारे हाट देखि घर सम्म उक्लिन घण्टौ लागिरहेछ मनबहादुरलाई आज। हातमा आधा किलो मासु झुण्डाँएर घर जानुमा, जीतमान सर जत्तिकै मालिक लागेको छ आफूलाई।
मनबहादुर जान्दैन मालिकहरुको वर्ग। थाहा छैन त्यसलाई कसरी खान्छन् मालिकहरु, मजदुरको खुशी ??
तर, मालिकहरु जान्दछन् मजदुरको कमजोरी।
अगेना छेउ बसेर,लोग्ने स्वास्नी मासु भात खाइरहेको चित्र आँखामै बोकेर बल्ल तल्ल निक्कै बेरमा निस्कियो आँगन डिल मनबहादुर।
अघिदेखि ,त्यसलाई पर्खेर, घाम तापिरहेकी स्वास्नीलाई आँगनमै देखेपछि मनबहादुरको उज्यालो अनुहार एकाएक आफ्नै हातको प्लास्टिक जस्तै कालो भयो। खिन्न भयो त्यो। सरिता सँग केहि नबोली पस्यो डेरा भित्र। युद्ध हारेर फर्किरहेको कुनै सिपाही जस्तो। लखतरान भयो त्यो।
स्वास्नीको बुच्चे कान देखेपछि, अघि ओमनाथको दोकानमा छाडिराखेको पोको सम्झ्यो।
र सम्झ्यो-पोको भित्रको गुलाफी कानको झुम्का।
जुन कानको झुम्का असाध्यै मनपर्छ सरितालाई। मनबहादुरलाई थाहा छ।
सबथोक किन हार्छ, भोक अघि जहिल्यै ??
भोक सँग जहिल्यै हारिरहने कायर मान्छे #मनबहादुर ।
यी मनबहादुरहरु- के नामकै मात्र बहादुर हुन्
??
...
स्मिता सोताङ राई ।।

7 फ़ेब्रुवरी 2020

..........................
अध्याँरोको अनुहार 
आज सम्म पनि रातसँग बात बन्दैन मेरो। दिन सकिए पछि आउँने रात नआएकै ठिक लाग्छ।
त्यो रात गाउँभरि भैलेनी गुञ्जीरहेको थियो ।
हाम्रो घरमा, बाबाले जोडजोडले-आईय्या....आईय्या... भनिरहेका थिए।
बाबा ओछ्यान पर्नु भएको एक सप्ताह बिति सकेको थियो। बिमारले बाबालाई चापिहेको थियो,बिमारलाई बाबाले सहिरहेका थिए।केहि नभए पछि-सबभन्दा पहिले मान्छेले सहनु पर्छ।अनि सहनु सबैभन्दा साह्रो र गाह्रो कुरा हो।
बाबालाई पनि सहनु साह्रो परिहेको थियो ।
औँशीको रात कसको घर पो उज्यालो हुँदैन र हगि?? आकाश भुलेर धरतीमा खसेको चन्द्रमा जत्तिकै उज्याला र चम्किला थिए गाउँका घरहरु। बस्,हाम्रो घरमा मात्र औँशी थियो र त अध्याँरो थियो।
हाम्रो घर,घर जस्तो थिएन।साँच्चै हो,घर जस्तो पटक्कै थिएन। कुनै गुफा जस्तो थियो।तर,हामी गुफा जस्तो घरलाई,घर नै भनिरह्यौ। गुफा जस्तो घर हुँदा पनि,हामी कहिले गरीब भएनौ।
वरिपरि खिड्कीहरुमा टुक्रा टिन,कत्तिमा बाकल र कत्तिमा टुक्रा प्लास्टिक ठोकेको।नयाँ मान्छे स्वाट्ट भित्र पस्दा,अत्तालिन्थे।अध्याँरो रिमोलिन्थ्यो भित्र।गरम महिनामा हाम्रो घर मरु बन्थ्यो।हावा छिर्ने एउटा प्वाल पनि थिएन।सास फेर्न एकदमै गाह्रो।गाह्रो पनि सजिलो लाग्न थालिन्जेलसम्म मात्र गाह्रो हुँदो रहेछ।गाह्रोसँग पनि बानी बसाले पछि सजिलै हुँदोरहेछ।हामीलाई अफ्ट्याँरो नै सजिलो लाग्न थालीसकेको थियो।
त्यहि अध्याँरो कोठामा,अझ औँशीले बोकी ल्याएँको अध्याँरोमा बाबा अध्याँरो अनुहार लिएर लडिरहेका थिए।
त्यसताक म तेह्र वर्षकी थिएँ।नौ वर्षको थियो मेरो भाई। केटा-केटीलाई त दशै औँशीमा मज्जा आउँछ है ?? भाई र मलाई दशै,औँशीको मज्जा त्यति थाहा छैन। हामीले केटा-केटी भईरहन पो पाँएनौ कि ??बाबाको बेस्सरी टाउँको दुख्थ्यो, टाउँकोको नशा फुलिएको हुन्थ्यो।के भएको हो,डाक्टरलाई मात्र थाहा थियो।डाक्टर सम्म पुग्ने आँट हामीमा थिएन। पिडामा छटपटाई रहेको बाबालाई हेरिरहने साहस पनि थिएन हामीमा।
हामी -म, आमा, भाई बाबा कराएको सुनिरहन्थ्यौ-सुनिरहनु बाहेक हामीसँग केहि थिएन।घरि घरि आमा भन्नुहुन्थ्यो-कहिले बिहान हुने हौ ??
आमालाई थाहा थियो-हाम्रो लागि उज्यालो खस्दैन भन्ने कुरा।तर,आशाले सधै उज्यालो नै बोकेको हुन्छ।
निक्कै रात बितिसकेको थियो। आमा सानो अनुहार बनाएर घरि मलाई ,घरि भाईलाई हेरिरहन्थी। आमालाई लोग्ने गुमाउँछु भन्ने कत्रो ठूलो डर लागेथ्यो होला त्यसबेला, आज यो आईमाईको ह्रदयले महसुस गर्नसक्छु।दिनमा सारा छिमेकी, आफन्तहरु बाबालाई हेर्न आउँथे।सान्तवना दिएर फर्कन्थे।
आज सम्म पनि मलाई सान्तवनाहरुसँग लछेप्रै घृणा छ।मान्छेलाई सहारा चाँहिएको हुँदोरहेछ।सान्तवना दिन सक्नेहरुले,सहारा चै दिन सक्थेन र ??
आजसम्म,पनि यो प्रश्न छ मसँग।
सानो,सानो हतकेलाले बाबाको टाउँको मुसारीरहेको भाई देखें।भाईलाई कत्रो विश्वास ?? त्यसको हातले छोए पछि बाबालाई एकक्षण सञ्चो हुन्छ ।भाईलाई देखेर मलाई पनि आँट आयो। आमालाई भने- यत्रो आफन्तहरुमा कसै न कसैले त दिन्छ होला नि पैसा। मागुम न जुम ....।
आमाले नियास्रो अनुहार लाएर भनिन्-चाड हो नानी।उनेरलाई पनि कत्ति साह्रो छ। यतिबेला कसकोमा होला र पैसा।
अझै पनि याद छ मलाई (सायद भाईले भुलिसक्यो। आमाले पनि भुलिसकिन्) अध्याँरो कुनाबाट भाई बोलेको- म बाबासँग बस्छु। तपाईहरु जानु न मागेर आउँनु .....।। सान्तवना भन्दा धेरै सुकुनको थियो भाईको आँट।
सायद! आमालाई आँट आयो।बाकस माथिको शाल ओडिन अनि हिडिन।म आमाको पछि पछि लागेँ।बाटो बीचका घरहरुमा मैनबत्ती र दियोहरु बलेको।संसारनै अध्याँरो भए पछि,केहि ,केहि उज्याँलो नलाग्दो रहेछ।बाटो अहिले जस्तो सजिलो थिएन,अफ्ट्यारो पनि थिएन।मैले अघि भनि हाले नि? बानी बसाले पछि सबै सजिलै हुँदोरहेछ।
आमाले आँट गरेर दैलो ढकढकाईन्।भित्र टि भी हेरिरहेकी बडी अलि दिक्क मानेर बोलिन्। को हौ ???? यति बेला ???
......नाना, मलाई तीन हजार दिनु नि। मलाई देखाएर-यसको बाबा बिमार भएर हेर्नु नि हौ। भोली सिलगडी शीवमन्दिर सम्म पुर्याउँनु पर्ने। साह्रो भईराको छ। आमाको स्वर काम्यो। पैसा पाउँछु भन्ने आमालाई बडो भरोसा थियो।भरोसा त आफ्नो मान्छे सँगै त गरिन्छ ।होइन र ??
तर, बडी हामी भन्दा धेरै दुखी भई।
ल्या छैन नि.....। थियो की.... चलाँई हाँले।बरु माथि दाज्युको तिर छ होलाउ।नबिसाई बोली सकि बडी।
भाई र म जस्तो जिद्दी थिइनन् आमा।आमाले हाँसेरै हुन्छ भनि। आमाको यै बानीसँग त मख्ख छु म।त्यहि बेला हाँस्दा चै आमालाई बेस्सरी दुखेको थिएछ। आजभोलि कोहि बोहि बेला,सबै थोकलाई लुकाउने हिसाबले,हाँस्न खोज्दा मलाई थाहा हुन्छ।दुख पाउँनु साह्रो कुरा हो।दुख लुकाउँने हिसाबले हाँस्नु त त्यो भन्दा पनि साह्रो कुरा हो ।
हामी आँगनमा निस्कियौँ।अब कता जाने?? के गर्ने? कसको ढोका ढकढकाउँने? हामी अन्योलमा थियौँ।हामी सडक छेउ-निस्कन आँटेका थियौँ। बडी बाहिर निस्केर कराउँनु भयो -बहिनी, एकछिन पर्ख त। यो दुई हजार चै लैजाँऊ न ल, सोकेश बनाउनु भनेर पठाको थियो छोरीले. ...। आमाले पैसा थापिन्। 
पैसा भन्दा माथि मान्छे हुन सक्दैन र??? त्यसबेला ,मलाई पैसा सब थोक लागेको थियो।
जब फर्केर पैसा हातमा लगाई दिइन् बडीले।दिउँसोको सान्तवनाहरु भन्दा गह्रौ थियो त्यो क्षण।र त म टुक्रिएँ र रोएँ।मान्छेलाई सान्तवनाले कत्ति कमजोर बनाउँदो रहेछ।त्यो कुरा म जान्दछु।
फर्की आएर - पैसा नदिँएको भए हुनेथ्यो।बरु, आँट् दिएको भए, अर्कै ढोका ढकढकाउँथ्यौ।त्यसबेला मेरो मन बोलिरहेथ्यो।
त्यो रात हामीसँग तारा थिएन,जुन थिएन। कोहि ,कोहि थिएन। आमासँग म थिए,बाबासँग भाई थियो।
ठिकै छ।उज्यालोले देखाउन नसकेको पाटाहरु,अध्याँरोले नै देखाउँदोरहेछ।अध्याँरोले देखाएको अनुहारहरु प्रिय हुन्छन्,भयानक हुन्छन्।जे होस् ,बाबा जाति हुनु भो। यति सिकियो- कस्सेर हात पक्रन पर्ने ,अध्याँरो मै हो ।
अध्याँरोलाई पनि एक अञ्जुलि माया- हरेक कमजोरहरुलाई, बलियो गरि उभिनु सिकाउँनु यहि प्रिय अध्याँरो नै त हुन्।जुन उज्यालोले कहिले सिकाएन। 
तर, अध्याँरो मन - जीवनले जति अध्याँरो पाटाहरु बोकी ल्याउँछन्। जीवनबाट प्रिय मानिसहरु घट्दै जान्छन्। घट्दै जान्छन्....

#स्मिता सोताङ राई* 16 जुलाई 2019


.............................


श्यामपट 'जिन्दगी'
१.बाह्रौ कक्षाको परिक्षामा,पहिलो आँए.....
'कालो अक्षर भैंसी बराबर'-मेरा आमा बाबुलाई,
म,पहिलो दोस्रो,अन्तिम आउँनु-कालो अक्षर,कालो भैसीं एउटै लागेको थियो ।। पहिलो पल्ट - आमा-बाबुका अनुहार र, बादल हटेर घाम लागे पछिको आकाश बराबर लागेको थियो मलाई । बाह्र वर्षदेखि,खेतमा नाँचीरहेका बुडो कोदालो, दिनहुँ,उधिन ढुङ्गामा खियिन्दै आएका खुर्पा, बिसाए त्यसदिन। रातो भालेको 'वाचीपा',कडा चखनी चाखेर,खरानी भित्र लुकेकी चुल्हा पनि, दियो जस्तै धपक्क बलेकी थिइन् कुनामा ।।
२.मिस सिम्फनी! तपाईले पढाउनु भएको 'परी'को कथा होइन जिन्दगी, चन्द्रमाको देशमा हराउँने 'रामु' जस्तै अभर परेको छ। तपाई जस्तै 'सिम्फनी' पटक्क होइन जिन्दगी, खोलाको बगरमा,गाइनेको गीत भएको छ।
श्यामपटमा कोरिएका जोड,घटाऊ,गुणा,भागका चिन्हहरु अझै याद छ मलाई, तपाईको औँलींमा खियिने खलिमट्टी रहेछ जिन्दगी त! मिस सिम्फनी! कहाँ हुनुहुन्छ तपाई? खलिमट्टी जस्तै खियिन्दै हुनुहुन्छ कि? जोड,घटाऊ,गुणा बिच भाग भइसक्नु भो ?
३.लिप्पन छात्तीमा बोकेकी थिएँ देश, छात्ती अग्लियो,उचाँले देशलाई।। वर्षौ भरि-गंगा,यमुनालाई बगाएँकी थिए, देशको फैलिएको भागलाई, कलिलो छात्तीमा बोकेथें।।
मिस! तपाईले भूगोलमा देखाउँनु भएको मेरो देश, देशको कुन भूभागमा पर्छ,म उभेको भाग?? मेरो कलिलो छात्तीमा अटाउँने मेरो देश, विशाल देशको पन्नामा,लेखिएको छैन रहेछ मेरा आमा बाबुका इतिहास ।।
मिस सिम्फनी! तपाई कुन देशमा अटाउँनु भो?? कुन देशमा अल्पिनु भो?? तपाईले चिनाउँनु भएको मेरो देश,त्यहिँ अलमलिरहेछु म ।।
४. मिस! मेरो हातमा कलम होइन, कोदालो,खुर्पा,थमाइदिनु पर्नेथियो, बुझाउँनु पर्ने थियो-पसिनाको दाम, जनाउँनु पर्ने थियो-ऋणको गुणा,रहरको जोड-घटाऊ,
औजारको गणित सिकाउँनु पर्नेथियो ।।
खलिमट्टी जस्तै खियिन्दै गरेका मेरा आमा बाबु, उनीहरुका सालिक त निर्माण गर्नसक्थें कमसेकम!!
मिस सिम्फनी! तपाईले सिकाउँनु भएको दुईको जोड,पटक्क होइन जिन्दगी! गणितको कुनै जटिल प्रश्न जस्तै, शुन्यमा नै अड्केको छ।।
मलाई गणितको जोड,घटाऊ होइन, औजारको गणित सिकाउँनु पर्ने थियो, खलिमट्टी जस्तै खियिन्दै गरेका मेरा आमा बाबु, उनीहरुका, सालिक निर्माण गर्न सक्थें आज!!
अफसोस्! मिस सिम्फनी! तपाईले ,दिनहुँ मुसार्ने श्यामपट जस्तै, निष्पट खाली छु 'म' !!
 
स्मिता सोताङ राई ।। 
26 April 2019



............................


'जीवन एक यात्रा'!
जिन्दगीको गाडी एक तमाशले गुड्दै गर्दा, त्यसका पैयाहरु हठात,कहि खाल्टाहरुमा फँसिन्दा,!  क्षमता भन्दा धेरै थोकहरुले लादिएकोले,त्यस गाडीले घुम्तीहरु काट्नलाई धेरै चोटि सुल्के खान पर्दा,त्यसले एउटा,उकालो काट्नलाई,धेरै चोटि ओह्रालो खस्न पर्दै गर्दा, मलाई मेरो जीवनले तय गरेको एउटा यात्रा याद आयो !
तीन चार वर्ष अघिको कुरो, एकदिन मेरो दाज्युहरुले (कजीन्) रचेला 'ट्रेकिङ' जाने सल्लाह गर्दै गरेको सुन्छु, उनीहरु सात जना थिए! त्यो सुने पछि उनीहरु भन्दा उत्साहित म थिए! मैले हतार हतार मलाई पनि रचेला जाने,रहर मात्र होइन सपना रहेको कुरा सुनाउँछु !त्यो कुरा सुनेर मेरो दाज्यु सफलले, ठुलो ठुलो आँखा तरेर -तँ चै कसरी जान्छस्? न हिँड्नु सक्छ, तमाश पार्छ, हामी सबै केटाहरु मात्र छ...जानु पर्दैन भनेर कुट्ला कुट्ला गरेर हेर्दा, मैले सानै भए पनि ,त्यसले भन्दा ठूलो आँखा पारेर भनेकी थिए - जान्छु त के ! जहाँ इच्छा, त्यहाँ उपाय...म जसरी भए नि जान्छु! घस्रेर भएनि जान्छु!
म अलिक जिद्धि स्वभावको, अलिक भन्दा नि धेरै नै जिद्धि थिए! मेरो जिदको अघि, ढुङ्गा जस्तो कठोर मन भएको मेरो दाज्यु पनि हारेको थियो!
त्यसपछि घरमा आमा,पापालाई पनि मनाउँछु, भुटान सिम खोजेर ताङ्ताको मेरी प्यारी साथीलाई पनि फकाउँछु!
३१ अप्रेल हाम्रो यात्रा शुरु हुन अघि,माले भन्नु भएको थियो- मैले नजा भनेको नि, नानी! रचेला पुग्नु त सहज छैन है, बाटो धेरै घुमौरो छ, कुइनेटोहरु काट्नु पर्छ, तैले सोचेको जस्तो सजि...लो छैन !
म आमाको कुरा सुनेर पनि सुन्दिन...त्यसबेला मेरो एउटै लक्ष्य थियो 'रचेला'! मैले बाटो,घुम्ती, कुइनेटो केहि सोचिन, एउटै थियो लक्ष्य रमाइलो, फराकिलो,सुन्दर 'रचेला'!
त्यसबेला सम्म न त मैले जीवन चिनेकी थिए, न त लक्ष्य बुझेकी थिए...!
त्यस साँझ हामी, ताङ्ता मेरो साथी कहाँ बस्यौँ!! भोली पल्ट, मई १, मे डे,बिहान ५ बजे हाम्रो यात्रा शुरु हुन्छ! सबैको ढाँडमा आफ्नो आफ्नो भारी छ, तर सबभन्दा हलुङ भारी चै मेरो ढाँडमा थियो! त्यसदिन त्यहाँ रचेला पुगेर,मैले 'बर्थडे' मनाउँनु पर्ने मेरो 'सिल्ली आइडिया' भएकोले मिठाईहरु पनि बोकिएको थियो !!
भुटेको मकै, अदुवा,लुदम थुप्रै के, के बोक्नुभएको थियो दाज्युहरुले!!
हामी हिँड्न थाल्यौ, उकालो........!!!धेरै जोश थियो, मज्जाले हिँड्न थाल्यौँ, बाटोको त्यो सुन्दर दृष्यहरुले थाकेको खुट्टाहरुमा ऊर्जा भर्दै थियो! निकै थाके पछि,धा बाटोमा बिसाएर खाजा खाएका थियौ, तर त्यो हामी निक्कै थाकेर बिसाएको ठाउँ, हाम्रो यात्राको एक भाग मात्र थिएछ! त्यसपछि रहल यात्रा शुरु हुन्छ! हामी लस्करै हिँड्दै थियौ, घरी कोहि अघाडि, घरी पछाडि हिँड्दै थियौ, तर अन्तिममा चै म, सफल दादा, र दादाको साथी छोडिन्दै थियौ! हातमा एउटा -एउटा लौरो...भिरालो बाटो, लखतरान खुट्टाहरु!! त्यसबेलासम्म हामीलाई अर्को चरणको भोक् लाग्न शुरु भै सकेको थियोतोदे, चिसाङ,ताङ् बाट घुम्न जानेहरु फर्किन्दै थिए ! दुइ-तीन बजिसकेको थियो, हामीदेखि अघाडि हिड्ने अरु दाज्युहरु, मेरो साथीहरु निक्कै माथि पुगी सकेका थिएछन्, सायद उनीहरु रचेला पुगी सकेका थिए त्यसबेला! उनीहरुले सोँचेछन् सफल धेरै चोटि पुगेको रचेला, बिस्तारै आइपुग्छ भनेर! तर,  हामी निक्कै पछाडि छोडिएका थिएछौँ!
हामीसँग केहि सामान थिएन, थियो एउटा ब्ल्याँकेट्, रित्तो पानीको बोतल, केहि थालहरु, एउटा हाते घडि!
अब हिँड्न निक्कै गाह्रो पर्दै थियो, तिर्खाले घाँटि सुकेको, थुक पनि आउन छोड्दै थियो,फ्नो शरीर आफैलाई बेसी लाग्दै थियो,फ्नो खुट्टा आफैलाई बोझ हुँदै थियो ! तिर्खाले हद नाग्दा, हामीले पत्करमा अडिएको पानी खोज्दा.....नभेट्दा....... हाम्रो धारामा, दिन रात, व्यर्थमा खेरो जाने पानीको मुल्य थाहा हुँदै थियो !!
रातलाई आउनलाई र दिनलाई जानलाई हतार हुँदैथियो.....। शीतका थोपाहरु टाउँकोमा खस्दा सारा शरीरलाई चिसो महसुस हुँदै थियो। निक्कै माथि मैदान उक्ले पछि हामीले बाटो हरायौँ! खुल्ला मैदान छ, तर बाटो छैन! एक अर्कालाई निकै बेर सम्म रुन्चे आँखाले हेराहेर गर्यौ...अब कता जाने? अघि जानेहरुले हिँडेका पाइलाहरुलाई, गुराँसको पातहरुले छोपीसकेको थियो !
हामी धेरै बेरसम्म यता उता गरिरह्यौँ ,बाटो छैन! थुप्रै साना- साना बाटोहरु त छन ,तर जाने कुन बाटो ?
हाम्रा पाइलाहरुलाई एक झप्को पात खस्दै छोप्दै थियो।अब शरीर एकदमै शिथिल बनिसकेको थियो ! त्यसबेला म जाडोले होइन डरले काप्न थालिसकेकी थिए! धेरै बेरको प्रयासमा पनि बाटो नभेट्दा सफलले उँभो फर्केर सबै दाज्युहरुको नाम बोलाएको थियो! तर त्यो घना जंङल भित्र त्यसको आवाज हामी पटि नै फर्केर आउँदैथियो!
साँझले हामीलाई छोप्दै थियो,! हामी एका अर्कालाई राम्ररी देख्न छोडिसकेका थियौँ! हामी लखतरान र लाचार थियौँ! भोको खाली पेटमा,न्द्राहरु सलबलाउँदा, मैले सधैँ उबारेर फ्याँक्ने गरेको भातको स्वाद , जिब्रोले थाहा गर्दै थियो । अब रात भरिमा हामीलाई भालुले खान्छ, त्यो पक्का थियो ! मेरो दिमागले हामीलाई मर्दै गरेको देख्दै थिएँ ! म थचक्क भुइमा बसेर रुन थाले । म रोएको देखेर सफलले सान्तवना दिँदै भन्यो -न रो ! म छु नि !केहि हुँदैन !
मलाई थाहा थियो, दाज्यु पनि म जस्तै लाचार छ, तर त्यसको कुरा सुन्दा मलाई बहिनी हुनमा धेरै गर्व लागेको थियो !
त्यसपछि मनमा कता कता आँट आए जस्तै !! दिमागले भयानक कुराहरु सोँच्दै डराउँदै थियो, तर, मेरो मनको भित्र '' लाई  यहाँ आएर मर्नु थिएन, लक्ष्यको यति नजिक आइपुगेर हार्नु थिएन!  आफ्नो लागी आफै विजयी बन्नु थियो, 'फिनिसिङ पोइन्ट' को त्यति नजिक आइपुगेर 'गिभअप' गर्नु थिएन मलाई । त्यसबेला, जब मृत्यु सम्भव थियो, मलाई मेरो जीवन अनमोल लाग्दैथियो!
मैले भने- हामी यहि पर्खौँ, कोहि त खोज्नु आउँछ ! हामी फर्केर ओह्रालो लाग्यौँ भने 
चैँ, हामीलाई बाटैमा भालुले खान्छ !
त्यसबेला चैँ अघाडि जाने दाज्युहरु खोज्न आइपुगेका थिए। अहिले याद गर्दा हामी निक्कै तल छोडिएका थिएछौँ। निकै बेरको हिडाई पछि हामी रचेला उक्लन्छौ, त्यहाँ पुगे पछि मैले विजयी आँशु रोएकी थिए, त्यसबेला मैले डरलाई, भोकलाई, थकानलाई जितेर आफ्नो लागि विजयी बनेकी थिए !
भोली बिहानीको पहिलो घाममा हेर्छु रचेलालाई । मैले लाचार, लखतरान भएर तय गरेको यात्रापछिको लक्ष्य साँच्चै सुन्दर,फराकिलो र मैदान थियो । जहाँ म अनि पारी पट्टीको शिखर सँगसँगै उभिएर सारा आकाशलाई चियाउन सक्थ्यौँ। त्यो भन्दा अग्लो अर्को कुनै उचाँई थिएन त्यहाँ ! रचेलादेखि आकाश त्यति टाडो लाग्थेन , यस्तै लाग्थयो ! म आफू, बादल भएको भए, दुई कदममा आकाश छुन्थे !
हामीले त्यहाँ दुई दिन रमाइलो गरेर, सम्झनाहरुलाई दिल र दिमागको एलबममा सजाउँदै, घर फर्केका थियौँ ! मैले आजसम्म पनि भुल्न नसकेको, त्यो यात्राले सिकाएको एउटा कुरा चाँहि -'मान्छेलाई उकालो चढ्न चाँहि, समय चाँहिन्छ, पसिना चाँहिन्छ, भोक मेटाउने चाँहिन्छ, आँट चाँहिन्छ, ऊर्जा चाँहिन्छ तर ओह्रालो झर्न चाँहि 'पलभर'!
त्यति लाचार भएर उक्लेको रचेला, धा दिनमै घर आइपुगेका थियौ । ओह्रालो झर्न त्यति सहज र छिट्टो हुँदो रहेछ मान्छेलाई !!
अहिले घडि ! जिन्दगीको गाडीले सकिनसकि, एकदुई वटा कुइनेटोहरु काट्दै गर्दा, रफ बाटोमा पैया जोतिन्दा, त्यो पैयाको छापहरुलाई धुलोले छोप्न खोज्दा, कहिले त जिन्दगी थाकेर लाचार, लखतरान भएर हरेश खाँदा त्यसबेला आमाले भन्नुभएको कुरा सम्झने गरेको छु -"नानी! रचेला, पुग्नु त सहज छैन है, बाटो घुमौरो छ, धेरै कुइनेटोहरु काट्नु पर्छ ।तैँले सोँचेको जस्तो सजि......लो छैन है ।(उबेला आमाले निक्कै ठुलो कुरा भन्नु भएको थिएछ)

अहिले थाहा हुँदैछ, मेरो जीवनले पुग्नु पर्ने रचेला! अझै धेरै उकालो,ह्रालो, घुमाउँरो, कुइनेटोहरु काट्नु बाँकी नै छ । यो सब सम्झिन्दा, उदास बन्छु तर त्यसबेला झैँ यो यात्रामा पनि हार्नु चाँहि छैन मलाई, 'गिभअप' चैँ गर्नु छैन मलाई !!!
जिन्दगीको कुनै एउटा दिन.......जिन्दगीले तय गर्दै गरेको यात्रालाई,  त्यो दिन जस्तै 'फिनिसिङ पोइन्ट'मा पुर्याउने सपना छ ! जसरी! त्यो बेला, रचेला उक्लने जिद थियो !


'कथा यसरी सकियो'       
                                                                                   स्मिता सोताङ् राई

मेरो घर....मेरो घर, मूल सडकदेखि भेट्ने प्रत्येक गोरेटोबाट पुग्न सकिन्छ! मेरो घर पुग्नलाई,गाउँको सारा घर काट्नुपर्छ !!
विडम्बना चाँहि म अनि भाई हुर्किएर शहर पस्ने समय ईसक्दा पनि, मेरो घरसम्म पुग्ने राम्रो 'बाटो' जन्मिएन !! खुशीको कुरा,यस्तै ठाउँमा पनि हरेक बिहानी गाउँको कोहि न कोहि, सानो बाटोमा चेप्टिन्दै भएपनि पापासँग गफ गर्न इपुग्छन्! मेरो घर त्यहाँ छ, काशबाट खसेको थोरै पानीले त मेरो घरको छाना धरि भिजाउँदैन....रुखको पातहरुले नै प्राय छानाको काम गर्नेगर्छ !!!

मेरो सानो घर...त्यस्तै सानो परिवार! पापा,मा,म,भाई !! अनि हामी चार जनाले गर्व गर्न सक्ने कुरा भनेको चै हाम्रो 'एकता' 'साथ' र 'गफ'!!
हामी एक अर्कासँग गफ नगरी,एक अर्कासँग बातहरु सेयर नगरी बाँच्नै नसक्ने! जिन्दगीलाई बाँच्न भन्दा पनि जिन्दगीलाई 'मनाउन' रुचाउने प्राणी हामी !!
दिनभरि जतासुकै भएपनि,रातको खाना चाँहि जे जस्तो पाकेको छ,चारजना साथमा बसेर खानै पर्ने माको कडा नियम लागु छ घरमा !!
रातको खाना पछिको गफमा जहिले म मालाई सोध्ने गर्छु - मा, म कहाँ जन्मेको ??
मा भन्नुहुन्छ - परेङ हस्पिटलमा ! उन्नाइसौ पन्च्यानब्बेमा .... सोमबार जन्मेको तँ, 'मे डे' को दिन थियो .....पारी भुटानमा, सडक बनिन्दै गरेको....त्यहाँ ठूलो ठूलो वाज उँदा पनि तर्सिन्थिस् तँ !
सोध्छु म- म तेस्तो चंखो ??

मा फेरि बोल्नुहुन्छ - तेरो स्वर ठूलो थियो ! बाहिर बसिरहेको पापालाई 'सिस्टर'ले सुनाईदिएछ, एउटा सोताङ बड्यो है भनेर ......तेरो पापा तँलाई उचालेर, कत्ति खुशी भएको ....... मेरो छोरा ! अब मेरो साथी हुने भयो भन्दै .....
तर! तँ हाम्रो ठूली 'छोरी' थिइस् !!. . ....... यति भनि सक्दा, यो कथामा जहिले क्रमश: लाग्छ ! जहिले यतिमै टुङ्गिन्छ !!!

कहिले,कहिले त म निरास हुने गर्छु !! फैलाई प्रश्न गर्छु.... के यो कथामा कहिले पूर्णविराम लाग्दैन ???

यसरी नै दिन बित्दै गयो ...कथा यतिमै टुङ्गिन्दैथियो !!!

एकदिनको कुरो! म पनि स्कुलबाट एको, भाई पनि स्कूलबाटै एको !! फरक यति थियो, भाई किताबको भारी बोकेर, म जिम्मेवारीको झोला बोकेर थाकेको!! हामी सँगै घर पुग्छौ,लखतरान .....
पापा बाहिर बेन्चमा बसेर खबरकागज पढिरहनु भएको रहेछ! हामी त्यहि गएर बस्छौ! पापाले हामी पट्टि फर्केर भन्नुहुन्छ - मेरो तीन छोरा,छोरी पनि इपुगेछ !!
त्यसबेला भाईले मलाई, मैले भाईलाई पुलुक्क हेरे !!!
अनि सोधे-तीन छोरा,छोरी ??
पापाले मेरो हात पक्रेर एकै सासमा भन्नुभयो - पहिला,तँ हाम्रो जीवनलाई,घरलाई सुन्दर बनाउँने 'छोरी' त्यसपछि हाम्रो जिम्मेवारी बोक्ने 'छोरा'! अनि यो चाँहि हाम्रो कान्छा छोरा भनेर भाईलाई धाप मार्दै हाँस्नुभयो !!!
वाह! त्यसदिन जति खुशी सायदै म जीवनमा कहिले हुनेछैन !! मेरो खुशी कतिबेला गालाको बाटो भएर हातमा खसेछ पत्त्तो भएन !!
हो त्यसदिन देखें - म जन्मेको सोमबार, मलाई उचाल्दाको मेरो पापाको खुशी !! यहि खुशी हाँसेको थिएछ, मेरो पापाले त्यसदिन पनि .....
यस्तै ह्यान्सम देखेको थिएछ, मेरो पापालाई त्यसदिन पनि......!!!
मैले सन्तोषको ला....मो सास फेरें .....!!!
हो ,त्यसदिन चैँ कथामा साँच्चिकै पूर्णविराम लाग्यो .....!!!
त्यसदिन, कथा यसरी सकियो !!

#डियर पापा मा
सायद,यो शब्दहरुमा सजाउन बाहेक,म तपाईहरुको निम्ति केहि गर्न सक्दिन होला भन्ने सोँचले कहिले,कहिले निरास पनि हुने गर्छु !!
तर,यस लेख पढिसकेपछि,सुनी सकेपछिको,तपाईहरुको त्यो उज्यालो अनुहार देख्छु नि, त्यहि चमकले 'लेख्न' सिकाउँछ मलाई !! मलाई गर्व छ, तपाईहरुको छोरी भएर जन्मनुमा !!
#छोरी 
#स्मिता_सोताङ_राई  -- 15 Dec 2018
..................


"हाम्रो ब्रेभ सानु भाउजू"      
                                                       स्मिता सोताङ् राई
स्वतन्त्र दिवश मनाएर फर्कीएकी म ...सानु भाउजूको घरमा पसेर चिया पिउनु मन लागेको मलाई.. ..
सानु भाउजू,... स्वास्नी,बुहारी,आमा,काकी,भाउजू यहि नामहरुको बीचमा उसले आफ्नो त्यति प्यारो नाम "सानु" भुलिसकेकी छिन् ! तर, म चै भाउजूलाई सानु भाउजू नै भनेर सम्बोधन गर्छु .... भाउजू मोट्टी, डल्ली, पुड्की, चिम्सी परेकी छिन् ... तर मलाई चै भाउजू यति राम्री लाग्छ, यति राम्री.... महङ्गो मेकअप भित्रको फोस्रो अनुहारहरु भन्दा...भाउजूको पसिना भित्रको चहकिलो मुस्कान ...धेरै राम्री लाग्छ मलाई .... म सधै भन्ने गर्छु भाउजूलाई !!तपाई त कति राम्री हौ भाउजू . . . तर भाउजूलाई मेरो प्रंशसा कहिले पच्दैन. .!!! उनी भन्छिन् -आच्ची म के को राम्री हौ बहिनी ??? मेरो न केहि मिलेको ..... भन्दै हाँस्छिन् भाउजू ....
हाम्रो सानु भाउजूले पनि आँखालाई आकर्षण गर्ने श्रृगारलाई नै राम्री भन्दो रहिछिन्!!!
तर उसको चिम्सी आँखाको उद्दार दृष्टी.. .,डल्ली मान्छे भान्सा कोठा देखि,बाहिर खेतको आली, गह्रा, घुरेन हुँदै राशिनको लाइनसम्म उभिएर .. काँधमा परिवारको भोक र स्वाद बोकेर........ यस्तो व्यस्तता भित्र हाँस्नु सक्ने हाम्रो सानु भाउजू साँच्चीकै राम्री लाग्छ मलाई ....
मलाई भन्नु मन लागेको - भाउजू, सुन्दरता भनेको चै रातकी रानी जस्तै हो .... भरर फुल्छ ... झर्छ !! तर राम्री चै तपाई जस्तोलाई भन्छ भाउजू !! आफ्नो नाम,जात हराएर ...इच्छा,चहानालाई दिनदिनै दबाएर .... भोक र तिर्खालाई "माइती घरको" सम्झनासँगै अघाएर . ..आफ्नो प्रतिभा र क्षमतालाई भान्छा कोठाको भाँडा कुँडामा थुन्दा समेत निस्सासिनुको सट्टा हाँस्नु भनेको चै नि .... काँडाको बीचमा गुलाफ फुल्नु जस्तै हो ......!!! राम्री....यति राम्री .... भाउजूको यो राम्रीपनले मेरो आँखालाई होइन, मेरो ह्रदयलाई मख्ख पारेको छ !!!
म भाउजूको पसिनै सरिको हातले तयार पारेको मि....ठो चियाको चुस्की लिई सकेर बिदा मागेर बाहिर निस्कन्छु....मैले पिएको चियाको गिलास धुँदा भाउजूको हातमा बजेको चुराको छिर्लिङ ....छिर्लिङ ..... धुन यति मर्मस्पर्षी !! जसरी "राष्ट्रिय गाण" गाउँदा, सुन्दा मेरो आँखा रसाउँछ, त्यसरी नै यो चुराको धुनले मेरो आँखालाई रसायो !!!
म बाँटोमा सोच्दै हिँड्छु - सानु भाउजू दिनँहु इच्छाहरुलाई भारको दाउँरा सँगै जलाउँछिन्, रहरहरुलाई जूठो भातको शितासँगै बगाई पठाउँछिन् ....
हरेक दिन देशको प्रत्येक भान्सा कोठामा सानु भाउजूको जस्तै सपनाहरु जल्दै होला, रहर, लक्ष्य, प्रतिभाहरु बन्दि भईरहेको होला ..... अचानक, मलाई एउटा प्रश्नले सताउँछ - के देश साँच्ची कै स्वतन्त्र नै हो त !!!??
जे नै होस, तर सानु भाउजू मेरो लागी 'फाइटर' हो 'फाइटर' .....!! "ब्रेभ फाइटर" !!!
....यस्तै सोचमा म कति छिट्टो आधा बाटो काटेछु .. ...!! मेरो घरको तल्लो पटि बज्युकोमा आजै मात्र एउटा सुगालाई पिंजरामा हालेको रहेछ !! म त्यसको छेउमा गएर हेर्छु ..... सायद परिवार, आफ्नो मान्छे कहाँ जानलाई होला ... त्यो घरि घरि पिंजराबाट बाहिर निस्कनलाई बल गर्छ, छट्पटिन्छ तर सक्दैन .....!! अन्त्यमा हतास भएर बाहिर टुलुटुलु हेरीरहन्छ . ..!!! तर मलाई थाहा छ, एकदिन यसलाई पनि सानु भाउजूलाई भान्सा कोठाको आदत बसे जस्तै,यसलाई पिंजराको आदत पक्कै बस्छ !!!
.....त्यो सुगालाई देखेर मैले भर्खरै भेटेर आएकी सानु भाउजूलाई सम्झन्छु .. भाउजू र यो सुगाको जीवन एउटै हो .... यो सुगा पिंजरामा बन्द छ ! सानु भाउजू भान्सा कोठा भित्र......!!!
सुगाको पखेटा त छ ,तर पिंजरामा बन्दि.......!! सानु भाउजू खुल्लामा छिन् ,तर उड्नलाई पखेटा खै त ???
#Dear Beautiful Wives/Mothers/Daughter-in-laws,
Kindly, Do not confine yourself within the rules and regulations that Society has Built up!! Break the barriers!! Come Out for Yourself.... Live for Yourself once!!! You Deserve Lot more!!!!!
You are a Fighter,..... Yes, You are Brave!!! Fighter..... !!Please, Don't die with Dreams..... This time, fight for your liberty....
Much Love/Respect
#Woman 18 Aug 2018

..................
"दोकाने दिदीलाई परदेशीसँग माया बसेछ ...
                                                       स्मिता सोताङ् राई
दिदीको इच्छा भन्नु कि वाध्यता ...बाटोको छेउमा एउटा दोकान खोलेर बसेकी छिन् !!
रक्सी भट्टीको दिदी भनेपछि सबले चिन्छ !यसरी चिनिनु दिदीको भाग्य हो वा दुर्भाय, तर नाम चै पाएकी छिन् !!! दिदीको फ्नो भन्नु कोहि छैन, ...तर दिदी बिचरी चै होइन ....दिदी सुन्तलाको बोटमा झुण्डिएर फुल्ने सुनाखरी चै होइन,..करेसोमा फुल्ने जीरेनियम पनि होइन दिदी .... भिरमा फुल्ने गुरास जस्तै हुन् दिदी !!!
पोहोर परारसम्म दिदी भोक भोकै काम खोज्थिन्, भाँडा माँझ्ने काम, फूलबारी गोड्ने काम ....तर अँह! दिदीले निलेको भोकको नुनिलो स्वादको थुकको घुटको कसैले देखेन ...तर, आज दिदीले रक्सी भट्टी चलाउँछिन् ... सबको मुखमा दिदीको नाम ... भट्टीको साहुनीले, फलानाको बुडा,फलानाको छोरा बिगार्यो भनेर सुनिन्छ .....!!! यस्तो सुन्दा मलाई चै दिदीले निकै नाम कमाएछ जस्तो लाग्छ !! किनकी, हाम्रो समाजमा गरिब, दु:खी अथवा साधारण मान्छेको धेरै चर्चा हुन्छ जस्तो लाग्दैन ......
दुई छाक खान र एउटा लुङ्गि ड्न दिदीकोमा अरु कुनै उपाय थिएन, रक्सी दोकान नखोली दिदीलाई धर भएन!! ...दिदीलाई भोकै मोर्नु डर थिएन ...तर,एकदिन, गरिबीले लुङ्गि फाटिएर दिदी अर्धनङ्न हुँदा समाजले समाजलाई बदनाम गरिस् भनेर समाजदेखि नै बहिष्कार गरिदेलान् भन्ने डर थियो दिदीलाई !!! यसैले, रक्सीवालनी बनिनु बाँध्य छिन् दिदी !!
दिदीको रक्सी भट्टी त छ तर "ऊ" कसैलाई आइदेऊ,खाइदेऊ भन्दिनन् तर, सबका सब पृथ्वीको 
गुरुत्वाकर्षण शक्तिले तानिए झै ,तेतै तानिन्छन् !! आखिर, भूल कसको ?? दोष कसलाई ??
दिदीले भुटेको सुङुरको कलेजो र रक्सी जिब्रो पड्काइ,पड्काइ खान्छन् समाज !! अनि भोली बिहानै धङधङतिमा मुख धुँदै पल्लो घरको छिमेकीसँग कुरा गर्छ .... भट्टीकी साहुनीले गाउँको सबै ठिटाहरु बिगारि सकिन् भनेर !!! तर! उसको मुखमा चै भट्टिवालनिकोमा खाएको हिजको कलेजो लै गन्हाउँछ ....ठ्वास्स !!!!
तर दिदी,यति दह्रो छिन् ... यस्तो तिरस्कारहरुलाई पुरानो हिन्दी गीत जानि, नजानि गाएरै पचाउँछिन् ..."कुछ तो लोग कहेंगे, कहना तो लोगोका काम हि है ....!!
एकदिन दिदी आइतबार पारेर म कहाँ आइन् अनि मलाई भनिन् - बहिनी! यो फेसबुक भन्ने के मा छुट्टिएको, धेरै दिनसम्म भेट नभाको मान्छे खोज्दा भेट्छ हरे नि! त्यसमा मैले माया गरेको मान्छे खोजिदिनुनि .....
दिदीको कुरा सुनेर म छक्कै परे ,अनि भने- तपाईले माया गर्नु भएको मान्छेको नाम भन्नुस त ......!
दिदीले मलाई पुलुक्कै हेरेर भनिन् - बहिनी, मलाई नाम थाहा छैन ...
मैले भने- लौ,अनि तपाईलाई नाम, ठेगाना केहि थाहा छैन, त्यस्तो मान्छेसँग तपाईलाई कसरी भयो माया????
आँखाबाट निस्किन्दै गरेको पानीलाई मजेत्रोले पुछ्दै बोलिन् दिदी- पहिलो दिन आयो, रक्सी पिएर गयो!! दोस्रो दिन आयो, मलाई हेरेर हाँसेर गयो!!
तेस्रो दिन आयो !... पानी परि रहेको....अँध्यारो थियो ....पर,पर कुकुरहरु भुकिरहेको थियो .... त्यहि रात मलाई माया भयो, बहिनी !!! मैले नाम,जात,थर केहि सोधिन बहिनी ....!!
सम्झनाको नाममा उसले रक्सी खाएर छोडेको जूठो 'गिलास' र उसले पसिना पुछेको यै मजेत्रो मात्र हो बहिनी! ...जाने बेलामा फेरि आउँछु भनेर गएको ...यत्रो साल बितेर गयो ...तर "ऊ" आएन बहिनी !! भनेर निराश अनुहार लिएर दिदी उठेर गइन् !!
कस्तो आलोचना,तिरस्कारहरुको बीचमा दिदी काँडे फूल जस्तै भएर उभिएकी थिइन् ....आज त्यो परदेशीको मायाले दिदीलाई सुनाखरी नै बनाँएछ !!!!
दिदी पर पुगिसकेकी थिइन् .... मलाई त्यसबेला अचानक विलियम ब्लेकद्वारा रचित "द सिक रो" (The sick Rose) भन्ने कविताको सम्झना आउँछ ...... म आफैसँग बोलि पठाउँछु....
के दिदी त्यहि कवितामा वर्णन गरिएको गुलाफ जस्तै शोषित नै भएकी हुन् त ??
.................

'मैले माया गरेको कान्छी'   
                                                     स्मिता सोताङ् राई
ठूलो दाजू भन्नुहुन्छ - बहिनीकान्छीलाई पढाएर के गरनु ? त्यो कमजोर छ, त्यसले पढनु पनि त कहाँ सक्ला र ?? हामी त फेरी गरिब मान्छे .............!!!!
यो कुरा सुनेपछि,मलाई ठूले दाजूको गालामा एक थपड् लगाएर 'सरी' भन्नु मन लागेको थियो !
मैले पनि भनिदिए - कान्छी पढाएर समाज निर्माण गर्नु हो दाजू ! तपाई कान्छीलाई बाबुको आँखाले होइन, छिमेकी र समाजको नजरले हेर्नु हुन्छ र त कमजोर देख्नु हुन्छ ! होइन दाजू, 'छोरी' हुने बाबु तेसै धनी हुन्छ,गरिब त तपाईको सोँच हो !.......
खै मेरो चै के नाता छ र त्यो कान्छीसँग ? म त्यसको फाँटेको जामाको तुन्दामा आकाश छुन सकने 'उडाँन' देख्छु ! हडिले छोपि सकेको आँखामा सपनाहरु अँट्टाइ न अँट्टाइ पोखिन लागेको देख्छु ! नशाले बेह्रिएको त्यसको हात, पाउमा समाजलाई माथि उचाल्ने तागत म त्यसमा देख्छु !!
के कान्छी साँच्चै नै कमजोर छे ???
.................................................................

मेरो साथीको फोनकल र उसको कुरा
                                          स्मिता सोताङ् राई
'गधालाई भारी कम' भने जस्तै एक हफता D.El.Ed को भारी बोकदा बोकदा,आज चैँ बिसाएको '' !!
साथीको फोनकल भन्दा मलाई उसको कुरासँग डर लाग्छ !! किनकि उसको कुरामा यथार्थ लुकेको हुन्छ !! अनि म चै आजकल यस्तो भएको छु,मलाई यथार्थको तितो सत्य पटक्कै मनपदैन , सायद! सपनाको मिठो झूठमा अल्झिएर होला ......!
मेरो 'हल्लो' सङै साथीको प्रश्न आउँछ - कस्तो छौ साथी ???
म भन्छु- उस्तै छु, हिज, अस्ति, पोहोर जस्तै ....
उताबाट उसको जवाब आउँछ - धन्न, आउने भोली पनि त्यस्तै हुन्छु भनेनौ (हामी दुवै हाँस्छौ)
अनि साथीको कुरा शुरु हुन्छ - साथी, हरेश लाग्छ जिन्दगी ! उसले लामो सास लिन्छ, म पनि हतार हतार चियाको चुस्की लिन्छु !!
साथी फेरि बोल्नु थाल्छ - नोकरी पर्खेर बसेकोले भुडि लादिएको छ ! अफिसको दैलो ढकढकाएकोले हातभरि ठेला उठेको छ !!
साथी कैले कैले त यो 'डकुमेन्ट्स'हरुलाई पनि धागोमा उनेर 'झण्डा' बनाईदिँउ जस्तै लाग्छ ! कमसेकम रमाइ रमाइ हावामा उड्न त पाउने थियो ! फाइलभित्र खुम्चेर बसेकोले बिचराहरु 'सफोकेशन' भइसकेको छ !!
मैले हाँसेर प्रश्न सोधेँ - झण्डा चैँ के को ? राष्ट्रिय? कि वर्ल्ड् कपको ???
उत्तर साथीको- हैट् साथी ! हाम्रोतिर चलेको लेटेस्ट् चलन हौ ! घरि एउटा घरि अरको पक्रिन्दा पनि हुने झण्डा हौ !
भनेर हाँस्दा,हाँस्दै साथीको कुरा चैँ होइन, फोनमा पैसा सकिएर कल काटियो 'टुँट ....टुँट...टुँट !!!
साथीको कुरा सुनेपछि एक हफ्तामा जति थाकेको थिए, त्यो भन्दा बेसी थाकेको महशुस गरे !!
अनि भरखरै मात्र D. El. Ed Workshop को लागि भनेर एक झोला माटो र ढुङा बोकेर गाँडि पर्खेर उभेको '' मेरै आँखा अगाडि आएर उभियो !!! थाकेको, गलेको ..... ( मेरो साथी अफिसको दैलो अगाडि उभे झैँ )
साथीको त्यति लामो कुरा सुनिसके पछि यति चैँ मैले बुझेँ - साथीले नोकरी पाँउनु, मेरो सानी बिरालोको सिङ पलाउनु उस्तै,उस्तै लाग्यो मलाई ! अनि मेरो सपनाले उडान भर्नु ..... !!! उस्तै,उस्तै हो !!!
साथीको कुराले हो वा त अघि पिएको चियाले अघाएर हो, अहिले पो डकार आयो ...... 'ति .....तो' !!!!!!....\
20 June 18
...............................................................



मेरो दैनिक यात्रा
                                 स्मिता सोताङ् राई
मेरो दैनिक यात्रा, घरदेखि काम सम्मको, दाहिने हातमा एउटा हाते झोला र छाता,, देब्रेपट्टि चैँ काम नै लाग्ने हो वा काम लाग्छ कि भनेर मैले बोकि हिँडेको खाता किताबहरु !!
त्यो भन्दा पनि गर्हौँ भारी चैँ,मेरो दिमागले बोकेको खै के के हो हो ,लहराहरु झैँ अल्झिएको !!
सँधै झैँ, त्यो बाटोको छेउमा घर पर्ने भाउजू जूठो भाँडाहरु माझ्दै रहिछिन् !!
त्यो दिन चैँ भाउजू पनि भाँडा माझेकोले हो वा दिमागमा मेरै जस्तो के के को लहराहरु अल्झिएर हो ..... मलाई हेरेर मुसुक्क हाँसेर बोलिन् -- बहिनीहरुलाई त के आराम हौ !!! बिहान गयो, बेलुकी आयो !!
उत्तरमा म पनि मुसुक्क नै हाँसेर - "आ--रा--म" नै छ भने !!!
तर मलाई थुप्रै के के सुनाउनु मन परेको थियो, समयको अभावले मन मनै बोल्दै आफ्नो बाटो लागेँ ---"भाउजू! पुतलीलाई हेरेर, तपाई भन्नु सक्नु हुन्छ ??? त्यो झुसुले किरा थियो भनेर ????
सोध्न चैँ भाउजूलाई खोजेको !! प्रश्न चैँ आफूसँगै सिमित रहयो !!!!..
10 June 2018

0 Response to "स्मिता सोताङ् राईका कथाहरु"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.