-->
कालेबुङबाट बनिने भयो ठूलो पर्दाको नेपाली चलचित्र ...... ‘आप्पा’-को कथा सुनेपछि यो फिल्म गुमाउन चाहिन – दयाहाङ राई

कालेबुङबाट बनिने भयो ठूलो पर्दाको नेपाली चलचित्र ...... ‘आप्पा’-को कथा सुनेपछि यो फिल्म गुमाउन चाहिन – दयाहाङ राई

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 23 अप्रेल। माउन्टेन पिक्चर्स्-को ब्यानारमा निर्माण हुने फिल्म ‘आपा’ को निम्ति दयाहाङ राई कालेबुङ आइपुगेका छन्। उनीसँगै कलाकार अरुणा कार्की पनि कालेबुङ आइपुगेकी छन्। युवा निर्देशक अन्मोल गुरुङको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘आप्पा’को सुटिङ कार्य आगमी 25 अप्रेलका दिनदेखि सुरु हुने भएको छ। यसबारे आज निर्देशक अन्मोल गुरुङ, अभिनेता  दयाहाङ राई, अरुणा कार्की, तुलसी घिमिरेले एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्।
सिनेमा क्याफेमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निर्देशक अन्मोल गुरुङले फिल्मबारे जानकारी दिएका छन्। ‘हामीले एउटा फिल्म निर्माण गर्ने तयारी गरिरहेका थियौँ अनि त्यो फिल्म अब बनिन लागेको छ। हाम्रो फिल्मको नाउँ हो ‘आप्पा’। आज पत्रकार सम्मेलन गरेर हामी आधिकारिक ‘आप्पा’ फिल्म निर्माण हुन लागेको घोषणा गर्दछौँ। जसको सुटिङ 25 अप्रेलका दिनदेखि आरम्भ हुनेछ’ युवा फिल्म निर्देशक अन्मोल गुरुङले भने। उनले फिल्मको सुटिङ 25 अप्रेलका दिन विश्वप्रसिद्ध घुम रेल्वे स्टेशनबाट सुरु हुने पनि जानकारी दिएका छन्। अन्मोल गुरुङले भने -‘आप्पा फिल्म एकजना बाबु छोरामाझको कथामा आधारित हुनेछ’  उनले अझ भने –‘हामीले फिल्ममा नेपाली फिल्मलाई नयाँ आयम दिने चर्चित कलाकार दयाहाङ राईलाई पाएका छौँ।’ यसक्रममा उनले चलचित्रमा नेपालकी अर्का कलाकार अरुणा कार्कीको पनि महत्वपूर्ण भूमिका रहेको जानकारी दिएका छन्। 
‘हामीसँग फिल्ममा निर्माता निर्देशक तुलसी घिमिरेली पनि अभिनय गरिरहेका छन्’ निर्देशक अन्मोल गुरुङले भने। उनले फिल्मको सुटिङ दुई महिनासम्म चल्ने जानकारी दिँदै दार्जीलिङका रमणीय पर्यटक स्थल सन्दकफु आदि स्थानहरू सँगै कालेबुङमा विभिन्न ठाउँहरूमा हुने पनि जानकारी दिएका छन्।
‘फिल्मको सुटिङ दुई महिना चल्नेछ। त्यसपछि हामी  सम्पादन, सङ्गीत संयोजन आदि कार्यहरूमा ध्यान दिनेछौँ। हामी यस फिल्मलाई आगमी वर्षको ‘फादर्स-डे’ को दिन रिलिज गर्ने तयारी गरिरहेका छौँ’ अन्मोल गुरुङले भने।
भारतको विशेष गरेर कालेबुङबाट पहिलोचोटी गतिलो लागतमा निर्माण हुन लागेको फिल्ममा ‘आप्पा’ बन्नका निम्ति आइपुगेका दयाहाङ राईले फिल्मलाई लिएर धेरै उत्सुक बनेको बताए। ‘विशेष मलाई यो फिल्मको कथाले तानेको हो। निर्देशक अन्मोल गुरुङले कथा सुनाएपछि मैले यो फिल्न छोड्नु हुँदैन भन्ने लागेको हो। कथा सुनेपछि मैले यो फिल्म गुमाउन चाहिँन’ दयाहाङ राईले भने। उनले भारतबाट निर्माण हुन लागेको फिल्ममा पहिलोचोटी काम गरेको भन्दै आफैलाई भाग्यशाली समेत ठानेको बताएका। ‘फिल्ममा तुलसी घिमिरेज्युसँग मैले दोस्रोचोटी सँगै काम गर्ने मौका पाएको छु। उनले फिल्मको सुटिङ सुरु भएपछि फिल्मको कथाले मागेको अभिनयलाई कतिसम्म निभाउन सक्छु भन्ने चिन्ता लागेको पनि बताएका छन्। ‘फिल्मको कथा युनिभर्सल छ। संसारभरी छरिएका मानिसहरूको मनलाई छुने कथा नै फिल्ममा छ’ दयाहाङ राईले कथाबारे बोल्दै भने। उनले विश्वभरी छरिएका नेपाली भाषीहरूमाझ नेपाली फिल्म पुर्‍याउन गाह्रो परिरहेको अवस्थामा यता भने फिल्म नै बनिनु ठूलो उपलब्धि हो भन्दै यसले नेपाली फिल्मको इतिहासमा एउटा इतिहास निर्माण गर्नसक्ने आशा समेत व्यक्त गरे।
अकोतर्फ ‘आप्पा’ चलचित्रको निम्ति काठमाडौँमा उनले एउटा चलचित्र समेत त्यागेको हल्लाबारे प्रश्न गर्दा दयाहाङ राईले ‘एउटा फिल्ममा काम गर्दै थिएँ। त्यसको सुटिङ पछि सरेको छ। यता मलाई आप्पाको कथा लोभलागेको अवस्थामा त्यस फिल्मको सुटिङ पछि सर्दा काम गर्न सहज बनेको हो’ भने। उनले आप्पा फिल्मलाई लिएर धेरौ उत्साहित रहेको पनि बताए। ‘जुन क्यारक्टर अथवा जुन कथाहरू मैले आफ्नो जीवनमा खोजिरहेको हुन्छु त्यो ठिक्क मिल्ने ‘आप्पा’ भित्र रहेको छ। त्यसैकारण यो फिल्म गुमाउन नचाहेको हो अनि यसलाई लिएर धेरै उत्साहित छु’ दयाहाङ राईले आफ्नो उत्साह प्रकट गर्दै भने। उनले आप्पा चलचित्रको कथाले छोएपछि अब त्यस कथालाई आफ्नो चरित्रमार्फत् प्राण भर्न गतिलो जोखिम हुने पनि बताएका छन्।
यता दयाहाङसँगै आप्पा फिल्ममा काम गर्न कठमाडौँबाट कालेबुङ आइपुगेकी अभिनेत्री अरुणा कार्कीले फिल्मलाई लिएर धेरै चुनौती आफुसँग रहेको बताइन्। ‘फिल्ममा जुन भूमीका छ त्यो भूमीकालाई निभाउन मलाई जुन विश्वास गरेका छन् अब त्यो विश्वास पुरा गर्नलाई मसँग धेरै चुनौति छ’ उनले भनिन्। ‘आप्पा चलचित्र निर्माणपछि आजका पुस्ताहरूले आफ्ना आप्पाहरूलाई हेर्ने दृष्टिकोण बद्लिनेछ भन्ने लाग्छ। आप्पाको कथा पढेपछि मलाई मेरो आफ्नो घरको वातावरण समेत ताजा भयो। यो फिल्मले आफ्ना बाबुहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनेछ’ अरुणा कार्कीले भनिन्।
अर्कोतर्फ आप्पा फिल्ममा दयाहाङ राईसँगै देखिन लागेका निर्माता निर्देशक समेत रहेका तुलसी घिमिरेले दयाहाङ राईहरूले नेपाली फिल्ममा नयाँ ट्रेन्ड ल्याएको भन्दै आफुलाई आप्पा फिल्ममा अभियन गर्नु निकै चुनौतिपूर्ण रहेको बताएका छन्।  

0 Response to "कालेबुङबाट बनिने भयो ठूलो पर्दाको नेपाली चलचित्र ...... ‘आप्पा’-को कथा सुनेपछि यो फिल्म गुमाउन चाहिन – दयाहाङ राई"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.