-->
सप्ताहव्यापी तामाङ भाषा प्रशिक्षण शिविर समापन

सप्ताहव्यापी तामाङ भाषा प्रशिक्षण शिविर समापन

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 16 जनवरी।   सप्ताहव्यापी तामाङ भाषा प्रशिक्षण शिविर समापन भएको छ। पश्चिम बङ्गाल तामाङ विकास एवं सांस्कृतिक बोर्डद्वारा आयोजित सप्ताहव्यापी तामाङ भाषा प्रशिक्षण शिविरको आज समापन भएको हो। कालेबुङ, दार्जीलिङ, जलपाइगडी अनि अलिपूरद्वार जिल्लाबाट 15-15 जना तामाङहरूलाई लिएर मोठ 60 जनालाई प्रशिक्षण दिइएको यस शिविरमा नेपालका तामाङ भाषाविशेषज्ञ अमृत योञ्जन मुख्य प्रशिक्षकको रूपमा उपस्थित रहेका थिए। 
बोर्ड अध्यक्ष सञ्जय मोक्तानले बताएअनुसार तामाङ भाषा सिक्न चाहनेहरूको संख्या धेरै मात्रामा रहेको भए तापनि भाषा शिक्षण गराउने व्यक्तिहरूको भने कमी रहेको कारण नै बोर्डले नेपालबाट भाषा विशेषज्ञ अमृत योञ्जनलाई निम्ताएर प्रशिक्षण दिएको हो। 
प्रशिक्षण लिएका तामाङहरूले आ-आफ्नो क्षेत्रमा गएर अन्य तामाङहरूलाई भाषा प्रशिक्षण दिने योजना रहेको अनि बोर्डको पक्षबाट रात्री पाठशाला खोलेर यस कुरामा थप सहयोग पुऱ्याउने उनले बताएका छन्। तामाङ भाषालाई आगामी दिनहरूमा पाठ्यक्रममा सामेल गराउन राज्यसरकारसित अनुरोध गर्ने जानकारी पनि उनले दिएका छन्। 
अर्कोतिर प्रशिक्षण शिविरबारे बोल्दै प्रशिक्षक अमृत योञ्जनले छोटो समयमा भाषा सिकाउन सकिने प्रविधि रहेको अनि सोही प्रविधि अनुरूप प्रशिक्षण दिइएको बताए। भाषा अध्ययन गर्ने अधिकार सबैको रहेको बताउँदै उनले यस शिविरबाट प्रशिक्षणार्थीहरूले धेरै नै कुरा सिक्न सकेको दाबी पनि गरेका छन्।

0 Response to "सप्ताहव्यापी तामाङ भाषा प्रशिक्षण शिविर समापन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.