-->
भारतका 28 राज्यहरूको समर्थन लिएर गोर्खाल्याण्ड बनाउँनेछौँ – सामुएल गुरुङ

भारतका 28 राज्यहरूको समर्थन लिएर गोर्खाल्याण्ड बनाउँनेछौँ – सामुएल गुरुङ

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ १० जुलाई। ‘बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाल्याण्डको आन्दोलनमा अन्तराष्ट्रिय हात छ भने जुन आरोप लगाएको छ त्यसको प्रमाण दिनुपर्छ। देशको रक्षा गर्नेहरूले आफ्नो संवैधानिक अधिकार माग्दा अन्तराष्ट्रिय सम्बन्ध छ भन्ने मुख्यमन्त्रीको गैर जिम्मेवारी बयानको हामी घोर विरोध गर्दछौँ’ उक्त कुरा पथसभालाई सम्बोधन गर्दै सामुएल गुरुङले भनेका हुन्। 
अनिश्चितकालिन बन्दको 26 औँ दिन पानी झरीमा पनि मानिसहरू सडकमा ओर्लिएर छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा नाराबाजी गरेका थिए। जुलुसले शहर परिक्रमा गरिसकेपछि सम्बरचौकमा आइपुगेर पथसभामा परिणत भएको थियो। यसैक्रममा पथसभालाई सम्बोधन गर्दै गोजमुमो केन्द्रिय सह सचिव सामुएल गुरुङले ‘हाम्रो लडाई बङ्गाली समुदायसँग नभएर बङ्गाल सरकारको दमन नीति विरुद्ध हो’ भने। 
‘अब हामी बङ्गाल सँग मुख दुखाउँदैनौ। बङ्गाललाई जतिनै बुझाए पनि बङ्गाल सरकारले गोर्खाल्याण्ड राज्य गठनको मुद्दालाई सहि भन्ने होइन। अब हामी अन्य २८ वटा राज्यहरूको समर्थन लिएर गोर्खाल्याण्ड राज्य गठन गर्नेछौं’ सामुएल गुरुङले अझ भने।
वर्तमान स्थितिमा गोर्खाल्याण्डको मागलाई बङ्गाल सरकारले बुझ्न नचाहे पनि केन्द्र सरकारले गोर्खाल्याण्ड राज्य गठनको महत्त्व अनि गोर्खाहरूको माग बुझिसकेको दाबी गर्दै गुरूङले भने- “केन्द्र अनि अन्य राज्यहरूले हाम्रो आवाज सुन्यो अनि हाम्रो माग बुझ्यो भन्दैमा हामी चुप लागेर भने बस्नु हुँदैन। हामीले हाम्रो गोर्खाल्याण्ड मागलाई अझ तीब्र बनाएर लैजानु पर्छ।”
बङ्गाल सरकारले अहिले राज्यको दुइवटा स्थानमा दुइमुखे नीति  अप्नाएको कुरा कसैबाट पनि लुक्न नसकेको अनि उक्त कुरा केन्द्र्ले पनि बुझिसकेको गुरूङले बताए। एकातिर गोर्खाल्याण्ड राज्यको मागमा जुलुस गरिरहेका जनसाधारणमाथि सोझै गोली चलाएर मार्ने काम गरिरहेको राज्य सरकारले अन्य स्थानमा भने अलग्गै नीति अप्नाएको आरोप लगाए। ‘दार्जीलिङमा जुलुसमा हिडिरहेका जनसाधारणमाथि किन सोझै गोली चलाइदैछ यो प्रश्न संसदमा पनि उठ्नुपर्छ’ गुरुङले अझ भने।

0 Response to "भारतका 28 राज्यहरूको समर्थन लिएर गोर्खाल्याण्ड बनाउँनेछौँ – सामुएल गुरुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.