-->
अनित थापाले घोषणा गरे नयाँ अध्यक्ष अनि उपाध्यक्षको नाउँ

अनित थापाले घोषणा गरे नयाँ अध्यक्ष अनि उपाध्यक्षको नाउँ

नयाँ बोर्डका अध्यक्ष रवी प्रधान (दाहिने) अनि उपाध्यक्ष भीम अग्रवाल (देब्रे) जीटीए उपाध्यक्ष अनित थापासंग (केन्द्र)

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 14 दिसम्बर। कालेबुङ नगरपालिका अध्यक्ष पदबाट शुभ प्रधानले राजीनामा दिनको साथै ‘भोट अफ् नो कन्फिन्डेन्स’को औपचारिकतामा उनले बहुमत हासिल नगरेपछि यता बिनय तामाङ गुटबाट नयाँ अध्यक्ष अनि उपाध्यक्षको नाउँ घोषणा गरिएको छ।
गोजमुमो बिनय तामाङ गुटका महासचिव एवम् जीटीए उपाध्यक्ष अनित थापाले कालेबुङ नगरपालिकाको नयाँ बोर्डका अध्यक्ष रवी प्रधान अनि उपाध्यक्ष भीम अग्रवालको नाउँ घोषणा गरेका छन्।
‘कालेबुङ नगरपालिकालाई लिएर अनेकौँ अडकलबाजी थियो। आज यहाँ हाम्रो बोर्ड बनिने तय भएको छ। हाम्रो नयाँ बोर्डका अध्यक्ष रवी प्रधान अनि उपाध्यक्ष भीम अग्रवाल हुनेछन्’ अनित थापाले नाउँ घोषणा गर्दै भने।
उनले कालेबुङ नगरपालिकाले जनताको हितमा राम्रो कार्य गर्ने बताउँदै नगरपालिका बोर्ड सञ्चालनका निम्ति राम्रा मानिसहरूको एउटा कमिटि बनाउने पनि बताएका छन्। उनले नगरपालिकाको वोर्डले आफुहरूलाई समर्थनको घोषणा गरेर पनि समर्थन नगरेपछि अन्तमा नयाँ बोर्ड निर्माणको प्रक्रिया अघि बडाउन बाध्य बनेको थापाले बताएका छन्। कालेबुङ नगरपालिकाको नयाँ वोर्ड आगामी 20 दिसम्बरका दिन बनिने तय भएको छ।
नयाँ बोर्डका घोषित अध्यक्ष रवी प्रधानले 3 नम्बर वार्डबाट गोजमुमो पार्टीको टिकटमा चुनाव जितेका हुन्। यता घोषित उपाध्यक्ष भीम अग्रवाल भने 9 नम्बर वार्डबाट तृणमूल कङ्ग्रेसको टिकटमा चुनाव जितेका नगरपार्षद हुन्। उनीहरू दुवैलाई एकैसाथ राखेर अनित थापाले कालेबुङ नगरपालिका कार्यालयमा नै नाउँ घोषणा गरेका हुन्।
यसक्रममा तृणमूल पार्टीको टिकटमा चुनाव जित्ने भीम अग्रवालमा उपाध्यक्ष बनाउने घोषणा सम्बन्धि पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा उनले नगरपालिकामा चुनाव जितेर आउने नगरपार्षदहरूलाई कुनै पार्टीको रूपमा नहेरेको स्पष्टिकरण दिएका छन्। उनले यसैक्रममा नगरपालिकाको वर्तमान उपाध्यक्ष सोनाम याखालाई जीटीए पर्यटन विभागको अध्यक्ष पदमा नियुक्ति गरिने घोषणा गरेका छन्। यसबारे औपचारिक कार्य सुरु गरिसकेको पनि स्पष्ट पारेका छन्।

0 Response to "अनित थापाले घोषणा गरे नयाँ अध्यक्ष अनि उपाध्यक्षको नाउँ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.