-->
‘आप्पा’ हुने भए दयाहाङ राई

‘आप्पा’ हुने भए दयाहाङ राई

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, कालेबुङ 18 अप्रेल। दयाहाङ राई ‘आप्पा’ हुने भएका छन्। उनी ‘आप्पा’ बन्नका निम्ति चाँडै काठमाडौबाट भारत प्रस्थान हुनेछन्। काठमाडौँको मण्डला नाटकघरमा राईको ‘क्लब सेभन’ नाटक मञ्चन भइरहेको अनि सिनेमा हलहरूमा ‘नेप्टे’ चलिरहेको समयमा उनी ‘आप्पा’ हुने खबर अघि आएको छ।  यसपल्ट उनी नेपाल होइन तर, भारत आएर ‘आप्पा’ बन्ने भएका हुन्।

‘कन्टेन्टमा विश्वास गर्छु’ भन्ने दयाहाङ राईले ‘बेनुका राई’ सँग बिहेगरेपछि उनीहरूका एक छोरा छन्। अर्थात् दयाहाङ राई अघिबाटै एक छोराका ‘आप्पा’ बनिसकेका छन्। तर, यसपल्ट उनी ‘माउन्टेन पिक्चर्स’-को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा ‘आप्पा’ बन्न लागेका हुन्।

युवा फिल्म निर्देशक ‘अन्मोल गुरुङ’द्वारा निर्देशित फिल्म ‘आप्पा’ मूलत: भारतको कालेबुङबाट निर्माण भइरहेको छ। उक्त फिल्म ‘माउन्टेन पिक्चर्स्’ को ब्यानरमा पहिलोचोटी ठूलो पर्दाको चलचित्र हुनेछ। गतिलो लगानी भएको उक्त चलचित्रको ‘कन्टेन्ट’-ले दयाहाङ राई आकर्षित भएपछि फिल्ममा काम गर्ने सहमती भएको हो। ‘आप्पा’-को सुटिङ आगामी 25 अप्रेलदेखि सुरु हुने तय भएको छ। जसको निम्ति दयाहाङ राई चाँडै भारत प्रस्थान हुनेछन्।

दार्जीलिङ, कालेबुङ लगायतका रमणीय पर्यटन केन्द्रहरूमा सुटिङ हुन लागेको उक्त फिल्ममा काम गर्नलाई दयाहाङ राईले काठमाडौँको एउटा चलचित्र समेत छोडेको हल्ला छ। अघिबाटै काठमाडौँबाट बनिने फिल्मका निम्ति सहमती भइसकेको दयाहाङ राईले ‘आप्पा’ को कन्टेन्ट मन पराएपछि त्यस फिल्म छोडेको चर्चा छ।

‘माउन्टेन पिक्चर्स्-को ब्यानरमा पहिलोपल्ट ठूलो लगानीमा बनिने ठूलो पर्दाको चलचित्र हो ‘आप्पा’। यसका साथै ‘आप्पा’ दयाहाङ राईका निम्ति भारतीय मूलबाट बनिन लागेको पहिलो फिल्म पनि हो जुन फिल्मको ढोकाबाट ‘दयाहाङ राई’ भारतीय नेपाली फिल्ममा छिर्नेछन्।

‘मेरा निम्ति एउटा ड्रिम प्रोजेक्ट हो ‘आप्पा’। यस फिल्मलाई लिएर धेरै उत्साहित छु। फिल्मको सुटिङ आगामी 25 अप्रेलका दिनदेखि आरम्भ हुनेछ’ युवा निर्देशक अन्मोल गुरुङले भने। उनले सुटिङका निम्ति सम्पूर्ण लोकेसन तय भइसकेको पनि जानकारी दिएका छन्। 
‘दयाहाङ राईसित पहिलोचोटी काम गर्दैछौँ। आशा छ हाम्रो कामलाई नेपाली फिल्मका दर्शकहरूले रूचाउनेछन्’ निर्देशक गुरुङ अझ भन्छन्। उनले ‘आप्पा’को कथा विश्वभरी रहेका नेपाली पाठकहरूले मन पराउने आशा पनि व्यक्त गरेका छन्। ‘नेपाली फिल्म भनेको नेपाली दर्शकहरूका निम्ति हो। हामी विश्वभरी छरिएका नेपाली दर्शकहरूलाई छुन सक्ने कथा लिएर ‘आप्पा’ बनाइरहेका छौँ’ गुरुङले भने। यसक्रममा कला र कलाकारलाई कुनै पनि सिमाले छेक्न नसक्ने भन्दै दयाहाङ राईको कलाकारिताको प्रशंसा पनि निर्देशक गुरुङले गरेका छन्।  

0 Response to "‘आप्पा’ हुने भए दयाहाङ राई"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.