-->
आन्दोलनकारीलाई उर्जा दिन गाउँलेहरूले पठाए जैविक सब्जी

आन्दोलनकारीलाई उर्जा दिन गाउँलेहरूले पठाए जैविक सब्जी

डी.के. वाइबा, कालिमन्युज,  कालेबुङ ७ जुलाई। अनिश्चितकालिन बन्दले 23 औँ दिन पुरा गरिसकेको छ। शहरमा दैनिक छुट्टै राज्य गोर्खाल्याण्डको नाराबाजी गर्दै जुलुस निकाल्ने क्रम जारी छ। आन्दोलनलाई अघि बढाउनका निम्ति गठन भएको ‘गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले एकपछि अर्को वैठकको मिति तय गर्दै अनिश्चितकालिन बन्दलाई लम्बाएर लाने कार्य गरिरहेको छ। अनिश्चितकालिन बन्दको कारण ग्रामिण क्षेत्रका मानिसहरूले आवश्यकिय खाद्यन्नको अभाव भोग्न परेका कुराहरू सोसियल मिडिया फेसबुकतिर आउन सुरु भएको छ। यस्तो अवस्थामा यता गाउँकै मानिसहरू भने शहरमा दैनिक छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै निस्कने जुलुसलाई जैविक सब्जि उपलब्ध गराएर सहयोग गर्न आतुर बनेका छन्।

गाउँमा अहिलेघरी इन्टरनेट छैन। पश्चिम बङ्गाल सरकारले पहाडमा गोर्खाल्याण्डको आन्दोलन चर्केपछि पहिलोपल्ट इन्टरनेट बन्द गरेको छ। बन्दको कारण गाउँमा आन्दोलनको खबर बोकेर खबर कागज पनि पुग्न सकेको छैन। समतलबाट साग सब्जी बोकेर आउने बाहनलाई सिलगडीतिरनै रोक्ने कार्य गरेको घट्नाहरू अघि आइरहेका छन्। समतलबाट सागसब्जी पहाडमा आउन नसकेपनि गाउँका मानिसहरूले नै आन्दोलनमा ओर्लिएका जनतालाई आफ्नै बारीमा उब्जनी गरेका जैविक सागसब्जी वितरण गर्ने कार्य सुरु गरेका छन्।

सदाझैँ कालेबुङ शहरमा आज पनि मानिसहरूले छुट्टै राज्य गोर्खाल्याण्डका निम्ति जुलुस निकालेका थिए। जुलुसले शहर परिक्रमा गरेपछि डम्बर चौकमा पथसभा भएर समाप्त भएको थियो। दैनिक निस्कने जुलुस समाप्तिपछि मानिसहरू यत्रतत्र छरिएका थिए। यस्तो अवस्थामा कालेबुङ शहरदेखि लगभग 45 किलोमिटर टाडामा अवस्थित सुरुक सम्थरबाट दुईवटा पिक-अप भ्यानमा जैविक सब्जी जुलुसमा निस्कने भीडलाई वितरण गर्नका निम्ति ल्याइपुर्‍याएको थियो। दुईवटा पिक-अप भ्यानमा गाउँका मानिसहरूले परिश्रम गरेर उब्जनी गरेका इस्कुस, फर्सी, मुला, डल्ले खोर्सानी, निगुरो लगायत हरियो साग सब्जीहरू रहेको थियो। छुट्ट्टै राज्य गोर्खाल्याण्डको निम्ति सडकमा निस्केका जनतालाई नि:शुल्क वितरणका निम्ति सब्जी ल्याइपुर्‍याइएपछि मानिसहरू सब्जी लिनका निम्ति हारालुछ बनेका थिए।

‘हामी त गाउँमा बस्ने जनता हौँ। गाउँका मानिसहरू शहरमा निस्कने जुलुसमा सहभागी बन्नका निम्ति आउन सक्दैनन्। हाम्रो यस छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई फत्ते पार्नका निम्ति आन्दोलनमा ओर्लिएका जनतालाई गाउँलेहरू आफ्नै बारीमा उब्जनी गरेका सब्जीहरू वितरण गरेर सहयोग गर्ने निर्णय लिएपछि आज शहरमा सब्जी वितरण गर्न आएका हौँ’ सुरुक समथरबाट आएकी देवमित लेप्चाले भनिन्। गाउँका मानिसहरूले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति अनिश्चितकालिन बन्दलाई साथ दिएको बताउँदै आन्दोलनमा आफुहरूले सब्जी दिएर भए पनि आन्दोलनकारीहरूको उर्जा बढाउने पनि उनले बताएकी छन्। ‘यो प्रथमचोटि हामीले दुई पिक-अप सब्जी ल्याउन सक्यौँ आगामी दिनमा अझ धेरै यस्ता सब्जीहरू दिएर जनतालाई सहयोग गर्नेछौँ। गाउँका मानिसहरूले यति सहयोग गरेपछि आन्दोलनलाई नेतृत्व गर्नेहरूले जनतालाई निराश बनेर कुनै पनि व्यवस्थामा सम्झौता भने गर्नु हुँदैन’ उनले थपिन्।

यता शहरमा जुलुसमा निस्केका भीडलाई वितरण गर्न ल्याएका सब्जी 25 क्विन्टल भन्दा धेर रहेको दिलबीर भुजेलले जानकारी दिएका छन्। आज वितरणका निम्ति ल्याइएका सब्जीहरू सुरुक समथरका गाउँलेहरू सहयोग गरेको बताउँदै अन्य दिनमा थप नजिकका गाउँलेहरूले सहयोग गर्ने उनले अझ बताएका छन्। ‘हामी गाउँमा ठिकै छौँ। आन्दोलनले हामीलाई पिँडा छैन। हामी हरेक पिँडानै सहेर पनि आन्दोलनलाई सफल भएको हेर्न चाहन्छौँ। हाम्रा आन्दोलनलाई अघि बढाउँने नेताहरूले जनतालाई यसपल्ट धोका दिनु हुँदैन’ दिलबिर भुजेलले भने। 

0 Response to "आन्दोलनकारीलाई उर्जा दिन गाउँलेहरूले पठाए जैविक सब्जी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.