-->
कालेबुङ जिल्लापालको कार्यालयमा धर्ना प्रदर्शन

कालेबुङ जिल्लापालको कार्यालयमा धर्ना प्रदर्शन


डी के वाइबा, कालिमन्युज, कालेबुङ १३ जुलाई। पश्चिम बङ्गाल सार्की विकास एवम् सांस्कृतिक बोर्डका अध्यक्ष कुमार मङ्ग्रान्तीले आज अध्यक्ष पदबाट औपचारिक रूपले राजीनामा पत्र कालेबुङ जिल्लापाललाई सुम्पिएका छन्। गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिद्वारा पूर्वघोषित कार्यक्रम अनुसार आज कालेबुङ जिल्लापालको कार्यालय घेराऊ गर्ने कार्य चलिरहेको अवस्थामा कुमार मङ्ग्रान्तीले आफ्नो राजीनामा पत्र कालेबुङ जिल्लापाल डा. विश्वनाथलाई सुम्पिएका हुन्। 
सार्की विकास बोर्डका अध्यक्ष पदबाट राजीनामा पत्र सुम्पेपछि उनले सम्बोधन गर्दै  राज्य सरकारले संवैधानिक माग गोर्खाल्याण्ड माग्नेहरूलाई गोली ठोकेर हत्या गर्ने कार्य गरिरहेकोले आफुले संवैधानिक माग गोर्खाल्याण्डलाई समर्थन गर्दै आफ्नो पदबाट राजीनामा पत्र सुम्पेको बताए। 
‘राज्य सरकारले आज गोर्खाल्याण्ड माग्ने गोर्खाहरूलाई टाउकोमा गोली ठोकेर हत्या गर्दैछ। एकपट्टी ललिपप देखाउँदै अर्कोतिर हत्या गर्ने राज्य सरकारको चरित्र आज उदाङ्गो भएको छ। सोहिकारण गोर्खाल्याण्डलाई समर्थन गर्दै मैले आफ्नो पदबाट राजीनामा पत्र दिएको हुँ’ कुमार मङ्ग्रान्तीले भने।
यता आज कालेबुङ जिल्लापाल कार्यालय घेराऊ गर्ने कार्यक्रमलाई कालेबुङका सम्पूर्ण शैक्षिक संस्थानका शिक्षक-शिक्षिकावर्गले अगुवाई गरेका थिए। शिक्षक शिक्षिकावर्गको नेतृत्वमा कालेबुङको डम्बर चौकबाट छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै जुलुस निस्केपछि जुलुसले शहर परिक्रमा गरेर सोझै जिल्लापालको कार्यालयको कार्यलयमा पुगेको थियो। 
कालेबुङ जिल्लापालको कार्यालयलाई घेराऊ गर्न पुगेको जुलुसलाई जिल्लापालको कार्यालयमा प्रवेश गर्न नदिनका निम्ति पुलिसले अघिबाटै कार्यालयको प्रवेशद्वारमा नै ब्यारिकेट लगाएको थियो। जसको कारण जुलुसले ब्यारिकेट तोडेर अघि बड्न सकेन। कार्यालय घेराउ अवधी जुलुसले जिल्लापालको कार्यालयमा उपद्रव गर्ने सम्भावनालाई मध्यनजर राखेर प्रशासनले अघिबाटै व्यापक रूपले पुलिस प्रशासन तयार गरेर राखेको थियो। 
जुलुसले प्रशासनले ब्यारिकेटमानै रोकेर राखेपछि मानिसहरूले ब्यारिकेटकै अघि बसेर जोडदार नाराबाजी गर्ने कार्य गरेका थिए। यसक्रममा उक्त धर्ना कार्यक्रम आज दिनभरी नै रहेको थियो। यता आजको उक्त धर्ना प्रदर्शन कार्यक्रममा गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिमा रहेका सम्पूर्ण राजनैतिक दलका कार्यकर्ताहरूको विशेष सहभागिता रहेको थियो। 

0 Response to "कालेबुङ जिल्लापालको कार्यालयमा धर्ना प्रदर्शन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.